म विवाहित
लक्ष्मी खनाल
‘एउटा सानो टिका लाउने कि?’
अनुरोधका यी लवजहरू,
‘दुई वटा चुरा त लाउ,’
आदेशका यस्ता आवाजहरू,
‘किन केही नलाएकी?’
सवालमाथि सवालहरू,
‘बिहे भएको जस्तो नै देखिएन,’
व्यंग्यका प्रहारहरू
सुनिन्छन्।
गुञ्जिन्छन्।
किनकि अब म विवाहित रे!
मेरो रूपमा, विवाहको प्रमाण देखिनु पर्छ रे!
सिउँदोमा सिन्दुरले,
‘म विवाहित’ लेखिनु पर्छ रे!
तर,
चुरा त फुटिजान्छ,
पोते त चुडिजान्छ।
सिन्दुर’नि पुछिजान्छ,
गाजल’नि सुकिजान्छ।
यी बेठेगानका निर्जीव वस्तुमा
मेरो विवाहको ठेगान किन खोज्छौ?
चुरा, पोते, सिन्दुरलाई मात्र
विवाहको प्रमाण किन सोच्छौ?
हो! म विवाहित।
मनले, मस्तिष्कले,
मेरो ‘साथी’को साथले,
नयाँ परिवारको आशिर्वादले।
मैले पोतेभन्दा बलियो
सम्बन्ध कसेको छु।
सिन्दुरभन्दा गाढा,
माया कसेको छ।
चुरा टुटे’नि, कहिले नटुट्ने विश्वास छ।
पोते छिने’नि, कहिले नछुट्ने साथ छ।
त्यसैले म विवाहित
मेरै नियमले,
मेरै काइदाले।
विवाहको बेग्लै
मेरो परिभाषाले
तर,
म ‘आधुनिक’ भएकी होइन।
शृंगार विरोधी बनेकी होइन।
म केवल आफू बनेकी हुँ।
मनले चाहेसरी बनेकी हुँ।
मलार्इ शृंगार गहनाले
दुर्इ दिने चिटिक्क ‘पुतली’ होइन
माया र भावनाले,
जुनीभर बुझ्ने ‘साथी’ बन्ने छ।
त्यसैले म विवाहित,
आफ्नै लयमा
आफ्नै परिभाषामा।।