Suvadin, Home
Nepal Telecom 938.1k

कालो बुर्काभित्र विमला दिदी

विमला दिदीले सत्र वर्षको अवधि साउदीमा सक्नु भनेको नेपालको एउटा गतिलो तागत त्यतिकै तुहेर जानु हो। अहिले पनि यी दिदी यहाँ कालो बुर्काको खोलभित्र आफ्नो सेवाको भावना करैले छिपाएर बसेकी छिन्।
विमला राई।

एसपी लुइँटेल


परिवार, परिवेश र राजनीतिको अत्यचारमा त्यसबेला खुकुरीले पीर थाहा पाउन नसकेको अचानो भई मन बिथोलिएर खाडी पुगेकी सुनसरी जिल्ला, प्रकाशपुर–५ की विमला राईले अब नेपाल पुगेर बृद्घाश्रम अथवा अनाथालय खोलेर समाजसेवा गर्ने भावना मसँग पोखिन्।

‘सत्र वर्षदेखि साउदीमा नेपाली आइमाई कार्यरत छिन्’ भन्ने कुरा सुन्ने बिछट्टै भेटेर चिनाजान गर्न खसखस लााग्यो। सोधिखोजीबाट पत्तो पाएँ, ५१ वर्षकी विमला राई दमामको चिल्ड्रेन एण्ड मेटरनिटी हस्पिटलमा खाद्य चेकजाँच कक्षमा कार्यरत छिन्।

जनकपुरका मित्र कमल शाहको गाडीमा चढेर यी रईनी दिदीलाई भेट्न हुइँकिएँ अस्पतालतिरै। मनमा एक प्रकारको कौतुहलले बिछट्टै पिङ खेलेको थियो। ‘सोह्र–सत्र वर्षदेखि साउदीमा यी दिदी कसरी के गरेर बसेकी छिन्?’ साउदी अरेबिया भनेको धर्मीय परम्परा र कानुनमा विश्वस्त भएर हरेकले नचली नहुने देश हो। 

यहाँ परचक्रीले आइमाईको अनुहार नियालेर हेर्नु अपराध हुन्छ। नारीजातिले पनि आफ्नो सुन्दरता, नारी आयाम, श्रृङ्गार अनि अनुहार खुल्ला देखाएर हिँड्नु कुचलन मानिन्छ। यहाँ परस्त्री–परपुरुषसँगै बस्नु, सँगै खानु, सँगै हिँड्नु, बातचित गरेर बस्नु आदिलाई ‘हराम’ (गर्न वा खान नहुने) भनिन्छ। चलचित्र र चलचित्रघर नभएको यो मुलुकमा प्रेम–पिरतीको छनक नै छैन। र, प्रेम विवाहका नाउँमा केटाले केटी भगाएर पोइल लानु वा जानु त झन् भयङ्कर ठूलो अपराध मानिन्छ। 

हलाल (गर्न वा खान हुने) भित्र नपर्ने यस्ता अपराध कदापि क्षमाको लायकभित्र पर्दैनन्। यहाँ नारी एक्लै हाटबजार डुल्नु, मानिसहरुसँग हिमचिम गर्नु अथवा मनमाफिक उठबस गर्नु आदि मिल्दै मिल्दैन। गैरसाउदी नारी समेत चाहे अमेरिकाबाट आएका हुन् वा जापानबाट, नेपाली होउन् वा अन्य कुनै, याँ बाहिरफेर ननिस्की नहुँदा सबैले कालो बुर्काले आङअङ्ग ढाक्नै पर्छ। यस्तो ठाउँमा यी दिदी आएर आफ्नो जीवनका सत्र वसन्त कसरी काटिन्? 

नेपाली परिवेशभित्र जन्मेहुर्केकी एक वैंशालु महिलाले साउदीमा एक अचल पत्थरसरी जमेर बस्नु अनि दाह्रा किटेर आफ्ना इच्छा आकांक्षालाई आफैंभित्र दबाएर सत्रवर्ष त्यतिकै बिताइदिनुमा कस्तो गजब कथा होला? अनुमति लिएर केहीबेरका लागि भेट्नै पुगेँ अस्पतालको त्यो क्याफ्टेरियाभित्र।

कथाभित्र व्यथाका कित्ता भने अलग धारका रहेछन्। उनीप्रतिका मेरा  सोचाई र गमाईले हार खाएपछि दिदीकै मुखबाट उनको आफ्नो कथा सुनिरहेँ।

पञ्चायतकालीन काला दिनमा आफ्ना खसमले अर्कै श्रीमती लिई छुट्टै घरजम गरेपछि र आफ्ना हातका सिर्जनामा परचक्रीले राज गरेपछि उनी एक्ली भइन्। सहारा मिल्यो त्यसताकाको विराटनगर गार्मेन्ट र नेपाल ट्रेड युनियनको। त्यसै गार्मेन्टको श्रम–पसिनाबाट सुरू भएको थियो उनको निम्छरो राजनीति। उनको त्यो तुच्छ राजनीतिक जीवनमाथि हाल उनलाई नै कल्पना समेत नगरुँझैं लाग्छ। 

उनको टड्कारो सम्झनाले सुनायो, केही नेतृत्वजस्तो माधव नेपाल, विद्या भण्डारी लगायतका नेतादिको कुटिल पाराले त्यसताका विराटनगर गार्मेन्टमा आफ्नो नाकै अगाडि श्रम र श्रमिकको हितको वकालत नगरेर मालिक र कम्पनीको इसारामा वकालत गरी सुरूमै घात्यो। गाउँघरमा पञ्चको शत्रु, राजनीतिमा नेताको घात र माइतीमा सबैको हेपाइतीले गर्दा उनी नेपालमा आफ्नै आँगन वरिपरि नै भीरको चिचिण्डो भइन्। 

खाई गुजाराको मेसो गार्मेन्टबाट खुट्टो चिप्ल्याइयो। खसमले त्याग्यो। र, सहाराको अर्को अभाव सामुन्ने खडा भयो। जीवनमा सहारा नभई अघि बढ्न नसकिने रहेछ भन्ने विचार मनमा आएपछि उनले वैदेशिक रोजगारीको सहारा लिन कसोकसो राहदानी बनाएर भिसा लगाइन्। र, २०५१ सालमा खाडी नामको साउदी अरब प्रवेश गरिन्।

ल् अमरिन, अल् यासराजस्ता कम्पनीमार्फत साउदीका हफुफ, रियाद र दमाम आदि जिल्लाका अनेकौं अस्पतालमा सेवा गर्दै आएकी यी विमला दिदीले पाँच सय रियालको तलबबाट भाई–बुइना पढाउनु र भदाहाहरूलाई खर्च पेल्नु नै मुख्य काम सोचिन्। तेह्र वर्षको उमेरमा विवाह भएर बाह्र वर्षसम्म खसमसँग घरखाँदा पनि उनका आफ्ना छोराछोरी भने भएनन्। त्यसैले उनको खर्चको गौंडो भने भाई–बुइना र भदाहाहरू नै थिए। बुबा–आमाको मायाबाट पनि टाढिनु परेको हुँदा विदेशमा गरेको दुःख बिसाउन बेलाबखत छुट्टीमा घर जाँदा  कहिले आफन्त कहिले साथीभाइका घरहुँदो पाहुना लागेर दिन बिताउँछिन्।

परिवार, परिवेश र राजनीतिको अत्यचारमा त्यसबेला खुकुरीले पीर थाहा पाउन नसकेको अचानो भई मन बिथोलिएर खाडी पुगेकी सुनसरी जिल्ला, प्रकाशपुर–५ की विमला राईले अब नेपाल पुगेर बृद्घाश्रम अथवा अनाथालय खोलेर समाजसेवा गर्ने भावना मसँग पोखिन्। ‘भाइ, कसैको मार्गनिर्देशनको उचित सहयोग पाएँ र उपरवालाले साथ दिए भने म आफ्नो सम्पत्ति र साथ अब बृद्धबृद्धाको सेवा वा टुहुराटुहुरीको हेरचाहमा लगानी गर्छु। आफ्ना रहर र खुसी निमोठेर अर्काकै खुसीमा खुसी हुनुपर्ने अनि अर्कैको दुःखमा रोइदिनुपर्ने यो विदेशी जिन्दगीबाट मन थाकिसक्यो। अबको मेरो बाँकी समय स्वदेशकै सेवामा लगाउने विचार मनमा आएको छ,’ उनले भनिन्।

समाजसेवाको उमङ्ग र त्यागको भावना बोकेकी यी दिदीको कुरा सुनेपछि लाग्यो, मनभरि इच्छा, आकांक्षा र उमङ्ग बोकेर प्रगति पथमा हिँडेको पथिकको भावनामाथि जब बञ्चरो हानिन्छ, श्रम–पसिनाको दाम चट् पारिन्छ, आहारा खोसिन्छ, प्रगतिपथमा भड्खाल खनिन्छ, परचक्रीले मनमाफिक राज गर्छ र विद्रोह गर्ने आँट अनि आड–भरोसालाई आफ्नै भनौदाले तुहाउँछ तब उसको जीवन निराश र बैरागी बन्नुबाहेक अरु केही हुँदैन। 

विमला दिदीले सत्र वर्षको अवधि साउदीमा सक्नु भनेको नेपालको एउटा गतिलो तागत त्यतिकै तुहेर जानु हो। अहिले पनि यी दिदी यहाँ कालो बुर्काको खोलभित्र आफ्नो सेवाको भावना करैले छिपाएर बसेकी छिन्।


 

More form the Internet

loading...