Suvadin, Home

जीवनबोध

म कल्पनारहित एकाकारको घनिभूत आकर्षणले खिचिएको थिएँ । कुनै अर्को विपरीत शक्तिले तानेको पनि थियो होला तर म एकोहोरो केन्द्रीकृत हुँदै थिएँ । दुई शक्तिबीचको सङ्घर्षमा म टुक्रिँदै गइरहेको थिएँ । जति खण्डित भए पनि प्रत्येक खण्डमा उही गुण प्रवाह भइरहेको पाउँथेँ ।............. रक्तबीजका सम्पूर्ण गुणहरू रक्तबीजहरूमा प्रवाहित भएजस्तो मेरा गुणहरू मेरा प्रत्येक खण्डमा समान रूपमा स्थापित पाउँथेँ । शायद त्यो खण्डीकरण एकाकारको प्रारम्भिक अवस्था थियो । जति म खण्डित हुँदै थिएँ, त्यति नै म केन्द्रसँग जोडिँदै पनि थिएँ । 
looking towards Multiverse - unipolar self

जति खण्डित भए पनि प्रत्येक खण्डमा उही गुण प्रवाह भइरहेको पाउँथेँ । शायद खण्डीकरण मेरो आफ्नै चाहना थियो । शायद मैले इच्छा गरेँ, म खण्डित होऊँ अनि म खण्डित हुँदै गएँ ।

म बुद्धत्व प्राप्तिको अभिलाषाले अनवरत हिँडिरहेँ, हिँडिरहेँ । जीवनबाट बेचैन चैनको खोजीमा एकान्ततर्फ लागेँ । वृद्ध देखेर डराएँ, रोगी देखेर झस्किएँ, माग्ने देखेर अचम्भित भएँ । मेरो आफ्नो संसार अधुरो लाग्यो । यो तर्साइ र डर आफ्नो लाग्न थाल्यो, यो संसार नै दुःखी लाग्न थाल्यो, अत्यन्त पीडा भयो, मलाई दुःखको बोध भयो । दुःखको कारण खोज्न थालेँ, घोत्लिन थालेँ, एकाग्रतामा पुगेँ, दुःखको कारण बोध भयो, कारण म स्वयंमा भेटेँ, कारक म स्वयंलाई पाएँ । 

आज मलाई दुःखको बोध भयो, म दुःखी हुन पुगेँ । हिजोसम्म मेरो जीवन खुसी नै थियो, साधन उनै छन्, कारण पनि विद्यमान नै छ, तर म आज अनाहक किन दुःखी त ! अचम्म एउटा दृश्यले मेरो सुख, आनन्द सबै सबै लुटिदियो । म एकोहोरो सोच्दै गएँ, हिजो खुसी हुने कारणहरू लुटिएका छैनन्, यथावत् रहँदा रहँदै म दुःखी किन ? 

आज हिजोको सुखानुभूति मिथ्या लाग्न थाल्यो । हिजो र आज मेरो जीवनमा केही फरक थिएन, मात्र एक अनुभूति । सुख र दुःख बीचको अन्तर यतिविघ्न पातलो हुँदो रहेछ, मलाई थाहा थिएन । म अलमल्लमा परेँ, हिजोको सुखानुभूति मिथ्या या आजको दुख्खानुभूति । हिजोसम्म जे सत्य थियो, त्यो कता हरायो, सत्य परिवर्तन कसरी भयो ? सत्य त सार्वभौम, निरपेक्ष हुनुपर्ने, आज किन सापेक्ष लाग्न थाल्यो, के सत्य सापेक्ष पनि हुन्छ र ?

म मेरा वैचारिक आवेगहरूलाई तर्कबाट स्ष्ट बनाउन चाहन्थेँ । म निष्कर्ष चाहन्थेँ, सार्वभौम निष्कर्ष, जसको अस्तित्वलाई संसारले मिथ्या भन्न नसकोस् । संसारलाई त म सम्झाउन सक्थेँ, तर आफ्नै तर्कको तोड मेरो सामु आइपुग्थ्यो । मबाट नै विचार उद्घाटित हुन्थ्यो, मैबाट विघटित हुन्थ्यो, भलै केहीसम्म ती विचारहरूलाई संरक्षण गरे पनि, यो जगत्को निर्माण र विनिर्माणजस्तो । म मेरो जगत् बनाउँदै, भत्काउँदै गरिरहेँ ।

 

मेरा तर्कहरू जति बेतोड हुँदै गए, म त्यति नै अस्पष्ट हुँदै गएँ । मेरो रचना खण्डित हुँदै गयो, मेरो कृतित्व हरायो, म विघटित हुँदै गएँ । अब शून्य केवल शून्य बाँकी रह्यो । महाकवि देवकोटाको शून्यको यात्राजस्तै म पनि शून्यमा केही क्षण अल्मलिएँ । अन्धकार सिवाय केही थिएन, मलाई एक्कासी कुनै गुरुत्वले आफूतिर तानेको अनुभूति भयो तर अन्धकार थियो, केवल अन्धकार । विचार थिएन, तर्क थिएन, म भासिँदै थिएँ, म हराउँदै थिएँ, कुनै विराट् प्रकाशपुञ्ज मेरा सामु प्रकट हुन लागेजस्तो । श्रीकृष्णको विराट् स्वरूप अनुभूत गर्दा अर्जुनको हविगतजस्तो मेरो मनोदशा थियो । म आँखा मिच्दै अन्धकार छिचोल्ने प्रयत्न गरिरहेँ तर अन्धकारको गुरुत्व झन् प्रबल हुँदै गइरहेको थियो । मलाई हकिङ्सको ब्ल्याकहोलमा छिरेजस्तो लागिरहेको थियो । आखिर ब्ल्याकहोल पनि त प्रकाशपुञ्ज आफ्नै गुरुत्वले सञ्कुचन भएर बनेको न हो । म पनि मेरो आफ्नै गुरुत्वले केन्द्रीकृत हुँदै गइरहेको थिएँ । समय र आकाशरूपी द्वैतबाट अद्वैतमा प्रवेश गर्न लागेको क्षणको शक्तिपुञ्जले थिचेकोजस्तो मेरो मनोभाव थियो । म कल्पनारहित एकाकारको घनिभूत आकर्षणले खिचिएको थिएँ । कुनै अर्को विपरीत शक्तिले तानेको पनि थियो होला तर म एकोहोरो केन्द्रीकृत हुँदै थिएँ । दुई शक्तिबीचको सङ्घर्षमा म टुक्रिँदै गइरहेको थिएँ । जति खण्डित भए पनि प्रत्येक खण्डमा उही गुण प्रवाह भइरहेको पाउँथेँ । शायद खण्डीकरण मेरो आफ्नै चाहना थियो । शायद मैले इच्छा गरेँ, म खण्डित होऊँ अनि म खण्डित हुँदै गएँ । रक्तबीजका सम्पूर्ण गुणहरू रक्तबीजहरूमा प्रवाहित भएजस्तो मेरा गुणहरू मेरा प्रत्येक खण्डमा समान रूपमा स्थापित पाउँथेँ । शायद त्यो खण्डीकरण एकाकारको प्रारम्भिक अवस्था थियो । जति म खण्डित हुँदै थिएँ, त्यति नै म केन्द्रसँग जोडिँदै पनि थिएँ । 

शायद म पदार्थ हुँ, खण्डीकरणको अन्तिम विन्दुसम्म पनि म म नै रहने त्यो सूक्ष्म म र एकीकरणको अन्तिम विन्दुसम्म पनि म नै रहने यो विराट् म । त्यो सूक्ष्म र विराट्मा केही भिन्नता नहुनु नै मेरो अस्तित्व हो, बाँकी सबै मिथ्या हुन् । पदार्थ खण्डीकरणको अन्तिम विन्दुमा तीन शक्तिपुञ्ज बाँकी रहन्छन् । ती शक्तिपुञ्जभन्दा पृथक् म कतै तिनै शक्तिपुञ्जहरूको कारण त होइन ? कतै तिनै शक्तिपुञ्जको अवस्थिति त स्वयं म होइन ?

ध्रुवीकृत चुम्बकीय शक्ति एकै ध्रुवमा सङ्कुचन हुन लागेजस्तो म पनि एक ध्रुवीय बन्दै थिएँ । यो कस्तो घटना थियो, जो मेरो उद्भवको कारण बन्यो । केही घटित भयो, मेरो बोध घटित भयो, मेरो उत्पत्ति सम्भव भयो । त्यसरी नै म एकबाट अनेक बनेँ, अनेकबाट एक । यो मेरो उद्भवको घटना रहेछ र त्यही घटनाको बोध रहेछ । सुख र दुःख मेरो जीवनका दुई ध्रुव रहेछन् । यसैले त सुखको कारण पनि म नै, दुःखको कारण पनि म नै रहेँछु । यो बोधले एउटा घटना घटित गरायो, मेरा सुख र दुःख एकै ठाउँमा आए, म एक ध्रुवीय बन्दै गएँ ।
 

भास्कर भण्डारी

मिति - २०७३ असार २४ गते शुक्रवार । धुम्बाराही, काठमाडौँ ।


 

More form the Internet

loading...