Suvadin, Home

नेपाली कांग्रेसलाई सुझाव
गल्ती जहाँबाट भयो सच्याउन त्यहीँबाट शुरु गरौं

मेरो मूल्याङ्कनमा देउवा अति महत्वाकांक्षी लठैत नेता हुन्। उनले आफ्नो महत्वाकांक्षा पूरा गर्न पार्टीलाई भर्याङ बनाएको देखिन्छ। उनको निष्ठा पद प्राप्त गर्नु र पदमा टिकिरहनु हो। यस्ता अयोग्य मानिसले पद प्राप्त गर्न र पद टिकाउन लाठी अर्थात बलको प्रयोग गर्ने भएकाले लठैत भनिएको हो। उनको बल भनेको उनलाई अन्धसमर्थन गर्नेहरु हुन्। यस्ता लठैतलाई अन्ध समर्थन सदाबहार लोभीपापीले मात्रै गर्ने गर्छन्। त्यसैले उनी पहिला यस्ता लोभीपापीहरुको पहिचान गर्छन् पार्टीभित्र होस् वा बाहिर र तिनलाई नजिक बनाई राख्ने उद्यम गर्छन्।
शेरबहादुर देउवा।

रामचन्द्र उप्रेती


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिखेर सर्वत्र चर्चाको पात्र बनेका छन्। चर्चा उनको कर्म अर्थात कामको कारण हुने गरेको छ। उनले गर्ने काम उनको सोच, मूल्य र दृष्टिको उपज हुन्। हुन त उनी लगभग सधै नै चर्चाको पात्र बनिरहे। शाही शासन कालमा, नेपाली कांग्रेसको विभाजनको समयमा, सभापतिमा निर्वाचन हुँदाको समयमा, कामरेड प्रचण्डलाई प्रधानमन्त्री बनाउँदाका समयमा, गएका निर्वाचनहरु सम्पन्न गर्ने समयमा र निर्वाचन पछिका समयमा पनि देउवा लगभग सधैँ नै चर्चाको शिखरमा छन्।

देउवाले चुनाव गराउन चाहदैनन् भन्ने चर्चा थियो। तर, पटकपटक सारेर भएपनि चुनाव गराए। कसैले त उनी चुनाव गराउन बाध्य भए भन्छन्। जे होस् चुनाव गराउनुको जस उनलाई जान्छ। कतिपय सञ्चार माध्यमले लेखे, बोले प्रधानमन्त्री देउवा सफल र सभापति देउवा असफल। सभापति देउवाको मूल्याङ्कन उनको पार्टीमा होला वा नहोला, गर्लान् वा नगर्लान् त्यो बेग्लै कुरा हो। तर, प्रधानमन्त्री देउवाका कामको मूल्याङ्कन देशले गर्छ, गर्नुपर्छ।

देउवाको आलोचना गर्दा कांग्रेसजनको मन दुख्न सक्छ। अझ देउवाको नजिक भएर केही पाएका वा पाउने आसमा बसेकाको त चित्त नै दुख्न सक्छ। तरपनि सत्य कुरा नभनि हुँदैन। शेरबहादुर देउवा कुनै सिर्जनशील, बौद्धिक, क्षमतावान्, दृष्टिकोण भएका, सिद्धान्तनिष्ठ नेता होइनन्। वाकक्षमता पनि छैन, भाषण कला पनि छैन। लोकको हीत गरौं, देशको हीत गरौंजस्ता भावनाले ओतप्रोत भएको भन्ने पनि देखिएन। फेरि पनि उनी देशको चारचार पटक प्रधानमन्त्री भए। नेपाली कांग्रेसको निर्वाचित सभापति भए र छन्। के खुबी छ उनमा त्यस्तो जसको कारण उनी यति उच्च ओहाेदामा पुगे।

मलाई माफ गर्नुहोला यति उच्च ओहाेदामा पटकपटक आशिन मानिसका लागि मसँग त्यति सम्मानित शब्द छैनन्। मनको कुरा लेख्दा यस्तो पर्न गएको हो। यी ठेट कुरा हुन् चेपारे कुरा होइनन् भनेर बुझिदिन अनुरोध गर्दछु। मेरो मूल्याङ्कनमा देउवा अति महत्वाकांक्षी लठैत नेता हुन्। उनले आफ्नो महत्वाकांक्षा पूरा गर्न पार्टीलाई भर्याङ बनाएको देखिन्छ। उनको निष्ठा पद प्राप्त गर्नु र पदमा टिकिरहनु हो। यस्ता अयोग्य मानिसले पद प्राप्त गर्न र पद टिकाउन लाठी अर्थात बलको प्रयोग गर्ने भएकाले लठैत भनिएको हो। उनको बल भनेको उनलाई अन्धसमर्थन गर्नेहरु हुन्। यस्ता लठैतलाई अन्ध समर्थन सदाबहार लोभीपापीले मात्रै गर्ने गर्छन्।

त्यसैले उनी पहिला यस्ता लोभीपापीहरुको पहिचान गर्छन् पार्टीभित्र होस् वा बाहिर र तिनलाई नजिक बनाई राख्ने उद्यम गर्छन्। यस्ता लोभीपापीलाई नजिक बनाईराख्ने उपाय भनेको पद र पैसाको प्रलोभन हो। शेरबहादुर देउवाको विगतको राजनीतिक विकास कसरी भयो मलाई त्यस्तो धेरै थाहा छैन। तर, मैले जुन समयदेखि उनलाई चिने उनमा कुनै विशेष खुबी देखिन। तर, पनि उनी नेता हुन्। सायद उनको चरम महत्वाकांक्षाको कारण भूगोलको फाइदा उठाउँदै उनी गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा गृहमन्त्री बन्न पुगे। त्यसपछि उनको महत्वाकांक्षा झन् चुलिन थाल्यो।

तर, अहिले पनि देउवा नेपाली कांग्रेसको सभापति भएको नाताले उनी प्रमुख पतिपक्षी दलको नेता हुन् र अझै उनको भूमिका केही बाँकी छ। संविधानले उनलाई केही भूमिका दिएको छ। यो भूमिकाका लागि पनि देउवा उपयुक्त पात्र होइनन्। उनीबाट देशले कुनै रचनात्मक सहयोग पाउने छैन।

मलाई लाग्छ त्यो बेलादेखि यो बेलासम्म उनले नेपाली कांग्रेसलाई बलियो बनाउने एउटा पनि राम्रो काम गरेका छैनन्। तरपनि उनी नेता बनिरहेका छन्। कारण के हो भने उनले पार्टीभित्रका कोइरालासँग असन्तुष्टदेखि लोभीपापीसम्मका सबैलाई समेटे। लोभ देखाए। उनको खुबी यत्ति हो। पार्टीभित्र पदको लोभ देखाए। नेपाली कांग्रेस पटकपटक सरकारमा गयो। त्यहाँ उनले पदको लोभ देखाए। आफ्ना अति नजिकका विश्वासपात्रलाई पद बाँडे। सत्ताको चरम दुरुपयोग गरेर पैसा जम्मा गरे र पैसाको चरम दुरुपयोग गरेर पार्टीको सभापति भए।

देशको दोहन गरेर, देशकै प्रधानमन्त्री भए। प्रधानमन्त्री नै भएपनि देशदोहन अझ सहज भयो। यो नै उनको शक्तिको श्रोत हो। उनको विश्वास र मूल्य हो। उनको आस्था र विश्वासमा उनको विरोध गर्ने मानिसलाई ठेगान लाउनु र उनलाई अन्ध समर्थन गर्ने मानिसलाई पद र पैसा बाँडनु उनको दर्शन हो। उनी पार्टीको सभापति भएर होस् वा देशको प्रधानमन्त्री भएर, उनले त्यही काम गरे र गरिरहेका छन्। उनी धन्धुकारी हुन्।

त्यसैले उनले नेतृत्व गरेको पार्टीलाई आफ्नै अहम् र कुबुद्धिले ध्वँस्त पार्दैछन्। उनको कारण इमान्दार, निष्ठावान, देशभक्त, पाका पूराना र उर्जाशील चिन्तन बोकेका युवा सबैको शिर निहुरिएको छ। पार्टीको अनुशासन, आफ्नै इतिहास र अझै अलिअलि आश भएकाले इमान्दार कार्यकर्ताले मुख खोल्न सकेका छैनन्। देउवालाई विधि, पद्धति, निति, नियम, शुसासन, अनुशासन, निष्ठा, इमान, सिद्धान्त आदि इत्यादिको कुनै मतलब छैन। यी कुराको पालन नगरे बापत कुनै लाजसरम छैन। लोकले के भन्ला भन्ने पीर छैन। लोक मदेखि घिनाउला भन्ने डर छैन। त्यसैकारण उनको कार्यकालमा निष्ठापूर्वक काम गर्ने राष्ट्रसेवकदेखि प्रधानन्यायधीशसम्मलाई सुली चडाइयो। मुलुकमारा चोर र भ्रष्टाचारीहरुलाई खोजीखोजी चौतारोमा आसन गराएर सम्मान गरियो। देशको ढिकुटीमा ब्रम्हलुट गर्ने छुट दिइयो।

उनलाई आफ्नो पद जोगाउनु र आफ्ना अन्धभक्त लोभीपापीलाई लूट मच्चाउने छुट दिनु बाहेक अर्को कुनै चाहना छैन। किनभने उनी आफूलाई यसैमा सुरक्षित देख्छन्। यो उनको दर्शन हो। गएको संसद र संघीयताको चुनावको परिणामले उनलाई पाखा लगाएपछि अब उनको ध्यान सकेसम्म धेरै दिन सरकारमा बसिरहने र यो अवधिमा सकेसम्म लुट मच्चाउने, लोभीपापीलाई लूट मच्चाउने छुट दिने, अलिअलि बँचेखुचेको चलन ध्वस्त पार्ने, नीतिनियमको धज्जी उडाउने, भावी बन्ने सरकारले कामै गर्न नसक्ने गरी देशलाई कंगाल बनाउने, अराजकताको बिजारोपण गर्ने जस्ता काममा समय खर्चिरहेका छन्। आउने सरकारले उनले पारेको फोहर सफा गर्न र गलत कामलाई सच्याउन केही समय खर्चनु पर्ने भएको छ।

पार्टीले चुनाव हारेपनि सरकार प्रमुख देउवालाई केही अवसर थियो। त्यो अवसर पनि उनको दृष्टिकोणको कारण उपयोग गर्न सकेनन्। चुनावको परिणाम आउने बित्तिकै वाम गठबन्धनका नेताहरुलाई बोलाएर बधाई दिने र लौ अब देश चलाउने पालो तपाईहरुको, म प्रजातान्त्रिक पार्टीको सभापति, जनमतको कदर गर्छु, अब भन्नुहोस् चुनावका बाँकी काम कसरी पूरा गरौं, म सरकार छाड्न आतुर छु। तर, संविधानले दिएको जिम्वेवारी पूरा कसरी गरौं, प्रदेश प्रमुखको नियुक्ति, प्रदेशको राजधानी कहाँ बनाउने, राष्ट्रिय सभाको चुनाव कसरी सम्पन्न गर्ने जस्ता विषयमा गठबन्धनका नेतासहित अरु दलका नेतासँग छलफल गरेको भए उनको उचाई बढ्ने थियो। तर, गठबन्धनका नेतालाई बधाई दिन कन्जुस्याई गरियो। एक महिना पछिमात्र यो औपचारिकता पूरा गरियो। काम चलाउ भइसकेको सरकाले देशले धान्नै नसक्ने कयौं निर्णय गरेर भावी सरकारलाई अप्ठ्यारोमा पार्ने प्रयास भएको छ। यो देउवाको दृष्टिकोणको दोष हो।

उनी आफूले पनि नगर्ने गर्न नसक्ने र अरुले पनि नगरुन भन्ने मान्यता राख्छन्। किनभने अरुले राम्रो गरे भने जस लिन्छन् भन्ने त्रास पाल्छन्। यो मनोरोगले देशको भलो हुने कुरै भएन। गएको निर्वाचनले देउवालाई सरकार प्रमुख बन्ने बाटो बन्द गरेर मुलुकलाई केही राहत भएको छ। तर, अहिले पनि देउवा नेपाली कांग्रेसको सभापति भएको नाताले उनी प्रमुख पतिपक्षी दलको नेता हुन् र अझै उनको भूमिका केही बाँकी छ। संविधानले उनलाई केही भूमिका दिएको छ। यो भूमिकाका लागि पनि देउवा उपयुक्त पात्र होइनन्। उनीबाट देशले कुनै रचनात्मक सहयोग पाउने छैन। यो बाहेक उनी नेपाली कांग्रेसको सभापति त हुन नै। उनी प्रमुख रहँदासम्म नेपाली कांग्रेसले पनि कुनै राम्रो काम, रचनात्मक काम र पुनर्गठनको काम गर्न सक्ने छैन।

त्यसैले उनलाई त्यो भूमिकाबाट पनि जतिसक्दो चाँडै बिदा दिनुपर्छ। नेपाली कांग्रेस पार्टीले यो पाँच वर्ष रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्छ। त्यसका लागि योग्य मानिस र सकारात्मक सोच भएको नेताको आवश्यकता पर्छ। कुनै पनि पार्टीले गलत सोच, खराब आचरण, अलोकतान्त्रिक चरित्र भएको नेता छान्नु गलत हो। त्यस्तो नेतालाई मुख्य पदबाट हटाएर सकिन्छ भने सच्चिने मौका दिनुपर्छ। अर्थात गल्ती जहाँबाट भएको छ सच्याउन त्यहीँबाट शुरु गर्नुपर्छ।

नेपाली कांग्रेस पनि बलियो र पद्धति मान्ने पार्टी, नियम कानूनको सीमाभित्र बसेर काम गर्ने पार्टी हुनुपर्छ। त्यसैले उपयुक्त नेताको नेतृत्व हुन सकोस् भन्ने कामनासम्म हो। भनिन्छ, भीरबाट लड्ने ......लाई रामराम मात्रै भन्न सकिन्छ काँध हाल्न सकिँदैन। आगे जो विचार!


 

More form the Internet

loading...