Suvadin, Home

Cover Image

बरु अलिकति सहिदको रगत नि लिएर आउ
आउ नेता, भोटको होली खेलौं

आउ नेता, भोटको होली खेलौं

 

तिमी भन्दै जाउ, मेरो भोटले म कसकस्लाई रंगाऔं

तिमी भनिदेउ मात्र, म त्यसैलाई नै रङ्गाउछु

मेरो तिमीसँगको आशा, तिमी समर्पण सम्झ

तिमी रामलाई भन, तिमी रावणलाई भन

अझ तिमी कहिले रामलाई भन, कहिले रावणलाई भन

तिमि जसलाई भन्छौं, म त्यसलाई नै एकछापे भोट दल्दिन्छु

आउ नेता, भोटको होली खेलौं

 

म त निरीह, म बाध्य

तिमी नयाँनयाँ पुत्लाहरू खोज्दै जाउ

तिमी मेरो भोट उधारो लिएर, भोेटको व्यापार गर

कसकसलाई दिनुछ, मलाई नसोधी प्रतिज्ञा गर

तिमी मिल जोजोसँग मन लाग्छ

तिम्रो सिद्धान्त मिल्छ मिल्दैन् म हेर्दिन

त्यसलाई त्यही कागजमा लुकाएर राख

आउ फेरि मलाई राज गर

आउ नेता, भोटको होली खेलौं

 

तिमी गुण्डा लिएर आउ, म अबिर दल्दिन्छु

तिमी चोर, फटाहा वा आफ्नै छोरा लिएर आउ, म सप्तरङ्ग लगाउछु

अझ बरु विदेशी लिएर आउ, म मरो स्वाभिमानको रङ्ग लगाइदिन्छु

तिमी भन मात्र, तिमी लिएर आउ मेरो अगाडी

मलाई म होइन, फगत एक भोट देख

कुन चिन्हमा म रङ्ग लगाउनु, तिमी आफै मेरो निधारमा लेख

आउ म लुगा खोलेर निर्बस्त्र बसेको छु

मलाई राजनीतिको रङ्गिन बलात्कार गर

आउ नेता, भोटको होली खेलौं

 

तिमी मात्तिएर आउ, मेरो नागरिकताको धुस्नोमा लडिबुडी गर

मेरो अधिकार र म, तिमीलाई आत्मसमर्पण

मेरो देशलाई सपनामा रङ्गाउ, अनि विपनीमा भत्काउ

तिमीलाई मैले यसपाली फेरि लाइसेन्स दिएको छु, बिगार्न

तिमी फेरि विजयी भइसक्यौ

आउ अब मात्तिएर मेरो भोटको होली खेलौं

हाम्रो आशा र भरोसाको भत्तेर खाउ

बरु अलिकति सहिदको रगत नि लिएर आउ

मेरी आमा नेपालको फरिया बालेर धुनी जगाउ

आउ नेता, भोटको होली खेलौं


 

More form the Internet

loading...