Suvadin, Home

सन्दर्भः गोपाल योञ्जनकाे ७४औं जन्मजयन्ती
भारतीय नागरिकता त्यागेर नेपाल अाएका गाेपाल याेञ्जन

एघार वर्षको उमेरमा कक्षा–६ मा पढ्दा पहिलो पटक आफैँले लेखेको गीत आफ्नै संगीतमा गाएका योञ्जनले दार्जीलिङमा आफ्नो भविष्य देखेनन्। र, काठमाडौँ हानिए। काठमाडौँ बसाई उनलाई उर्जावान संगीतकर्मी बन्न फलदायी रह्यो। योञ्जनले राष्ट्रिय भावनाले ओतप्रोत गीत संगीत कोरिरहे। उनका गीतमा माया प्रेमभन्दा राष्ट्रिय भावना नै बढी भेटिन्छ। 
गोपाल योञ्जन।

काठमाडाैँ, साउन २४  –

मेरो टोपी कैलाशको शीर जस्तो

मेरो टोपी हिमाली भीर जस्तो

कहिले पनि झुक्न नजान्ने

कहिले पनि लुक्न नजान्ने

मेरो टोपी नेपाली वीर जस्तो

दार्जीलिङको साँघुरो परिवेशबाट आफूलाई नेपाली खुला आकाशमा विचरण गराउन साथ गोपाल योञ्जनले यस्ता कालजयी गीत–संगीत श्रृजना गरे। राष्ट्रभक्तिले ओतप्रोत गीत–संगीत श्रृजनाको लहर नै ल्याए योञ्जनले। लाग्छ, नेपाल आएपछि मात्रै उनले पूर्ण स्वतन्त्रताको अनुभूति गर्न पाए।

माथि प्रस्तुत गीत पनि झण्डै आधा शताब्दी अघि गाइएको हो। तर, आजसम्म पनि यो गीत उत्तिकै सान्दर्भिक छ। नेपाली सांगीतिक आकाशका उज्ज्वल नक्षत्र गोपाल योञ्जनको जन्मजयन्तीकै परिवेशमा हामी उभिएका छौं।

सन् १९४३ को अगष्ट २६ तारिखका दिन दार्जीलिङमा जन्मिएका योञ्जनको निधन सन् १९९७ को मे २० तारिखका दिन काठमाडौँमा भएको थियो। गोपाल योञ्जन भारतीय नागरिकता त्यागेर दार्जीलिङबाट काठमाडौँ आएपछि यो गीत गाए। उनी शब्द–शब्दमा जादु भर्थे। संगीतमै उस्तै माधुर्यता थियो।

गायनमा पनि त्यस्तै शक्ति थियो। एघार वर्षको उमेरमा कक्षा–६ मा पढ्दा पहिलो पटक आफैँले लेखेको गीत आफ्नै संगीतमा गाएका योञ्जनले दार्जीलिङमा आफ्नो भविष्य देखेनन्। र, काठमाडौँ हानिए। काठमाडौँ बसाई उनलाई उर्जावान संगीतकर्मी बन्न फलदायी रह्यो। योञ्जनले राष्ट्रिय भावनाले ओतप्रोत गीत संगीत कोरिरहे। उनका गीतमा माया प्रेमभन्दा राष्ट्रिय भावना नै बढी भेटिन्छ। 

भारत स्वतन्त्र भएपनि भारतमा बस्ने नेपालीभाषीले स्वतन्त्रताको अनुभूति गर्न पाएका छैनन्। कुनै न कुनै रुपमा नेपालीभाषी भारतीयकै शोषणमा पर्नु परेको छ। भारतको दार्जीलिङमा जन्मिएका योञ्जनले पनि आफ्नो देशभित्रै पराई हुनु परेको अनुभूति गरेका थिए। जसका कारण उनी काठमाडौँ आएका हुन्।

उनले ‘मेरो टोपी कैलाशको शीर जस्तो’ गाए। यो गीत नेपाल र नेपालीका लागि गौरव गर्ने विषय पनि हो। तर, हामीले कहिलै सोचेनौँ की, दार्जीलिङबाट आएका योञ्जनले किन यो गीत गाए। योञ्जन भारतीय नेपालीमाथि हुने अन्यायपूर्ण राजनीतिक हमलाबाट परिचित थिए। त्यसैले आफ्नो नागरिकता नै त्यागेर उनी नेपाली नागरिक हुन आए।

गोपाल योञ्जनको कामको दायरा सीमित थिएन। नेपाली संगीतको इतिहासमा शब्द रचनाकार, संगीतकार, निर्देशक, गायक र संगीत निर्देशकको रुपमा काम गरे उनले। उनलाई पश्चिमी संगीतको पनि राम्रो ज्ञान थियो। 

गोपाल योञ्जनले शुरुवाती दिनमा दार्जीलिङकै संस्कृति जोगाउने अभिप्रायले काम गरे। बाँसुरी बजाउने योञ्जनको क्षमतालाई अहिले पनि दार्जीलिङका अगुवाहरु स्मरण गर्छन्। नेपाली संगीत श्रृजनासँगै उनले पढाईलाई निरन्तरता दिए।

दक्षिण एशियाली संगीतमा स्नातक उनी नेपाली संगीतको नेतृत्वकर्ता हुन्। गोपाल योञ्जन संगीतमा उत्कृष्टताको खोजीमै डुब्थे। त्यसैले पनि उनको श्रृजनामा निखार पाइन्छ। युवादेखि जेठो पुस्तासम्म पनि उनका गीत लोकप्रिय छन्। 

गोपाल योञ्जनले मायाप्रीतिका गीत पनि गाएका छन्। कतिपयमा संगीत र शब्द भरेका छन्। तिम्रो जस्तो मुटु मेरो पनि, ए, मलाई माया गर्नेहरु, केही चोटले, मलाई माफ गरिदेउँ, गल्ति हजार हुन्छ, लौ सुन म भन्छु, चुमेर पानाभरि, यति चोखो, सम्हाल घुम्टोहरु, जीवनको हरेक मोडमा, बिर्सेर  फेरि मलाई न हेर आदि उनका अमर श्रृजना हुन्।

उनले अम्बर गुरुङ, चेतन कार्की, नाती काजी, नारायण गोपाल, नगेन्द्र थापा, अरुणा लामा र उदीतनारायण झा र पछिल्लो पुस्ताका दीपेशकिशोर भट्टराईसँग काम गरे। तर, राष्ट्रियताप्रति सचेत योञ्जनको भावनालाई अहिलेको माहोलले बिगारेको छ।

राजनीतिलाई विकृत बनाएर देशको अस्तित्वमाथि नै प्रहार गरे कार्यले सायद योञ्जनजस्ता राष्ट्रसेवक र स्वाभिमानी नेपालीको मन पक्कै दुखेको हुनुपर्छ। त्यसैले यो परिवेशमा केही राजनीतिक टिप्पणी गर्नु सान्दभिक हुन्छ।

अहिलेको आवश्यकता संविधान कार्यान्वयन गरी देशलाई शान्ति, समृद्धि र अमनचयनको बाटोतर्फ अघि बढाउनु हो। यो नै राष्ट्रिय भावनाका गीत गाउने, लेख्ने र संगीत भर्ने गोपाल योञ्जन जस्ता क्रान्तिकारी संगीतकारप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ। 

सदियौंदेखि राज्यको उच्च आसनमा राखेर सम्मान गर्दै आएका अगुवालाई जनताले धारे हात लगाइरहेको बेला छ यो। यो अकारण भइरहेको छैन। नेपाली समाजको कम्पास कता घुमिरहेको छ, किन घुमिरहेको छ, सत्ताधारीहरु मेसो पाउँदैनन्।

सनकका भरमा ‘जनताको दुहाई’ दिएर देशको बर्बादी उनीहरु मुर्खतापूर्वक निम्त्याइरहेका छन्। जसका कारण पहिल्याउनै पर्ने समस्या उनीहरु भेट्दैनन्, नछोए पनि हुने विषयलाई छोड्दै छोड्दैनन्। नेपाली राजनीतिको विद्रुप पक्ष हो यो। देशमा माओवादी विद्रोह भयो। उथलपुथल निम्तियो। बल तिनका सिद्धान्तमा थिएन, बल समाजका जटिलता र विषमतामा थियो।

त्यसपछि राजाले खोसेको अधिकार फिर्ताका लागि सडक तातियो। यो लडाइँ ‘काँतर’ भनिएका आदिवासीले लडे। ‘सेवक’ ठानिएका जनजातिले लडे। राज्यले अवसरहीन तुल्याएका बेरोजगार युवा लडे। आज्ञाकारी भनिएका अनि सबैभन्दा मैला र सबैभन्दा ‘प्रतिष्ठाहीन’ दलितहरूले लडे। तर, परिणाम दिने बेलामा अगुवा वा भनौं नेतृत्व वर्गले यी सारा त्याग बिर्सिरहेको छ।

अन्यथा परिवर्तनका लागि एकाकार भएका शक्तिहरु त्यसलाई संस्थागत गर्न पनि उस्तै शैलीमा एकाकार हुन सक्थे। खोलो तर्यो लौरो बिस्र्यो भन्ने उखान चरितार्थ गर्दैनथिए। सबैले बुझ्न आवश्यक छ, विषमता यथावतै राखेर र मैलो मान्छेका आँसुलाई कार्पेटमुनि लुकाएर अब मुट्ठीभर मान्छेले खोजे जस्तो  लोकतन्त्रको आइसक्रिम खान गाह्रो छ।

समाजका बेथितिलाई सुल्झाउने,  समुदायका आत्मसम्मानलाई सम्बोधन गर्ने  विधिको खाँचो छ। परिवर्तनका लागि हात मिलाएका शक्तिहरुले चारतिर फर्किने आत्मघात त्याग्नैपर्छ। तब मात्रै योञ्जनहरुको योगदानको कदर हुने छ।

बनेको छ पहराले यो छाती मेरो 

बगेको छ छहराले रगतमा मेरो

पखेटोमा जन्मे टाकुरामा हुर्के 

म झुक्दै नझुक्ने नेपालको छोरो

त्यो गीतमा भनेझैँ कुनै नेपालीले अहिलेसम्म कुनै लडाइँ हारेको छैन। विजयको अर्काे नाम नेपाली हो। तर, विश्व जित्ने नेपाली आज आफैँ लडेर सकिने स्थिति नआओस्। यसमा हामी सबै सचेत हुनैपर्छ।

नेपाल रहेमात्र हामी नेपाली हौ भनेर गर्व गर्ने ठाउँ रहन्छ। हाम्रो इतिहास रहन्छ। हाम्रो चिनारी र अस्मिता रहन्छ। त्यसैले पहिलो राष्ट्रका लागि सोचौँ दार्जीलिङमा जन्मिएका गोपाल योञ्जनले नेपालका लागि यस्तो योगदान दिए भने हामी यही देशमा जस्तो हुर्केका नागरिकले के–के गर्न सक्छौँ होला? एक पटक सोच्ने पो होकी?

यो माटोका लािग, नेपाल आमाका लागि जुटौँ, जागौँ र एकजुट भएर राष्ट्र निर्माणको महान यात्रामा सहभागी बनौँ। तब मात्रै गोपाल योञ्जनहरुको योगदानको अर्थ रहन्छ। तब मात्रै राष्ट्रियता र स्वाभिमान रहन्छ। नभए हामीले आफूलाई नेपाली नभने हुन्छ।

धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई

विश्वको सामू शीर ठाडो पार्ने मनै हुँ भन्नलाई

होइन भने नेपाली नभन।

वीरको छोरा नातीमा नगन।

नेपाली हुन पूर्व जनमको कमाइले पुग्दैन।

पूर्खाको पौरख श्रम र आशिष मात्रैले पुग्दैन।

नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ।

नेपाली चाहिन्छ।

पराया मुटु दौराको फेर छोपेर पुग्दैन।


 

More form the Internet

loading...