Suvadin, Home
Nepal life 1.249M

मेराे कलम
मेयरका उम्मेदवारलाई जर्मनीबाट खुलापत्र

विकास जसले गरे पनि जनतालाई उत्तिकै लाभ मिल्छ त्यसैले अवको बहस कुन पार्टीले गर्याे भन्दा पनि के गर्याे भन्ने होस्। उमेद्वारहरुले पनि खुला मनले सबैका सुझावहरु सुनुन्। हामी सबैले फरकफरक अवसर पाएकाले फरकफरक अनुभब सँगालेका छौँ । एक अर्काको अनुभवबाट समाजलाई फाइदा पुग्नुनै हामीले सँगालेको अनुभवको सार्थकता हुन्छ।
धनगढी उपमहानगरका मेयरका उम्मेदवार एकै ठाउँमा। तस्बिर साैजन्य: हेमराज अाेझा।

आदरणीय धनगढी उपमहानगरपालिकाका मेयरका उम्मेदवार ज्यूहरू
२० वर्ष पछिको स्थानीय निर्वाचनका लागि यहाँहरुले आ–आफ्ना मुद्दाका साथ अघि बढ्नु भएको देख्दा खुशी लाग्छ। राजनीतिक सिद्धान्तमा मतभिन्नता भएपनि विकास हुनु पर्छ भन्ने कुरामा सबै जना एक ठाउँमा आउनु भएको देख्दा खुशी लाग्छ। कोही राजनीतिक क्षेत्रमा अनुभव बटुलेका हुनुहुन्छ भने कोही व्यवसायिक पृष्टभूमिबाट अघि आउनु भएको छ। हरेकले आ–आफ्ना क्षेत्रका प्रतिद्वन्द्वीलाई पछि पार्दै चुनावको लागि अन्तिम तयारी गरिरहनु भएको छ। त्यसै सन्दर्भमा यहाँहरूका घोषणा पत्रहरुमा केही बुँदाहरु थप्न मन लाग्यो। आशा छ यसलाई यहाँहरु सबैले सकारात्मक सुझावका रुपमा हेरिदिनु हुनेछ।

१. धनगढीमा अहिले स्मार्ट सिटिको कुरा व्यापक भएको छ। स्मार्ट सिटिका विभिन्न परिभाषाहरु अघि आउन थालेका छन्। स्मार्ट सिटि एउटा अमूर्त परिकल्पना हो। यसको ठोस खाका छैन। सूचना प्रविधिलाई विकाससँग जोड्ने अवधारणालाई सामान्य भाषामा स्मार्ट सिटिको परिभाषा मान्न सकिन्छ। सूचना प्रविधिलाई विकाससँग जोड्न पनि आधारभूत विकास भइसकेपछि मात्रै सम्भव छ। अहिले त हामी भरखर उपमहानगरपालिका भएका छौँ । उपमहानगरका लागि चाहिने पूर्वाधार नै पनि सम्पूर्ण रुपमा विकसित भइसकेको छैन। त्यसैले अहिले नै स्मार्ट सिटिको कुरा गर्नु अलि हतार होला कि? यसलाई दीर्घकालीन योजनामा राखेर अघि बढ्नु बुद्धिमानी होला।

Image result for segregation of waste
धनगढीमा तत्कालै गर्न सकिने थुप्रै कामहरु छन्। फोहरमैला वर्गिकरण र व्यवस्थापन, ढल निकास, फोहरपानी प्रशाेधन, नदीनाला संरक्षण, मूल सडकको स्तोन्नती, विभाजक राख्ने र लेन छुट्याउने काम, जेब्राक्रसिङ र ट्राफिक चिन्हहरूको स्थापना, साइकल र पदयात्रीका लागि सडक पेटी, सार्वजनिक सवारी साधनको सुलभ उपलब्धता, वातावरणमैत्री सहर, विजुली र टेलिफोनका तारहरूलाई भूमिगत रूपमा ओछ्याउने काम, विजुली, टेलिफोन, खानेपानी लगायतका सरकारी दस्तुरहरू अनलाईन बैंकिङमार्फत सरकारी खातामा पठाउन सकिने र लाइन नलागेरै तिर्न सकिने व्यवस्था, शैक्षिक संस्थाको गुणस्तर निर्धारण र सार्वजनिक विद्यालयको स्तरोन्नतिमा जोड, सकेसम्म सार्वजनिक विद्यालयमा समेत अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था, लगायतका तमाम कामहरु हामीले विद्यमान साधन श्रोतका आधारमा पनि सम्पन्न गर्न सक्छौँ। यी सबै कामका लागि निजी तथा सरकारी साझेदारीका आधारमा कार्यक्रमहरु ल्याउन सकिन्छ।

अरु भन्दा पनि फोहर मैला वर्गिकरण र व्यवस्थापन टड्कारो भइसकेको छ। सड्ने गल्ने, कागज, प्लास्टिक तथा स्टिल, लगायतका विभिन्न वर्गमा फोहर मैला छुट्याएर सड्नेगल्ने बाट प्राङ्गारिक मल बनाउन सकिन्छ भने कागज, प्लास्टिक तथा स्टिल इत्यादिलाई पुनःप्रसोधन गर्न सकिन्छ। हाल मम्फली र बरफ बेच्दै कागज प्लास्टिक बटुल्ने जनशक्तिलाई नै फोहर संकलनमा रोजगारी दिन सकिन्छ। पर्यावरणमैत्री विकासको पहल अहिले भएन भने भोलिका दिनमा हामी पनि काठमाडौँ जस्तै धुलोमाण्डौँ र फोहरमाण्डौँमा परिणत हुनेछौँ ।

Image result for street name paris
अर्को महत्वपूर्ण भनेको घर नम्बर वितरण र सडकहरुको नामाकरण हो । विदेशबाट चिठी पठायो भने ठेगाना लेख्न आपत हुन्छ । पुग्ने कुनै ग्यारेन्टि नै हुँदैन। सबै बाटोको नामाकरण गरेर नामपाटीहरु पढ्न सकिने गरेर राख्ने र हरेक घरको अगाडि घरनम्बर देखिने गरी राख्न लगाउन धेरै गाह्रो कुरा होइन। घरधनीहरुसँगकै सहकार्यमा सानो क्षेत्रबाट सुरु गरेर त्यसलाई उपमहानगरपालिका व्यापी बनाउन सकिन्छ  भोलि त्यसैको सिको अन्य गाउँ तथा सहरले पनि गर्न सक्छन् ।

Image result for bhada homestay

२. उर्मालाई नमुना गाउँ बनाउने क्रममा त्यहाँको मौलिकता र थारू संस्कृति जोगिने खालको योजना बनोस्। धनगढीको इतिहाससँग थारू समुदायको इतिहास पनि जोडिएको छ। उनीहरू अहिले सबै भन्दा बढी पाखा पारिएका समुदाय हुन्। मधेसीको माग सुन्ने क्रममा थारू समुदाय सीमान्तकृत भएका छन्। उनीहरूको सम्मानार्थ थारू बाहूल्य बसेको ठाउँमा एउटा थारू संग्राहलयको विकास गर्दा आपसी सद्भावमा पनि अभिवृद्धि हुन्थ्यो। साथै धनगढीलाई अहिलेको अवस्थामा पुर्याउन उनीहरूको पुर्खाले गरेको योगदानको पनि कदर हुन्थ्यो।

Image result for dudhwa national park gate

३. गौरिफन्टा नाका दुधुवा राष्ट्रिय निकुञ्जलाई असर परेको हुनाले बन्दहुने अवस्थासम्म पुगेको थियो। भारत सरकारले राष्ट्रिय निकुञ्जलाई असर पर्ने गरेर नाका खोल्ला जस्तो लाग्दैन। बरू बनबासालाई स्तरउन्नती गर्न सकिन्छ। दुई देशका सहरहरुबीच त भगिनी सम्बन्ध स्थापित गरेरा विकासको साझा फाइदा लिन सकिन्छ भने दुई जिल्लामा त्यस्तो साझेदारी असम्भव होइन। बरु छिमेकी भारतका अन्य ठूला सहरहरुसँग पनि भगिनी सम्बन्ध स्थापनाको पहल गरेर उनीहरुको विकासबाट यथोचित फाइदा लिनेतर्फ ध्यान जानु पर्दछ।

No automatic alt text available.

४. कांग्रेस तर्फका मेयरका उमेद्वारले एकीकृत नमुना बसोबासको कुरा गर्दै गर्दा वडा नम्बर १ मा अवस्थित कांग्रेस पार्टी कार्यालय छेउमै भएको कमैया तथा दलित बस्तीको सम्झना आयो (माथि तस्वीर हेर्नुस्) । त्यसो ठाउँमा पहिले कमैया आए पछि दलितहरु थपिए। तिनको आजसम्म पनि उचित व्यवस्थापन हुन सकेको छैन। पहिले तिनको व्यवस्थापन होस् त्यसपछि बाँकी ठाउँमा एकीकृत नमुना बसोबासको थालनी गरौँला।
त्यो ठाउँ खाली भएमा त्यहाँ सार्वजनिक उपभोगका लागि उद्यान या अर्को सामुदायिक भवन बनाउन सकिन्छ।

५. सिटिहल (सामुदायिक भवन) उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, जिविस, टोल विकास समिति, निजी क्षेत्र, लगायतकाले बनाइसकेको कुरा हो। तिनको स्तरोन्नतिमा सहयोग गर्न सकिन्छ। आवश्यक नै छ भने नयाँ बनाउन पनि सकिएला। तर, त्यस भन्दा बढी महत्वपूर्ण सार्वजनिक उद्यानहरूको स्तरोन्नति हो।


६. बच्चा छँदा चिप्लेटी खेल्ने राष्ट्र बैंक नजिकको चिल्ड्रेन पार्क (बाल उद्यान) अहिले कुन अवस्थामा छ ? २० वर्षामा जनसंख्या थपियो तर तिनका लागि सार्वजनिक उद्यान कति थपिए ? हामीले त बालापन विरेन्द्र–एैश्वर्य पार्क अनि चिल्ड्रेन पार्कमा बितायौँ, पुरानो एयरपोर्टमा क्रिकेट खेली बितायौँ, अबका बालबालिकाहरु कहाँ खेल्छन् ? कसरी बित्ला तिनको बालापन ? त्यसैले बचेका सार्वजनिक जग्गाहरुमा बाल उद्यान आदीको विकास गर्नु टड्कारो भइसकेको छ।

७. जाखाेर तालमा बोटिङ र वनभोजको लागि मान्छेहरु जान थालेको धेरै भयो। त्यसलाई व्यवस्थापन गरे कति सजिलो हुन्थ्यो। मोहना किनारमा खनजोत रोकेर फलफूल खेतीका लागी प्रोत्साहन गर्ने अनि गर्मीमा जलकृडाको लागी स्थान बनाउँदा कति मजा आउला। नदी किनारै किनार साइकलमा अनि पैदल परिवारसँग टहल्दै काँक्रा र तरभुजा खाएको सम्झनुस् त मनमा कत्ति सितलता मिल्छ। खनजोत बन्द भएपछि माटो खुकुलो भएर वर्षायाममा बाढीपहिरो जाने डर पनि नहुने अनि धनगढीबासीका लागि घुमफिर गर्ने ठाउँ पनि थपिने।

No automatic alt text available.

अन्य ठाउँमा पनि सार्वजनिक उद्यानहरू बन्नु पर्छ। क्याम्पस खोला, कैलाली नाला, आदीलाई पनि संरक्षण गरेर डम्पिङ साइटबाट साँझ टहल्ने ठाउँ बनाउन सकिन्छ ।

Image result for dhangadhi park

८. दशरथ रंगशाला जस्तै बन्ने भनेर धनगढीको कभर्डहलमा काम सुरू भएको थियो। चरम भ्रष्टाचारका कारण त्यो योजना त्यसै थलियो । त्यसलाई पनि अव सुचारु गर्नु पर्छ। त्यो पहिले भनिए जस्तै गरेर बन्यो भने सुदूरपश्चिमको गौरवका रूपमा स्थापित हुन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुदहरुको आयोजनाका लागि पूर्वाधार थपिन्छ। त्यसले रोजगारी थप्छ। समाज सम्बृद्ध बनाउँछ।
फाप्ला खेलमैदानको विकासलाई पनि तिब्र पारिनु पर्छ। सुदूरपश्चिमको पहिचान फेरिनलाई यसले पनि मद्दत गर्छ।

Image result for geta airport

९. गेटास्थित धनगढी विमानस्थलको स्तरोन्नति गरेर सुदूरपश्चिमका युवाहरू कामका लागि खाडी अनि अध्ययनका लागि यूरोप अमेरिका जान सजिलो हुने गरी वैकल्पिक विमानस्थलको रूपमा किन विकास गर्नेतर्फ पनि अब ध्यान जान जरुरी छ। रोजै विमान उडाउन नसकिएला तर महिनामा एक पटक या हप्तामा एक पटक कनेक्टिङ फ्लाइटहरू त उडाउन सकिन्छ नि? १२ घण्टामा युरोपबाट काठमाडौँ पुगिन्छ तर काठमाडौँबाट धनगढी पुग्न १८ घण्टा बसमा गुड्नु पर्छ। यो बाध्यताको अन्त  हुन जरुरी छ ।
विमानस्थलको स्तरोन्नतिले सुदूरपश्चिममा थप आयको श्रोत थप्थ्यो। पर्यटकहरु पनि काठमाडौँ भएर सुदूरपश्चिम आउनुको दुःख बाट बच्थे र सोझै सुदूरपश्चिम ओर्लन सक्थे। हाम्रामा अपि–सैपाल हिमाल, खप्तड, शुक्लाफाँटा, बडिमालिका, मानसरोवर जाने मार्ग, कर्णाली (चिसापानी) र्याफ्टिङ्ग, लगायतका धेरै पर्यटनका आधारहरु छन्। ती पर्यटकीय गन्तव्यसम्मको पहुँच सहज बनाउनलाई पनि विमानस्थल सुधार अति आवश्यक छ।
खप्तड, रारा, मानसरोवर पर्यटनका धनगढीलाई हबका रूपमा विकास गरे यहाँका होटेल व्यवसायी, पर्यटन व्यवसायी, यातायात व्यवसायी, लगायतका सबैलाई राहात मिल्ने थियो। त्यसतर्फ पनि ध्यान जाओस्।

Image result for Banbasa railway station

१०.  देशमा रेल दौडाउने होडबाजी छ। हाम्रो त दुधुवाको लाईन र बनबासाको लाइन त्यति टाढा छैन। पूर्वपश्चिम रेल गुड्दै गरोस हामीले दुधुवा र बनबासा जोड्ने रेलमार्ग बनाएर धनगढी र दिल्ली लगायतका भारतका ठूला सहरसँगको बलियो वैकल्पिक मार्गको पहल किन न गर्ने ? बस सेवा त चलि नै रहेको छ । रेल सेवा पनि चल्यो भने त्यो सस्तो र सुलभ हुन जान्छ।
सहरभित्रै पनि भविष्यमा ट्राम कुदाउने गरेर बाटाघाटा साँघुरिन नदिन अहिल्यै देखि पहल किन नगर्ने ? हाम्रा पश्चिम सेती र अपर कर्णालीले जति भनेपनि बिजुलीको उत्पादन गर्नेछन्। तिनबाट उत्पादित बिजुलीले रेल चलाउने सपना अहिलेदेखि नै किन नदेख्ने?

Image result for chisapani wind mill project

११. वैकल्पिक उर्जा विकासको कार्यक्रम अन्तर्गत बायोग्यास, सौर्य उर्जा, हावाबाट विजुली, लगायतका कुरामा पनि ध्यान किन नदिने ? चिसापानीमा त्यत्रो हावा खेर जान्छ। त्यहाँ बायु मिलको स्थापना गरेर त्यहाँको सम्भाव्यताको दोहन गर्न किन पछि पर्ने? मनाङ्ग–मुस्ताङ्गमा वायु मिल स्थापनाका लागि ढूवानी गाह्रो होला तर त्यो अवस्था चिसापानीमा छैन। त्यहाँ सजिलै उपकरण लैजान सकिन्छ।

Image result for recreation for youth

१२. धनगढीका युवालाई दुर्व्यसनीले निकै गाँजेको छ। किराना पसलमा चरस गाँजा बेचिन्छन्। त्यसको नियन्त्रणका लागि कसैले बोलेको देखिँदैन । युवाहरूलाई दुर्व्यसनीको धमीराले खोक्रो बनाएपछि सहरको भविष्य के होला ?
सुधार गृहको व्यवस्थाका साथसाथै दुर्व्यसनीबाट टाढा राख्न संगित पाठसाला, खेलकुदको अवसर, सुलभ पुस्तकालय, हाइकिङ र साइक्लिङ रूटहरू, लगायतका सृजनात्मक अनि मनोरञ्जक विकल्पहरूको विकासको लागि पनि सबैले बोल्न सुरू गर्नु पर्छ ।

Image result for Friedhof Deutschland

१३. जिल्लाकाे अञ्चल अस्पतालमा मात्रै पनि विद्युतीय शवदाह गृहकाे व्यवस्था हुन सकेकाे भए कति सहज हुन्थ्याे ? खाेला किनारा लाश जलाएर खाेलाकाे पानी दूषित पार्ने परम्परा ताेडिन अावश्यक छ। समय अनुसारकाे संस्कारमा फेरबदल अाउनु जरूरी छ। विदेशमा मसानघाट अाफ्ना परिवारका दिवंगनहरूकाे सम्झना गर्न जाने ठाउँ अनि टहल्न जाने ठाउँ हुन्छ। नेपालमा त्यही ठाउँ तर्साउने ठाउँ र भूत अाउने ठाउँ हुन्छ। इस्लाम र इसाइ धर्मावलम्वीका श्मसानघाटहरू अलि व्यवस्थित बनाइ दिने हाे भने त्यही नै पनि शहरकाे हरियाली थप्ने ठाउँकाे रूपमा विकास हुन सक्छ।

विकास जसले गरे पनि जनतालाई उत्तिकै लाभ मिल्छ त्यसैले अवको बहस कुन पार्टीले गर्याे भन्दा पनि के गर्याे भन्ने होस्। उमेद्वारहरुले पनि खुला मनले सबैका सुझावहरु सुनुन्। हामी सबैले फरकफरक अवसर पाएकाले फरकफरक अनुभब सँगालेका छौँ । एक अर्काको अनुभवबाट समाजलाई फाइदा पुग्नुनै हामीले सँगालेको अनुभवको सार्थकता हुन्छ।

लेख्दै जाँदा लामो भएछ। तन विदेशमा जति नै बसे पनि मन विदेशमा बस्न नसक्दो रहेछ। ५ वर्ष भइसक्दा पनि समाचार बीबीसी नेपाली सेवाबाटै सुनिन्छ। भ्याएसम्म स्थानीय एफएमहरु पनि सुनिन्छ। स्थानीय पत्रपत्रिकामा लेख्न अझै छुटाइन्न । आँखिर परिचय त त्यहीँ भूमीसँग जोडिएर आएको छ । त्यसैले मेरो यो पत्रलाई अन्यथा नलिइयोस् । भोलि फर्केर काम गर्न सकिने माहोल बनोस् । जय देश ! जय सुदूरपश्चिम !!

तस्वीर श्राेतः गुगल तथा फेसबुक

 

 


 

More form the Internet

loading...