Suvadin, Home

कविता
"म डाक्टर कसरि बनु ?"

महेश साह

म आँगनमा बसेर रमाउदै थिए 
खुशीका पलहरु समाउदै थिए
बार्ह कक्षा सकेको साता नि बिते थिएन

तिमी टुपलुक्क आइपुग्यौ
र बिन्ती गर्न थाल्यौ
सप्पैको छोराछोरी ,काठमाडौ गइसक्यो
डाक्टरको तयारिमा एक रुपले जुटिसक्यो
तिम्रो त चारपाँच दिन  छुटिसक्यो 
के छ र यहीँ बाँकी अब
हाम्रो नि भाग्य  फुटिसक्यो

जाउ छोरा जाउ ,
तिमी पनि ठूलो सहर जाउ
उठ केही न सोच यहि प्रहर जाउ
र थमाइदियौ ,
मुलाको आचार ,गुन्द्रुकको पोको 
अनि बर्सौदेखि
एक ,दुई गर्दै जम्मा पारेको खुत्रुक्के

छिमेकी काकी सोध्नुभयो "छोरो कहाँ जाँदै छ"
तिमी जवाफ फर्कायौ,
"ठूलो सहर जाँदै छ,
ठूलो डाक्टर बन्न जाँदैछ"

मेरो आँखाबाट बररर आँसु झर्यो
म केही भन्नै सकिन
ओठ बन्द नै रहयो ,मुख खोल्नै सकिन
म डाक्टर बन्ने छैन , बोल्नै सकिन
म डाक्टर बन्ने छैन , बोल्नै सकिन

सहरमा के के गरे कसैलाई थाहा भएन
चार पर्खालबिच कसरि बाँचे कोहि सुन्न चाहेन
सपनामा नेपाल आमा श्रिङ्गारिएको देखेर ,
नयाँ वर्ष मनाए
रोमरोममा बिश्वासको बत्ति बालेर, 
तिहारमा फकाए

आँशुसंगै कल्पनाका रंगहरुले,
होलिमा रंगाए
आफ्नो निधारमा आफैले भाइटिका र
दशैँ टीका लगाए
अनि आफैलाई आशिर्वाद दिन पुगेछु
डाक्टर बनेस ,
आमाको सपना पूरा गरेस !

अचानक एकदिन,
नाम निस्केको हल्ला फैलियो 
सबैले भाग्यमानी रैछ्स भन्न थाले
कतिले हाँतका रेखाहरु गन्न थाले
र म पछि डाक्टर पढ्न थाले

एक थोपा पनि रगत देख्न नसक्ने म 
रगतै रगतमा पोड्न थाले
माछा ,मासु, अन्डा केही नछुने म
हडि ,मासुसँगै खेल्न थाले

पछि ,
आफ्नो मासु सुकाएर अर्काको मासु बढाए
आफ्नो आँसु लुकाएर अर्कालाई हाँस्न लगाए
आफ्नो नशाको रगत सुकाएर 
अर्काको नशामा रगत भरे

आफ्नो तागत घटाएर,
अर्काको जिउमा तागत भरे
हुँदा हुँदै ,
कति अर्काको मलमूत्र सोरे

कतिले भगवानको दर्जा दिइसके 
सबैको प्राण मेरै हाँतमा भए जस्तो
तर मनुश्य हु म ,अरु नै सामान्य जिवजस्तो

आमा हेर्नुस न ,आज के हुँदै छ
ड्युटीबाट थाकेर लखतरान परेको बेला
एक गाँस निल्न नपाउदै  फोन आउँछ
म छिटोछिटो पुगेर सल्यक्रियामा जुट्छु
भोकले रिंगटा लागेपनि ,
खानाको साटो रगत गिजोल्छु
जीवन र मृत्युबिच उभिन पुग्छु
तैपनि , तैपनि बचाउन सक्दिन 
र माफि माग्न पुग्छु
जवाफमा "हान राक्षसलाई भन्छ"
अनि आक्रमणमा पर्छु

अत्याधिक रक्तस्रावले बेहोस गर्भवती आमा आउनुहुन्छ
ज्यानै लगाइदिए पनि जिवनरक्षा गर्न सक्दिन
"दोजियाको ज्यान लिन्छ्स
लौ खा पापी मोरो " भन्दै जाइलाग्छ

विष पिएर मर्णासन अवस्थामा युवती आँउछे
समाउन खोज्छु प्राणपखेरु तर उड्छ
भिडबाट"यहि बीस खुवाएर मार सालेलाई "भन्छ
र सबै मैमाथी खनिन पुग्छ
मिडियाकर्मि पनि मैमाथि बर्षिन पुग्छ
अझ बाँचिहाले भने जेल थुनेर क्षतिपूर्ति ताक्छ
चालीस हजार मासिक दिनेले दस लाख माग्छ

यहि भवितव्य देखेर 
म प्रतिज्ञा गर्दैछु,
आमा म तिम्रो छोरा बन्नेछु
सामाको लागि चकेवा बन्नेछु
अयोध्याका लागि राम बन्नेछु
राधाको लागि श्याम बन्नेछु

मलाई माफ गरिदेउ जगतजननी
म डाक्टर हैन,वश सेवक बन्नेछु
हो,म अरुको भलो चिताउने नै छु
प्राण रहुन्जेल अरुलाई बचाउने नै छु

तर,कुनै बडो आकार लिने छैन 
तिम्रो त्यो सपना साकार गर्ने छैन

यहाँ उपचारको बदला प्राण चाहिन्छ
औषधी हैन, केवल रामवाण चाहिन्छ
डाक्टर हैन,सबैलाई भगवान चाहिन्छ
अब तिमी नै भन न,
म भगवान जस्तो क्यारेक्टर कसरि बनु ?
तैले चिताएको ठूलो डाक्टर कसरी बनु?


 

More form the Internet

loading...