Suvadin, Home

Cover Image

किन व्यावसायिक बन्न सकेनन् नेपाली मिडिया?

मैले धेरै सोचेँ, केही अध्ययन पनि गरेँ। आखिर किन सबै टेलिभिजन च्यानल घाटामा छन्? यद्यपि, च्यानलका संस्थापकहरु हँसिला देखिन्छन्। लामो अध्ययन र सञ्चालकहरुको भेटघाटपछि पत्ता लाग्यो कि त्यो हाँसो बस देखाउनलाई मात्रै हो। त्यस हाँसोको पछाडि वास्तविकता अर्कै रहेछ। बाहिर देखिने त्यो हाँसोको पछाडिको पीडा कसैले बुझ्न खोज्दैन। तरपनि सबै जना आफैंमा मस्त छन्। सबैको आ–आफ्नै अभिमान छ कि उनले सबैभन्दा राम्रो गरिराखेका छन्।
सञ्जीव झा।

सञ्जीव झा


नेपालमा टेलिभिजन च्यानलहरु च्याउझैं खुलिरहेका छन्। नेपालको परिवेशमा हेर्ने हो भने टेलिभिजन च्यानलहरुको संख्या दिनप्रतिदिन थपिँदै गइरहेको छ। च्यानलको संख्या बढ्दै गएको देखेर लाग्छ बजार नै लागिसकेको छ। तर, व्यावसायिक रुपले ती च्यानल किन सफल हुन सकिरहेका छैनन्? 

मैले धेरै सोचेँ, केही अध्ययन पनि गरेँ। आखिर किन सबै टेलिभिजन च्यानल घाटामा छन्? यद्यपि, च्यानलका संस्थापकहरु हँसिला देखिन्छन्। लामो अध्ययन र सञ्चालकहरुको भेटघाटपछि पत्ता लाग्यो कि त्यो हाँसो बस देखाउनलाई मात्रै हो। त्यस हाँसोको पछाडि वास्तविकता अर्कै रहेछ। बाहिर देखिने त्यो हाँसोको पछाडिको पीडा कसैले बुझ्न खोज्दैन। तरपनि सबै जना आफैंमा मस्त छन्। सबैको आ–आफ्नै अभिमान छ कि उनले सबैभन्दा राम्रो गरिराखेका छन्। 

कहिल्यै उनलाई समझमै आउँदैन कि गल्ती कहाँ भइरहेको छ र त्यसलाई कसरी ठिक पार्न सकिन्छ भनेर। नेपालमा भएका सबै टेलिभिजन च्यानलबाट प्रस्तुत हुने सामग्री अपुग छ। कुनैपनि कार्यक्रम समीक्षात्मक छैन। त्यतिमात्र होइन, समाचार जस्तो संवेदनशील क्षेत्रमा पनि समाचार वाचन गरिन्छ, समाचार देखाइन्छ। तर समाचार बुझ्ने र बुझाउने कोही पनि छैन। 
सबैजना आ–आफ्नै कार्यक्षेत्रमा व्यस्त छन्। मिहिनेत गरिरहेका छन् कि कुनैपनि हालतमा आफ्नो हाकिमलाई कन्भिन्स गर्न सकु कि मैले गरेको नै वेस्ट हो र त्यसमा सफल पनि भएका छन्। तर, आजसम्म कसैले पनि यो बुझ्ने प्रयास गरेनन् कि यति धेरै मिहेनतका बाबजुद पनि हामी किन घाटामा छौं? 

आफू असफल हुनुको कारण पत्ता लगाउनुको साटो अर्कामाथि आरोप लगाउनु यहाँको संस्कृति बनिसकेको छ। अरुमाथि आरोप लगाउनुलाई नै यहाँका टेलिभिजनले आफ्नो धर्म र कर्तव्य बनाइसकेको छन्। अरुलाई कसरी आरोप लगाएर आफू अघि बढ्न सकिन्छ त्यसमै सब केन्द्रित छन्। जसले जति धेरै झुठो बोल्न सक्छ उ त्यति नै महान र राम्रो हुन्छ। 

बिना सिस्टममा चलिरहेको छ यहाँको सबै च्यानल र सिस्टम भन्ने शब्द यदि कसैले प्रयोग गर्यो भने त्यो शब्द मात्रै होइन त्यो शब्द बोल्ने मानिससँग नै त्यहाँका सबै भनाउँदाहरुलाई रिस उठ्न थाल्छ। किनभने सिस्टम भन्ने बितिक्कै कसैले केही मनलाग्दी गर्न पाउँदैन। त्यसैले कसैले पनि सिस्टमलाई अपनाउन चाहँदैन या भनौं सिस्टमको अर्थ नै कसैलाई थाहा छैन। 

यहाँ त यति धेरै ज्ञानीहरु छन् कि उनलाई आफ्नो अगाडि भएका सबै मुर्ख नै नजर आउँछ। सबै मिडिया हाउसले बजारलाई दोषी ठहर्याउँछ। तर, कहिले यो सोच्दैनन् कि बजारलाई के चाहियो? कर्पोरेट के चाहन्छ? यी सब कुरालाई बेवास्ता गरेकै कारणले टेलिभिजन च्यानलको यो अवस्था आएको हो। कुनै विषयवस्तु निर्माण गर्ने, उत्पादन गर्ने वा डिजाइन गर्ने धारणा भएको बजार व्यवस्थापकसँग कोही पनि कहिले पनि छलफल गर्दैन। किनभने उनलाई लाग्छ उसकै आइडिया सबैभन्दा राम्रो छ। 

यहाँ उत्पादनको हिसाबले बजारलाई हेर्ने गरिन्छ, बजारको हिसाबले उत्पादनलाई होइन। यदि मिडिया हाउस बिना कुनै अध्ययन अनुसन्धान र डेभलपमेन्ट टिम बिना अघि बढ्छ भने यसको मतलब यो होइन कि सबै मिडिया हाउसको अवस्था एउटै हुन्छ। किनभने केही मिडिया हाउसले राम्रै व्यापार गरिरहेका छन्। तर, उनको पहुँच छुट्टै छ। उ सरकारसँग नजिक छ र सरकारी पैसा या राजनीतिक दल या फेरि राजनेताको पैसाबाट सञ्चालित छन्। 

जहाँसम्म मलाई लाग्छ, कुनैपनि सामग्री बनाउनुभन्दा पहिले बजार अध्ययन गर्नु निकै जरुरी छ। बजारको हिसाबले कार्यक्रम हुनुपर्छ। समाचार पनि अध्ययन र अनुसन्धानमूलक हुनुपर्छ। अतिथिलाई बोलाएर अपमान गर्ने या उनलाई तल देखाउन खोज्ने यहाँका च्यानलहरुको परम्परा नै बनिसकेको छ। कार्यक्रम सञ्चालन गर्नेलाई सिकाउने गरिन्छ कि तपाई आफ्नो पाहुनालाई जति अपमान गर्न सक्नुहुन्छ वा जति तल देखाउन सक्नुहुन्छ त्यति नै तपाई महान र प्रसिद्ध बन्न सक्नुहुन्छ। 

अन्त्यमा म सबै मिडियालाई यहि भन्न चाहन्छु कि, तपाई पहिले बजार अध्ययन गर्नुस् र आफ्नो च्यानलबाट प्रसारण हुने समाचारदेखि सबै कार्यक्रमको महत्व के र कति छ? त्यो बजारमा बिक्न सक्छ कि सक्दैन त्यसलाई ध्यानमा राखेर निर्माण गर्नुस्। अनिमात्र तपाईको च्यानलले व्यावसायिक रुपमा नाफा कमाउँछ र बिना कुनै रोकटोक चलिरहन्छ। 

(लेखक झा सामाजिक अभियन्ता हुन्)


 

More form the Internet

loading...