त्यसैले तिमी बहुलायौ...
पागल बस्तीबाट ‘पागल’ डाक्टर गोविन्द केसीलाई खुल्ला पत्र
प्रिय ‘पागल’ डाक्टर केसी,
अभिवादन।
देशमा सत्यको (स्वार्थको) राज छ। सद्दे (दुर्जन) सज्जनहरुको सुशासन छ तसर्थ तिमी जस्ता मान्छेहरू बहुलाउनु केअनौठो र अनर्थ भयो र?
तिमी बहुलायौ, धतायौ र बर्बरायौ। संसारमा सबै प्राणीहरुको आ–आफ्नो धर्म हुन्छ सोहि धर्म पालना गर्नेक्रममा तिमीले पनि बहुलाउनु पर्यो।
रहरले कोहि बहुला हुँदैनन्, बन्दैनन्। तिमी बहुलाउनुमा पनि रहर थिएन, होइन, तर आम मान्छेको नजरमा तिमी देवताको अंश भएर बहुलायौ, बाध्यताले बहुलायौ। तर, यो देशका भ्रष्ट शासक र माफियागिरीको नजरमा रहरले बहुलायौ। तिम्रो रहरमा, तिम्रो, सनक, लहड र पागलपनमा सारा दुखी, अभाव, पीडा र रोदनले भरिएका नेपाली दाजुभाइ, दिदीबहिनीको आशा, विश्वास र भरोसाले पालुवा हाल्दैछ।
मिठो सपनाले उडान भर्दैछ, चेतना र जागरण अनि अधिकार प्राप्तिको लडाइँले शान्तिको हतियार तिखार्दै छ। निष्ठा इमान, नैतिकता र मानवताले बामे सर्दैछ तसर्थ पनि तिम्रो बहुलापनलाई मेरो सलाम छ। समस्त नेपालीको अभिनन्दन छ।
हामी भन्छौ विनित प्रार्थना गर्छौं गोविन्द तिमी बहुलाउ। प्रिय डाक्टर तिमी बहुलाउ।
यहाँ खाएर बहुलाउने, आफूमात्र डकारेर, बहुलाउने अनि आफ्ना नाता, गोता, भाइ, भारदारलाई मात्र खुवाएर बहुलाउने स्वार्थी द्रव्य मनुवा मात्र भएको बेला तिम्रो बहुलापनले यिनीहरूको निद हराम हुनु स्वभाविक भयो नै।
हाकाहाकी लुट, ठग र भ्रमको खेती,गरेर भ्रम छरेर, भ्रम उमारेर, भ्रमको मल हालेर, भ्रमको फसल फलाएर, भ्रमको विज्ञापन गरेर, भ्रमको बजारमा व्यापार गरेर खान पल्केका भ्रमजीविहरुलाई तिम्रो निर्जल, निराहार, व्रत र उपासना अनि उपवासले तर्साउनु , तिल्मिलाउनु र धर्खराउनु पर्दा हुन् सम्मको रिस डाहा छटपटी, औडाहा भएको छैन है?
द्रब्य पिचाशहरुको छटपटीमा नेपाली जनताको स्वास्थ्य शिक्षाको अभिलाषा र अभिस्ट प्रतिबिम्बित छ।
प्रिय ‘पागल’,
तिमीलाई देश दुख्यो , मधेश दुख्यो, हिमाल दुख्यो, पहाड दुख्यो, पूर्व दुख्यो, मध्य दुख्यो उत्तर र दक्षिण दुख्यो। समग्र देश दुख्यो र तिमी बहुलायौ। तर, यहाँका शासकहरूलाई केवल आफ्नो पीडा दुख्छ, आफन्तको पीडा दुख्छ तर देश दुख्दैन।
अरु भोकै नांगै हुनुको दुखले छुँदैन, अरुले अवसर नपाउनुको अभावले दुख्दैन। किनकी आफू र आफ्ना आफन्त विरामी हुँदा विश्वको जुनसुकै ठाउँमा गएर उपचार गर्ने हैसियत छ।
राज्य दोहन गरेर तर मार्ने वैधानिक लुटको साम्राज्य छ, तर एउटा पागल गोविन्द केसीलाई यी सब टूलुटुलु हेरेर बस्ने फुर्सद र छुट छैन। त्यसैले ऊ कहिले कहाँ कहिले कहाँ औषधिमुलोको आफूभन्दा ठूलो भारी बोकेर, खोलानाला तर्दै उकालीओराली छिचोल्दै गाउँ वस्तीमा सेवा गर्ने पवित्र हातपाउ लिएर पुगिरहेको हुन्छ।
तिमी बहुलाउदा कर्णाली मुस्कायो, दार्चुला मुस्कायो ताप्लेजुङ र तेह्रथुमले राहत महशुस गर्यो सप्तरी र सोलुखुम्बुले आशाको पुंन्ज भेट्यो।
भूइँचालो आउदा होस् या बाढीपहिरो या अरु प्राकृतिक र दैवीप्रकोप जहाँ राज्य र सुविधा भोगी पुग्न चाँहदैनन् त्यहाँ तिम्रो मानवियता पुगेकै हुन्छ। त्यसैले तिमी बहुला हौ। तिम्रो बहुलापनमा स्वदेशले मात्र हैन विदेशले समेत राहत पाउछ।
तिम्रो मानवीय कर्म विश्वका अरु प्रकोपग्रस्त भू–भागमा समेत दर्जनभन्दा बढी पटक पुगेको छ। तिम्रो पागलपनमा जनताले न्यानो पाउछन, मलमपट्टी पाउछन, औषधिमुलो पाउछन। अनि तिमीले सकेको राहत पनि बाड्छौ। त्यसैले हामी भन्छौ विनित प्रार्थना गर्छौं गोविन्द तिमी बहुलाउ। प्रिय डाक्टर तिमी बहुलाउ।
प्रिय ‘पागल’ डाक्टर,
तिमी मानवता र सत्चरित्र बोकेर देशको कुना कन्दरा पुग्यौ। त्यहाँको दुःख,अभाव, पीडा र बेदनालाई एकदमै नजिकबाट साक्षात्कार गर्यौ। द्रवित बन्यौ दुरदराजको गाउँमा सामान्य स्वास्थ्य चौकी नभएको कटु यथार्थ देख्यौ। भएको ठाउँमा पनि उचित उपकरण ,पर्याप्त औषधि अनि दक्ष स्वास्थ्यकर्मीको टड्कारो अभाव देख्यौ।
सामान्य जाँच र औषधिउपचारको अभावमा असामान्य तवरले लाखौं मान्छेको अकालको मृत्यु देख्यौ। कहालीलाग्दो दरिद्रता देख्यौ तब सबैको पहुँचमा राज्य छैन भन्ने गहिरो आत्मबोध गर्यौ अनि सबैलाई राज्यको पहुँच दिने मन गर्यौ र चलनचल्तीको सजिलो, फराकिलो बाटो छोडेर बेचल्तीको अप्ठ्यारो घुम्तीमोड भएकोअक्करको भीरको बाटोमा आकर्षण पायौ।
स्वार्थको आहालमा चुर्लुम्म डुबेर एेस आराम र कमाउको जिन्दगी छोडेर परोपकारी कर्ममा लाग्यौ। त्यसैले तिमी समाजको लयभन्दा फरक र छुट्टै बेग्लै भयौ।
मान्छेहरूले, मान्छेहरूको विद्यमान चेतनाले तिमीलाई पागलको संज्ञा दिए। समाजका बुद्ध र प्रबुद्ध वर्गले शासक र भ्रामक वर्गले ‘गोविन्दे बहुलायो’ भने जसले जे भने पनि तिम्रो मन विचलित भएन।तिम्रो अठोट लगाव र समर्पण त्याग र तपस्या थाकेन, भागेन् गलेंन र डगेंन पनि।
सबैले जनता ठग्ने वैधानिक लाइसेन्स लिएका थिए पालैपालो ठगे तर नैताकता इमान्दारिता र बफादारिताको कहिँ कतै भेट गराएनन्।
तिमीलाई कष्ट मन पर्यो, पीडा मन पर्यो, अभाव र दुःख मन पर्यो, तर एकै देशका नागरिकले पाएको असमान अवसर र व्यवहार मन परेंन। गरिव अभावग्रस्त बिपन्न र सुदूर भूगोललाई राज्यले गरेको विभेद मन परेन अनि बहुलाउन बाध्य भयौ।
तिमी बहुलाउदा कर्णाली मुस्कायो, दार्चुला मुस्कायो ताप्लेजुङ र तेह्रथुमले राहत महशुस गर्यो सप्तरी र सोलुखुम्बुले आशाको पुंन्ज भेट्यो। तिमीलाई थाहा छ अनि तिमीसँग गरिव ठाउँ भूगोलको आकडा छ जनता ८० प्रतिशत गाउँमा बस्छन तर सुबिधा सेवा र अवसर मुश्किलले २० प्रतिशत बस्ने शहरमा छ।
शहरी सुविधा सेवा र अवसरमा पनि शहरमा नै बस्ने मध्यम वर्गको पहुँच र सामर्थ्य भन्दा पर छ। त्यसैले सबै नेपालीले समान पहुँच अवसर सेवासुविधा पाउनुपर्छ भनेर करायौ।
तिमी एक असल मानावातावादी डाक्टर हुनुको नाताले तिमीलाई सर्वत्र देशको दुःख थाहा छ बेथिति र अन्याय थाह छ। अझ विशेष आफ्नो कर्म क्षेत्र र थलो भएकोले स्वास्थ्यको बारेमा अरु बढी दख्खल र ज्ञान छ।
त्यसकारण तिमी शिष्ट शालीन र सौम्य भएर भद्र आन्दोलनको हतियार बोकेर पहिलोपटक राज्यलाई २०६९ आअसारमा आफ्नो एजेन्डा र मागमा सहमत गराउन र देशको विद्यमान स्वास्थ्य संस्थाको विकृती, विसंगती र नग्न राजनीतिक हस्तक्षेपको भण्डाफोर गरी जनता जगाउन सफल भयौ।
तर, यो बेइमान र इमान, जमान बेच्ने राज्य सञ्चालनको हर्ताकर्ता भएको देशमा तिमीलाई सधैँ झुक्याइयो, जनतालाई गुमराहमा राख्न खोजियो। पटक–पटक सरकार फेरियो पटक–पटक तिमी सत्याग्रहमा रह्यौ तर पात्र फरक थिए प्रवृती, नियत र नियति फरक थिएन।
सबैले जनता ठग्ने वैधानिक लाइसेन्स लिएका थिए पालैपालो ठगे तर नैताकता इमान्दारिता र बफादारिताको कहिँ कतै भेट गराएनन्।
शिक्षा र स्वास्थ्य जस्तो अति नै संवेदनशील क्षेत्रलाई व्यापारिक प्रयोजनको निम्ती खुल्ला छोडियो, राज्यले संविधानमा प्रत्याभूत गरेको शिक्षा र स्वास्थ्यको मौलिक हक व्यापार व्यवसाय गरेर मनग्गे आम्दानी गर्ने कर्पोरेट हाउस बन्यो। क्षमता नभए पनि पैसाको बलमा डाक्टरी लगायत स्वास्थ्यसँग सम्बन्धित पढाई केवल डिग्री बेच्ने कम्पनीमा रुपान्तरित गरियो।
गरिब र दुःखीको वस्ती र झुपडीमा पुगेर सिटामोल बाड्नु, जीवनजल खुवाउनु अनि आफ्नै कर्मबाट बचेको दुःख जिलो आफ्नो जीवन धानेर उब्रेको पैसाले विरामीको घाउमा मलमपट्टी गरिदिनु तिम्रो अपराध र पाप हो तसर्थ पनि तिमी पागल हौ। बहुला हौ।
माफिया दलाल र नेताहरुको मिलेमोतो र लगानीमा शिक्षा र स्वास्थ्यलाई सेवा प्रदायक कल्याणकारी क्षेत्रबाट नाफामूलक व्यापारमा बदलियो। जसको विरोधमा तिम्रो पागलपनले जेहाद छेड्नु पर्यो। तब न तिमी पागल भयौ पागल पुकारियौ।
प्रिय पागल ,
तिमी पक्षपाती भयौ जो माफिया दलाल र दलका नेतालाई असह्य भयो। तिम्रो पक्षधरता जनताको लागि थियो। जनताको सर्वसुलभ स्वास्थ्यको लागि थियो। गरिव विपन्न दरिद्र तर जेहन्दार विद्यार्थीको लागि थियो, छ।
तिम्रो पक्षधरता मानवताको लागि हो। समान अवसर र समान पहुँचको लागि हो। गरिब र दुःखीको वस्ती र झुपडीमा पुगेर सिटामोल बाड्नु, जीवनजल खुवाउनु अनि आफ्नै कर्मबाट बचेको दुःख जिलो आफ्नो जीवन धानेर उब्रेको पैसाले विरामीको घाउमा मलमपट्टी गरिदिनु तिम्रो अपराध र पाप हो तसर्थ पनि तिमी पागल हौ। बहुला हौ।
अब यो देशमा तिमी मात्र पागल छैनौ अरु हजारौहजार मान्छेहरु आफूलाई निष्ठा इमान र नैतिकताको लागि पागल बन्न र बनाउन राजीखुशी छन्।
आफ्नो लागि केहि साचेनौ, आफ्नाको लागि केहि मागेनौ जोगी जिन्दगी बाचेर अरुकै भलाइको लागि सोच्यौ बोल्यौ आवाज उठायौ आफूलाई कष्ट दिलाएर अनवरत अनशनको माध्यमबाट जनताको खुशी र सेवासुविधाको लागि मर्न राजी भयौ दर्जनौ पटक मृत्युको नजिक पुग्यौ।
र, अहिले पनि मृत्युको सन्मुख छौ तर मृत्यु नजिक पुग्नुलाई आफ्नो साधना तपस्या र समर्पण ठान्छौ। आफ्नो कर्म र साधनाप्रति रत्तीभर ग्लानी र पीडाबोध गर्दैनौ त्यसैले तिमी पागल हौ।
प्रिय ‘पागल’,
अब यो देशमा तिमी मात्र पागल छैनौ अरु हजारौहजार मान्छेहरु आफूलाई निष्ठा इमान र नैतिकताको लागि पागल बन्न र बनाउन राजीखुशी छन्।
अब पनि केहि गरिएन भने लाज हुन्छ केहि त् देशको लागि गर्नुपर्छ भन्ने हुटहुटि र इच्छा शक्ति भएको जमात छ। तिमीले पाएको पागलको उपाधि त् अब गौरव र सम्मान अनि इज्जतको मानक र बिम्ब भएको छ हामी सबै आफूलाई पागल भएको गौरान्वित गर्दछौ अब केहि दिनमा सडक पागलहरुको हुलले ढाकिनेछ।
देश र दुनिया तिम्रै जस्तो पागल पन भएको मान्छेले बदल्ने हो। देश र दुनियाको लागि पागल भएर इतिहास बदल्ने, वर्तमानको उल्टो घुमाईलाई सीधा हिँडाउने काम यस्तै पागलहरुको इच्छाशक्तिबाट मात्र सम्भव हुन्छ नकि गफाडीहरुको गफबाट।
सत्याग्रह गरेर जीर्ण भएको तिम्रो शरीरमा दीनदुःखी नेपालीको आशिर्वादको सामर्थ्य छ जसले शान्तिको हतियार अनशनको माध्य बाट नै समाजको र देशको सकारात्मक परिवर्तनको तागत देखाउछ। धैर्य गर्नुपर्छ सत्यको मार्ग दुरुह छ टाढा छ तर सत्यले हारेको इतिहास विरलै पाइन्छ।
प्रिय ‘पागल’,
तिमी पनि मान्छे हौ, मान्छे हुनुको अर्थमा तिम्रा पनि कमि कमजोरी छन् होलान यदि कमजोरी नहुँदो हो त मान्छेभित्र मान्छे हुनुको तत्व नै नरहन सक्छ।
तसर्थ तिमी एक मान्छे हौ। देवत्वको अंश लिएर आएका छौ अरु भन्दा बेग्लै छौ। एक असल मानव, मानवताका पूजारी, अहिंसा र सत्यका अविचलित योद्धा तिमी पागल छौ तिम्रो पागलपनमा ‘सर्वजन हितायको’ मूलमन्त्र छ हामी तिम्रो पागलपनमा गर्व गर्छौ।
डाक्टर केसीलाई कष्ट, माफियालाई अनिष्ट देश र जनताको लागि दुनियाँ बिउझाउने महान कर्ममा लागेका पागल यी मनुवाको जय होस्। हामी सबै पागलको जय होस्।
पागल बस्तीबाट पागलहरुको इतिहास बदल्ने साहसलाई पुनः सलाम गर्दै बिदा माग्दछु।
संजिव कार्की