Suvadin, Home
Nepal life 2.241M

फरक–फरक दृष्टि, फरक–फरक कर्म

मैले कतै सुनेको थिएँ, मन्दिरको पुजारीले  गृहस्त जीवन जिउने अलि रमाइलो गर्न नियमित जस्तै मात्ने गरी मादकपदार्थ सेवन गर्नेलाई देखाएर भनेछन्, 'यो मानिसले यस्तो अनमोल र भगवानको कृपाले एक पटक मात्रै पाइने जीवनलाई बर्बाद पार्यो। उसले त यो जीवन भगवानको भक्तिमा लगाएर मोक्ष प्राप्तिको कर्म गर्नुपर्ने थियो।' उनले थपे, 'मुर्खसँग केही लाग्दैन।' उता यस्तै–यस्तै रमाइलो गर्नेले भनेछन्, ‘यो पुजारीमा कत्रो भ्रम छ उसले बल्लबल्ल पाएको जुनी मस्ती गर्नु, खानुपिउनु, रमाइलो गर्नु पर्नेमा भोकै बर्त बस्ने गर्छ। न राम्रो लाउछ न मिठो खान्छ। मस्ती के हो? जीवन के हो त्यो विचरा जोगीलाई के थाहा। उसले जीवन बर्बाद पार्यो।' खै, कसको कुरा ठिक हो?
रामचन्द्र उप्रेती।

रामचन्द्र उप्रेती


केही वर्ष पहिलेको कुरा हो मेरी एकजना आफन्त फुपूदिदीले एकाबिहानै घरैमा आएर सहयोग माग्नु भयो। उहाँ उमेरले अलि पाको, झण्डै ७० वर्ष जति हुनुपर्छ। एकल महिला, उहाँका छोराछोरी छन्। मध्यम वर्गीय परिवार। सबैको अवस्था र व्यवस्था राम्रै छ। तर पनि दिदी एक्लै बस्नुहुन्छ। आफैँ खानुहुन्छ । आफैँ पकाउनु हुन्छ। आप्न जिउनी, आफ्नै कमाई उहाँको श्रोत हो। कमाईका लागि पैसा व्याजमा लगाउने गर्नुहुँदो रहेछ। 

सहयोगको विषय थियो, यसरी गरेको लगानी धरापमा परेछ र सहयोग माग्न आफन्त सम्झेर घरमा आउनु भएको रहेछ। मुद्दा प्रहरीथानासम्म पुगिसकेछ। प्रहरी कार्यालयमा पटकपटक छलफल भएछ। तर कुरा नमिलेको। थानामा बसेर छलफल हुँदै थियो। स्थानीय राजनीतिककर्मी तथा समाजिक व्यक्तित्व डिल्लीराम घिमिरे र मलाई यो समस्याको निकास निकाल्न भनियो। लेनदेनको विषय भएकाले प्रहरीले जुटाई दिने मात्रै काम गर्ने हो।

हामीले दुवै पक्षलाई न्याय हुने कुरा गर्नु पर्ने थियो। ऋणीसँग सोध्यौं। उनले ५ वा ६ वर्ष पहिले भएको घरजग्गा पास गरिदिएर ऋण लिएका रहेछन्। व्याज मासिक सयकडा ४ रूपैयाँका दरले अर्थात ४८ प्रतिशत वार्षिक व्याजमा। उनले पैसा लिएर बस किने र चलाए। नयाँ छदा बसले शुरुका दिनमा ठिकै कमाई गर्यो। उनले साँवा तिर्न नसके पनि व्याज महिनैपिच्छे दिँदै गए। लगभग चार वर्ष व्याज बुझाएको रहेछ। करिब दुई वर्षदेखि व्याज बुझाउन बाँकि। साँवा सबै बाँकि। फुपूको मागदावी दुई वर्षको व्याज र साँवा सबै चाहियो नभए घर खाली गरी दिनुपर्ने। ऋणी भारतीय अवकास प्राप्त सेना। इमान्दार छन्। उनले बोलेको कुरा पूरा गर्न नचाहेका त होइनन्। तर, उनको व्यापारले भनेजस्तो नाफा दिन सकेन। र, उनी समस्यामा पर्दै गए। उनको ठुलो चाहना छैन। जिन्दगी भरिको विदेशको कमाईले एउटा घडेरी किने ठिकैको ४–५ कोठा भएको घर बनाए। छोरीहरु ४ जना र आफू दुईलाई पेन्सनले मात्रै नपुग्ने भएपछि व्यवसाय गर्ने शुर कसे। उनी भन्छन् ‘भएभरको सम्पति पास गरिदिएर ऋण लिएको हो। करिव नौ लाख रुपैयाँ व्याजबापत बुझाई सकेको छ। अब मलाई मौका दिनु। सकेको पैसा तिर्छु। घर फिर्ता पास गरिपाउँ। मेरा बालबच्चाको विचल्ली नहोस्।' उनको माग ठूलो छैन। 

हामीले दुवै पक्षलाई न्याय हुने कुरा भनेर पैसाको व्याज १८ प्रतिशतले हिसाब गरौं भनेर सल्लाह गर्यौं। यसरी हिसाब गर्दा ऋणीले चार वर्ष तिरेको जम्मा पैसा ९ लाख साठी हजार, तिर्नुपर्ने व्याज तीन लाख साठी हजार, व्याज कटाएर साँवामा ६ लाख घटाउँदा मेरी फुपूले अब एक लाख रूपैयाँ फिर्ता दिएर घरजग्गा पास गरिदिनु पर्ने भयो। फुपू दुई वर्षको व्याज र साँवा दिलाई दिने आशमा हुनुहुन्छ। यो दुई फरक दृष्टि, फरक मान्यताको मिलन कसरी हुँदो हो? दुवै पक्ष (मेरी फुपू र समस्याको निकास निकाल्ने जिम्मा पाएका हामी दुई)। फुपूलाई फुपूको आफ्नो कुरा ठिक लाग्ने नै भयो। हामीलाई पनि फुपूले साँवा व्याज त असुल गरिसक्नु भएछ अब जग्गा पास गरिदिए त भयो नि। हामीले निकालेको यो निर्णय सुनाउने कसरी? हामी समस्यामा थियौं। सुनाउनै पर्ने भयो सुनायौं। मेरी फुपू त्यसपछि मसँग बोल्न छाडनुभयो। खुब रिसाउनु भयो। म उहाँको ऋणीसँग मिलेको भन्ने आरोप लगाउनु भयो। उहाँको दृष्टिमा म बिकुवा भएँ। हामीले निकालेको निर्णय सही हो भन्ने हामीलाई पछिसम्मै लागिरह्यो। यद्यपि, हामी सय कडा दुई रूपैयाँको व्याजमा दिदी मान्नु भयो भने हिसाब गरेर अलिअलि पैसा थपाएर जग्गा फिर्ता पास गराई दिनुपर्छ भन्ने मान्यतामा दियौं। तर शुरुमै यसोभन्दा कुरा नमिल्ने हुनाले भनिएन।

आस्था, विश्वास, भ्रम, सत्य, असत्य, ठीक, बेठिक आदि जस्ता कुराहरुकै वरिपरि जीवनको दैनिकी घुमिरहेको छ। हामी आफ्नो विश्वासमा दह्रो पारेर उभिन्छौं र अरुलाई बुझ्न, अरुका कुरा मान्न हत्तपत्त तयार हुँदैनौं। सायद घरपरिवारदेखि छिमेकी, समाज, समुदाय, धर्म, राजनीति, संस्कार, संस्कृति हुँदै अनन्तसम्म फैलने यो सोच नै द्वन्द्वको मुल जड हुनसक्छ।

मेरा बगैचाँमा एउटा पहेँलो फूल फुल्ने बोट थियो। त्यो बोट मेरो बारीको भएपनि त्यसको धेरै भाग बाटोतिर ढल्केर फुलेको थियो। त्यसमा सिजनमा लटरम्मै फुल्थ्यो। बिहानै भगवानलाई फूल चढाएर पूजा गर्ने गरेका छिमेकीहरु प्रायःसधैँ आएर त्यो बोटबाट फूल टिपेर लाने गरेका थिए। उनीहरु मेरा बगैंचाको मात्रै होइन अरुका बगैँचाबाट पनि त्यसरी नै टिप्थे। मलाई उनीहरुले अरुको बगैंचाका फूल टिपेको मन पर्दैन थियो। तर, केही भन्न सकेको थिइनँ। केही मानिस अलि अग्लो हाँगाको फूल टिप्न बाङ्गो लाठी नै लिएर आउन थाले। 

एकदिन बिहानै एकजना अलि पाको उमेरको मानिस बाङ्गो लौरो लिएर आए। उनीलाई त्यसअघि देखेको थिइनँ। सायद अरुले पनि त्यो फूल टिपेको देखेर उनी पनि आएको हुनुपर्छ। उनले फूलको बोटमाथि अलि ज्यादति नै गरे भन्ने मलाई लाग्यो। फूल टिप्दा सानो हाँगो नै भाँचियो। थोरैले उनलाई नपुग्ने। मैले अरु फूल नटिप्न भनेँ। उनले मानेनन्। मैले अलि कडा स्वरमा भनेँ। उनले के गर्छौं यो फूल? यो त्यसै झरेर जाने फूल म लगेर देउतालाई चढाउँछु, देउता खुशी हुन्छन्। सबैको भलो हुन्छ। किन टिप्नु हुँदैन? भनेर मलाई थर्काए। रातभरिमा निकै फूल बाटोमा झरेका थिए। उनले त्यसैलाई लक्षित गरेर भनेका थिए। मैले झरेको फूललाई नै देखाएर भनेँ पूजा गर्न त यो फूलले पनि हुन्छ नि। उनले झन् उचा स्वरमा भने झरेको फूल भगवानलाई चढ्दैन भन्ने पनि थाहा छैन? उनले फेरि थपे -होइन मानिस पनि के–के खालका हुन्छन्? झरेर खेर जाने फूल झर्नुभन्दा पहिला कसैले लगेर देउतालाई चढाउँछ भने र स्यावासी पो दिनुपर्छ त। म केही नबोली फकिएँ। मलाई लाग्यो –उनी आफ्ना ठाउँमा ठिक तर मपनि गलत थिइनँ। 

मैले कतै सुनेको थिएँ, मन्दिरको पुजारीले  गृहस्त जीवन जिउने अलि रमाइलो गर्न नियमित जस्तै मात्ने गरी मादकपदार्थ सेवन गर्नेलाई देखाएर भनेछन्, 'यो मानिसले यस्तो अनमोल र भगवानको कृपाले एक पटक मात्रै पाइने जीवनलाई बर्बाद पार्यो। उसले त यो जीवन भगवानको भक्तिमा लगाएर मोक्ष प्राप्तिको कर्म गर्नुपर्ने थियो।' उनले थपे, 'मुर्खसँग केही लाग्दैन।' उता यस्तै–यस्तै रमाइलो गर्नेले भनेछन्, ‘यो पुजारीमा कत्रो भ्रम छ उसले बल्लबल्ल पाएको जुनी मस्ती गर्नु, खानुपिउनु, रमाइलो गर्नु पर्नेमा भोकै बर्त बस्ने गर्छ। न राम्रो लाउछ न मिठो खान्छ। मस्ती के हो? जीवन के हो त्यो विचरा जोगीलाई के थाहा। उसले जीवन बर्बाद पार्यो।' खै, कसको कुरा ठिक हो?   

आस्था, विश्वास, भ्रम, सत्य, असत्य, ठीक, बेठिक आदि जस्ता कुराहरुकै वरिपरि जीवनको दैनिकी घुमिरहेको छ। हामी आफ्नो विश्वासमा दह्रो पारेर उभिन्छौं र अरुलाई बुझ्न, अरुका कुरा मान्न हत्तपत्त तयार हुँदैनौं। सायद घरपरिवारदेखि छिमेकी, समाज, समुदाय, धर्म, राजनीति, संस्कार, संस्कृति हुँदै अनन्तसम्म फैलने यो सोच नै द्वन्द्वको मुल जड हुनसक्छ। सायद हामीले आफू ठिक छु भनेर विश्वास गरिरहँदा अरु पनि गलत नहुन सक्छन् मात्रै भनेर सोच्ने हो भने सायद परिस्थिति निकै फरक हुन्छ।


 

More form the Internet

loading...