Suvadin, Home
Nepal life 2.241M

कसरी निर्माण हुन्छन् मानिसका जरा?

धेरै सोचविचारपछि उनीहरुले पत्याएका दुई जना टाढाका मानिसलाई गएर सोधेछन्। ती दुवैजनाले एउटै जवाफ दिएछन् र भनेछन् तिमीहरुका बाबु स्वर्ग गए कि नर्क गए भन्ने कुरा तिम्रा गाउँका मानिसलाई थाहा छ। उनीहरु अलमलमा परेछन्। फेरि सोधेछन् गाउँलेलाई कसरी थाहा हुन्छ? ती दुवै बुद्धिमान र विवेकी मानिसले भनेछन् हेर यदि गाउँका मानिसले स्वर्ग जाउन भने भने स्वर्ग जान्छन् र नर्क जाउन भने भने नर्क जान्छन्। तर, गाउँलेले मुखले होइन मनले यस्तो चिताउनु पर्छ, मनले भन्नुपर्छ भनेछन्। यसको अर्थ थियो उनले गरेका कामले गाउँलेको मनमा कस्तो प्रभाव परेको छ भन्ने हो।
लेखक रामचन्द्र उप्रेती।

रामचन्द्र उप्रेती


मानिसका जरा हुन्छन् भन्दा पत्याउन नसकिएला। तर, मैले महशुस गरें कि, मानिसका जरा हुँदा रहेछन्। मानिस सामाजिक प्राणी भएका कारण उसका जरा समाजमा हुँदा रहेछन्। रुख बिरुवाका जरा तिनैसँग जोडिएर माटामा फैलिएका हुन्छन् भने मानिसका जरा पनि मानिससँगै जोडिएर समाजमा गाडिएका हुँदा रहेछन्।

रुख बिरुवाका जरा माटामुनि हुने भएकाले ती सजिलै देखिँदैनन्। तर, रुख बिरुवा हुर्कने, बढ्ने, पैmलने, हुरीबतासबाट जोगिने, जोगाउने जस्ता काम तिनै जराले गरिरहेका हुन्छन्। रुख बिरुवालाई चाहिने खनिज पदार्थ तिनै जराको मद्दतले पाइरहेको हुन्छ। तर, देख्नेले रुखमात्रै देख्छन्, जरा देख्दैनन्। यदि जरा कमजोर भयो भने रुख बिरुवा स्वतः कमजोर हुन्छन्। यति कुरा त सबैले बुझेकै हो।

मानिस चलायमान प्राणी भएकाले उसका जरा पनि सीमित ठाउँमा मात्रै नभएर उसको पहुँच भएसम्मै हुने गर्छ। मानिस विवेकशील प्राणी भएकाले उसका जरा उसँग भएको विवेकका आधारमा विस्तार भएका हुँदारहेछन्। त्यसैगरी, मानिस बोल्ने गर्छ, ज्ञान आर्जन गर्छ, आर्जन गरेको ज्ञानको प्रयोग गर्छ, बोलीको प्रयोग गर्छ, काम गर्छ, सृजना गर्छ। उसका काम र सिर्जनाको प्रभावले उसका जराको निर्माण हुँदोरहेछ।

जरा जति धेरै र बलियो भयो रुखबिरुवा त्यति नै अग्लो, बलियो, दह्रो र ठूलो भए जस्तै मानिसका जरा पनि जति बलिया, दह्रा भयो मानिस त्यति नै बलियो, अग्लो, ठूलो, लोभलाग्दो र कामलाग्दो अर्थात् सबैले माया गर्ने खालको हुँदोरहेछ। मानिसले समाजबाट धेरै माया पाउने अवस्था बनाएको छ भने सम्झिनु पर्छ कि त्यो मानिसका जरा समाजमा धेरै परपरसम्म र मानिसका मनभित्र पुगेका रहेछन्। हरेक मानिस उभिएको पहिलो आधार घरपरिवार र त्यसपछिको आधार समाज हो। त्योभन्दा माथिको कुरा भनेको राष्ट्र हो, विश्व हो। प्रायः सबै मानिस परिवारको लालनपालन, मायाममता र रेखदेखमा हुर्किएका हुन्छन्। त्यसैले ठूलो भएपछि उनीहरुको पहिलो कर्तव्य हुन्छ ऊ आफ्नो परिवारप्रति जिम्मेवार बनोस्।

परिवारप्रति जिम्मेवार बन्नुको अर्थ आफूलाई सानो छँदा जन्माउने, हुर्काउने, जोगाउने, मायाममता गर्ने र सम्मान गर्नेलाई यथोचित मानसम्मान, रेखदेख, पालनपोषण, सुरक्षा आदि प्रदान गर्न महत्वपूर्ण योगदान गरोस्। कहिलेकाही जन्माउने र हुर्काउने फरकफरक हुन सक्छन्। यस्तो बेलामा मानिसले जहाँ हुर्कने अवसर प्राप्त गर्यो त्यो नै उसको परिवार हुन पुग्छ।

समाजमा ठूला मानिसको अभाव हुँदैन। किनभने धेरै मानिस ठूलो हुन नै सधैँ प्रयास गरिरहेका हुन्छन्। ठूलो मानिस भएस् भनेर सानैदेखि आफ्ना अभिभावक एवं मान्यजनले भनेका हुन्छन्।  समाजमा ठूला मानिसको प्रभाव हुन्छ तर मानिसको मनमा असल मानिसको प्रभाव हुन्छ। समाजमा प्रभाव जमाउनभन्दा मानिसको मनमा प्रभाव जमाउनु निकै कठिन काम हो।

परिवार पछिको दोश्रो महत्वपूर्ण सम्बन्ध मानिसको आफन्त र समाजसँग हुन्छ। व्यक्ति परिवारको सदस्य भएजस्तै परिवार समाजको सदस्य हुन्छ। परिवारप्रति जिम्मेवारी भएजस्तै समाज प्रति पनि जिम्मेवारी हुन्छ। समाजको हितमा कुनै काम नगर्ने तर समाजलाई समेत अहित गरेर त्यही समाजको सदस्य भइरहने परिवार वा व्यक्तिका जरा समाजसँगै गासिएका त हुन्छन् तर कमजोर हुन्छन्। अर्थात् सधैँ आफ्नै बारेमा मात्रै सोच्ने र काम गर्ने मानिसले समाजको हित नगर्ने मात्रै होइन अहित हुने, नोक्सान हुने र गर्न नहुने काम गरिरहेको हुन्छ। तिनलाई परेको बेला समाजले किन सम्झन्छ र? जुन परिवार वा व्यक्तिलाई समाजले वास्ता गर्दैन वा सम्झिँदैन उनको जरा समाजमा पुगेको छैन भन्ने बुझिन्छ।

भलै त्यस्ता मानिस देखाउनलाई र कुरा गर्नलाई समाजको अब्बल दर्जाको नागरिक भएको, समाजमा धेरै योगदान गरेको, समाजले सधैँ सम्मानपूर्वक सम्झने गरेको भनेर गफ गर्न पनि सक्छन्। केही मानिस  समाजमा गुमनाम बनेर आफ्नो दैनिकी गुजार्छन्। यस्ता मानिसले पनि समाजलाई केही न केही त योगदान गरिरहेकै हुन्छन्। यस्ता मानिसलाई पनि समाजले कता हो कता राम्रो नमाने पनि नराम्रो मान्दैन। केही मानिस समाजको भलो हुने काम लगभग गर्दैनन् समाजका स्थापित मूल्यमान्यताभन्दा विपरीत चलेर जीवन गुजारा गर्छन्। यस्ता मानिसप्रति समाजले उति राम्रो मान्य कुरै भएन। यसरी मानिसले समाजमा आफ्नो कर्म अनुसारको प्रभाव छाडेको हुन्छ। हो यही प्रभावलाई नै मानिसका जरा भनेको हुँ।

यहाँ एउटा सानो प्रसंग जोडनु सान्दर्भिक ठान्दछु। कुनै गाउँमा एक जना अलि नाम चलेका मानिसको निधन भएछ। काजक्रिया सकिएपछि क्रिया गर्ने छोराछोरीको मनमा लागेछ हाम्रा बाबु स्वर्ग गए कि नर्क गए होलान्? यो कुराको जानकारी पाउन उत्सुक भएकाले कसलाई सोध्ने भनेर विचार गरेछन्। निकै गमेछन्। धेरै सोचविचार पछि उनीहरुले पत्याएका दुई जना टाढाका मानिसलाई गएर सोधेछन्। ती दुवैजनाले एउटै जवाफ दिएछन् र भनेछन् तिमीहरुका बाबु स्वर्ग गए कि नर्क गए भन्ने कुरा तिम्रा गाउँका मानिसलाई थाहा छ। उनीहरु अलमलमा परेछन्। फेरि सोधेछन् गाउँलेलाई कसरी थाहा हुन्छ? ती दुवै बुद्धिमान र विवेकी मानिसले भनेछन् हेर यदि गाउँका मानिसले स्वर्ग जाउन भने भने स्वर्ग जान्छन् र नर्क जाउन भने भने नर्क जान्छन्। तर, गाउँलेले मुखले होइन मनले यस्तो चिताउनु पर्छ, मनले भन्नुपर्छ भनेछन्। यसको अर्थ थियो उनले गरेका कामले गाउँलेको मनमा कस्तो प्रभाव परेको छ भन्ने हो।

समाजमा मानिसका जरा कति परपरसम्म पुगेका छन् भनेर थाहा पाउन विशेष सन्दर्भ पर्नुपर्छ। जस्तै विवाह, ब्रतवन्द, निधन, पूजाआजा, जन्मदिन, बिरामी आदि। अर्थात् सुखदुःखको सन्दर्भ। एक पटक गाउँका धनी मानिसका छोराको अल्पायुमै कुलतमा फसेकाले निधन हुनपुग्यो। मलामी उति धेरै थिएनन्। तरपनि अन्त्येष्टि कर्म गर्नु पर्थ्यो, भयो। सुध्याईंको दिन मलामी र आफन्तजनलाई बोलाएर खुवाउने चलन भएकाले त्यही अनुसारको व्यवस्था भएको थियो। तर, त्यो सुध्याईंको दिन उनको घर परिवारका अतिनिकट मानिस बाहेक कोही गएनन्। पकाए–तुल्याएको सबै समान साँझमा फ्याक्नु परेको थियो भनेको सुनेँ। सम्झेँ, त्यो परिवारको जरा समाजमा उति फैलिएको रहेनछ। मानिसले गफगाफमा भन्ने गर्थे उनकामा किन खान जानु। उनी कुन गतिला मानिस हुन् र?

असल मानिस र ठूला मानिसका बीचमा केही फरक छ। मानिस असलभन्दा पनि ठूलो हुन जोडबल गर्छन्। ठूला मानिस भनिनेहरुको आकर्षण उनको पद, पैसा र पावरसँग हुने गर्छ। जब पद, पैसा र पावर उनीहरुबाट टाढा हुन्छ, तब त्यस्ता ठूला मानिसको आकर्षण ह्वात्तै घट्छ। तर, असल मानिसलाई मानिसले सधैँ सम्झने गर्छन्। श्रद्धापूर्वक सम्मान गर्छन्।
कहिलेकाही यस्तो संयोग पनि हुन्छ, ठूलो मानिस र असल मानिस एउटै हुन्छन्। वास्तवमा यस्ता मानिस दुनियाँमा निकै कम हुन्छन्। तर, समाजमा ठूला मानिसको अभाव हुँदैन। किनभने धेरै मानिस ठूलो हुन नै सधैँ प्रयास गरिरहेका हुन्छन्। ठूलो मानिस भएस् भनेर सानैदेखि आफ्ना अभिभावक एवं मान्यजनले भनेका हुन्छन्।  समाजमा ठूला मानिसको प्रभाव हुन्छ तर मानिसको मनमा असल मानिसको प्रभाव हुन्छ। समाजमा प्रभाव जमाउनभन्दा मानिसको मनमा प्रभाव जमाउनु निकै कठिन काम हो।

तिनै मानिसका जरा समाजमा गहिरोगरी भिजेका हुन्छन् जसले मानिसको मनमा आदरका साथ स्थान पाउँछन्। त्यसैले हामीले समाजमा भन्ने गरेको ठूलो मानिस हुनु भनेर आशिक दिनुभन्दा असल मानिस हुनु भन्नु धेरै उपयोगी हुन्छ। किनभने ठूला मानिसका कारण समाजमा नराम्रा र अरुको अहित हुने काम पनि हुनसक्छ जब कि असल मानिसले अरुको मन दुखाउने र समाजको अहित गर्ने काम गर्दैनन्। भलै ठूला मानिस जति असल मानिसको प्रभाव परपरसम्म नपुगेको होस्। भनिन्छ धेरैले चिन्नुभन्दा बरु थोरैले चिनुन् तर जतिले चिन्छन् तिनले असल भनेर चिनुन्। यो नै सफल र उत्तम जीवन हो। 


 

More form the Internet

loading...