Suvadin, Home

Cover Image

जनतालाई 'कुकुर' को संज्ञा दिएका पर्यटनमन्त्रीको निर्देशन मान्ला त लामखुट्टे ? 

मन्त्री भट्टराईलाई सत्ताको उन्मादले छुन लागेको महसुस जनताले गरेका छन् । तर, जिम्मेवार र गम्भीर हुन जरुरी छ । उनी एक जाँगर भएका युवा नेता हुन् । उनी थुप्रै युवाका भरोसाका पात्र हुन् । युवाको भरोसा गुम्‍न नदिनप्रति पनि भट्टराई सजग हुनुपर्छ । उनको कामको समग्र मूल्यांकन गर्ने समय अहिले नै भइसकेको त छैन तर बिहानीले दिनको निर्धारण गर्छ, हुने विरुवाको चिल्लो पात भनेझैं उनका सुरुवाती दिनमा भने देखिएका दागहरु मेटाउन उनी सक्षम हुनसक्नुपर्छ । 

काठमाडौं । केही दिन यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई चर्चामा छन् । हुन त मन्त्री हुनुभन्दा पहिलेदेखि नै चर्चा रहने भट्टराई मन्त्री भइसकेपछि विशेष चर्चा यस पटक भएको छ । मन्त्री भट्टराई शनिबार कैलालीमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका थिए । फर्किनेक्रममा करिब एक घण्टा ढिलो भयो । जसका कारण नेपालगञ्‍ज विमानस्थलबाट काठमाडौंका लागि विमानमा चढेका यात्रुहरुले एक घण्टा रोकिनु पर्‍यो । मन्त्रीकै निर्देशनमा बुद्ध एयरको विमान एक घण्टा नेपालगञ्‍ज विमानस्थलमै रोकियो । मन्त्री आएपछि आक्रोशित यात्रुहरु मन्त्री भट्टराईमाथि खनिए । 

केही दिन अघि प्रधानमन्त्री केपीशर्मा ओली सिंगापुरबाट फर्किँदा करिब दुई घण्टासम्म काठमाडौंको आकाश खाली गरिएको घटना सेलाउन नपाउँदै विभागीय मन्त्रीले नै एक घण्टासम्म विमान ढिलो गराएपछि स्वभाविक आक्रोश थियो । विमानभित्रै मन्त्री भट्टराईको झाँको झारियो । पछिल्लो समय दुई तिहाइको सरकारले गरेका प्रतिबद्धता बिर्सिएर भ्रष्टाचार, अस्तव्यस्तता तथा अराजकता बढेकोप्रति जनताको वितृष्णा बढेको कुरा त रवि लामिछानेको समर्थनमा उर्लिएको भीडले नै प्रष्ट पार्छ । अब जनताले माफी दिने धैर्य राख्‍ने छैनन् भन्ने बुझेका मन्त्रीले जानाजान विमान ढिलो गराएको प्रति आक्रोशित हुनेमध्ये एक थिए ज्ञानेन्द्र शाही । उनी पछिल्लो समय भ्रष्टाचार विरोधी आन्दोलनमा सहभागी भइरहेका छन् । 

मन्त्रीले उनलाई राजावादीको संज्ञा दिँदै फेसबुक स्टाटस लेखे र उनको स्वकीय सचिवालयबाट एक विज्ञप्ति सार्वजनिक गरियो । संस्कृति मन्त्री भट्टराईको सचिवालयले जारी गरेको विज्ञप्तिमा कुण्ठा र आक्रोशले भरिपूर्ण थियो । जसमा मानिसलाई कुकुरसँग तुलना गरिएको छ भने आफूलाई हात्तिको दर्जा दिएका छन् । विज्ञप्तिको अन्त्यतिर भनिएको छ, "काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्दै गर्छ, हात्ति अघि बढ्दै गर्छ ।" संस्कृति मन्त्री भट्टराईविरुद्धको त्यो आक्रोश उनी एक व्यक्तिप्रतिभन्दा पनि समग्र राजनीतिज्ञको प्रवृति र व्यवहारप्रति थियो भने त्यहाँ आक्रोशित भिड एक ज्ञानेन्द्र शाहीमात्र नभएर नेपाली जनताकै प्रतिनिधि पात्रहरु थिए । यस अवस्थामा उनको सचिवालयले  नेपाली जनताको आक्रोशलाई 'कुकरको भुकाइ'सँग तुलना गर्नु कति जायज होला, यी विषय क्रमश: बहस हुँदै जालान् । तर, उनले यस्तो भन्‍नु नैतिकता र संस्कारले दिँदैनथ्यो । संस्कृति मन्त्रीको यस्तो संस्कारले मन्त्रालयले गर्ने कामका विषयमा मूल्यांकन गर्ने बाटाहरु खुला गरिदिएका छन् । 

मेक्सिकोमा ३८ मिनेट विमान होल्ड गर्दा त्यहाँकी मन्त्री जोसेफा गोन्जालेजले पदबाट राजीनामा दिएकी थिइन् । त्यसैगरी जापानमा संसद बेठकमा समेत ३ मिनेट ढिलो पुग्दा सांसदले राजीनामा दिएका थिए । यस्ता उदाहरण धेरै छन् । त्यो नेपाली नेताहरुले कहिल्यै सिक्नै चाहँदैनन् । 

केही दिन अघि पोखरामा आयोजित एक कार्यक्रममा उनले पर्यटन व्यवसायीसँगको छलफलमा '२० लाख पर्यटक नआए पनि  मलाई दालभात त आइहाल्छ, तपाईंहरु चिन्ता लिनूस्' भन्‍ने बताएका थिए । के उनी दालभातका लागि मात्रै मन्त्री भएका हुन् त ? भन्‍ने स्वभाविक प्रश्‍न साधारण नेपालीले पनि गर्न सक्छ । 

नेपाल भ्रमण वर्ष सुरु हुन अब करिब ७५ दिनमात्र बाँकी छन् । गर्नुपर्ने धेरै काम थाँती छन् । नेपाल भ्रमण वर्षलाई सफल बनाउन आवश्‍यक भौतिक पूर्वाधारको विकासदेखि पर्यटक आउनै पर्ने कारण र उनीहरुले लिनसक्ने फाइदाका विषयमा गरिने प्रचारप्रसारको पाटाहरु थुप्रै छन् । भ्रमण वर्षको पूर्वसन्ध्यामा लामखुट्टेको टोकाइबाट लाग्‍ने रोग डेंगुले अहिले मुलुक त्रसित बनेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले यस विषयमा मुख खोलेका छनैन् । डेंगुको संक्रमण दिन दुई गुना र रात चार गुनाका दरले फैलिँदै छ । यस वर्ष पूर्वको धनकुटाबाट सुरु भएको डेंगु अहिले पश्चिम कञ्‍चनपुरसहित केही पहाडी जिल्लामा समेत यसको संक्रमण देखिएको छ ।

पर्यटनवर्षको पूर्वसन्ध्यामा 'डेंगुको प्रचार'

पर्यटन वर्षको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय मिडियाहरुले नेपाल सरकारले विशेग प्याकेज बनाएर पर्यटन प्रबर्द्धनका सामाग्रहरु 'कभर' गर्ने बनाउनु पर्थ्यो । त्यसका लागि नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयकाबीच समन्वय हुनपर्थ्यो र सोही अनुरुप अघि बढ्नुपर्थ्यो । तर, अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुमा भने अहिले नेपालमा फैलिरहेको डेंगुका प्रचार भइरहेको छ । यसले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानिरहेको छ ।

यसको अर्थ डेंगुको समाचार आउनु हुँदैन्थ्यो भन्‍ने होइन । तर, डेंगुलाई सरकारले गम्भीरताका साथ लिएर समयमै नियन्त्रण गर्न सकेको भए यस्ता समाचारहरु आउँदैनथे । अंग्रेजी पत्रिका द टेलिग्राफले केही दिन एक समाचार प्रकाशित गर्दै नेपाल डेंगुको चपेटामा परेकोले पर्यटकलाई समेत समस्या भएको भन्‍ने सन्देशसहितको समाचार प्रकाशित गरेको थियो । अब त्यस्ता समाचार पढ्ने विदेशी पर्यटकहरु नेपालमा आउलान् त , यही अवस्थामा पक्कै आउँदैनन् । यस विषयमा सरकार गम्भीर हुन सकेको छैन । 

स्वास्थ्य मन्त्रालयले त लाचार भएर हामी एक्लैले डेंगु नियन्त्रण गर्न नसक्ने जवाफ फर्कायो । अब सरकारले नै डेंगु नियन्त्रण गर्न नसक्ने लाचार जवाफ दिएपछि जनताले कि गर, कि मरको स्थितिमा पुगेका छन् । उनीहरुले विभिन्‍न संघसंस्था तथा व्यक्तिगत बुताले भ्याएसम्मका डेंगु नियन्त्रणका गतिविधि गरिरहेका छन् । तर, डेंगु नियन्त्रणमा आउनुको साटो थप फैलिरहेको छ । 

पर्यटनमन्त्रीको 'हास्यास्पद' निर्देशन 

सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा पर्यटन क्षेत्रमा डेंगुको संक्रमण हुन नदिन निर्देशन दिए । उनको व्यक्तिगत हिसाबमा यो निर्देशन सही हुन सक्ला । तर, उनको निर्देशन के लामखुट्टेले मान्लान त ? यो हास्यास्पद निर्देशनले फेरि मन्त्री भट्टराई चर्चामा छन् । लामखुट्टे एक ठाउँबाट अर्को ठाउँमा उडेर पुग्छ । अर्को कुरा डेंगु सार्ने लामखुट्टे सफा ठाउँमा धेरै हुन्छ र दिउँसोको समयमा बढी टोक्छ । 

यसकारण समग्र डेंगुको संक्रमण फैलिएका सम्पूर्ण क्षेत्रमा डेंगु सार्ने लामखुट्टे नस्ट नगरेन्जेलसम्म पर्यटकीय क्षेत्रमा फैलन निर्देशन दिँदैमा डेंगु नियन्त्रण हन सक्दैन । न कि लामखुट्टैलाई सीमा क्षेत्रमा तार लगाएजसरी बार्न नै सकिन्छ । 

त्यसको साटो मन्त्री भट्टराईले डेंगुबारे अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यममा सही सूचना प्रवाह गर्ने र यसका असर न्यूनीकरणका विषयमा भइरहेका प्रयासमा जोड दिन सकिन्थ्यो । उनले  अन्तर्राष्ट्रियरुपमा यससम्बन्धी तथ्यपूर्ण सूचना सम्प्रषेण गरी नेपालको पर्यटन क्षेत्रमा यसको असर पर्न नदिन तथा अन्तर्राष्ट्रिय जगतमा पर्यटकीय दृष्टीले नेपाल पूर्ण सुरक्षित रहेको सन्देश प्रवाह गर्न भूमिका खेल्न सक्नुपर्छ । 

सत्ता बाहिर रहेर सत्तापक्षको उछितो काड्ने र आफू अनुकुलको भाषा प्रयोग गर्ने छुट अब मन्त्री भट्टराईलाई छैन । यस विषयमा उनी जिम्मेवार र गम्भीर हुन जरुरी छ । मन्त्री भट्टराईलाई सत्ताको उन्मादले छुन लागेको महसुस जनताले गरेका छन् । तर, जिम्मेवार र गम्भीर हुन जरुरी छ । उनी एक जाँगर भएका युवा नेता हुन् । उनी थुप्रै युवाका भरोसाका पात्र हुन् । युवाको भरोसा गुम्‍न नदिनप्रति पनि भट्टराई सजग हुनुपर्छ । उनको कामको समग्र मूल्यांकन गर्ने समय अहिले नै भइसकेको त छैन तर बिहानीले दिनको निर्धारण गर्छ, हुने विरुवाको चिल्लो पात भनेझैं उनका सुरुवाती दिनमा भने देखिएका दागहरु मेटाउन उनी सक्षम हुनसक्नुपर्छ ।


 

More form the Internet

loading...