Suvadin, Home

सम्झौता हाेइन, नारीलार्इ सम्मान चाहिन्छ

महिलालाई कोटा छुट्याएर, सम्झौता गरेर अनि भाग लगाएर हैन, पूर्ण रुपमा जति पुरुषले पाएका छन् त्यति प्रतिशत हक अधिकार घरदेखि सहर, समाज र राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रदान गरेमात्र नारी हकअधिकार स्थापनामा मद्दत पुग्छ।

नारी एक माया, ममता, कोमल भावना अनि प्रेरणाकी खानी हुन्। नारीको मान, सम्मान र इज्जत गरिनुपर्छ। नारीलाई सम्झौतामा हैन सम्मानमा चिन्नुपर्छ। महिला हक, अधिकार र सशक्तिकरणका लागि विभिन्न गैरसरकारी, संघ–संस्था तथा सरकारी निकायसम्मले महिला सम्बन्धि हकसमेत सुनिश्चित गरेको र अन्तराष्ट्रियस्तरमा पनि नारीलाई पुरुषसरह हरेक क्षेत्रमा समानता हुनुपर्छ भन्ने उद्देश्यका साथ विभिन्न नारी सम्मेलन गरी नीति निर्माण गरे पनि महिलामाथि हुने हिंसा घट्न सकेको छैन। महिलाको विषयमा सवाल जवाफ उठाउने संघ–संस्था तथा कार्यक्रम नेपालमा केही क्षेत्रमा मात्र छन्। 

वर्सेनि मनाइने नारी दिवस अनि महिला सशक्तिकरण का कार्यक्रम, आत्मविश्वासका कारण हिंसा घटने तर्क रहे पनि देशमा महिला हिंसाको तथ्याङ्ग अझै उकालो लागिरहेको छ। अझै पनि महिलाहरूलाई दिइने काम सँधैं पुरुषहरूलाई दिइने कामहरूभन्दा प्रतिष्ठा र पैसा दुबैमा साना छन्। महिला र पुरुषबीच विभेदको खाडल छ। सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीति लगायत सबै क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहुँच ज्यादै न्यून छ। कुल जनसंख्याको आधाभन्दा बढी (५१.५०५) हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक पक्षमा पछि पारिएका छन्। 

महिला हिंसा कसरी घटन सक्छ भन्ने प्रश्नमा बानेश्वरकी सलिना शर्मा (नाम परिर्वतन) भन्छिन्, ‘महिला हिंसा कुनै रोग हैन कि त्यसको औषधि खाऊ अनि निको हाै भन्न, यो एउटा रुढीवादी सोच हो, मन मस्तिकमा यसले जरा गाडेको छ।’ कुनै कार्यक्रममा महिला सशक्तिकरणका भाषण गरेर यस्को अन्त्य हुने हैन व्यवहारमा लागू गर्नुपर्ने उनको तर्क छ। उनी भन्छिन्, ‘म एउटी छोरी हुँ, छोरी भएकै कारण म पछाडि छु जस्तो मलाई लाग्छ। किनकि, आफनो इच्छा अनुसार कसैसँग खुलेर आफूलाई चित नबुझेको विषयमा जवाफ फर्काउन, स्वतन्त्र भएर लगाउन, हिँड्ने आट गर्ने। मैले चाहेर पनि सक्दिनँ। किनकि, मेरो परिवार, समाजले नै मलाई तिमी छोरी मान्छे हो। हुँदैन नगर भनेर बाँधिदिन्छ। मेरो परिवारमा प्राय सबै शिक्षित नै हुनुहुन्छ शिक्षाले मात्र मान्छेमा भएको नकारात्मक सोचलाई हटाउँदैन रहेछ आज नारी दिवस हो रे दिदीले भाडा माझ्दिन होला! आफूभन्दा दुई वर्ष कान्छो भाइले बोलेको शब्दले म हरेक वर्षको नारी दिवससँगै झस्किन्छु। अनि सोच्ने गर्छु नारीहरू नारी भएकै कारण स्वतन्त्र हुन्छन्।’

नारी दिवसको दिनमा मात्र नारीलाई रहरले भन्दा करकापले एउटा कोटा छुटयाइदिएको छ। जसको कारण त्यही सीमाभित्र रहेर त्यस्तै विशेष दिनहरूमा मात्र उनीहरूले मुक्ति पाउने गर्छन्। बाँकी दिन महिलाको हैन पुरुषवाद हावी हुन्छ। लाग्छ एउटा शिक्षित परिवारकी नारीको आत्मविश्वासमा यसरी चोट पुग्न सक्छ भने नेपालमा पछाडि परेका कतिपय क्षेत्रमा रहेका नारीको अवस्था कस्तो होला’ आम बुहारी नारीको कस्तो दयनीय अवस्था होला! अनि यो नारी दिवस यी नारीमय कार्यक्रमको के फाइदा? 

महिलाकै कलेजमा बिए तेस्रो वर्षमा अध्यनरत सलिना सुनाउँछिन्, ‘महिला हिंसा र महिला सक्षमका प्रेरणा कलेजबाट सिकेर आउँछु, अनि घरमा फरक वातावरण पाउँछु। कतै घुम्न गएर आउँदा अलिकति ढिला भयो भने छोरी भएर यति साँझसम्म हिँड्नु हुन्न, दाजुभाइसँग केही कुरामा झगडा पर्यो भने छोरी भएर निउँ खोज्नु हुन्न, छोरी मान्छे भएर घरमा केटा साथी ल्याउनु हुन्न। छरछिमेकले के सोच्छन्? आदि इत्यादि प्रश्नले म जस्ता दर्जनाैं छोरी आफ्नो निर्णय लिन सक्दैनन्।’ 

नेपाली समाज यस्तो रहेको छ जहाँ नारीले गर्ने सक्छु भनेर आँट राख्नुभन्दा पहिले नै महिलालाई पछाडि बनाउन खोज्छ। त्यही परिवारमा पुरुषको मनोमानी चल्छ तर महिला हरेक पक्षमा धेरै डराएर मात्र अघि बढ्नुपर्छ। यो नै नारीमाथिको पहिलो हिंसा हो। यदि महिला आफ्नो घरपरिवारभित्रै स्वतन्त्र छैन भने बाहिरी समाजमा, अन्य क्षेत्रमा कसरी होस्? 

नारीको बलात्कार, हत्यादेखि अन्य हिंसा दिनदिनै बढिरहेका छन्, महिला सभा सम्मेलनले मात्रै यो कम हुँदैन। जब एउटा परिवारमा छोरी तिमी छोरी मान्छे भएर केटाहरूसँग हिँड्नु हुन्न, बोल्नु हुन्न भनेर सिकाउँछन् भने त्यही परिवारले आफ्नो छोरालाई छोरा मान्छे भएर अरुको छोरीको इज्जत सम्मान गर्नुपर्छ भनेर किन सिकाउँदैनन्? छोरीलाई लाग्ने बन्देज छोराहरुमा किन लगाइँदैन? हो यस्तो विभेद नै पहिलो हिंसा हो। महिलालाई भन्दा यस्तो कुरामा पुरुषलाई चेतना दिनुपर्छ। पुरुषलाई सचेत गराउने साथै हिंसा गर्ने सम्भावित समूहसम्म चेतनामूलक कार्यक्रम तथा दण्ड सजाय सम्बन्धी सूचना दिनुपर्ने भनाइ सलिनाको छ। उनी भन्छिन्, ‘प्रायः महिला अब पहिलेजस्तो सहेर बस्दैनन्। उनीहरू पनि सक्षम र सबल भइसकेका छन्, आफ्नो अधिकार बारेमा मागेर लडेर अनि संर्घष गरेर जित्ने भएका छन्। तर यसले मात्र महिला स्वतन्त्र रुपमा अघि बढेका छैनन्। कुनै न कुनै सम्झौताका बाबजुत महिलाले आफूलाई सम्मानित भएको हेर्न चाहन्छन्।’

नेपालमा महिला सम्बन्धि भइरहेका कार्यक्रम, क्रियाकलाप त उदाहरणीय छन्। महिलालाई यसरी कोटा छुट्याएर, सम्झौता गरेर अनि भाग लगाएर हैन, पूर्ण रुपमा जति पुरुषले पाएका छन् त्यति प्रतिशत हक अधिकार घरदेखि सहर, समाज र राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रदान गरेमात्र नारी हकअधिकार स्थापनामा मद्दत पुग्छ।  


 

More form the Internet

loading...