Suvadin, Home

स्थानीय तह निर्वाचन-२०७४
योग्य, सक्षम र इमानदारलाई नै भोट किन?

हामीले आफू र आफ्नो परिवारको सम्पूर्ण भविष्य नै जिम्मा दिनुपर्ने व्यक्ति गलत भइदियो भने के राजनीतिक दलले हाम्रो भविष्य थामिदेला त? अनि त्यतिबेला आफ्नै पुर्पुरोमा हात लगाएर बस्नेबाहेक हामीसँग अन्य विकल्प रहने छैन। त्यसैले दलीय परिधिबाट माथि उठेर योग्य, इमानदार, अनुशासित व्यक्तिलाई निर्वाचित गर्नु हामी जनताको कर्तव्य हुन आउँछ।
तारकेश्वर नगरपालिकामा चुनावी अभियान सञ्चालन गर्दै स्थानीय।

राजीप धिताल


इतिहासका कालखण्डमा नेपालमा धेरैपटक राजनीतिक परिवर्तन भए। राणाशासनपछिको आधुनिक नेपालको इतिहासमा मात्र पनि नेपाली जनताले २००७ सालदेखि २०१७ सालसम्म राजासहितको प्रजातन्त्र, २०१७ सालदेखि २०४६ सालसम्म सक्रिय राजासहितको निर्दलीय पञ्चायती व्यवस्था, २०४७ सालदेखि २०५८ सालसम्म राजासहितको प्रजातन्त्र, २०५८ सालदेखि २०६३ सालसम्मको सक्रिय राजतन्त्र र त्यसपछिको संक्रमण कालको अन्त्य हुँदै हाल आएर संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छौ।

यद्यपि यसमा केही प्राविधिक कुरा बाँकी होलान् वा अझै केही सुधारको आवश्यकता होला त्यो अलग कुरा भयो। तर, समग्रमा नेपालको राजनीतिक परिवर्तन आफैंमा गर्व गर्न लायक र उच्चतम् लोकतान्त्रिक उदाहरण मान्न सकिन्छ।

समग्रमा अब हामी सामाजिक रुपान्तरणको नयाँ चरणमा प्रवेश गरेका छौं। हाम्रा पूर्वजहरूले राजनीतिक परिवर्तनका आरोह अबरोह पार गरेर नै आफ्नो अमूल्य जीवन पार गर्नुपर्याे। कतिपय अवस्थामा राजनीतिक नेतृत्वको भुलभुलैयामा आफूलाई कुहिरोको कागझैं दौडाउन विवश हुनु भयो।

तर, अब नेपाल एउटा ऐतिहासिक परिवर्तनको मोडमा आइपुगेको छ। आजको युवापुस्ता आफूलाई राजनीतिको वाहियात बहस र बादविवादमा अल्मलाउन चाहँदैनन्। आजका युवा राजनीतिक भुलभुलैयाको चक्रब्यूहमा फसेर जीवन बर्बाद पार्न चाहँदैनन्। उनीहरू अब आफूलाई आर्थिक र सामाजिक रुपान्तरणको मार्गमा दौडाउन चाहन्छन्। त्यसको लागि उपयुक्त मार्ग बनाउन खोजी गर्दैछन् र सो मार्ग बनाउने काम राजनीतिको हो।

हामीले जतिसुकै बहस गरे पनि असल राजनीतिक प्रणालीबिनाको विकास र समृद्धिको मार्ग भनेको गन्तव्यबिनाको यात्राजस्तै हो। अनि यो राजनीतिक प्रणालीको सबैभन्दा अभिन्न अंग भनेको स्थानीय तह हुन्। आफ्नो स्थानीय आवश्यकता अनुसारको योजना छनौट र कार्यान्वयन नै संघीयताको उपलब्धि हो। स्थानीय तहको संरचना पनि सोहीअनुसार निर्माण भएका छन्।

संसारमै उत्कृष्ट व्यवस्थामध्येमा पर्ने संघीयतामा स्थानीय तहलाई स्थानीय सरकारको अवधारणाको रुपमा विकास गरिएको छ। हामीले यसलाई पहिलेको गाविस वा नगरपालिकाकै रुपमा बुझ्यौं भने त्यो हाम्रो भूल हुनेछ। अहिलेको स्थानीय तहमा केन्द्रीय तहमा भएका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अवधारणासँग मिल्दो गरी संरचनाहरूको निर्माण गरिएको हुन्छ। स्थानीय तहको आम्दानीको स्रोतसाधन खोजी तथा संकलन, त्यसको उचित व्यवस्थापन तथा बाँडफाँड, हाम्रो जग्गा जमिन, सिफारिस तथा हक कायम, सम्पत्तिदेखि न्याय र इन्साफका कार्यमा स्थानीय तहका पदाधिकारीहरूले निर्णय गर्नुपर्ने हुन्छ। सानोतिनो कामका लागि अड्डा अदालत धाउँदा हामीले पाएको दुःखलाई सम्झँदा अब हामिले आफ्नो दैलोमा नै सो सेवा पाउनु निश्चय नै सुखद् कुरा हो र जनतालाई संघीयताको उपहार पनि यही हो।

सबै कुरा राम्रो त भयो तर कार्यन्वयन गर्ने जिम्मेवार पदाधिकारी गलत आचरणको भइदिए के होला? हामीले आफू र आफ्नो परिवारको सम्पूर्ण भविष्य नै जिम्मा दिनुपर्ने व्यक्ति गलत भइदियो भने के राजनीतिक दलले हाम्रो भविष्य थामिदेला त? अनि त्यतिबेला आफ्नै पुर्पुरोमा हात लगाएर बस्नेबाहेक हामीसँग अन्य विकल्प रहने छैन। त्यसैले दलीय परिधिबाट माथि उठेर योग्य, इमानदार, अनुशासित व्यक्तिलाई निर्वाचित गर्नु हामी जनताको कर्तव्य हुन आउँछ।

 


 

More form the Internet

loading...