Suvadin, Home

तिम्रा हाम्रा कुरा

तर, कसो-कसो भुली पो दिएँ कि  तिम्रा हाम्रा कुरा नाथे मनका कुरा के छ त अचेल अनिभन्दा मायाप्रेम बाहेक सबथोक त छ बाटो घाटो, पाटी पौवा पुल, स्कुल, अस्पताल ठुला-ठुला, विशाल-विशाल देश निर्माणका कुरा
प्रतिकात्मक तस्बिर।

अञ्जली सुबेदी


कहिल्यै भुल्दिन भनेको त हो 
तर, खै कसो-कसो
भुली पो सकेँ कि
तिम्रा हाम्रा कुरा
नाथे मनका कुरा

वाइयात लाग्न थालेको छ अचेल 
मायाप्रेमका कुरा
वाचाकसमका कुरा 
अनि त सोच्छु, मैले त भुलें कि 

कहिल्यै भुल्दिन भनेकोसम्म याद छ
अरू त भुलेँ कि?
रहर छैन अचेल कोरीबाटी गर्न 
मन पराउँदैन हेर ऐनाले पनि हेर्न 

न इन्द्रेणी मुस्काउँछ,
न बसन्त लजाउँछ,
त्यो जोडी ढुकुर न मलाई जिस्क्याउँछ।
खै भुल्दिन त भनेकै हो 

तर, कसो-कसो 
भुली पो दिएँ कि 
तिम्रा हाम्रा कुरा
नाथे मनका कुरा

के छ त अचेल अनिभन्दा 
मायाप्रेम बाहेक सबथोक त छ 
बाटो घाटो, पाटी पौवा
पुल, स्कुल, अस्पताल
ठुला-ठुला, विशाल-विशाल
देश निर्माणका कुरा

अर्थतन्त्र, प्रजातन्त्र
अनेकतन्त्रका कुरा
शहीदको रगत बलिदान
इतिहास, भूगोल, राजनिति 
सभ्यता, संस्कृति

के छैन, सब छ, जीवन छोटो छ,
गर्नु धेरै छ। 
यस्तै-यस्तै कुरा
छैन त केवल 
तिम्रा हाम्रा कुरा

हरिया फाँटका
गोधुली साँझका 
मधुर मिलनका कुरा
संसार जित्ने कुरा 
त्यही संसार प्रेममा हार्ने कुरा 

स्वतन्त्र भई भुर्र गगनमा उँडिदिने कुरा
फेरि सँगै पिँजडामा बन्द हुने कुरा
आत्माका कुरा, परमात्माका कुरा
सत्यका कुरा, असत्यका कुरा 
दुनियाँका कुरा, भ्रमका कुरा

छैन त जाबो त्यै 
अँध्यारो उज्यालोको कुरा
कहिल्यै भुल्दिन भनेको त हो 
तर, कसो कसो भुलेँ कि सायद मैले
तिम्रा हाम्रा कुरा।


 

More form the Internet

loading...