Suvadin, Home

कथा:
यसरी ठहर्याइयो दर्जिनी बज्यैलाई ‘बोक्सी’

सबै मिलेर दर्जिनी बज्यैलाई दिसाको झोलपानीले नुहाउने, कालो मोसो दल्ने अनि ढुङ्गा हान्दै गाउँबाट खेद्ने सल्लाह गरे। बिर्खे दाइले ब्याट्रीको कालो धुलो निकालेर मोसो बनाए। दिसाले नुहाएकी बज्यैलाई चियाबाजेले कालो मोसो दले। त्यसपछि बज्यैको डोरी फुकाले। अनि सबैले ढुङ्गा हान्दै कोसीको तिरैतिर कोसौं टाढासम्म लखेटे।

 

धिरज चौधरी


 

कक्षा ६ मा पढ्थें। त्यतिखेर स्कुल पल्लो गाउँमा थियो। एकदिन स्कुलबाट फर्किँदै थिएँ। सोमबारे हाट लाग्ने मैदानमा धेरै मान्छे जम्मा भएको देखें। फुच्चे थिएँ। सबैको टाङमुनिबाट छिरेर भीड​को अगाडि पुगें। अगाडि पुग्दा पूर्वतिर रहेको बकैनोको रुखमुनिदर्जिनी बज्यैलाई बाँधेर राखेको देखें।

एक्कासि आमा चिच्याउन थाल्नुभयो- सर्प...सर्प...। सुतिरहेका हामी पनि ब्यूँझियौं। अत्तालियौं। कहालियौं। कोठामा सर्प देखेपछिदाइ र म रुन थाल्यौं। पल्लो कोठाबाट साइँला काका आएर हामी सबैलाई बाहिर बरण्डामा निकाल्नुभयो।

हो-हल्ला सुनेर घरबेटी बा तल​ ओर्लिए। सर्प भन्ने थाहा पाएपछि भाला लिएरै आए। साइँला काका, छिमेकका चिया बाजे र घरबेटी बा मिलेर कोठामा भुइँ-पाताल खोजे। गोदरेजमुनि सर्याक-सुरुक सुनेपछि बल्ल त्यहाँ बेरिएर बसेको गोम​न सर्प भेटे।

घरबेटी बाले भाला हाने। चिया बाजेले लट्ठी बजारे। अरु रमितेहरूले ढुङ्गा वर्षाए। गोम​न सर्पको हुँकार​ ठाउँका ठाउँ सेलायो। क्षणभरमै मारियो। भालाको टुप्पोमा बेरेर​ मरेको सर्पलाई बाहिर निकाले।

मरेको सर्प बाहिर निकालेपछि आमा छक्क पर्नुभयो। हामी दाजुभाइ पनि छक्क पर्यौं। अजिङ्गर जत्रै ठूलो देखिएको सर्प मारेर बाहिर निकाल्दा अन्धो बाम माछाजत्रै थियो।

आमाले फ्याट्ट भनिहाल्नु भयो, ‘हामीले देखेको सर्प यो होइन। निकै ठूलो थियो।’

सबै छक्क परे। अर्को पनि सर्प छ कि भनेर फेरि चप्पाचप्पा खोजे। भेटेनन्। घरबेटी बाले आमालाई सोधे, ‘तिमीले देखेको सर्प मोटै थियो त?’

 आमाले मुन्टो हल्लाउँदै ‘हो’ भन्नुभयो।

घरबेटीबा आफैंलाई अलिअलि धामीको कर्म आउँथ्यो। एकछिन के-के बर्बराउनु भयो। बारीतिर अछेता छर्किनुभयो। उत्तरतर्फ टपरीमा चामल र अम्खोरामा पानी राखेर एकछिन काम्न थाल्नुभयो।

काम्दै, यो त्यसकै काम हो। त्यही बोक्सीको सर्प हो। डस्न अजिङ्गर पठायो। हल्ला भयो। डस्न सकेन। हल्ला सुनेर म आएँ। मलाई झुक्याउन बोक्सीले अजिङ्गरको ठाउँमा गोम​न राखिदियो। त्यही बोक्सीको बितण्डा हो यो भन्न थाल्नुभयो।

सर्पको आकार परिवर्तनबाट हामी अचम्ममा थियौँ नै। अझ घरबेटी बाले बोक्सीको वितण्डा हो भन्दा डरले त्यो रातभर सुत्न सकेनौं।

भोलिपल्ट बिहान झन अचम्म भो। मरेको सर्प राखेको ठाउँमा बिहान हेर्दा सर्प​ थिएन। काकाहरूले भोलिपल्ट खोलामा फ्याल्ने भनेर सर्प अम्बाको बोटमुनि इँटाले चेपेर राखेका थिए। बिहान फाल्ने बेला लट्ठीले उठाउन खोज्दा त्यस ठाउँमा सर्प भेटेनन्। वरपर पनि देखेनन्।मरेको सर्प एकाएक हरायो। धामी घरबेटी बाको कथन साबित हुन लागेको थियो।

राति त घरबेटी बालेमात्रै बोक्सीलाई दोष लगाएका थिए। सर्प हराएपछि टोलका सबैले बोक्सीले नै आएर सर्प लगिछे भन्न थाले।

म सानै थिए। बोक्सी कस्तो हुन्छ मलाई थाहा थिएन। आमाको कुरा सुन्दा चाहिँ बोक्सी दन्ते कथाको राक्षस्नीजस्तै होला भन्ने सोच्थें। सोचेर डर पनि लाग्थ्यो।

केही दिन सर्पको तर्क खुब जम्यो सबैको जिब्रोमा। चिया पसलमा बुढापाकाले गफमा बोक्सीको खुराक खुब मिसाए। कोही त छिटै बोक्सी पत्तो लगाएर कोसीपारि खेद्नुपर्छ पनि भन्थे।

साता दिन नबित्दै हाम्रो कोठामा सर्प मारेका चिया बाजेको नाति बिरामी पर्यो। छेर्ने र ज्वरो आउने। काखैको त्यो बच्चा हनहनी ज्वरोले रोएको रोई गर्दथ्यो।

त्यसबेला नजिकै स्वस्थ्य चौकी थिएन। एक जना अहेव थिए। बाजेले नातिको उपचार गर्न उसैकहाँ लगे। अहेबले सक्दो औषधि दिए। सक्दो सलायन पानी चढाए। दिसा-पिसाब जँचाए। निको हुन्छ भन्ने अश्वासन दिए।

दुई दिनसम्म पनि औषधीले छेउटुप्पो छोएन। घरेलु उपचार पनि गरे। न ज्वरो घट्यो। न छेर्ने बन्द भयो।

दिसा-पिसाबको रिपोर्ट आएपछि अहेबले हैजा रहेछ छिटै सहरको अस्पताल लैजाउ भने। बाजे चिन्तित भए।

चिन्तित बाजेलाई सबैले उक्साए, ‘नातिलाई हैजा-सैजा केही होइन​, बोक्सी लागेको हो। औषधिले छुन्न। बोक्सीले सर्प मारेको बदला लिन खोज्दै छे। नाति मारेर मरेको सर्प ब्यूँत्याउन लागेकी छे। नाती जोगाउने भए छिटै धामीलाई बोलाउ।’ 

बाजेले अहेबको कुरो पत्याएनन्। गाउँलेको कुरा माने। बाजे भोलिपल्ट नै डाडालाइन ग​ए। डाडालाइन गाउँमा नाम चलेका धामी थिए-  सालीग्राम झाँक्री। सबैले झाँक्री बा मात्रै भन्थे।

नातिलाई बोक्सीको प्रकोपबाट जोगाउन र सन्चो बनाउन साँझपख बाजेको घरमा झाँक्री बा आइपुगे। सँगसँगै झाँक्री बाले बोक्सी पत्ता लाउने कुरा पनि सिसौली टोलभरि फैलियो। फैलिँदै मेरो कान सम्म आइपुग्यो।

त्यसरात​ चिया बाजेको अगेनामा धेरै जना भेला भ​एका थिए। निष्पट्ट अँध्यारो थियो। रात छिप्पिँदै थियो। बाजेले राको बाले। झाँक्रीले ढ्याङ्ग्रो पिट्न थाले।

चौध महिनाको अर्ध चेत बालकलाई राको छेऊ भुइँमा सुताए। झाँक्रीले मन्त्र फतफताउन थाले। हेर्दाहेर्दै एकछिनमा काम्न थाले। उफ्रिन थाले। जोडजोडले कराउन थाले। सबै दिशातर्फ चामल फ्याँक्न थाले।

एकछिन उफ्रेपछि नातिको छेऊमा पलेंटी मारेर झाँक्री काम्दै मन्त्र बक्न थाले। बिरामी नातिको जीउभरि चामल छर्के। पानी छर्के। छेउमा धुप बाले।

बाजेले रातो भाले ल्याए। झाँक्रीले एकैचट्मा भालेको टाउको छिनाए। आकाशतिर हेरेर मन्त्र पढे। अनि अग्निलाई रगत चढाए।

फेरि एकैछिनमा जोडजोडले ढ्याङ्ग्रो बजाए। बोक्सी ... बोक्सी भन्न थाले। उत्तरतर्फ चामल फाल्दै, राको देखाउँदै  बोक्सी भगाउन थाले।

मन्त्र फलाक्दै र काम्दै झाँक्रीले आगोको लप्कोमा बोक्सीको आकृति देखे। गाउँलेलाई पनि देखाए। सबैले मानौं एउटा कुरुप तस्बिरदेखेझैं हो मा हो मिलाए। आगोको लप्कोमा सबैले कस्तो आकृति देखे,  त्यहाँ भ​एका मानिसले नै जानुन्। तर, मैले चाहिँ कुनै आकृतिदेखेको थिइन्।

सबै हेर्दा मलाई रमाइलो लागिरहेको थियो। लयात्मक मन्त्रमा झाँक्री पुनः बर्बराए। र, बच्चाको छेऊमा ग​एर जोड्ले फेरि पानी छर्किए। बाजेको नाति निन्द्राबाट ब्यूँझिएर रुन थाल्यो। झाँक्रीको कर्मकाण्ड सकियो।

‘अब बोक्सीले यो नातिलाई छुँदैन। यो सबै खरानी खोलाको बगरमा यही आउँदो औंसीको रातमा गाड्नु। अनि सधैंभरिको लागि बोक्सी भाग्छे। बोक्सी यो टोलको उत्तरतर्फ छे। लोग्नेमारा हो। पानी नचल्ने जातको। साठी ननाघेकी। राति-राति मसान जान्छे। सर्प पालेकी र सर्पसँगै खेल्ने होचो कदकी छे।’ यति भनेर झाँक्रीले टाउको छिनिएको रातो भाले झोलामा हाले। दक्षिणा बटुले। अनि बाजेसँग थप दक्षिणा लिएर आफ्नो बाटो तताए।

झाँक्रीको धामी कलाबाट पनि बाजेको नातिको पखाला थामिएन। झाडासँगै झन् बान्ता पनि बढ्यो। पानीको अभावले शरीर सुक्दै गयो। भोलिपल्ट पखला निकै भ​एर सधैंभरिको लागि बाजेको नातिले यो धर्ती छोडेर गयो।

नातिको अन्तिम संस्कारपछि टोलमा बाजेले सबै बुढापाकाहरूलाई भेला गराए। जान्ने-बुझ्ने डाके। सबैले सरसल्लाह गरे। भविष्यको सकंटबारे विचार गरे। बोक्सीको प्रकोपबारेमा सचेत हुनपर्ने कुरा जाहेर गरे। अनि झाँक्रीबाले दिएको हुलिया बमोजिम सबैले आ-आफ्नै अड्कल लगाए :

- त्यै पोक्ची हो बोक्सी।

- माइलो त मरेर गयो। त्यसैको स्वास्नी बोक्सी रहिछे।

- हाम्रो लुगाफाटा सिलाउँथिन्। टुनामुना लाएर दिन्थिन् क्यारे। दर्जीनी बज्यै नै हो बोक्सी।

सबैको कुराबाट अन्तमा दर्जिनी बज्यै नै बोक्सी ठहरिन्।

कक्षा ६ मा पढ्थें। त्यतिखेर स्कुल पल्लो गाउँमा थियो। एकदिन स्कुलबाट फर्किँदै थिएँ। सोमबारे हाट लाग्ने मैदानमा धेरै मान्छे जम्मा भएको देखें। फुच्चे थिएँ। सबैको टाङमुनिबाट छिरेर भीड​को अगाडि पुगें। अगाडि पुग्दा पूर्वतिर रहेको बकैनोको रुखमुनिदर्जिनी बज्यैलाई बाँधेर राखेको देखें।

चिया बाजे झोकिँदै  ‘मेरो नाति यसैले खायो। यसलाई मार्नुपर्छ’ भन्दैथिए।

हाम्रा घरबेटी बा ‘यो बोक्सीले अरु थुप्रै केटाकेटी खान​ सक्छे। गाउँबाट खेद्नुपर्छ यसलाई’ भनेर कराउँदै थिए।

ज्यामिरे बूढो ‘बज्यै हुन्। यही गाउँकी हुन्। एकचोटी सचेत गराएर अनि चेतावनी दिएर हेरौं। त्यसपछि पनि केही गरिन् भने अनि गाउँ निकाला गरौंला’ भन्दैथिए।

अरु पाका मान्छेहरू ज्यामिरे बूढोको कुरोमा सहमत देखिएनन्।

सबै मिलेर दर्जिनी बज्यैलाई दिसाको झोलपानीले नुहाउने, कालो मोसो दल्ने अनि ढुङ्गा हान्दै गाउँबाट खेद्ने सल्लाह गरे। बिर्खे दाइले ब्याट्रीको कालो धुलो निकालेर मोसो बनाए। दिसाले नुहाएकी बज्यैलाई चियाबाजेले कालो मोसो दले। त्यसपछि बज्यैको डोरी फुकाले। अनि सबैले ढुङ्गा हान्दै कोसीको तिरैतिर कोसौं टाढासम्म लखेटे।

हेर्दाहेर्दै सिसौली टोलमा गाउँलेले बोक्सी जन्माएर क्रुर तरिकाले धपाउन पनि भ्याए। दर्जिनी बज्यै साँच्चै बोक्सी थिइन् या थिइनन्? त्यो समाजले नै जानुन्।

तर,​ दर्जिनी बज्यैलाई बोक्सी बनाउनमा हाम्रो पनि अप्रत्यक्ष भूमिका थियो। हुनसक्छ, त्यतिबेला कहालिएर हामीले दुब्लो-पातलो सर्पलाई नै मोटो अजिङ्गर​ देख्यौं कि? राति राखेको ठाउँबाट मरेको सर्प कुकुर वा बिरालोले कतै पुर्याएको थियो कि? तर, सबैले कथित​बोक्सीलाई दोष​ लगाए।

आज​ पन्ध्र वर्षपछि यो घट्ना सम्झिँदा घिन लागेर आउँछ। चिया बाजेको नाति वास्तवमा त्यतिखेर बोक्सी प्रकोपभन्दा पनि हैजा प्रकोपले मरेका थिए। अहेवले बाजेलाई बुझाउन सकेनन्। बाजेले अहेबको कुरा बुझ्न चाहेनन्। म हुर्किएको त्यतिबेलाको रुढीग्रस्त समाजमा यस्ता कुरा कसैले बुझेनन् र बुझ्न चाहेनन्। तर, अबोध दर्जिनी बज्यै सिसौली टोलमा अनाहकमा बोक्सी ठहरिइन् र लखेटिइन्।


 

More form the Internet

loading...