Suvadin, Home

Cover Image

सन्दर्भ- धान दिवस : गोरुको पुच्छर समातेर यान्त्रीकरणको नारा कति सार्थक होला ?  

आइतबार देशभर असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाइयो । 'धान खेतिमा प्रविधि र यान्त्रिकिकरण, चामल आयातमा न्यूनीकरण' भन्‍ने मूल नाराका साथ १६ औँ धान दिवस मनाइयो । यस अवसरमा कृषि मन्त्री चक्रपाणि खनालले बर्दियाको राजापुरमा धान रोपे । त्यसैगरी सरकारका अन्य मन्त्रीहरुले पनि विभिन्‍न ठाउँमा गएर धान दिवस मनाए । राजनीतिक दलका नेताहरु पनि खेतबारीमा  देखिन्थे । समाजवादी पार्टी नेपालका एक जना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गृहजिल्लामा गएर हिलाम्मे भएर हली बनेको दृष्य सामाजिक सञ्‍जालमा निकै भाइरल भयो । 

त्यसैगरी आईजीपी नपाएको झोंकमा नेकपाको आर्शिवादमा टिकट पाएर सांसद बनेका नवराज सिलवाल पार्टी सुज र हातमा पन्जा लगाएर खेतमा धानको बिउ समातिरहेको दृष्य पनि सामाजिक सञ्‍जालमा भाइरल बनेको छ । उनको यो फोटो सेसनको रहरको चौतर्फी आलोचना भइरहेको छ । त्यस्तै संघीय मन्त्री, सांसद र कर्मचारीदेखि प्रदेश र स्थानीय तहमा मेयर उपमेर र वडाध्यक्षहरुले विभिन्‍न ठाउँमा गएर धानको बिउको माला लगाएर, खेतमा गएर हिलो खेले र असार १५ 'भव्यता' का साथ सम्पन्‍न गरे । खेतमा जान नसक्न‍ेले गमलासमेत धान रोपे । यस्ता नाटकले सच्चा धर्तीपुत्रहरुको खिल्ली उडाएको छ ।

हरेक विषयमा क्रान्ति आवश्यक छ भन्‍ने कम्युनिस्ट नेतृत्वको सरकार छ मुलुकमा । कृषिमा क्रान्ति गर्ने भनेको करिब तीन दशक बितिसकेको छ । धान दिवस मनाउन थालेको पनि १६ वर्ष बितिसक्यो । हरेक वर्षको धान दिवसमा विभिन्‍न नारा सिर्जना गरिन्छन् । मिडियाले पनि नेता गएर गमलामा धान रोपेको देखि मोडलहरुले शरिरमा धानको बिउ उमारेकोसम्मका तस्बिरहरु खिच्छन् । तर, यस विषयमा सैद्धान्तिक र व्यवहारिक बहस खोई ? यान्त्रिकरण नारामा भनेका छौं तर बहालवाल मन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मले त्यही परम्परागत कृषिका औचारहरु  र गोरु जोतेको दृष्य देखियो । यसअघिका  ०७२ मा कृषिमन्त्री हरिप्रसाद पराजुलीले त मुलपानीमा राष्ट्रिय धान दिवस मनाउन गएको समयमा महिलालाई अभद्र व्यवहार गरेको भन्दै निकै आलोचना भएको थियो । 

हामी क्रान्ति र आधुनिकता नारा र भाषण छाँट्छौं तर व्यवहार र सोंचमा परिवर्तन अझै आउन सकेको छैन । हातमा पन्जा लगाएर धान रोप्दा कृषि क्रान्ति हुन्छ भने नवराज सिलवाललाई प्रशिक्षक बनाएर देशभर खटाइयोस् । कि विदेशीलाई हिलोमा नचाएर कृषिमा क्रान्ति हुन्छ ? यस विषयमा सैद्धान्तिक बहस कतै गरेको देखिएन । 

नेपाललाई कृषि प्रधान देश भनिन्छ । बिडम्बना हरेक वर्ष ३३ अर्बभन्दा बढीको चामल आयात गर्नुपर्ने बाध्यता छ । नेपालमा ५७ प्रतिशभन्दा बढी क्षेत्र सहर भइसकेको छ । सहरमा बस्‍नेहरुले भन्दा हुन्- धान कहाँ फल्छ भनेर सोध्दा- बोरामा  अनि दूध कहाँ पाइन्छ भन्‍दा पसलमा र के ले दिन्छ भन्दा प्याकेटले भन्‍ने स्थितिमा हामी छौं । करिब २५ लाख युवा खाडीमा छन् भने करिब ७० हजारभन्दा बढी बालक तथा किशोरहरु गाडीमा छन् । खेतबारी बाँझै छन् । यसवर्ष त झन समयमा वर्षा नहुँदा गराहरु चिराचिरा भएका छन् । गह्रामा चिरा परेजस्तै किसानको मन पनि फाँटेको छ- मौसमले साथ नदिँदा । आगामी आर्थिक वर्ष ०७६-०७७ को बजेटमा सरकारले निकै महत्वाकांक्षी योजना - लिफ्ट सिचाईं र सोलार सिचाईं प्रणालीको विस्तार र विकास गर्ने भनेर बजेट छुट्याएको छ । यसका लागि आवश्यक पूर्वाधार र सम्भाव्यता अध्ययनका विषयमा सरकारले कुनै योजना बनाएको छैन । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम गत वर्षदेखि लागु भएको हो । तर, यसको प्रभावकारिता देखिएको छैन । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका प्रमुखसहित ६ जना कर्मचारीले करिब २४ करोडको घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई तिहाइ बहुमतको सरकार छ मुलुकमा । जनताले केही नयाँ गर्छ भन्‍ने आशा थियो । विदेशिएका युवालाई स्वदेश फर्काएर बाँझो खेतको उपयोग गरी कृषिमा नयाँ प्रविधिको प्रयोगले कृषि उपजमा आत्मनिर्भर बन्‍न सकिन्छ । तर, यतापट्टी सरकारले चासो दिएको देखिएन । 

धानका मौलिक जातहरु लोप भइसकेका छन् । त्यसको प्याटेन्ट राइट विदेशीले दर्ता गर्दैछन् । अनि नयाँ नाम दिएर नेपाल पठाउँछन र हामी त्यसमा मक्ख पर्छौं । चामाल आयत कसरी घटाउने, कृषकलाई सहुलियत दिने बजेटमा लेखेर मात्र हुँदैन । सहित परिवारलाई दिएको भैंसीमा समेत हस्तक्षेप गर्ने राजनीतिक चरित्रले कसरी कृषिमा विकास हुन्छ ? अहिले मल आवश्‍यक पर्नेबेला हाहाकार छ भने बजारमा भएको मल सबै मिसवाट, कम पोषण भएको नक्कली रहेको पाइएको छ । यस्तो मलको प्रयोगले उत्पादनमा कसरी वृद्धि हुन्छ । यावत प्रश्‍नहरु अहिले सरकार समक्ष छन् । सरकारले चाहेमा यस्ता समस्याको समाधान गर्न सक्छ । पहिलो कुरा परिवर्तनको दृढ इच्छाशक्ति आवश्यक छ । अधुरा र अपुरा भाषणले युवा विदेशिने र बारी बाँझै रहने दर थप वृद्धि हुँदै जानेछ । र एकदिन गमलामा धानको बिउ राखिदिने युवासमेत मन्त्रीहरुलाई भेटिने छैन । त्यसकारण बेलैमा सचेत हुन् आवश्यक छ । 


 

More form the Internet

loading...