Suvadin, Home

डा. उपेन्द्र देवकोटाः नैतिकवान, विद्रोही र राष्ट्रवादी नेता

पहिलो पटक देवकोटासँग पुग्दा नेताका राजनीतिक बेइमानी, राजनीतिक विचारको मृत्यु र स्वार्थको फोहोरले लिपिएको स्थितिबाट नैरास्य र दुस्साहसपूर्ण विद्रोहको आक्रोश भरिएको एउटा अनिश्चित र स्वाभाविक दुर्घटना बोकेर पुगेको थिए। देवकोटाले त्यो दुर्घटनालाई बडो बौद्धिक र राजनीतिक तबरबाट हल गरिदिए। उनले प्रष्ट भने, ‘तपाई अगाडि बढ्नुहोस्, म साथमा हुन्छु। कि मलाई साथ दिनुहोस् म अगाडि बढ्छु। हामीसँग समय कम छ। म पनि चुप लागेर बस्न सक्ने अवस्थामा छैन।’
डा. उपेन्द्र देवकोटाप्रति श्रद्घासुमन अर्पण गरिँदै।

ज्योतिकिरण रिजाल 


म आज स्वाभाविक रुपमा दुःखी छु। अब मेरो जीवनकालभरि डा. उपेन्द्र देवकोटासँगको सहकार्य अन्त्य भएको छ। म आफूलाई देवकोटाँसग थोरै भएपनि विशिष्ट परिवेशमा भेट भएको मानिसमध्ये एक ठान्छु। मैले चिनेका देवकोटा जति पेसाले चिकित्सक हुन्, त्यति नै राजनीतिका एक विशिष्ट चिन्तक र नैतिक बलले सशक्त मानिस हुन्। उनीसँग फरकखालको आत्मविस्वास थियो। त्यसैले सत्य बोल्ने मानिसले कहिल्यै झुक्नु पर्दैन। र, असफल पनि बन्नुपर्दैन भन्ने कुरा उनीभित्र दृढ थियो। देवकोटामा सामान्य मानिसले आँकलन गर्नै नसक्ने उत्साह र लगाव थियो।

एउटा सचेत मान्छे कसैले आफूलाई भन्छ भने उसले कुनै एक विषय मात्रै जानेर पुग्दैन। यदि उ सचेत र दिग्गज हो भने उसले हरेक कुरा बुझेको हुनुपर्छ। अझै धेरै समाज र देश बुझेको हुनुपर्छ र राजनीति बुझेको हुनुपर्छ। देवकोटा यस्तो धारणा बोकेका चिकित्सक थिए। उनले राजनीतिलाई नजिक बनाएका थिए। म आफूपनि राजनीतिको विद्यार्थी भएकै कारण देवकोटा र मेरो भेट सम्भव भएको थियो। जब मेरो र देवकोटाको भेट भयो, म आफूमा नयाँ आत्मविस्वास जागृत भयो।

पहिलो पटक म देवकोटासँग पुग्दा नेताका राजनीतिक बेइमानी, राजनीतिक विचारको मृत्यु र स्वार्थको फोहोरले लिपिएको स्थितिबाट नैरास्य र दुस्साहसपूर्ण विद्रोहको आक्रोश भरिएको एउटा अनिश्चित र स्वाभाविक दुर्घटना बोकेर पुगेको थिए। देवकोटाले त्यो दुर्घटनालाई बडो बौद्धिक र राजनीतिक तबरबाट हल गरिदिए। उनले प्रष्ट भने, ‘तपाई अगाडि बढ्नुहोस्, म साथमा हुन्छु। कि मलाई साथ दिनुहोस् म अगाडि बढ्छु। हामीसँग समय कम छ। म पनि चुप लागेर बस्न सक्ने अवस्थामा छैन।’ देवकोटाले यसो भनेपछि मैले उनीभित्रको राजनीतिक जागरणको उर्जालाई नजिकबाट बुझ्ने सौभाग्य प्राप्त गरे। उनीभित्रको विद्रोह नै देशका निम्ती साँचो पुजी हो भन्ने समीक्षा म सहज रुपमै गर्न सक्थेँ।

त्यसपछि उनको नेतृत्व स्वीकार गर्दै राजनीतिक चेतनाको पहिलो हात राष्ट्रियताका निम्ती विद्रोहकै शर्तमा मिलाएका थियौँ हामीले। त्यसैको परिणाम व्यस्त पेशागत समस्याका बाबजुत पनि देवकोटा कयौं सामाजिक र राजनीतिक कर्ममा आफ्नो समय छुट्याइरहेका थिए। देशभरका जनतासँग बलियो सहकार्य गर्ने इच्छा थियो देवकोटाको। त्यसैले सांगठानिक रुपमै काम गर्ने रणनीतिहरु आफैँ तयार गरेका थिए। म, अनिल, आदित्य ,सूर्यनाथ दाइ लगायत हामीहरुले त्यो रणनीतिको विकास गर्ने र अगाडि बढ्ने हो भने त्यहाँ बाटै विचार निर्माणका नयाँ आधारहरु तय हुन्छन् भन्नेमा देवकोटालाई कन्भिन्स गरेका थियौँ। र, उनी कन्भिन्स पनि थिए यो उनीभित्रको विशिष्ट उत्साह र आत्मविस्वासकै परिणाम थियो।

प्रगतिशील देवकोटा

कसैले देवकोटा प्रगतिशील होइन भन्छ भने त्यो कही न कही पूर्वाग्रह राखिरहेको छ भन्ने बुझ्नुपर्छ। ऊनीले बन्दुक बोकेनन्, उनले आफूलाई कम्युनिस्ट भनेनन्, उनी कुनै नक्कलीवाद र नक्कली सिद्धान्तको भरिया भएनन्। तर, उनले निष्ठा र आस्थाको समाजवादी र प्रजातान्त्रिक विमर्श गरिरहे। कुनै एमाले नेता वा पार्टीपङ्तिले आज स्वीकार गर्छन् या गर्दैनन्, त्यो उनीहरुको कुरा हो। तर, मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएको लोकप्रिय बृद्धभत्ता कार्यक्रम उपेन्द्र देवकोटाको अवधारणा थियो।

मनमोहन अधिकरीले उनको कार्यक्रमलाई ठूलो उत्साहका साथ कार्यावन्यन गराएका थिए। यो कुरा देवकोटा र मेराबीच कुरा हुँदा प्रायः उनी सम्झाइरहन्थे। र, कैयन पटक सार्वजनिक सभामा उभिएर देवकोटाले आफ्नै मन्तव्यमा पनि यो कुरा बताएका छन्। के कुनै पश्चगामी चिन्तनले कम्युनिष्ट सरकारलाई यस्तो बौद्धिक सहयोग पुर्याउन सक्छ?

त्यतिमात्र होइन, पछिल्ला आखिरी दिनमा पनि उनी र मैले सल्लाह गरेअनुसार वाम गठबन्धनलाई समर्थन गरेका थियौँ। किन समर्थन गर्ने? कम्युनिष्ट भएर होइन। तर, योबारे हाम्रा आफ्नै वैचारिक धारणा थिए। उनी गोर्खा जाने र म झापामा सकेको भूमिका निर्वाह गर्ने निष्कर्ष निकाल्यौ। उनका थुप्रै यस्ता काम छन्, जसले देवकोटालाई अब्बल प्रगतिशील व्यक्तित्व प्रमाणित गरेको छ।

विद्रोही देवकोटा

देवकोटा र स्तब्भकारले काठमाडौंको शान्ति बाटिकाको एक भ्रष्टाचार विरोधीसभालाई सम्बोधन गरेका थियौं। मेरो मन्तव्य सकिएपछि देवकोटाको पालो आयो। मैले मेरो गन्तव्यमा राजनीतिक भ्रष्टाचार ठूलो समस्या हो भएको बताए। र, यस्तो खाले भ्रष्टाचारका बलिया प्रतिनिधि पात्रहरु शेर बहादुर र प्रचण्ड नै हुन् भन्ने कुरालार्इ विशेष जोड दिएँ। देवकोटाले मुख्यगरी भ्रष्टाचारको अन्तर्राष्ट्रिय चरित्र र नेपालको अवस्थाबारे चित्रण गरे।

त्यही शिलशिलामा देवकोटाले भारतका महात्मा गान्धी पनि भ्रष्टाचारी हुन् भनेर मन्तव्य राखे। र, त्यसको सबुत पेस गर्न गान्धीले उपयोग गरेको बिरला भवन र त्यसको श्रोतलाई पेस गरे।कार्यक्रम सकिएपछि हामी छुट्टियौं। बेलुका देवकोटाले फोन गरे। र दिउँसोको कार्यक्रमबारे समीक्षा मागे। मैले पहिला आफ्नो मन्तव्यबारे समीक्षा मागे। उनले प्रष्ट भने, ‘प्रचण्ड र शेरबहादुर मात्र होइनन्, सबै नै उति नै भ्रष्ट छन्। व्यवस्था सुधारमै केन्द्रि त हुनुपर्छ। अरु राम्रो छ।’

देवकोटाले मसँग कयौं पटक मदन भण्डारी र वीपी कोइरालाको प्रशंसा गरेका छन्। आज कांग्रेस वीपी विचारबाट च्यूत भएको निष्कर्षकै कारण देवकोटाले आफ्नो बौद्धिक सपोर्ट प्रगतिशील झिल्का बोकेको वाममार्गीहरुमा अलि सहज रुपमा राख्दै आएका मात्र थिए।

अनि मैले उनको पनि समीक्षा गर्नैपर्ने भयो। जो म भनिरहन चाहेको थिइनँ। तर, देवकोटाले आग्रह गरेपछि भने कि तपाईले गान्धी भ्रष्टाचारी हो नभन्नु भएको भए राम्रो हुन्थ्यो। यो त कुटनीतिक र व्यावहारिक दृष्टिले पनि स्वाभाविक भएन कि! अरु राम्रै छ। देवकोटाले त्यो बारे करेक्सन हुनै चाहेनन्। बरु थप गान्धी भ्रष्टचारी नै हुन् भनेर जिकिर गर्न थाले। मैले यो त थ्रेट भयो नि भने। देवकोटाले निर्धक्क भने अब माग्ने नै थ्रेट हो। म झसंग भएँ। र, खुशी पनि भएँ, देवकोटा यतिधेरै विद्रोही रहेछन्।

देवकोटामाथिको आरोप

अक्सर मानिसहरु देवकोटालाई राजावादीको आरोप लगाउने गर्छन्। देवकोटालाई नभेटेसम्म मलाई पनि यो भ्रम थियो। यिनी ज्ञानेन्द्र शासनको मन्त्री खाएका मानिस हुन्, राजावादी नै होलान् सायद। तर, सत्य त्यस्तो होइन रहेछ। मैले आफैँले देवकोटालाई सोधेको छु, के तपार्इ राजावादी हो? किन खानु भयो राजाको मन्त्री? वास्तवमा दरवार हत्याकाण्ड कसको षडयन्त्र हो? यस्ता प्रश्न देवकोटालाई पटक–पटक सोध्ने मान्छेमा पर्छु म। देवकोटाको मन्त्री पद वास्तवमा बाध्यताको अवसर थियो। मलाई देवकोटाले योबारे सत्य रहस्य बताएका छन्।

दरबार हत्याकाण्ड लागुऔषध कारोबारीले गरेको षड्यन्त्रको परिणाम हो। हत्याकाण्ड दीपेन्द्रले नै मच्चाएका हुन्। तर त्यसमा लागू औषध कारोबारीको हात छ। शाहवंश नै समाप्त गर्ने त्यो षडयन्त्रबाट मुस्किलले बाँचेका ज्ञानेन्द्र शाहलार्इ साथ दिनु त्यसबेलाको आवश्यकता र बाध्यता भएको हुनाले आफू मन्त्री बनेको उनले मार्मिक रुपमा सुनाएका थिए। देवकोटाले आफूलार्इ कहिलै राजावादी भनेनन्। उनी देशभक्त र प्रजातन्त्रलाई नजिकबाट बुझेका मानिस हुन्। देवकोटाले मसँग कयौं पटक मदन भण्डारी र वीपी कोइरालाको प्रशंसा गरेका छन्।

आज कांग्रेस वीपी विचारबाट च्यूत भएको निष्कर्षकै कारण देवकोटाले आफ्नो बौद्धिक सपोर्ट प्रगतिशील झिल्का बोकेको वाममार्गीहरुमा अलि सहज रुपमा राख्दै आएका मात्र थिए। हाम्रो साझा भूमिका राष्ट्रियताका निम्ती हो। र, उनीमाथिका कुनै पनि आरोप उनका दृष्टिकोणहरुले खण्डन गरिदिएका छन्।

अन्त्यमा देवकोटा गुमाउनु पर्दा मुलुक शोकमा परेको छ। मेरो रोदन गौण भएको छ। हार्दिक श्रद्धाञ्जली उपेन्द्र सर।


 

More form the Internet

loading...