Suvadin, Home
Nepal Telecom 927.3k

चन्द्रागिरि डाँडाबाट जब पृथ्वीनारायण शाहले काठमाडौं, भक्तपुर र ललितपुरको राजा बन्ने सपना बुने

पृथ्वीनारायण शाहले नेपालको पुनः एकीकरण नगरेको भए कहिल्यै राम्रो काम नगर्ने र अरुको कामको पनि आलोचना गरिरहेने प्रवृत्ति भएका हाम्रा नेताहरूको पनि अस्तित्व रहने थिएन। उनलाई सामन्तको दर्जा दिनेहरूले यो पनि बुझन जरुरी छ, राजा सामन्त नै हुन्छन्। तर, अहिले हामीकहाँ चप्पल पड्काएर राजनीति गर्नेहरू सामन्त होइनन्, बरु उनीहरू हिजोआज महासामन्त बन्न उद्धत छन्।
पृथ्वीनारायण शाह।

प्रा. दिनेशराज पन्त


शासन सत्ता परिर्वतन हुनु भनेको नौलो परिर्वतन होइन। यदि नेपाल चाहिँदैन भने पृथ्वीनारायण शाहलाई जति गाली गरे पनि हुन्छ। होइन भने पृथ्वीनारायण शाह नेपाल र नेपालीका लागि अपरिहार्य व्यक्ति थिए। उनको योगदानलाई स्मरण गर्दै उनीप्रति सम्मान प्रकट गर्नु नेपालीको साझा कर्तव्य हो।

जबसम्म नेपाल रहन्छ, नेपाललाई अस्तित्वमा राख्ने इच्छा हुन्छ। तब पृथ्वीनारायण शाहलाई सम्झनु हरेक नागरिकको कर्तव्य हो। पृथ्वीनारायणलाई बिर्सनु भनेको त आफ्नो भूमिलाई नै बिर्सनु हो।

पृथ्वीनारायण शाहको वास्तविकताबारे धेरै व्यक्तिलाई थाहा छैन। बुझेका थोरैले पनि वास्तविकतालाई बङ्ग्याइरहेका छन्। स्वयम् पृथ्वीनारायण शाहका सन्तानहरूले पनि उनी कति महान थिए भन्ने कुरा बुझ्नै सकेनन्। उनीहरूमा पृथ्वीनारायण शाहले जोडेको राज्य मिलेर खानुपर्छ भन्ने भावना मात्रै विकसित भएको पाइन्छ।

तर, पृथ्वीनारायण शाहमा भने त्यस्तो संकुचित भावना पाइन्न। उनका दिव्य उपदेशहरूबाट त्यो कुरालाई प्रमाणित गर्दछ। जेठा छोरा राजेन्द्रप्रतापसिंह शाहसँग पनि उनी सन्तुष्ट थिएनन्। ‘पुरानै भाषा सराई पनि भन्छन् तिनीहरूलाई सुनाइ गयाको भया, तिनीहरुले तम्रा सन्तानको सुनाउनम् र तमरा सन्तानले हामरा सन्तानलाई सुनाउनन् र त्यो राज्य ठानी खानुन्।’ यसबाट के थाहा हुन्छ भने उनलाई राज्यसँगको साथसाथै सन्तानसँग पनि प्रेम थियो।

मेरो उत्तराधिकारीहरू योग्य छैनन् भन्ने उनलाई लागेको थियो। तर, उत्तराधिकारीबाट राज्यलाई आफ्नो स्वार्थअनुकूल प्रयोग नहोस् भन्ने चिन्ताले उनलाई पोल्थो।  

प्राचीन र लिच्छवीकालमा पनि नेपाल ठूलै थियो। लिच्छवीकालपछि नेपाल टुक्रिँदै गयो। वि.सं. को १२ औं शताब्दीमा यहाँ तीन वटा शक्क्ति केन्द्र खडा भइसकेका थिए। ती पछि टुक्रिँदै गए। पृथ्वीनारायण शाह वि.सं. १७७९ पुस २७ गते जन्मिए। उनी जन्मँदा नेपाल भू–भागमा ५२ वटा भन्दाबढी राज्यहरू खडा भइसकेका थिए। वि.सं. १७९९ चैत २५ मा पृथ्वीनारायण शाह राजगद्दीमा बसेपछि मात्रै उनले टुक्रे राज्यहरूको एकीकरण थालेका हुन्। उनले योजनाबद्ध रुपमा एकीकरण गरेका थिए। स्वयम् आफैंले पनि भनेका छन्, ‘पहिले नै नेपाल एकीकरण भइसकेकोले मैले नेपालको पुनःएकीकरण गरेको हुँ।’

पृथ्वीनारायण शाहले त्यसबखत नेपालको एकीकरण नगरेको भए अस्ताउँदो मुसलवान शक्ति र उदाउँदो अङग्रेजी शक्तिले नेपाललाई गाभ्न सक्थ्यो। आज हामीहरू जुन रुपमा स्वतन्त्र अस्तित्व साथ बाँच्न पाइरहेका छौँ त्यो अवस्थाको कल्पना गर्न सकिन्थ्यो।

राजनीतिक दृष्टिकोणबाट हेर्दा ५२ वटा राज्यहरू छुट्टाछुट्टै रुपमा रहन सक्थेनन्। त्यसको सांस्कृतिक महत्व भनेको पृथ्वीनारायण शाहले काशी यात्रा गर्दा डोटीका राजासँग ‘हामी पहाडमा हुँदा गोरर्खाली हौँ, कोही डोटेली हौँ कोही श्रीमोडिया हौँ, तर मधेसमा हुँदा चाहिँ हामी पहाडिया हौँ’ भनेर भन्नुले सूक्ष्म ढंगले उनको मनमा पहिलेदेखि एकीकरणको भावना विकास भइसकेको थियो भन्ने बुझिन्छ।

पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भएको हो, तैपनि उनको वैवाहिक सम्बन्ध राम्रो भएन। ससुराली गएर चन्द्रागिरिको बाटो हुँदै फर्कँदा त्यहाबाट काठमाडौं भक्तपुर देखेपछि उनमा यी ठाउँको पनि राजा बन्ने आकांक्षा पैदा भयो।

‘चन्डागिरिमा आइपुग्यापछि नेपाल कुन हो भनी सुध्याँञा र त्यो भादगाउ हो, त्यो पाटन हो, त्यो काठमाडौं हो भनी देषा (या) र मेरो मनमा इ तीन सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिहेथ्यो,’ दिव्योपदेशमा उल्लेख छ।

कालान्तरमा त्यो आङांक्षाले नेपालको एकीकरणको बिजारोपण गर्यो र नेपालले वर्तमान स्वरुप पनि धारण गर्यो।

पृथ्वीनारायण शाहको काम र उनका उपदेशहरूलाई समसामयिक रुपले सुधार गरेर अगाडि बढ्दा सबैको हित हुने देखिन्छ। पृथ्वीनारायण शाहले आफ्नो शक्ति र पदको दुरुपयोग गरेनन् बरु आफ्नो पूरै समय राष्ट्र निर्माणमा लगाएर नेपाललाई गुन लगाएका छन्। हिमालयको पाँच खण्डमध्ये चार खण्डमा त उनीले सहजै जीत हासिल गरे। पाँचौं खण्ड काश्मिरमा पनि उनको दाबी थियो तर नेपालीहरू तयार नभएको कारण त्यो सम्भव भएन। वि.सं. १८७१ मा नेपाल अङग्रेज युद्धमा हार खान बाध्य भएपश्चात् नेपाल अहिलेको सिमानामा मात्रै सीमित हुन पुगेको हो। उनले एउटा राजाको पूरै समय राज्यको लागि काम गर्नुपर्छ र फाल्तु कुरामा अल्मलिएर समय खर्च गर्नु हुँदैन भन्ने सन्देश छोडेका छन्।

उनका काम र उनले दिएका दिव्य उपदेशबाट पनि त्यो कुरालाई पुष्टि गर्दछ। हामीले सहजै कल्पना गर्न सक्छौं उनीपछिका राजाहरूले पनि उनले झंै काम गरेको भए नेपाल र नेपालीको भविष्य बेग्लै हुन्थ्यो।

पृथ्वीनारायण शाहले नेपालको पुनः एकीकरण नगरेको भए कहिल्यै राम्रो काम नगर्ने र अरुको कामको पनि आलोचना गरिरहेने प्रवृत्ति भएका हाम्रा नेताहरूको पनि अस्तित्व रहने थिएन। उनलाई सामन्तको दर्जा दिनेहरूले यो पनि बुझन जरुरी छ, राजा सामन्त नै हुन्छन्। तर, अहिले हामीकहाँ चप्पल पड्काएर राजनीति गर्नेहरू सामन्त होइनन्, बरु उनीहरू हिजोआज महासामन्त बन्न उद्धत छन्। उनीहरूको सामन्ती सोचले देश कुन अवस्थामा पुग्छ भन्ने कुरा उनीहरूको व्यवहारले पनि छर्लङ्ग भइसकेको छ।

दुई–दुई पटक संविधानसभा निर्वाचनबाट पनि देशले स्थायित्व पाउन सकिरहेको छैन। सानो देशमा नचाहिने संघीयताका कुरा ल्याएर बाइसे–चौबिसे भन्दा पनि कमजोर राज्य बनाउने र हरेक कुरामा कलह उत्पन्न गराउने काम भइरहेको छ।

शासन सत्ता परिर्वतन हुनु भनेको नौलो परिर्वतन होइन। यदि नेपाल चाहिँदैन भने पृथ्वीनारायण शाहलाई जति गाली गरे पनि हुन्छ। होइन भने पृथ्वीनारायण शाह नेपाल र नेपालीका लागि अपरिहार्य व्यक्ति थिए। उनको योगदानलाई स्मरण गर्दै उनीप्रति सम्मान प्रकट गर्नु नेपालीको साझा कर्तव्य हो।

हामीले यो कुरा बिर्सन हँुदैन। कुन शक्तिले गर्दा अङग्रेजलाई हराउन सके र वि.सं. १८७१÷७२ को युद्धमा नेपाल पराजित किन बन्नपुग्यो त भन्ने विचार गर्नुपर्छ। नेपाल अङग्रेजबाट हारेन मात्रै भूमि गुमाएर सन्धि गर्न पनि बाध्य भयो। त्यसकारण पृथ्वीनारायणलाई बुझ्न नेपालको इतिहास पढ्नुपर्छ। उनको बारेमा गहन खोजी गर्न जरुरी छ। इतिहास भनेको कसैले मन पराउनु, नपराउनु, निन्दा गर्नु वा प्रशंसा गर्नुमा सीमित हुँदैन।  इतिहास पहाडजस्तै ठिङ्ग उभिएको हुन्छ।

पृथ्वीनारायण शाहको जन्म जयन्तीकै दिन पुस २७ गते निन्दा धेरै र थोरै प्रशंसा सुन्न पाइन्छ। यसो गर्नु उनको लागि कुनै आवश्यकता छैन। उनी सच्चा मानव हुन्। पृथ्वीनारायण शाहको कामले हामी नेपाली भएर बाँच्न सकेका छौँ। अझ भनांै काठमाडौंकै कुरा गर्ने हो भने आजभन्दा अढाइ सय वर्षअगाडि कुपण्डोलको मान्छेले थापाथलीको ऐश्वर्य भोग्न पाउँदैन थियो। थापाथलीको मान्छेले कुपण्डोलको ऐश्वर्य भोग गर्न पाउँदैन थियो। आ–आफ्नो योग्यता अनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ऐश्वर्य उपभोग गर्न पाउने बनाइदिएको त पृथ्वीनारायण शाहले नै हो। जबसम्म नेपाल रहन्छ नेपाललाई अस्तित्वमा राख्ने इच्छा हुन्छ। तवसम्म पृथ्वीनारायणलाई सम्झना गरिरहनु पर्छ। पृथ्वीनारायणलाई बिर्सनु भनेको त आफ्नो भूमिलाई नै बिर्सनु हो।

राजतन्त्रात्मक नेपालमा गणतन्त्र स्थापना भएको छ। गणतन्त्रको स्थापनासँगै पृथ्वीनारायण शाहमाथि अन्याय पनि भइरहेको छ। उनको योगदानलाई बिर्सने र अरु राजासरह तुलना गर्ने काम भइरहेको छ। त्यो सरासर संकुचित मानसिकताको उपज मात्रै हो। त्यसको उदाहरण पुस २७ लाई राष्ट्रिय पर्वको रुपमा नमनाउनु नै हो। उनको सम्मानमा सरकारले पुस २७ का दिन सार्वजनिक विदा दिएर राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएकोमा नेपाल गणतन्त्रात्मक मुलुक भइसकेपछि सरकारले विदा कटाएर उनीप्रति दुर्भावना पैदा गरेको छ। उनको जयन्तीमा राज्यले कुनै कार्यक्रम नगर्नु महाभूल हो।

चाहिने भन्दा बढी विदा दिने देशमा पृथ्वी जयन्तीको विदा काट्नु राज्यले उनको योगदान र उनीप्रति अपमान गरेको पुष्टि हुन्छ। यसो गर्नु सिंगो इतिहासलाई मेट्ने चेष्टा हो। जुन कुरा आम नेपालीलाई सह्य हुँदैन।

पृथ्वीनारायण शाहको बारेमा अध्ययन नगर्नु र प्रशंसा नगर्नु भनेको हामीले नेपाल चाहिँदैन भन्नु हो। इतिहास सबैको चाहिन्छ तर पूरै उनको योगदान र समयलाई बिर्सन कसैले मिल्दैन। उनको कुन कामले गर्दा नेपाल एकीकरण भयो, नेपाल कसरी विखण्डन भएको थियो र त्योबेला उनले कसरी एकीकरण गरे?, हामीलाई नेपाली बनेर बस्ने अवस्था कसरी ल्याइदिए? भन्ने कुराको विश्लेषण चाहिँ सुझबुझ भएका हामीले गर्ने कुरा हो। दिवसको अवसरमा मात्रै उनलाई सझिने होइन। यो निरन्तर चलिरहनु पर्छ। प्राज्ञिक रुपमा उनको अध्ययन अनुसन्धान गर्ने निकाय खडा गर्नुपर्छ। राष्ट्रिय योजना आयोगजस्ता संस्थाहरूले उनी र उनका उपदेशको बारेमा पनि समसायमिक सुधार गर्दै राष्ट्रका लागि के गर्न सकिन्छ भन्ने बारेमा ध्यान दिनु जरुरी छ। यी त वर्षभरि नै गर्नुपर्ने कार्यक्रम हुन्।

अहिलेको समयमा पनि उनलाई विवादको विषय बनाइनु हुँदैन। उनलाई नबुझ्ने र नपढ्नेहरूले मात्रै विवादको विषय बनाउने गरेका हुन्। अल्पज्ञानीहरूले नै उनलाई विवादमा तान्नेका छन्। तर, उनीहरूले आफ्नो खुट्टामा आफै बञ्चरो हानिरहेका छन्। जुनसुकै शासन पद्दति आओस् पृथ्वीनारायण शाह नेपालका लागि महान व्यक्ति हुन्।

संघीयता लगायतका कुरामा अहिले देशको अस्तित्वको प्रश्न ठूलो बन्दै गएको छ। यो देशको दूरदर्शीता आदिको बारेमा ख्याल नगर्दाको परिणाम हो। आफ्नो योग्यता र क्षमताभन्दा अयोग्यताबाट शासनमा आएकाहरूले देशलाई यो गतिमा ल्याएका हुन्। विदेशी सहायता र रेमिट्यान्सबाट चलेको देशमा संघीयताजस्ता विषय पचाउनै नसकिने विषय हुन्। भौगोलिक हिसाबले पनि त्यो उपयुक्त देखिन्न।

पृथ्वीनारायण शाहभन्दा अगाडि यक्ष मल्लले पनि नेपालको एकीकरण गर्न खोजेका हुन्। मुकुन्द सेनले पनि एकीकरण गर्न खोजेका थिए। उनीहरूले आफ्ना भाइ–भतिजाका लागि राज्य बाँड्न यी काम गरेका थिए। पृथ्वीनारायण शाहले चाहिँ राज्य नटुक्राउने विषयमा आफ्ना भाइहरूसँग विरोध गरे, त्यसकारण यो देशको अस्तित्व रहन गएको हो।

देशको अस्तित्व र अस्मिता जोगाउनका लागि अहिले पनि त्यस्तै व्यक्तिको खाँचो छ। यो अवधिमा नेपाल धेरै परिर्वतन भइसकेको छ। समय अनुसार सुहाउँदो परिर्वतन आवश्यक पनि छ तर पृथ्वीनारायण शाहले देखाएको बाटोलाई नै हामीले पछ्याउँदा देश र जनताको हित देखिन्छ। पृथ्वीनारायणप्रति औला ठड्याउँनेहरू यहाँ धेरै छन्।

अहिले त नेपालको स्वतन्त्र अस्तित्व बचाउनै गाह्रो छ। ठीक कुराको चिन्तन नै भएको छैन। राष्ट्रलाई छल्ने र राष्ट्रिय स्वार्थविपरीत काम गर्नेले उनीमाथि अपमान गरिहनेछन्। यो वास्तविकतालाई आम जनताले समयमै बुझ्न जरुरी छ।

(इतिहासविद् पन्तसँग गोविन्द लुइँटेलले गरेको कुराकानीमा आधारित।)


 

More form the Internet

loading...