Suvadin, Home

Cover Image

डा. जुगल भुर्तेल र रवीन्द्र मिश्रकाे कवितात्मक राजनीतिक जुहारी

अहिले एउटा लेखक डा. जुगल भुर्तेल र विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्रबीचकाे बाैद्धिक जुहारीकाे चर्चा चलिरहेकाे छ। डा. भुर्तेलले लेखेकाे कविताकाे जवाफ संयाेजक मिश्र दिएका छन्। मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – 'दुई दिनअघि मेरा श्रद्धेय मित्र, कांग्रेसप्रति समालोचनात्मक दृष्टिकोण राख्ने ‘खाँटी’ कांग्रेसी डा. जुगल भूर्तेलले उनको फेसबुकमा...'
जुगल भुर्तेल र रवीन्द्र मिश्र।

काठमाडाैं, ७ माघ – नेपाली बाैद्धिक जमातमा दैनिक अखबारहरुमा लेख लेखेर कुनै विषयवस्तुमाथि बहस गर्ने परिपाटी रहँदै अाएकाे छ। पृथ्वीनारायण शाहकाे पक्षमा साैरभ र विपक्षमा राजेन्द्र महर्जनले श्रृंखलाबद्ध रुपमा लेखेका थिए। जुन निकै चर्चित रह्याे। पहिल्लाे समय एमाले नेता याेगेश भट्टरार्इ र विष्णु रिमालबीचकाे राजनीतिक दाेहाेरी पनि निकै चर्चित थियाे, जुन एमाले अध्यक्ष केपी शर्मा अाेलीका विषयमा केन्द्रित थियाे।

त्यस्तै, अहिले एउटा लेखक डा. जुगल भुर्तेल र विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्रबीचकाे बाैद्धिक जुहारीकाे चर्चा चलिरहेकाे छ। डा. भुर्तेलले लेखेकाे कविताकाे जवाफ संयाेजक मिश्र दिएका छन्।

मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – 'दुई दिनअघि मेरा श्रद्धेय मित्र, कांग्रेसप्रति समालोचनात्मक दृष्टिकोण राख्ने ‘खाँटी’ कांग्रेसी डा. जुगल भूर्तेलले उनको फेसबुकमा ‘कांग्रेस’ शीर्षकको एउटा कवितात्मक सन्देश राखेको देखेँ। काममा निस्किनै लागेको थिएँ। हतारमा मैले उनलाई कवितात्मक जवाफ लेखेँ। राति आएर हेर्दा उनको अर्को जवाफ आएको रहेछ। मैले फेरी जवाफ लेखेँ। हाम्रो कवितात्मक जुहारी रमाइलो भयो। तपाईंलाई पनि रमाइलै हुन्छ कि भनेर यहाँ दुवैको सहमतिमा श्यर गरेका छौं।'

यस्ताे जुगल भुर्तेलकाे कविता 

कांग्रेस

पार्टीको रुख छ
रुखका हाँगा छन्
हरेक हाँगामा 
गुटका गुँड छन्
गुटहरूका बीचमा लेनदेन छ, 
सौहार्दता छैन
अन्तर्घात छ, 
अन्तरसम्बन्ध छैन 
तर, नारा सुन्दर छ- 
‘सबैलाई जोड्ने कांग्रेस’

यस्ताे छ रवीन्द्र मिश्रको जवाफ –

र, सबैलाई जोड्ने आशामा
जीवनभरि 'कांग्रेसी पुल' बनेर तेर्सिएका
जुगलहरू छन्

जो आफ्नो आशामा आफैँ
पिल्सिएकोबारे अनभिज्ञ छन्
जो आफ्नो आशामा आफ्नै सन्तानले भोलि
देश फर्किन्न भन्दा
मौन रहन बाध्य हुनेछन्

जो आफ्नो आशामा निरीह यात्रा गरिरहेछन्
जो आफ्नो आशामा पानी होइन, धुलो पिउँछन्
जो आफ्नो आशामा शहर होइन
सुकुम्बासी वस्तीमा बस्छन्

जो आफ्नो आशामा हरदिन शीतलहरमा मरेका
बुढा आमा-बुवाका समाचार पढ्छन्
जो आफ्नो आशामा हरदिन कुपोषणले मरेका
चेपाङका कथा सुन्छन्

जो आफ्नो आशामा हरदिन घुस, कमिसन, भ्रष्टाचार
नातावाद, कृपावादका तानावाना फुकाल्ने प्रयास गर्छन्
जो आफ्नो आशामा तैपनि सुन्दर कांग्रेसको सपना देख्छन्

अनि गुट बनाउन र अन्तर्घातको योजना बुन्न यात्रा गर्ने
तिनै कांग्रेसीजनका लागि अझै पनि 'आशाको पुल' बनेर
मक्किँदै, थच्चिँदै जीवनलीला अन्त्य गर्न तम्तयार बसेका छन्!

विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्रलार्इ जवाफ दिँदै लेखक डा. जुगल भुर्तेलले सामाजिक सञ्जालमै पाेस्ट गरेका छन् – हाहा! बबाल दिनु भो रवीन्द्र जी। हामीले मलजल हालेको बिरुवा नै अहिलेको हुर्किएको रुख हो। एकदुई हाँगाबिँगा छाँटेर, कीटनाशक छर्केर बँचाउन सकियो भने यसको ठूलो छहारीमा धेरै विवेकशील मान्छे अटाउन सक्लान् कि भन्ने झिनो आशा अझै बाँकी छ। पहिलो प्रेमको कथा हो, रवीन्द्रजी!

कवि एवम् नेता रवीन्द्र मिश्र कवितात्मक रुपमै प्रत्याेत्तर दिएका छन्। जुन निम्न छः

पहिलो प्रेमको कथा बडो घातक हुन्छ
जब त्यसले वर्तमानलाई बिथोल्छ
छोराछोरीलाई रूवाउँछ
बुढेसकालमा कष्ट दिन्छ

पहिलो प्रेमको कथा बडो घातक हुन्छ

जब त्यो सम्हाल्नै नसकिन नसा बन्छ
दशकौंसम्मको अर्थहीन आशा बन्छ
सन्तान-दरसन्तानका लागि दशा बन्छ

पहिलो प्रेमको कथा बडो घातक हुन्छ

छोड्नु पर्ने ठाउँमा छोड्नु पर्छ
इतिहास बनाएर सम्मान गर्नुपर्छ
नत्र विचरा 'जुगल'को हालत हुन्छ

पहिलो प्रेमको कथा बडो घातक हुन्छ!

जुगल भुर्तेलको जवाफले फेरि जवाफ फर्काएका छन्ः 

तपाई ... कवि हो, तपाईसँग भिड्ने कहाँ मेरो साहस छ?
पहिलो प्रेमले घात गरे नि, अझै फर्काएर ल्याउने आश छ?

रवीन्द्र मिश्रको जवाफ

हाहा...आज यसो रमाइलो गर्न मन लाग्यो अनि। माइण्ड नगर्नोस् है।

जुगल भुर्तेलको जवाफ

मेरो पूरानो प्रतिभाले पुनःजागृत हुने मौका पायो। त्यो अवसरका लागि हार्दिक धन्यवाद। तपाईकाप्रति मेरो आदर, तपाई राजनीतिमा आउनुअघि जति थियो, अहिले पनि त्यति नै छ। तपाईको रोमाञ्चक यात्राका लागि हार्दिक शुभकामना!


 

More form the Internet

loading...