Suvadin, Home

Cover Image

जीवन संघर्ष
अभिभावकबाटै अवहेलित भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसाल

उनीमाथि भएका अन्यायका अभियुक्तहरू अहिले पनि समाजका उच्च ओहोदामा छन्। कैयौंले तिनीहरूको पनि पूजा गर्छन्। जो पीडित छिन्, उनका वेदनालाई ‘झुठो र कपोकल्पित’ उपमा दिन्छन्। तर, पलपल मरेर बाँचेका आफ्ना विगत सम्झिनेबित्तिकै शारदा भुसाल झाका अाँखाबाट झर्ने आँशुका धारा चाहिँ झुठा पक्कै होइनन्। भनिन्छ, बालबालिकालाई जस्तो शिक्षा दियो, जस्तो व्यवहार गर्यो आफूसँग उनीहरु त्यस्तै व्यवहार गर्छन्। हो, शारदा उनका अभिभावकले गरेको व्यवहारबाट यति स्तब्ध छिन्, आफूलाई जन्म दिने बुवाआमाप्रति श्रद्धाको एउटा बिन्दु पनि बाँकी छैन।
शारदा भुसाल झा।

काठमाडौं, वैशाख ६ – जतिबेला नेपालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि आन्दोलन हुँदै थियो, उनी आफ्नै घरभित्र स्वतन्त्रता र न्यायका लागि लडिरहेकी थिइन्। घरका अभिभावकले त उनलाई मानसिक स्वास्थ्य बिग्रिएको भनेकै थिए, समाजले पनि उनको बालमस्तिष्कमा आक्रोश र कुण्ठा मात्रै भरिदिँदै थियो।

त्योभन्दा धेरै त उनी नेपाल सरकारका मन्त्री भएकैहरूबाट पटक–पटक शोषित भइन्। तर, पनि आफ्ना पाइला चाल्न उनी जसोतसो कोसिस गरिनै रहेकी थिइन्। उनको जीवनका अतीतहरु यस्ता छन्, जो कोही सामान्य मानिसले सुन्ने सामर्थ्य राख्दैन।

उनीमाथि भएका अन्यायका अभियुक्तहरू अहिले पनि समाजका उच्च ओहोदामा छन्। कैयौंले तिनीहरूको पनि पूजा गर्छन्। जो पीडित छिन्, उनका वेदनालाई ‘झुठो र कपोकल्पित’ उपमा दिन्छन्।

तर, पलपल मरेर बाँचेका आफ्ना विगत सम्झिनेबित्तिकै शारदा भुसाल झाका अाँखाबाट झर्ने आँशुका धारा चाहिँ झुठा पक्कै होइनन्। भनिन्छ, बालबालिकालाई जस्तो शिक्षा दियो, जस्तो व्यवहार गर्यो आफूसँग उनीहरु त्यस्तै व्यवहार गर्छन्। हो, शारदा उनका अभिभावकले गरेको व्यवहारबाट यति स्तब्ध छिन्, आफूलाई जन्म दिने बुवाआमाप्रति श्रद्धाको एउटा बिन्दु पनि बाँकी छैन।

‘उहाँहरु मेरा आमाबुवा हुनुहुन्छ तर...,’ उनी टक्क अडिइन्। उनका गला बसे। बोल्न सकिनन्। फेरि केही बोल्न खोजिन्। आवाज निस्किएन। आखाबाट आँशुका धारामात्रै बहिरहे।

शुभदिनको कार्यालयमै अन्तरवार्ताका लागि अाइपुगेकी भ्रष्टाचारविरोधी अभियन्ता शारदाले आफ्नो विगतलाई आँशुका धारासँग बगाइन्। एकछिन मन हलुका पारेपछि उनीले आफ्नो बाल्यकाल व्यक्त गरिन्।

सायद शारदाले आफ्ना बुवाआमाको प्रेम र आफन्त तथा समाजको सद्भाव अलिकति पनि पाएकी हुन्थिन् त उनको कथा अर्कै हुन्थ्यो। मञ्जरी पब्लिकेशनले प्रकाशित गरेको शारदाको आत्मकथा धरातलमा पनि उनको जीवनका अनगिन्ती पीडा पोखिएका छन्।

घरभित्रै बन्दी बालिका

नेपालको अन्तिम पश्चिमी गाउँ दार्चुलाको दोधाराचाँदनीमा शारदाको जन्म वि.सं. २०३२ साल असार ५ गते बुधबार भयो। तर, खास घर अर्घाखाँचीको सन्धिखर्क हो। राजनीतिक कारणले उनका आमाबुवा दोधाराचाँदनी पुगेका थिए। त्यही बेला उनको जन्म भयो। आमा मनशोभा र बुवा गुणनिधि भुसाल हुन्। 

‘अर्घाखाँचीका धनाढ्य परिवार, प्रवृत्ति सामन्तको जस्तो त हुने नै भयो,’ शारदा भन्छिन्, ‘पञ्चायतकालमा लुटपाट परेको अभियोगमा प्रहरीले खोज्न थाल्यो, गाउँबाट भाग्नु पर्ने कारण यही रहेछ।’

जब शारदा दुईचार पाइला हिँड्न लागिन्। उनका कानले सानीनानीलाई माया गरेर भन्ने शब्द सुन्नै पाइनन्। अपशब्ददेखि आफू जन्मिँदा बुवाआमालाई दुःख भएको मात्रै उनले सुन्नु पर्यो। ती अबोध बालिकालाई के थाहा दु:ख के हो, सुख के हो? तर, उनी सुनिमात्रै रहन्थिन्। 

शारदाको पढाइ स्थानीय बालमन्दिर विद्यालयबाट सुरु भयो। एक कक्षा त्यहाँ पढेपछि उनी घोचेखोलास्थित प्राथमिक विद्यालयमा पढ्न गइन्। ३ कक्षापछि ६ कक्षासम्म जनज्योति माविमा पढिन्।

र, जनज्योतिलाई कांग्रेसको स्कुल भनेर उनका बुवाले भगवती माविमा कक्षा ७ मा भर्ना गरिदिए। त्यसपछि उनको पढाइ अघि पढ्न सकेन। धेरै वर्षपछि उनले सेन्ट अप परीक्षा देखिन्। तर, एसएलसी लेख्नै पाइनन्। 

स्कुल जाने सानी बालिकाको मनस्थिति खेल्ने खाने आदि हुन्छ। सबैसँग मुसुक्क हाँसेर बोलिदिन्छन्, बालबालिका। तर, शारदा आफ्नै अभिभावकसँग हाँसेर बोल्न पाउँदिनथिइन्। उनी भन्छिन्, ‘हाफपाइन्ट लगाएको हुन्थ्यो, बिना कारण खुट्टामा सुम्लैसुम्ला उठ्ने गरी कुटाई खानुपर्थ्यो, त्यो कुटपिटको कारण अहिलेसम्म पनि मलाई थाहा छैन।’

गुणनिधिका तीन वटी श्रीमती छन्। तीनमध्ये कान्छीकी छोरी हुन् शारदा। तर, आफ्ना आमाबाट उनले कहिल्यै प्रेम पाइनन्। उनी भन्छिन्, ‘हजुरआमा र माइलीआमाले मलाई बचाउनु हुन्थ्यो।’ 

२०४६ साल नेपालमा प्रजातन्त्रका लागि सशक्त रुपमा आन्दोलन भइरहेको थियो। शारदाको बुवा गुणनिधि पनि त्यो राजनीतिक आहोलमा पक्राउ परेका थिए। बालिका शारदाको घरकी साना छोरी थिइन्।

उनको काम चाहिँ हरेक दिन तरकारी तथा अण्डा बेच्न बजार जानेआउने थियो। ‘अण्डा बेच्न जाँदा अरुले खोसेर खाइदिन्थे, जसले अण्डा खोसेर खानेहरुको कर्तुत मलाई थाहा थियो,’ उनी भन्छिन्, ‘त्यो कर्तुत बताइदिने चेतावनी दिएपछि नक्कली प्रेमपत्र लेखेर उनीहरुले मलाई परिवारसँगै नराम्रो गराए।’

वि.सं. २०४६ साल फागुन २ गते शारदाका बुवा पक्राउ परे। उनलाई कपिलवस्तु जेल चलान गरियो। तर, घरमा उनकी कान्छी छोरी आफ्नै आमाबाट मुक्ति चाहिरहेकी थिइन्। उनी भन्छिन्, ‘त्यही नक्कली प्रेमपत्रको बहाना मैले चरम् यातना सहनुपर्यो।’ 

नवलकिशोर झासँगको भेट

नक्कली प्रेमपत्रको बहानामा कुटपिट भएकी शारदा घरबाट विस्थापित हुने स्थितिमा पुगिन्। विक्षिप्त भएर हिँडिरहेकी शारदालाई खानाको प्रबन्ध सरकारी निकायमा कार्यरत नवलकिशोर झाले गरिदिए। उनी पुनः घर फर्किइन्।

‘हजुरआमाले कुटपिट हुन नदिने सर्तमा घर लानु भयो,’ उनले भनिन्। त्यही साल चैत पहिलो साता उनीसहित मसाल कार्यकर्तालाई प्रहरीले स्थानीय विद्यालयबाट पक्राउ गर्यो। एक रात हिरासतमै बिताउनु पर्यो। रातभरि उनीहरुलाई कुटपिट भयो। प्रहरीको यातनापछि उनले बिहान घर पुग्नासाथ अभिभावकबाट यातना पाइन्। 

अभिभावकद्वारा मोदनाथको जिम्मा

वि.सं. साल वैशाख १ गतेको दिन। नयाँ वर्षको उल्लास। तर, शारदाको जीवन कालो बादल मडारिन थालेको थियो। वैशाख १ गतेका दिन आयोजना हुने आमसभाका लागि मोदनाथ प्रश्रित र शान्ता माधवी अर्घाखाँची पुगेका थिए।

कार्यक्रम सकिएपछि मोदनाथ र शान्ता उनकै घरमा बास बस्न पुगे। त्यो साँझ पनि उनीमाथि अभिभावकको अवहेलना पोखियो। मानसिक अवस्था बिग्रिएको आरोप लगाउँदै उनीमाथि कुटपिट भएपछि शान्ता र मोदनाथले जोगाए।

र, आफूसँगै काठमाडौं लाने बताए। प्यूठान, दाङ हुँदै पत्थरकोटसम्म उनीलाई लगियो। पुनः अर्घाखाँची पुगेपछि उनको काठमाडौं यात्रा सुरु भयो। ‘दाङमै मोदनाथले मेरो शरीरमा हात लगाउन खोजेका थिए,’ उनले भनिन्, ‘काठमाडौं लगेपछि त मेरो नरककै जीवन सुरु भयो।’

पढाउने बहानामा काठमाडौं लगिए पनि अाफूमाथि औषधि खुवाएर कुकृत्य भएको उनीले जनाइन्। सात महिनासम्म मोदनाथकहाँ बन्धक भएर बसेपछि उनी भाग्ने मस्थितिमा पुगिन्।

दिदीहरुसँग तीजमा आयोजित कार्यक्रममा जाँदा उनले भाग्ने मौका पाइन्। ‘नमूना र सावित्रा भुसाल लिन आउनु भयो, गएँ पनि। घ्यू र भात दिनुभयो,’ शारदाले भनिन्, ‘तर, म आफन्त र अभिभावकबाटै अघाइसकेकी थिएँ, कसरी रुच्नु?’

दसैं-तिहार सकिएपछि शारदा बुटवल गइन्। बुटवलबाट दाजुसँग पत्थरकोट गइन्। तर, उनलाई दाजुले पनि मुर्छित हुने गरी कुटपिट गरे। ‘घर पुगेपछि खाटको खुट्टामा बाँधेर कुटे,’ उनी भन्छिन्, ‘हजुरआमा र माहिली आमाले उद्धार गरेर लानुभयो।’

त्यसपछि उनकी माहिलीआमा र हजुरआमाले नवलकिशोर झासँग भेट्ने वातावरण निर्माण गरिदिए। ‘सँगै लाने र पढाउने प्रस्ताव आएपछि नवलकिशोर झासँग जाने निर्णयमा पुगे,’ उनले भनिन्, ‘मंसिर २१ गते हजुरआमाले हामीलाई बिदा गर्नुभयो।’

बुटवल पुगेपछि नवलकिशोरले शारदाको उपचार गराए। डा. साबित्री पहारीले उनको उपचार गरिन्। त्यसपछि अर्घाखाँची पुगिन्। सबैले विवाह गरेको शंका गरे। र, सामान्य प्रशासन मन्त्रालयमा आफ्ना दाजुको चिनजानकी कर्मचारीलाई भनेर नवलकिशोरको सरुवा सिन्धुली गराइन्।

सिन्धुलीमा नवलकिशोरले काम नगर्ने भन्दै यातना नै दिन थालेपछि उनले पुनः तिनै कर्मचारीलाई भनेर सोलुखम्बु सरुवा भयो। उनी नवलकिशोरसँगै चार वर्ष सोलुखम्बुमा बसिन्। त्यहाँ चाहिँ नवलकिशोरबाट यातना सहनुपर्यो। त्यही रहँदा उनले सेन्टअप परीक्षा पास गरेकी हुन्। 

महोत्तरीबाट सुरु भयो नयाँ आन्दोलन

वि.सं. २०५१ सालमा महोत्तरी फर्किइन् शारदा। त्यहाँ एउटा तालिममा सहभागी हुन पाइन्। तालिममा महिलामाथि हुने हिंसाविरुद्ध उजुरीको विषय उठाइएको थियो। उनका अनुसार आफूमाथि भएको यौनशोषणका बारेमा त्यहाँका अगुवा महिलालाई पनि उनले गुहारिन्।

तर, सत्ता, शक्ति र सम्पत्तिका भक्तहरुले उनलाई साथ दिएनन्। अन्ततः उनी आफैं लड्न थालिन्। राजनीति सुरु गरिन्। सफल भइन्। र, भ्रष्टाचारविरोधी अभियान पनि उनले सुरु गरिन्। ‘त्यतिबेला जमिनदारहरु तारो भएकी थिए,’ उनले भनिन्, ‘तर, मेरो यात्रा रोकिएन।’

शारदाले २०५१ सालमै भ्रष्टाचार विरोधी अभियान सुरु गरेकी हुन्। सुशासनका लागि भ्रष्टाचारविरुद्ध संघर्ष समितिमा पनि उनले काम गरिन्। सुशासन अभियान नेपाल, शारदा फाउण्डेसनकी संरक्षक, पाइभ युथ फाउण्डेसन डट ओआरजी अन्तर्राष्ट्रिय सल्लाहकार बोर्ड र सूचना सुशासन अभियानकी मानार्थ सदस्य हुन् उनी।

नेपाली साझामञ्चकी अन्तर्राष्ट्रिय अभियन्ता शारदाले निरन्तर भ्रष्टाचारविरोधी अभियान चलाइरहेकी छिन्। भ्रष्टाचार विरोधी अभियान अन्तरगत पहिलोपटक २०६८ साल भदौ २५ गतेदेखि असोज ६ गतेसम्म आमरण अनसन बसिन्।

दोस्रोपटक काठमाडौंमा २०६९ साल फागुन ११ गतेदेखि १९ गतेसम्म आमरण अनसन नै बसिन् उनी। र, तेस्रो पटक ‘न्याय मर्यो’ भनेर केशमुण्डन गरी अशौच बारेर १३ दिन बसिन्। २०७० साल माघ ६ गतेदेखि १८ गतेसम्म उनी कोरामा बसेकी हुन्।

र, वि.सं. २०६८ साल मंसिर १६ गतेदेखि सूचनाको हक प्रयोग गरेर १ हजार ७ सय ८४ वटा मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरिसकेको उनले बताइन्। शारदाले इमानदारिता, पारदर्शीता र जवाफदेहिताका लागि लडिरहने उद्घोष गरिन्।


 

More form the Internet

loading...