Suvadin, Home

एकादेश 
चिया बोक्ने बालक

अकस्मातको यो सोधाईले बालक झस्कियो। अक्क न बक्क पर्यो। चियाको गिलास टेबुलमा राख्दा झुकेको उसको अनुहार ठाडो पार्यो र फिस्स हाँस्यो मात्रै। उसले केही जवाफ दिएन। उल्टै प्रतिप्रश्न गर्यो,‘तपाईलाई किन चाहियो?’
एकादेश।

बिप्लव मरासिनी

कलिलो उमेरको एउटा बालक चियाको गिलास ल्याएर कोठामा प्रवेश गर्यो। मैलोधैलो लुगा। नाकमा सिँगानका पाप्रा जमेका। महिनौं ननुहाएको जस्तो देखिन्थ्यो। 

हातका औला पनि चर्चरी फुटेका थिए। स्कुले निलो रंगको सर्ट र कालो प्यान्ट लगाएको थियो। त्यो पनि ठाउँठाउँमा फाटेर भित्री अंग देखिइरहेका थिए।

हुन् त काठमाडौंको यो ठण्डिमा चिसो पानीले नुहाउन ठूलै साहस चाहिन्छ। एकखालको बीरता नै प्रदर्शन गर्नुपर्छ। तर, त्यो बालक भने बेपर्वाह झै लाग्यो आर्यनलाई। यत्रो होटल छ, २४ सैं घण्टा पानी आउछ। उसले किन ननुहाएको होला? स्कुल पढ्ने उमेरमा कुन यस्तो बिवशता थियो। उ यहाँसम्म आयो? आर्यनको दिमागमा करेन्ट लागेजस्तो भयो।‘भाई तिम्रो नाम के हो? कहिलेदेखि यहाँ काम गरिरहेका छौं?’ उसलाई देख्ने बित्तिक्कै आर्यनले एकै श्वासमा यी प्रश्न गर्यो। अकस्मातको यो सोधाईले बालक झस्कियो। अक्क न बक्क पर्यो। चियाको गिलास टेबुलमा राख्दा झुकेको उसको अनुहार ठाडो पार्यो र फिस्स हाँस्यो मात्रै। उसले केही जवाफ दिएन। उल्टै प्रतिप्रश्न गर्यो,‘तपाईलाई किन चाहियो?’

‘केटो कडा रैछ’ आर्यनले अनुमान लगायो। तैपनि फकाउने प्रयास गर्यो,‘हैन यसै सोधेको। भाई भनेर हो नि? किन रिसाएको मेरो प्यारो भाई।’ मायाका शब्दले बालक गल्यो सायद। ‘दाजु मेरो नाम डीलबहादुर कडायत हो। घर डोटीको बगलेखानमा पर्छ। ५ महिना जति भयो यहाँ काम गर्न लागेको। के गर्नु परिस्थिति नै यस्तो आइलाग्यो,’ बालकले परिपक्वताका साथ जवाफ दियो, ‘घरको अवस्थाले परदेश पुर्यायो दाजु।’
००००
डीलबहादुरको उमेर पुग न पुग १० वर्षको हुनुपर्छ। उसले आर्यनलाई दिएको जवाफमा भने अनुभव झल्किन्थ्यो।

बाध्यता र बिवशताको कुरा गरिरहेको थियो, डीलबहादुर। सायद उसलाई यी सबै कुरा गर्न सिकाएको यही समयले होला। उसका कुरा सुनेर आर्यनलाई घत लाग्यो। सबै कुरा बुझ्न मन लाग्यो। तर, रिसेप्सनबाट चर्को आवाज आयो, ‘हैन कता हराउछ यो ‘गधा’। चिया पुर्याउन यत्रौं टाइम लाग्छ त्यो ‘गधा’लाई।’

आर्यनले ठम्यायो, साहुको आवाज थियो। रिसेप्सनमा एउटा गोरो र कसिलो जीउँज्यान भएको खाइलाग्दो युवा बस्थ्यो। उ नै गेष्टहाउसको साहू थियो। केही वर्ष विदेशमा पसिना बगाएर कमाएको रकम स्वदेश फर्केपछि होटल व्यवसायमा लगाएको थियो।

००००
डीलबहादुर पछि भेटौला दाजु भन्दै कुदिसकेको थियो। अब आर्यन कोठामा एक्लै थियो। उसको माथिंगल घुमिरहेको थियो, सिलिङ फ्यानझैं। के त्यस्तो बाध्यता रैछ। स्कुल जानुपर्ने उमेर। बा’आमाको न्यानो माया पाउनुपर्ने बेला यसरी होटलका जुठा भाडा माझ्नुपरेको छ। साहुको हप्कीदप्की सहेर बस्नुपरेको छ। उसलाई पनि साथीहरूसँग खेल्न मन लाग्छ होला नि? आमाले पकाएको मीठो कुरा खान मनलाग्ला। उसको पनि बालअधिकार होला? कता गए अधिकार? अभिभावकले छोराछोरीलाई गर्ने कर्तब्य र दायित्व? आर्यनको मन खिन्न भयो। 

०००

आर्यन बिहान होटलको कोठाबाट बाहिर निस्किएको थियो, मन्जन (कोलगेट) किन्न। फर्किदा होटलको मुल ढोकामा परैबाट देखिने गरेर टासिएको स्टीकरमा उसको नजर परेको थियो। त्यसमा लेखिएको थियो, ‘बाल श्रममुक्त होटल।’ उसलाई यी सबै कुरा देखेर लाग्यो, ‘हात्तीको देखाउने र चपाउने दात बेग्लाबेग्लै हुन्छ’ भनेको यही होला। उसले कलिला बालबालिकालाई जोखिमपूर्ण श्रममा प्रयोग गर्नु अपराध हो भन्ने पढेको थियो। अघिल्लो महिना जिल्ला सदरमुकामबाट सडक नाटक देखाउने एउटा टोली पनि आएको थियो। त्यसमा पनि यस्तै दृष्य थिए। तर, खै त यी कुरा व्यवहारमा लागू भएको? राजधानीकै होटलमा त यस्तो अवस्था छ भने अझ दुर्गम ठाउँमा कस्तो होला? आर्यन यस्तै प्रश्नमा घोत्लिरहेको थियो। कति खेर निदायो पत्तै पाएन।


 

More form the Internet

loading...