Suvadin, Home

मन्त्रीज्यू, सरकार प्रचारमुखी होइन, परिणाममुखी हुनुपर्छ

साँचो अर्थमा स्वाभिमानी मानिस यो व्यवसायमा छिर्ने आँट नै गर्दैनन्। यहाँ नक्सामा, कागजमा लेखिए अनुसारका काम फिल्डमा गरेर होइन, माथिदेखि तलसम्मका सबै परजीवि जुकाहरुलाई पैसा चुसाएर मात्रै पैसा कमाउन सकिन्छ। निर्माण ठेकेदार पैसा कमाउन यो पेशामा लागेका हुन्। समाज सेवा गर्न, देश बनाउन लागेका होइनन्। काम गरेरभन्दा काम नगरेर पैसा कमाउन सकिने भएपछि किन काम गर्ने? ३० प्रतिशत काम ६० प्रतिशत पेश्की र भुक्तानी किन?
गृहमन्त्री, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र लेखक रामचन्द्र उप्रेती।

रामचन्द्र उप्रेती


अहिले संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादल र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनाल बलदेवले अख्तियार गरेको कार्यशैलीको चर्चा सञ्चार माध्ययममा व्यापक बनेको छ। यो लेखमा गृहमन्त्रीले निर्माण कम्पनीका ठेकेदार जसले समयमा काम सकेनन्, काम गरेनन् तिनको सूची तयार गर्ने, कारबाही गर्ने, समात्ने, कागज गराउने, थुन्नेसम्मका कामको चर्चा व्यापक बनेको छ।

निर्माण ठेकेदार मध्ये धेरैको रवैया ठेक्का लिने, कर्मचारीसँग मिलेर पेश्की लिने र काम नगर्ने, बहाना बनाएर समय थप माग्ने, पैसा थपाउदै जाने, थपिएको पैसा थपिदिनेलाई पनि भाग लगाउने जस्ता विकृतिले संस्कारको रुप धारण गरिसकेको छ। स्थानीयदेखि केन्द्रसम्मका राजनीतिक दलका नेता, तिनका अरौटेभरौटे, स्थानीय सानाठुला डन्, कमिशनजिवी, चन्दाजिवी सबैले निर्माण ठेकेदारलाई सताउने गर्छन्। जस्तै राम्रो काम गरेपनि त्यहाँ खटिने प्राविधिक, इन्जिनियर, लेखापालदेखि हाकिमसम्मले आफ्नो कमिसन नलिई फाइल सदर गर्र्दैनन्, पैसाको निकास दिदैनन्। त्यसैको नतिजा हो कतिपय ठेकेदारले समयमै काम सकेर पनि भुक्तानी पाउन सकेका छैनन्। ठेकेदारलाई गरिने भुक्तानीको पहिलो शर्त कमिशन हो र दोश्रो शर्त उसले गरेको काम हो। त्यसैले बेथितिको चाङ लागेको छ।

यी तमाम कारणको केन्द्रमा ठेकेदार छन् र तिनका वरिपरि माथिका मनुवाहरु र्याल चुहाएर गौँडो ढुकेर बसेका छन्। साँचो अर्थमा स्वाभिमानी मानिस यो व्यवसायमा छिर्ने आँट नै गर्दैनन्। यहाँ नक्सामा, कागजमा लेखिए अनुसारका काम फिल्डमा गरेर होइन, माथिदेखि तलसम्मका सबै परजीवि जुकाहरुलाई पैसा चुसाएर मात्रै पैसा कमाउन सकिन्छ। निर्माण ठेकेदार पैसा कमाउन यो पेशामा लागेका हुन्। समाज सेवा गर्न, देश बनाउन लागेका होइनन्। काम गरेरभन्दा काम नगरेर पैसा कमाउन सकिने भएपछि किन काम गर्ने? ३० प्रतिशत काम ६० प्रतिशत पेश्की र भुक्तानी किन? कमिशनजीवि कर्मचारी, इञ्जिनियर, नेता सबैले ठेकेदारलाई पैसा भुक्तानी दिने बित्तिकै आफ्नो भाग पाउने भएकाले ठेकेदारलाई भुक्तानी दिन हतार गर्छन्। तर काम भए नभएको हेर्ने काम हुँदैन।

वर्तमानमा सरकारका मन्त्रीलाई छिटो गतिमा हिँडेर समृद्धिको गन्तव्यमा पुग्नु छ। मन्त्रीको नियत ठिकै होला। यसमा सरकारले आफ्नै अङ्ग(सिस्टम)मा भएको समस्या पहिला समाधानको पहल गर्नुपर्छ। ठेकेदारलाई मात्रै खेदेर, थुनेर पुग्दैन। यदि गृहको यो प्रयासले निरन्तरता पाए ठेक्कापट्टासँग सम्बद्ध मन्त्रालयहरुका कमिशनजीविहरुले नियम कानून र कार्यक्षेत्रको कुरा उठाएर गृहलाई कमजोर बनाउन प्रयास गर्ने छन्। यसको संकेत देखिन थालिसकेको छ। ठेकेदारलाई अहिलेको मन्त्रीको सक्रियताले निरन्तरता पाउला र काम काट्ला भन्ने लागेको छैन। त्यसै कारण तिनको केन्द्रीय संघले निकालेको विज्ञप्तिमा खुलेर सबै कुरा प्रष्ट भन्न सकेका छैनन्। विश्वास भए तिनले भन्ने थिए, ठेक्का लिँदा क–कसलाई कति–कति प्रतिशत कमिशन दिनुपर्छ भनेर। त्यसै गरेर पैसाको भुक्तानि लिदा कति कति कमिशन दिनुपर्छ भनेर।

सरकारका मन्त्रीले के गरे त्यो समाचार बन्छ, तर उनको कामले के नतिजा दियो त्यसप्रति धेरैको ध्यान गएको पाइँदैन। महत्व प्रचारको होइन नतिजाको हुनुपर्छ। देशका शत्रु काम लिएर कामै नगर्ने ठेकेदार मात्रै होइनन् काम गर्नै नसक्ने अवस्थामा पुर्याउने कमिशनजीविहरु अर्थात् मानवरुपी जुकाहरु पनि हुन् भन्ने
तिर मन्त्रीको ध्यान जानुपर्छ।

ठेकेदार ठिक छन् तिनलाई कारबाही गर्नु हुँदैन भन्ने मेरो आशय हुँदै होइन। यो अवस्थामा राज्यसँग निर्माणको ठेक्का लिएर जसले काम गर्ने सोच बनाए, तिनले राम्रो काम, नियम अनुसारको काम गर्छु भन्ने सोच नै बनाएका हुँदैनन्। पिसी बाँढ्ने, कमिशन खुवाउने, हाकिमदेखि पियनसम्म रिझाउने बरु कामदार ठग्ने, व्यापारी ठग्ने, सरकार ठग्ने सोचको उपज भएका ठेकेदार नै धेरै छन्। पियनदेखि हाकिमसम्म, ठेकेदारदेखि नेतासम्म कामको डिजाइन गर्ने बेलादेखि नै आफूलाई के गर्दा फाइदा हुन्छ भनेर योजना बनाउँछन्। जस्तै एउटा १० फिटको ढिस्को सम्याउनु छ भने ० थपेर १०० फिट बनाउने इञ्जिनियरले पैसा लिने ठाउँ बनाएका हुन्छन्।

कुनै समय भारतको विहारमा नेपालले अहिले भोगेकै समस्या थियो रे! ठेकेदारले ठेक्का लिने, काम नगर्ने। काम नगरी ठेकेदार र अरु कमिशन जीविहरु मालामाल हुन्थे। राज्यको पैसा सबै मिलेर लुट्थे तर काम हुँदैनथ्यो। यो अवस्थाभन्दा पछि लालुकै समयमा भारतको विहारमा कुनै पनि व्यावसायिक र जिम्मेवार ठेकेदारहरु टेण्डर बोल्नै आउँदैन थिए रे! किनभने उनीहरु काम गर्न सक्दैनथे। काम नगर्ने ठेकेदार कालोसूचीमा पर्ने गर्थे। त्यसैले केन्द्रले पठाएको बजेट सधैं फ्रिज हुन्थ्यो। त्यो समय विहारले पार गर्यो। हामी त मिलिजुली लुट्ने युगमै छौं। अब इमान्दार र कर्मयोगी ठेकेदारले काम छोड्ने युग पर्खने समय हामीसँग छैन। हामी अति छिटो सम्बृद्धिको बाटोमा अगाडि बढनु छ त्यसैले कामचोर ठेकेदार र कमिशनजीवि जुकाहरुलाई एकै पटक कारबाहीको दायरामा ल्याएर व्यावसायिक ठेकेदारलाई प्रोत्साहित गर्नुपर्छ। मन्त्रीको यो कदमले खरावलाई दण्डित र असललाई पुरस्कृत गर्नुपर्छ। सबै खराब नहोलान्। तर, खराब हुन बाध्य पारिएको छ भने त्यसको समाधान खोज्ने काम सरकारको हो। 

यदि गृहमन्त्रीको यो सक्रियताले निरन्तरता पाइरह्यो भने ठेकेदारसँग हिमचिम बढाएर मोटाएका कर्मचारी बेलुका चाडै घर पुग्न थाल्नेछन्। तिनले आफ्ना छोराछोरीलाई महङ्गा स्कुलबाट सामान्य स्कुल तिर सार्नेछन्। तिनका परिवारको घमण्ड अलि साइजमा आउने छ। विस्तारै तिनको समाजमा इज्जत बढ्ने छ। उता पेशा, राजनीति र समाजसेवा भएको गफ हाँक्ने समाजमा कथित अगुवा जसको आम्दानीको कुनै वैधानिक श्रोत हुँदैन।

जताततै बेथितिले राज गरेको मुलुकमा मन्त्री एक्लो सक्रिय भएर पुग्दैन। पहिला मन्त्रीले आफू मातहतको निकाय र संरचनालाई कामकाजी बनाउनु पर्छ। हो, मन्त्री मुनिका प्रायः सबै निकाय भ्रष्ट छन्। त्यसको कारण विगतमा मन्त्रीले नै यस्तो बन्न उक्साएका हुन्। खराब राजनीतिको छायाँमा हुर्केको कमिशन खोर प्रवृत्तिले जन्माएको क्रोनी क्यापिटलिजम् क्रमशः राजनीतिलाई नै प्रभावमा पार्ने र नियन्त्रण गर्ने अवस्थामा पुग्नु देशको दुर्भाग्य हो। अहिले पनि सरकारको वरिपरि घेरा हालेर चाकडी गर्न मन पराउने ठूलै समूह राज्यको धन चुहुने दुला बनाउने, त्यहीँ मुख गाडेर चुस्ने। र, मोटाउने गरी र्याल काडेर बसेका छन्। अहिलेको सरकार बनाउन विगतमा तिनको पनि योगदान छ। अझ धनको योगदान गर्नमा यस्तो समूह माहिर छ। यस्तो लगानी खेर जान नदिन र अझै धेरै कमाउन यस्ता समूहले विभिन्न ठेकेदारलाई नै प्रयोग गर्ने हुन्। अझ कति जना त स्वयं आफैँ ठेकेदार बनेका होलान्। प्रचण्डलाई घर बहालमा दिने पनि ठेकेदार पेशाका रहेछन्। उनी पनि काम नगर्ने समूहमा नाम लेखाएकामध्ये मै पर्दा रहेछन्। यस्तै–यस्तै कोही न कोही कतै न कतै टाँसिएकै छन्। सरकार यस्ता ऐँजेरुहरुलाई पन्छाएर अगाडि बढ्न सक्छ कि सक्दैन? समयले बताउँला।

वर्तमान सरकारसँग जनताले ठुलो अपेक्षा गरेका छन्। विगतमा जस्तो अस्थिर र कमजोर सरकार होइन यो। तर, यो सरकारले पनि काम कानूनअनुसार नै गर्नुपर्छ। थिति बसाउनु पर्छ। राज्यका सबै अङ्गलाई क्रियाशील नबनाई प्रचारमुखी काम त गर्न सकिएला। तर नतिजामुखी काम गर्न सकिँदैन। राज्यका सबै अङ्ग भनेको व्यापक अर्थ हुन्छ नै तर सरकार सुशासन र विकासको पहिलो र महत्वपूर्ण आधार हो। त्यसैले जनता पहिला सरकारसँग आषा गर्छन्। सरकारको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीसँग भएजस्तै मन्त्रालयको सम्पूर्ण जिम्मा मन्त्रीको हो। मन्त्रीले गर्ने काम विधिसम्मत र थिति बसाउने, थिति बनाउने हुनुपर्छ। बेथितिलाई कानुन अनुसार नै कारबाही गर्नुपर्छ।

चालु आर्थिक वर्ष समाप्त हुँदैछ। नयाँ आर्थिक वर्षमा लगाइने ठेक्का कत्तिको सहज र निस्पक्ष हुन्छ, व्यावसायिक ठेकेदारलाई काम गर्ने वातावरण सहज हुन्छ कि हुँदैन? तिनले गर्ने काम नियम सम्मत र समयको सिमा भित्र हुन्छ कि हुँदैन? अर्थात् गराउन सकिन्छ कि सकिँदैन? कमिशनजीवि जुकाहरुले लुकेर मात्रै खान्छन् कि माथिसम्म मिलाउनु पर्छ भनेर हाकाहाकी मोलमोलाई गर्छन्? यस्तालाई राज्यको माथिल्लो निकायले कारबाही गर्छ कि संरक्षण?

यदि गृहमन्त्रीको यो सक्रियताले निरन्तरता पाइरह्यो भने ठेकेदारसँग हिमचिम बढाएर मोटाएका कर्मचारी बेलुका चाडै घर पुग्न थाल्नेछन्। तिनले आफ्ना छोराछोरीलाई महङ्गा स्कुलबाट सामान्य स्कुल तिर सार्नेछन्। तिनका परिवारको घमण्ड अलि साइजमा आउने छ। विस्तारै तिनको समाजमा इज्जत बढ्ने छ। उता पेशा, राजनीति र समाजसेवा भएको गफ हाँक्ने समाजमा कथित अगुवा जसको आम्दानीको कुनै वैधानिक श्रोत हुँदैन।

तर विलाशी जीवन जिउँछन्, र धमाधम सम्पति बढाउँछन्। तर राज्यलाई कुनै कर तिर्दैनन् तिनीहरुले पेशा बदल्ने छन् वा जीवन शैली बदलिने छ। कामको मेलो खोज्ने छन्। विस्तारै उनीहरुको पनि समाजमा मान बढ्ने छ। देश र समाज क्रोनी क्यापिटलिजम्बाट मुक्त हुने बाटोमा लाग्ने छ। व्यवसाय त्यसमा पनि फियर व्यवसायको जग बलियो बन्न शुरु हुने छ। अहिलेको क्रोनि क्यापिटलिजम्हरु सम्मानित हुने ठाउँमा व्यवसायी सम्मानित बन्ने दिन आउने छ। त्यतिखेर भनौला गृहमन्त्री ज्युको सक्रियताले सही नतिजा निकाल्दै छ। मेरो कामना छ, गृहमन्त्रीको काम हिँड्दैछ पाइला मेट्दैछको अवस्था नबनोस्।


 

More form the Internet

loading...