आध्यात्मिक यात्रा
ध्यानः निर्वाणकाे बाटाे !
डा. अादर्श प्रधान
आजकाल मानिसहरू योग ध्यानतिर आकर्षित हुन थालेका छन्। आफ्ना व्यस्त दिनचर्याको कारणले संगालेको तनाव कम गर्न होस् या स्वस्थ बन्न होस्, धेरैले ध्यानलाई केही समय दिने गरेका छन्।
तर, ध्यानको महिमा त्यत्तिकैमा सीमित छैन। ध्यानको अन्तिम लक्ष्य निर्वाणको साक्षात्कार गर्नु हो। अतः ध्यान मनुष्यको चेतनालाई रुपान्तरण गर्ने क्रिया हो।
आम मान्छेको धारणामा ध्यान भनेको एकाग्रता हो। तर, ध्यान र एकाग्रताको कुनै सम्बन्ध छैन।जसरी दिन र रात एकै समयमा हुन सक्दैन त्यसरी नै ध्यान र एकाग्रता एकै समयमा कदापी हुन सक्दैन।
एकाग्रता भन्नाले कुनै एक कुरामा मात्र अडिरहनु हो। तर, ध्यान भनेको शरीर, भावना र विचारहरुमा आइरहेको दृष्यलाई द्रष्टाको रुपमा हेरिरहने क्रिया हो।
हामी कुनै एउटा कुरामा एकाग्र भयौं भने बाँकी कुराहरु झन् बढी सक्रिय हुन्छन् र ध्यानमा बाधा पुग्छ। त्यसैले ध्यानमा बस्दा हाम्रा शरीर, भावना र मनमा आएका संवेदनाहरु, विचारलाई हेरिरहनु पर्छ।
यसो गर्दा नकारात्मक विचार, संवेदना कम हुँदै जान्छन् र अन्ततः ध्यान घट्ने सम्भावनामा वृद्घि हुन थाल्छ।
ध्यानको बारेमा सही जानकारी नलिई ध्यान जति गरेपनि ध्यानबाट हुनुपर्ने रुपान्तरण सम्भव छैन। त्यसैले सबैभन्दा पहिला ध्यानको बारेमा बुझ्नु जरुरी हुन्छ।
मान्छेहरु बिसौं वर्ष ध्यान साधनामा लागेर पनि सफलता पाउन नसक्नुको रहस्य पनि यही हो।धर्मशास्त्रमा ध्यानको महिमाको बारेमा थुप्रै जानकारी उल्लेख गरिएको पाइन्छ। ध्यानार्चायले पनि ध्यान गर्नु पर्दछ भनेर हजारौ विधिहरु दिन्छन्।
गहिरिएर हेर्ने हो भने ध्यान गर्ने भन्ने वाक्य नै गलत छ। ध्यान गर्ने होइन ध्यान घट्ने हो। जसरी हामी निद्रा आफै ल्याउन सक्दैनौँ। निद्रा आउने पूर्वाधार अपनाउन सक्छौँ– जस्तै नरम बिछौनामा पल्टनु, सुत्नु आदि।
यसो गरेपछि निन्द्रा आफैँ आउछ। त्यसरी नै ध्यान आउने पूर्वाधार अपनाउन सक्छौ तर ध्यान गर्न सक्दैनौँ। ध्यान आउन सजिलो बनाउन हामी बिचार कम गर्न सक्छौं, श्वासको गति शिथिल बनाउन सक्छौं।
यसरी गदै गएपछि ध्यान आफै घट्न सक्छ। अतः ध्यान एउटा अवस्था हो जो आफै घट्दछ। ध्यान सम्बन्धी अर्को धारणा भनेको ध्यान बस्दा विचार आउनु हुँदैन अनि हराउनु पर्छ भनेर सोच्छन्।
ध्यानमा बस्दा विचार आउन नहुने होइन। ध्यानमा बस्दा अनगिन्ती विचार आउन सक्छन्। उक्त विचारलाई होस पूर्वक हेर्दै जानु पर्छ।
हामी विचारको पछि हराउनु हुँदैन। होस पूर्वक उक्त विचारलाई हेर्ने सकेमा उक्त विचार रुपान्तरण हुन्छ।
ध्यानमा होस पूर्वक बस्ने हुँदा हराउनु जरुरी छैन्। ध्यान बस्दा झन होसको मात्रा बढ्छ। जतिजति हामी धेरै समय ध्यानमा बस्छौ हाम्रो चेतना पनि बढ्न थाल्छ। ध्यानमा जति बस्दछौ उक्तिकै सत्व ऊर्जा शरीरमा बढ्न थाल्छ।
जतिजति सत्व उर्जा हाम्रो शरीरमा बढ्न थाल्दछ। त्यति नै हामीभित्रको चेतना रुपान्तरण हुन थाल्दछ। त्यसैले ध्यान एउटा यस्तो अमूल्य बरदान हो जसले हामीलाई सदाको लागि जन्म मृत्युको चक्रबाट हटाएर निर्वाणसम्म पुर्याउन सक्छ।
ध्यान एउटा यस्तो प्रक्रिया हो जसले मनुष्यको चेतनालाई रुपान्तरण गरी परमात्मासम्म पुर्याउन सक्छ।
ध्यान गर्ने वित्तिकै घट्दैन। ध्यानको लागि धैर्यको आवश्यक चाहिन्छ। जबसम्म हाम्रो शरीरलाई पर्याप्त ऊर्जा पुग्दैन तबसम्म ध्यान घट्न सक्दैन।
हाम्रो शरीरलाई चाहिने ऊर्जा पुगिसकेपछि उक्त उर्जा आकाश शरीर, विचार शरीर हुँदै सुुक्ष्म शरीरतिर जान थाल्छ। जुनजुन शरीरमा ऊर्जा वहन थाल्छ उक्त शरीरको महशुस हुन थाल्छ।
जब हाम्रो चेतना सुुक्ष्म शरीरमा पुग्छ तब हामीलाई सुक्ष्म जगत्को बारेमा थाहा पाउँछौं। हामी यदि होस पूर्वक सुुक्ष्म शरीरमा प्रवेश गर्न सक्ने भएपछि मात्र हाम्रो वास्तविक अध्यात्म सुरु हुन थाल्छ।
सुक्ष्म शरीरमा पुगेपछि पूर्वजन्म, भविष्य ज्ञान, सुक्ष्म जगतको रहस्यको बारेमा सजिलै थाहा पाउन सक्छौं। मन्त्र सिद्वि, साधना सिद्विको लागि पनि चौथो शरीर अर्थात सुक्ष्म शरीरमा नपुगी सम्भव छैन।
नत्र जीवनभर मालाजप गरेर केही हुने छैन। सुक्ष्म शरीरमा पुगेर पनि हाम्रो अध्यात्मिक यात्रा समाप्त हुँदैन। त्यसपछि क्रमशः आत्म शरीर, ब्रम्ह शरीर, निर्वाण शरीरमा पुग्नु पर्ने हुन्छ। जब हाम्रो चेतना निर्वाण शरीरमा पुग्दछ तब हाम्रो यात्रा सकिन्छ र सधैको लागि हामी निर्वाण हुन्छौं।
ध्यान एउटा यस्तो प्रक्रिया हो जसले मनुष्यको चेतनालाई रुपान्तरण गरी परमात्मासम्म पुर्याउन सक्छ। त्यसैले दैनिक जीवनको साथसाथै ध्यानलाई पनि केही समय दिने हो भने जीवनको नमेटिने पूँजी बन्नेछ।
(मनोविज्ञ, हाेलिस्टिक माइन्ड्स एण्ड सेलिब्रेसन धापासी)