Suvadin, Home

‘भरियाको भूगोल’ लिएर दिनेश अधिकारी

कवि तथा गीतकार दिनेश अधिकारी नयाँ कृतिसहित पाठकमाझ प्रस्तुत हुने भएका छन्। पब्लिकेशन्स नेपालयद्वारा प्रकाशित उनको काव्यकृति ‘भरियाको भूगोल’ यसै शुक्रबार, वैशाख १५ गते सार्वजनिक हुँदैछ। करिब तीन वर्षको विश्रामपछि सुरू हुनलागेको पलेँटी शृंखलाको अवसरमै उक्त पुस्तकको विमोचन पनि गरिने भएको छ।
दिनेश अधिकारी।

काठमाडौं, वैशाख १३ - कवि तथा गीतकार दिनेश अधिकारी नयाँ कृतिसहित पाठकमाझ प्रस्तुत हुने भएका छन्। पब्लिकेशन्स नेपालयद्वारा प्रकाशित उनको काव्यकृति ‘भरियाको भूगोल’ यसै शुक्रबार, वैशाख १५ गते सार्वजनिक हुँदैछ। करिब तीन वर्षको विश्रामपछि सुरू हुनलागेको पलेँटी शृंखलाको अवसरमै उक्त पुस्तकको विमोचन पनि गरिने भएको छ।

आधुनिक नेपाली संगीतको विकासक्रम र यसका श्रष्टाहरूको योगदानमाथि केन्द्रित भएर सन् २००५ देखि चल्दै आएको पलेँटीमा यसपाला अधिकारी प्रस्तुत हुँदैछन्। नारायणगोपाल, तारादेवीलगायत थुप्रै गायक गायिकाले स्वर दिएका अधिकारीका गीतहरू आधुनिक नेपाली संगीतको फाँटमा ख्यातीप्राप्त छन्। यसरी गीतकार अधिकारीकै सांगीतिक कृति प्रस्तुत हुँदैगरेको मञ्चमा उनको नयाँ काब्यकृतिको पनि विमोचन हुन लागेको हो।

२०१६ साल मंसिर २२ गते काठमाडौंको बानेश्वरमा जन्मिएका अधिकारीको हुर्काइ भने मधेसको सर्लाहीमा भयो। अध्ययन अनुसारै उनले कानुनका क्षेत्रबाट व्यावसायिक जीवन थालनी गरे।

महान्यायाधिवक्ताको कार्यालय हुँदै निजामती सेवामा समेत संलग्न अधिकारी नेपाल सरकारको सचिवबाट सेवानिवृत्त भए। तर, उनको सार्वजनिक व्यक्तित्वलाई भने उनकै सिर्जनाका शब्दहरूले सबैभन्दा अगाडि उभ्याइदियो।

त्यसैले २०५६ सालमा ‘अतिरिक्त अभिलेख’का निम्ति मदन पुरस्कार र २०५१ सालमा ‘इन्द्रजात्रा’का निम्ति साझा पुरस्कार लगायत थुप्रै सम्मान र पुरस्कारले समेत उनी सम्मानित छन्।

जीवन, संघर्ष र सपनालाई सरल, सरस र सुरुचिपूर्ण लय दिएर उनी साधारण मानिसलाई जीवन्त तुल्याउँछन्। र, तिनकै स्पन्दनमार्फत् समकालीन समाज र देसको काव्यिक इतिहास लेख्छन्।

कवि एवं प्राज्ञ श्रवण मुकारुङले ‘रचना शिल्पका कारण भूपी शेरचनपछिका सम्भवतः एकमात्र लोकप्रिय कवि’ भनेर उल्लेख गरेका अधिकारी अझै पनि सिर्जनात्मक साधनामा उत्तिकै तल्लीन रहेको प्रमाण बन्नपुगेको छ ‘भरियाको भूगोल’।

२०३७ सालमा ‘अन्तरका चित्तहरु’ कवितासंग्रहबाट उनको यात्रा सुरुभएको थियो। त्यसयता उनका दर्जनभन्दा बढी कविता संग्रह र त्यति नै संख्यामा गीति संग्रह निस्किसकेको छ। प्रस्तुत कृति भने २०५१ सालमा उनलाई साझा पुरस्कार दिलाउने ‘इन्द्रजात्रा’ पछिको दोस्रो काव्य हो।

आधुनिक नेपाली कविता परम्पराको एउटा युग र धाराको अगुवाइ गरिरहेका यी कविले यो काव्यमा भरियामार्फत् हाम्रो भोगाइको भूगोल विचरण गरेका छन्।

‘दिनेश अधिकारीको गीत र कविता सुनेरै पछिल्ला केहि नेपाली पुस्ता हुर्किएका छन्,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘तिनै श्रोता र पाठकहरुको चाहनालाई कदर गर्दै हामीले अधिकारीको नयाँ कृति प्रस्तुत गरेका हौं।’


 

More form the Internet

loading...