Suvadin, Home
अहिले धेरै नेपाली युवाहरू बाहिर छन्, जसका कारण लैंगिक असन्तुलन धेरै बढेको छ। महिलाले आफ्नो मर्जी यहाँ गर्ने पुरुषले आफ्नो मर्जी बाहिर गर्ने भए समाज कता जाला त्यो भन्न निकै कठीन छ। अहिले वैदेशिक रोजगारका कारणले पनि धेरै सम्बन्धहरू टुक्रिँदै छन्। अब यसमा कसलाई दोष दिने भन्न निकै कठीन छ। विदेशिएकालाई लाग्ला आफूले दु:ख गरेको पैसामा नेपालमा श्रीमतीले मस्ती गर्दैछिन्, श्रीमतीलार्इ कति एक्लै बस्ने, कति आशामा मात्रै बस्ने भन्ने लाग्ला। यो समस्याको समाधान कसैसँग छैन। जे भए पनि महिलाको इज्जत उनको यौनांगमा छैन, उनले चाहेकोसँग प्रेम गर्ने, सम्भोग गर्ने, उनको आफ्नै अधिकार हो।

जीवन अधिकारी


 

तर, हरेक मर्जीभित्र नैतिकताको बन्धन हुन्छ। मानिसको जीवनमा सबैभन्दा ठूलो कुरा खुसी नै हो, खुसीभन्दा ठूलो नैतिकता पनि नहोला। तर, घाँटीमा मंगलसुत्र लगाएर रेमिटेन्सको पैसाले परपुरुषगमन गर्न, एउटा केटा साथी पोखरामा अर्को काठमाडौंमा बनाउने छुट चाहिँ कुनै महिलालाई पनि नहोला। र, यस्तो छुट पुरुषलाई पनि छैन।

मेट्रिक पास गरेका मेरा बाले मेरी अनपढ आमालाई १८-१९ को कलिलो उमेरमा बिहे गरे, त्यो पनि मागी बिहे। भर्खर वैंशमा चढेका बाले १५ वर्षकी आमाको मर्जी अनुसार इच्छा पूर्ति गरे या जबर्जस्ती गरे त्यो त गौंड विषय नै छ। तर, बिहेपूर्व कुनै युवतीलार्इ राम्ररी नदेखेका बाले एक्कासि आफ्नो ओछानमा आमालाई देख्दा उनले यौन इच्छालाई कदर गरे या गरेनन् त्यो सोच्नै सकिँदैन। यसमा न त मेरा बालाई न त मेरी आमालाई दोषी देख्छु। अर्ध-शिक्षित, अर्ध-सचेत बाको जीवनमा आएको त्यो सामाजिक परिवर्तनमा कसको ज्यानलाई कसले राज गर्यो, त्यो सोचनीय नै छ। हामी कसका मर्जीले जन्मियं त्यो पनि सोध्नैपर्छ।

मेट्रिक पास गरेपछि बाले स्कुल पढाउन थाले, जुन हाम्रो घरको एकमात्र आयको श्रोत थियो। आमाले हामीलाई, खेतीलाई र बस्तुभाउलाई उतिनै मायाले हेर्ने थालिन्। उनले लगाउने हरेक धागामा कि त बाका पसिना हुन्थे कि त मामलिका दान हुन्थे। उनले खाने जेरीदेखि समोसासम्ममा बाको नै कमार्इ हुन्थ्यो। आमा कतै घुम्न गएको मलाई खासै याद छैन। कि हामीलाई लिएर मामाघर गइन् कि बासँग कुनै तीर्थ या हस्पिटल गइन्। अब रह्यो बलको कुरा, बाका शरीरमा बग्ने हर्मोनेले नै बालाई आमाभन्दा बलवान बनाएको थियो। यसरी हरेक कुरामा बासँग आश्रित मेरी आमाको जिन्दगीमा कसको मर्जी चल्छ त?

पल्लोपट्टि काकाको घर छ। बेलामै गतिलो पढेका काका ठूलै ठाउमा इन्जिनियर छन्। स्कुलदेखिको प्रेमिका बिहे गरेका काकाकी काकी पनि हस्पिटलमा नर्स छिन्। नर्सको ड्युटी राति पर्दा काकाले नै बच्चालाई हेर्ने, खान बनाउने, घरको काम गर्ने गर्छन्। वर्षमा परिवार मिलेर घुम्न गएकै हुन्छन्। कहिले अफिसबाट एक्लै-एक्लै पनि हिँडेकै हुन्छन्। घरको आयमा काकीको पनि उतिनै योगदान छ। पढाइका हिसाबले पनि काकी काकाभन्दा त्यति कम होइनन्। यसरी ज्ञान र धनमा काका समान काकीको मर्जीले नै उनको घर चलिरहेको छ।

आजकल, ‘मेरो जिन्दगी मेरै मर्जी’ भनेर धेरै महिलाहरू कुर्लिरहेका हुन्छन्। जसको ज्यान उसकै मर्जी हो, यसमा मानवता बुझ्ने सबै मानिसको एकैमत होला। हाम्रो नेपाली समाजमा महिलामाथि हैकम जमाउने प्रचलन पहिलेदेखि नै थियो। हजुरबाले जिजुबाबाट सिके, बाले हजुरबुबाबाट सिके, मैले बाबाट सिकेँ तर महिलामाथि गरिने हैकम र अत्यचारमा निरन्तर गिरावट आएको नै छ। अहिलेको वास्तविक शिक्षित वर्गमा शासन गर्ने र शासित हुने क्रमको लगभग अन्त्य नै भइसकेको छ। मुख्यत: तीन महत्वपूर्ण गुणले शासित हुने या शासन गर्ने भनेर छुट्टाउने गर्छ, ज्ञान, धन र बल। वर्तमान परिस्थितिमा नेपाली समाजमा महिलाभन्दा धेरै पुरुषले नै धेरै पढ्ने अवसर पाएका हुन्छन्। प्राय: पुरुषहरू महिलाभन्दा बढी पढेलेखेकै छन्। अनि पुरुषहरूमा महिलाभन्दा जान्ने सुन्ने छु भन्ने भावना आफैं आइरहेको हुन्छ।

अर्कोतर्फ नेपालीका प्राय: घरहरु पुरुषको आम्दानीले नै चलिरहेका छन्। स्वदेशमा बसेर होस् या विदेशमा गएर होस् काम गरेर पैसा कमाउने प्रमुख पात्र पुरुष नै हुन्। भगवानले नै महिलालाई शारीरिक रुपमा पुरुषभन्दा अलि कोमल र नाजुक बनाएकै हुन्। अहिलेको सामाजिक परिवेशमा ठूलो महिलाको समूह पुरुषसँगै पूर्णआश्रित भएकाले महिलाको मर्जीको नाराले खासै महत्व राख्दैन।

अर्ध-शिक्षित नेपाली परिवेशमा जब एउटा बच्चाको जन्म हुन्छ, त्यो जन्मेको बच्चाको लिङ्ग देखिनेवित्तिकै भेदभाव सुरू हुन्छ। हुन त आजकल पहिले लिङ्ग पहिचान गरेर गर्भ तुहाउने प्रचलन धेरै नै फस्टाएको छ। सन्तान प्राप्तिको खुसीमा बाँडिने मिठाइको क्वालिटीमा समेत त्यो बच्चाको लिङ्गले धेरै स्थान लिइरहेको अवस्था छ। त्यसपछिको हुर्किने-बढ्ने वातवरणमा त आकाश-पातालको नै फरक छ। पढ्ने स्कुलदेखि अनेकै कुरामा महिलालाई पछाडिनै परिरहेका हुन्छन्। क्रमिक रुपमा महिलाहरू कमजोर बन्दै जान्छन्। राम्रो शिक्षा नहुनु, राम्रो अवसर नपाउनु ले ज्ञानमा कमी हुँदै अन्तत: आर्थिक रुपमा पनि महिलाहरू स्वत: कमजोर हुँदै जान्छन्।

आखिरमा महिलाहरू पुरुषसँग परजीबी भएर बाँच्न बाध्य परिन्छन्। परिवर्तित परिवेशमा पुरुषजति नै ज्ञान भएकी र आर्थिक रुपमा सवल महिलालाई लड्न धेरै सजिलो भइसकेको छ, जति गाह्रो र दु:ख हाम्रा आमाहरुलार्इ थिए। यसरी सबै महिलाहरू पुरुष बराबर हुँदै गए सबै महिलाको जिन्दगीमा उनीहरूकै मर्जी चल्ने छ।

भगवानले पुरुषलाई महिलालाई भन्दा अलि धेरै यौन-इच्छा दिएजस्तो लाग्छ मलाई। पुरुषहरू आफ्नो बंश विस्तारका लागि आफ्नो जवानीको सुरुवातदेखि नमरिन्जेलसम्म यौनका लागि सक्षम हुन्छन्। अर्कोतर्फ महिलाहरू आफ्नो जीवनका केही दशकमात्रै सन्तान उत्पादन र यौनका लागि तत्पर हुन्छन्। त्यसैले महिलाहरू आफ्नो साथी रोज्ने कुरामा पुरुषहरूभन्दा बढी चयानात्मक हुन्छन्। जनावरहरूमा पनि भाले-भालेबीचको लडाइँबाट नै सक्षम भाले चुनिन्छ अनि तेही भालेले कयौं पोथीलाई आमा बन्नमा सहयोग गर्छ। पहिले हुने मागी बिहेमा पनि बा-आमाले सक्षम केटा खोजेर नै दिने गर्थे, भलै मान्छेमा सक्षम हुनलाई ज्ञान र अर्थले ठूलो भूमिका खेलेको हुन्छ।

अहिलेको शिक्षित वर्गमा पनि यो प्रक्रिया चालु नै छ। अब मैले सुनेका र देखेका केही कुराहरू लेखौं। हुन त यी विषयहरू विवादित होलान् तर पनि मलाई लेख्नै मन लग्यो। अहिले पनि महिलाहरू विवाहपूर्व पुरुष या केटा साथी रोज्ने क्रममा धेरै नै विशेष हुने गर्छन्। धेरै महिलाहरू आफूभन्दा धेरै पढेको, आफूले भन्दा धेरै कमाउने अनि आफूभन्दा सवल केटाहरू नै खोजिरहेको देखिन्छन्। यसरी केटाहरूलाई आफ्नो कवजको रुपमा हेर्ने खोज्ने आचरण पनि अहिले महिलाको मर्जीको बाधक भनेको देखिरहेको छु मैले। आफू समान केटा साथीबाट दु:ख पहिरहेको छु भन्ने केटीहरूको संख्या खासै धेरै छैन।

आजकल शिक्षित वर्गमा धेरैका केटा साथी, केटी साथी हुने प्रचलन बढिरहेको छ। अहिलेको प्राय: सम्बन्धहरूमा दुबैको मर्जी चलेकै देख्छु। अझ केटीहरूकै नियन्त्रणमा बसिरहेको देख्छु म त। कुनै-कुनै सम्बन्धहरूमा केटीहरूलार्इ केटाहरूले अलि बढी नै दबाएको पनि देखिन्छ। जुन केटी साथीको हिँड्ने खर्च, मनोरञ्जन खर्च, खाने खर्चका लागि केटासँग निर्भर हुन्छन्, त्यहीँ उनीहरूको मर्जी कम चलेको देखिन्छ। रिसाएर, माया गरेर होस् या स्वाङ परेर होस् सँधैं आफ्नो केटा साथीबाट धेरै अपेक्षा राख्ने केटीहरूले आफ्नो ठाउँ आफैं साँघुरो बनाइरहेका हुन्छन्। हरेक कुरामा बराबर हिस्सा राख्न सके कुनै केटाको पनि हेप्ने आँट गर्न सक्दैन र ती केटीहरूका लागि केटाको दिलमा छुट्टै स्थान भएको देखेको छु मैले। सीप, ज्ञान र आर्थिक रुपमा सक्षम हुनाले नै हरेक महिलाको आफ्नो मर्जीको सुरक्षा गर्नेछ।

अहिले पनि नेपाली समाजमा एकल पुरुष र महिला दुबैले सन्तान हुर्काएको खासै देखिँदैन। सबैको समान अधिकार हो, एकल व्यक्तिले पनि सन्तान हुर्काउन र बढाउन पाउनैपर्छ। पुरुषसरह महिलालाई पनि सम्पूर्ण कुरामा समान व्यवहार हुनै पर्छ। यस्ता कुराहरू कानुनमा नभए नयाँ कानुनहरू ल्याउने र पुराना कानुनलाई परिमार्जन गर्दै लैजानैपर्छ। तर, अमेरिका होस् या जर्मनी एउटा बच्चाको कुशल विकासका लागि आमा-बुबा दुबैको आवश्यकता पर्छ नै। एउटा अबोध बालकले अर्को बालकलाई सोध्यो भने आमा-बाबु दुबैको नाम सोध्ने नै छ किनकि आमा र बाबुको मिलन नभई एउटा शिशुको जन्म सम्भव नै छैन।

अन्य कुराहरूमा महिलाहरूलाई समानता दिलाउनु पर्ने सम्पूर्ण नागरिकको दायित्व हो। प्रत्येक कुरामा बोल्न पाउने, चाहेको गर्न पाउने, जान मन लागेको ठाउँ जना पाउने आदि कुरामा बाबारुपी, दाइरुपी या श्रीमानरुपी पुरुषहरूलाई औंला ठड्याउने अधिकार छैन।

बच्चाको थर चाहिँ आमाको राख्ने या बाबुको राख्ने भन्ने कुरा खासै महत्वपूर्ण छैन। आजकल तेस्रो थर राखेर पनि नागरिकता लिन पाइन्छ तर आमाको नाममा नागरिकता लिनलाई धेरै सहज बनाउनु पर्ने देखिन्छ। एकातिर आफ्नो मर्जी भन्ने अर्कोतर्फ बसमा सिट माग्दै हिँड्न चाहिँ मिल्दैन। अहिले नेपालमा प्राय: बसहरूमा महिलाका सिटहरू सुरक्षित हुन्छन् (धेरै सिटमा पुरुषहरू बसेको देखेको छु मैले)। महिला हुँदैमा किन सिट चहियो! सिट बच्चालाई, बच्चाको आमालाई, गर्भवतीलाई, अपाङ्गलाई र बृद्धलाई हुनुपर्छ। २५ वर्षकी जवान महिलाका लागि ७० बर्से बुढाले सिट छोड्ने नियमको कुनै तुक नै छैन। यस्ता कानुनले नै महिला लै कमजोर हुन्छन् भनेर टिका लगाइदिएको छ। यदि महिलालाई दुर्व्यवहार हुन्छ भने त्यहीँ त्यसको उचित जवाफ दिनुहोस्। कानुन र समाजले सबै महिलालाई साथ दिनेछ तर बसमा महिला सिट खोज्दै नहिँड्नुहोस्।

हिजोआज मर्जीभित्र धेरै कुरा आउँछन्। हरेक महिला तथा पुरुषलार्इ आफ्नो जीवन साथीसँग मानसिक तथा भौतिक रुपले सन्तुष्ट हुने अधिकार छ। यदि आफ्नो जीवन साथीसँग खुसी हुनुहुन्न भने जीवन साथी बदल्नोस्, कानुनले पनि महिलालाई नै धेरै अधिकार दिएको छ यो मामलामा तर यसमा पनि महिला स्वाबलम्बनले ठूलो भूमिका खेल्ने गर्छ।

अहिले धेरै नेपाली युवाहरू बाहिर छन्, जसका कारण लैंगिक असन्तुलन धेरै बढेको छ। महिलाले आफ्नो मर्जी यहाँ गर्ने पुरुषले आफ्नो मर्जी बाहिर गर्ने भए समाज कता जाला त्यो भन्न निकै कठीन छ। अहिले वैदेशिक रोजगारका कारणले पनि धेरै सम्बन्धहरू टुक्रिँदै छन्। अब यसमा कसलाई दोष दिने भन्न निकै कठीन छ। विदेशिएकालाई लाग्ला आफूले दु:ख गरेको पैसामा नेपालमा श्रीमतीले मस्ती गर्दैछिन्, श्रीमतीलार्इ कति एक्लै बस्ने, कति आशामा मात्रै बस्ने भन्ने लाग्ला। यो समस्याको समाधान कसैसँग छैन। जे भए पनि महिलाको इज्जत उनको यौनांगमा छैन, उनले चाहेकोसँग प्रेम गर्ने, सम्भोग गर्ने, उनको आफ्नै अधिकार हो। आफूसँग नमिल्ने भए छोडेर नयाँ जीवन सुरू गर्न पाउने उनको नैतिक अधिकार हो। कति जनासँग सम्भोग गरिन् भनेर त्यसले उनको अस्मितामा कुनै असर गर्दैन।

तर, हरेक मर्जीभित्र नैतिकताको बन्धन हुन्छ। मानिसको जीवनमा सबैभन्दा ठूलो कुरा खुसी नै हो, खुसीभन्दा ठूलो नैतिकता पनि नहोला। तर, घाँटीमा मंगलसुत्र लगाएर रेमिटेन्सको पैसाले परपुरुषगमन गर्न, एउटा केटा साथी पोखरामा अर्को काठमाडौंमा बनाउने छुट चाहिँ कुनै महिलालाई पनि नहोला। र, यस्तो छुट पुरुषलाई पनि छैन।

धेरै आकस्मिक सम्बन्धहरू बनाउने छुट सबैलार्इ हुन्छ। तर, यस्ता कुराहरूमा अगाडि बढ्दा कुरा स्पष्टसँग गरेर बढ्नोस् ताकि पछि कसैको दिल नटुटोस्। लिभिङ रिलेशनमा बस्न मन छ या सिंगल, मदर भएर बस्न मन छ, आँट गरेर बस्नुस्, कसैले पनि रोक्न सक्ने छैन।

अन्तिममा, गाउने, हिँड्ने, मन लागेको गर्ने, प्रेम गर्ने, सम्भोग गर्ने अधिकार पुरुषलाई जति छ, महिला लै पनि त्यति नै छ। आफ्नो परिधिभित्र रहेर आफ्नो जिन्दगी खुसी बनाउन सबैले पाउनैपर्छ। कथमकदाचित त्यो परिधि साँघुरो लागेमा, पुरानो नाता तोडेर नयाँ बनाउन पनि कसैले रोक्न सक्दैन। यो सबै सम्भव हुनाका लागि महिलाहरु पनि ज्ञान, सिप र अर्थमा पुरुषजति नै सवल हुनैपर्छ। अधिकार मागेर पाइएन भने खोस्नुपर्छ, खोस्नका लागि आफू बलियो हुनुपर्छ। अनि मात्र मेरो जिन्दगी मेरै मर्जी सार्थक हुनेछ।


 

More form the Internet

loading...