Suvadin, Home
बीस मिनेटमा नै हेलिकप्टर पुगेको थियो। जङ्गलमा केही बम फाल्दै बजारको केही खुल्ला ठाउँमा रोकियो हेलिकप्टर। सबै मिलेर साहेबनीलाई हेलीमा हाले। डाक्टरले हेरे। अँध्यारो अनुहार बनाए। केही बोलेनन्। बगेको रगत पुछेर केही ब्यान्डिज बाँधेजस्तो गरे। लाशलाई ब्यान्डिज बाँध्नुको केही अर्थ थिएन। आखिरमा छाउनी हस्पिटल डेथ सर्टिफिकेट बनाउन लगेजस्तो भयो। उनको आँखाबाट तप्प दुई थोपा आँसु झर्यो। लोलिताको भित्री पृष्ठमा रहेको फोटोमा मुस्काइरहेकी विमलाको अनुहारमै झर्यो। हातले विस्तारै पुछे।

चुइयँ गर्दै जाली खापा उघ्रियो। पत्रिका पढ्दै गरेको मेजर सा’बले पुलुक्क हेरे। कप प्लेट लिएर भित्र छिर्दै थिइन् बुहारी। सुनिता हो उनको नाम। पत्रिकाबाट पुनः आँखा हटाउँदै हेरे। पातलो सुरुवाल र रातो टिसर्टमा थिइन् सुनिता। कपाल छोडेकी उनको केही कपाल आँखा छोप्ने प्रयास गर्दैथिए। कपाल कलर गरेर रातो बनाइएको थियो। लामो–लामो नङमा गुलाबी नङ पालिस पोतिएको थियो। मेकअप नगरे पनि गोरी राम्री देखिएकी थिइन् उनी। नाकमा फुली थिएन, नेवारकी छोरी जो थिइन् छोराले लभ गरेर भित्र्याएकी।

परिवारमा बोलिने भाषा अनि अरु यस्तै व्यवहार त सिकिन् उनले तर पनि ससुराले केही कुरामा चित्त नबुझाएजस्तो लाग्थ्यो सुनितालाई। के मा हो भन्ने राम्रोसँग बुझेकी थिइनन्। हत्तपत्त सुनिताबाट नजर हटाए उनले। पत्रिकातिर घोरिए। कता–कता बुहारीको पहिरन चित्त बुझेको थिएन। कोठामा छिरेको तरिका मन परेको थिएन। उनको बुझाइमा ठाडो तरिकाले खानेकुरा सर्भ गरेको मन परेको थिएन। यो पहिलो पटक थिएन चित्त नबुझेको। तर, केही बोलेनन्।

कफीको कप टेबलमा राखेर फरक्क फर्किदै भनिन्, ‘बुवा हजुर! आज सुयोगलाई स्कुलबाट हजुरले ल्याइदिनुपर्ने भो।’

झर्किंदै मेजर साब बोले, ‘किन र? तिमी कता? गोकुले छैन?’

रुखो जवाफले टक्क अडिइन् सुनिता। फेरि सम्हालिँदै भनिन्, ‘अलिकति सपिङ छ। अफिसपछि बजार जान्छु म। उहाँको पनि अफिसमा मिटिङ छ रे! गोकुललाई पनि बजार बोलाएको छु।’

रिसले मुर्मुरिए उनी। लाग्यो, मै देखेका छन् यिनले यिनका छोराछोरीलाई स्कुलबाट ल्याइदिने। त्यो मोरो जमदारको घर बाटोमै पर्छ। के सोच्ला! काम छैन बुढाको नातिनातिना डोर्याएर हिँड्छ भन्छ होला। उहिले पल्टनमा छँदा छुलछुली मुत्थ्यो डरले। अहिले त बाटोमा नदेखेजस्तो गर्छ कहिलेकाहीँ। सलाम हजुर नभनेर सलाम सर भन्छ कहिले। उनको प्रतिक्रिया नसुन्दै पहिला नै बोल्छ। नानाभाति सोध्छ तर उनको उत्तरको अपेक्षा राख्दैन। 

उनी सम्झन्छन्, पहिले पल्टनमा हुँदा हस् साब! बाहेक केही बोल्दैनथ्यो यो। अहिले नाप्पिएको जस्तो भएको छ। आज पनि देख्ला कि भन्ने पिर लाग्यो उनलाई। उपाय पनि थिएन। नाति लिन जानै पर्यो। सुनिता पनि उनको प्रत्युत्तर अपेक्षा नगरी फर्किसकेकी थिइन्।

खाना खाइवरी छतमा सितल घरमा बसेका थिए उनी। कुकुर घ्वाङघ्वाङ घुक्यो। कोही आयो कि भनेर हेरे। कोही थिएन। कराए छतैबाट, ‘ए गोकुले, ज्याकीलाई केही दिइनस्। भुक्दै छ त जोरले।’

रातो प्लास्टिकको बाल्टिनमा धोएको लुगा लिएर छतमा आइपुग्यो गोकुल। ‘दिएको हो बुवा। खै किन भुक्दैछ।’

झनक्क रिस उठ्यो उनलाई। भन्न मन त लागेको थियो उनलाई ‘तँ सालेको बाउ हो र म बुवा भन्नलाई। साब भन्न सक्दैनस्।’ त्यसो भनेनन्। तापनि केही नभनी बस्न मन लागेन। भने, ‘कतै घाउ चोट पो छ कि। यस्तो चिसोमा खुला छोड्नु छैन। यसो चौरमा घुमाए हुन्छ नि।’

गोकुललाई पनि लागेको थियो, ‘तिमी बुढाको नि काम छैन। घुमाए हुन्छ नि।’ तर डरले भनेन । 
‘हुन्छ’ भन्दै लुगा झड्कार्यो।

मसिना पानीका थोपा उडेर उनलाई पर्यो। खनिए गोकुलमाथि, ‘हेर्नुपर्दैन दायाँवायाँ? केही गर्ने ढङ्ग छैन। न बोल्ने ढङ्ग छ न काम गर्ने। लुगा पनि किन वासिङ मेसिनमा नधोएर हातले धोएको?’

फ्याट्टै गोकुल बोल्यो, ‘हजुरको देशमा बत्ती पनि त आउनुपर्यो नि। सँधै लोडसेडिङले मार्छ।’

उनको रिस मरेको थिएन। ‘तेरो देश होइन? मेरो मात्रै?’ यसपालि गोकुल बोलेन। खुरुखुरु लुगा सुकाइरह्यो।

कस्तो रवाफ थियो सेनामा हुँदा उनको। अघिपछि लाग्ने गार्ड। साथमा लोडेड पेस्तोल। हस् साब! भन्दै बुट बजार्ने केटाहरू। आफू भन्दामाथिकालाई चटक्कै रिझाएका उनले लप्टन भएदेखि कहिले नराम्रो ठाउँमा बस्नु परेन। सधैंजसो कमाण्डर भए। जब कमाण्डरबाट हट्थे तब शान्ति सेना वा अब्जरभर वा विदेश तिलिममा खटिन्थे।

कम्ता चलाख र मेहनती होइनन्। कहिलेकाहीँ भिजिटमा आउने करसाब, जरसाबलाई लठ्ठै बनाइदिन्थे उनी। केही कुराको खाँचो हुन नदिने। विदेशी ह्विस्की, जङ्गली जनावरको सेकुवा। कसै–कसैलाई त अस्थायी परिवार पनि जुटाइदिन्थे। त्यसैले उनको तुलना कोहीसँग थिएन भन्दा हुने। जरसाबहरू अरुलाई उनको उदाहरण दिने। भन्थे रे, ‘रामजङ मेजरबाट केही सिक्नु।’

पैसा पनि टन्नै कमाए उनले। केटाहरूलाई टन्नै बिदा छोड्थे। रासन पूरै हिसाब हुन्थ्यो। ठेक्कामा पनि व्यापारी मिलाउन खप्पिस थिए। जङ्गल पनि उनका लागि मङ्गल नै हुन्थ्यो कहिले। विदेश जाँदा पनि टन्नै पैसा हुने। कल्याण कोषमा नकाट्ने हो भने त अझ कति हो कति। नत्र कसरी जोड्नु काठमाडांैमा घर–जग्गा।

छोरीको बिहेमा पनि राम्रै खर्च गरेका हुन् उनले। छोरोलाई डाक्टर बनाउने चाहना थियो। पहिला आइएस्सी नै पढाएका हुन्। फि तिरेरै पनि एमबिबिएस पढाउने आँट थियो। एक वर्ष पढेर छोडिदियो। उनलाई थाहा नै नदिई इन्जिनियरिङ इन्ट्रान्स दिएको रहेछ। झन्डै खुट्टामा छाद हालुला जसरी छोराले आफ्नो निर्णय सुनाएको याद छ उनलाई। सिपाहीलाई झैं हप्काउन मन लागेको थियो ‘पाजी’ भन्दै। किन हो छोराको मायाले त्यत्तिकै सेलाए।

दुःख पनि नगरेका होइनन्, सिपाहीमा छिरेको मान्छे नत्र मेजरसम्म कसरी पुग्नु! आन्तरिकबाट लप्टनमा नाम निकालेका थिए। त्यसैले उनको दामलीमा उनी बुढा थिए। चवालीस सालमा त हो उनी लप्टन भएका चौंतीस वर्षका थिए। बेसिक तालिममा कम्ती गाह्रो भएन उनलाई बीस–बाइसे केटाहरूसँग प्रतिस्पर्धा गर्न। तर, जितेर छोडे। तालिममा अब्बल नै देखिए।

कुर्सीमा नै निदाउन खोजेका थिए उनी। गोकुलले कुममा समातेर हल्लाउँदै भन्यो, ‘बुवा!, निदाइबक्स्यो कि के हो? बत्ती आएको छ। बरू तल बसेर टिभी हेरिबक्सयो न। चिया कफी केही खाने भए म बनाइदिन्छु।’

झस्केर हेरें गोकुललाई। उसका केही कुरामा ध्यान गएन। कुम समातेर हल्लाएकोमा रिस उठ्यो। जुरुक्क उठेर गालामा झापु लाउँदै भन्न मन थियो, ‘मोरा! राम्रोसँग उठाउन आउँदैन।’ उठेर ‘कफी बना’ भन्दै कोठातिर लागें।

कोठामा गएर बुककेसमा हेरे। केही किताब पढ्ने मन भयो। यसो हेरे अधिकांश किताब सैनिक सिप र नेपालको सीमा तथा सुरक्षासम्बन्धी थियो। मन पटक्कै गएन तिनमा। धेरै अगाडि पढेको तर कथा पूरै भुलिसकेको रसियन लेखक भ्लादिमिर नाबोकोभको लोलिता उपन्यास देखें। त्यही तानेर पढ्ने विचार गरें। सोफामा गएर थचक्क बसें। किताब पल्टाउन खोज्दा चार वटा फोटोहरू फुत्त भुइँमा झरे। गोरखा ब्यारेकमा हुँदाको फोटो रहेछ। पल्टाउँदै गए। एउटा फोटोमा गएर टक्क आँखा अडियो। नीलो कुर्था सुरुवालमा चटक्क परेकी उनी निक्कै हसिली देखिएकी थिइन्। विमला तिमल्सिना थियो उनको नाम।

विमलालाई पहिलोपटक बजारमा देखेका थिए उनले। पातलो शरीर, पहेलो ट्राउजर र कालो टिसर्ट लगाएकी। ठिक्कको कपाल। हाँस्दा सेता दन्तलहर देखिने। 
‘ए केटा! को हो त्यो नानी?’

केटाले भनेको थियो, ‘त्यो हाम्रोमा मासु सप्लाई गर्ने तिमल्सिनाको जेठी छोरी हो साब! बिए फस्ट इयर पढ्छे यही कलेजमा। साह्रै मज्जाको गीत गाउँछे।’

उनलाई पनि बहाना मिल्यो। हत्तपत्त भने, ‘ल, त्यसो भए पर्सी गुल्मको वार्षिकोत्सवमा गीत गाउन बोलाउने।’ उनको बोली काटिने कुरा भएन। लप्टन साबले आफैंले भेटेर निम्तो दिए विमलालाई। थपथाप पारेर भनेछ, ‘मेजर साबको स्पेसल रिक्वेस्ट हो।’ मनमनै थुक निल्यो लप्टनले। सायद सोच्यो, ‘बुढाले राम्रो चिज भेटेछ।’

धूमधामसँग वार्षिकोत्सवको तयारी भयो। रातो र हरियो कपडाले मञ्च तयार पारिएको थियो। उद्घोषक बनेका थिए उनै लप्टन साब। पदाभित्रबाट घेरिएर लप्टन साबले उद्घोषण गर्ने भए। गेटदेखि नै ध्वजापताका टाँगिएको थियो। जिल्लाका सबै हाकिम, संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजका गन्यमान्य सबै डाकिएका थिए।

द्वन्द्वको समय भएकोले सुरक्षा व्यवस्था कडा पारिएको थियो। जोसुकै होस् मुलगेटमा केटाहरूले पूरै शरीर छाम्थे।

आखिरमा कार्यक्रम पनि सुरू भएको थियो। सुरूमा नै अगाडि बस्ने सिडियो साब, सुरक्षा निकाय प्रमुखलाई ह्विस्कीको ग्लास थमाइएको थियो। पछाडि बस्नेलाई स्न्याक्स र जुस। कार्यक्रमको औपचारिक सुरुवातसँगै ठूला–ठूला टाँक भएको कोट र प्यान्ट, दर्ज्यानी चिन्ह, छातिभरि मेडलसहित हरियो औपचारिक पोशाकमा मेजर साबले गुल्मको इतिहास र हालको गतिविधि पढेर सुनाए। बिहानबाट नै अलिअलि पिइसकेका उनका शब्दहरू कहिलेकाहीँ लरबरिन्थे।

त्यसपछि सुरू भयो उही सेनाका हरेक कार्यक्रममा बज्ने गीत ‘जाग लम्क चम्क हे नौ जवान हो।’ केटाहरू छापामार जस्तो बनेका थिए । कसैको हातमा खुकुरी त कसैको हातमा बन्दुक थियो । झन्डै युद्ध लडेजस्तै शैलीको जोसिलो नृत्यमा मञ्चमा ड्रम बजाएजस्तो ड्याम ड्याम बुटको आवाज गुन्जिएको थियो।

आखिरमा नपेथ्यबाट चियाइरहेकी विमलाको पनि पालो आयो। मञ्चमा उक्लिएकी विमलाले सुरिलो स्वरमा गाउन थाली, ‘आज मलाई उनीको गलबन्दी झझल्को आइराछ।’ एकैछिनमा मेजर साब मञ्चमा चढेर नाच्न थाले। एकछिनमा डिएसपी सा’प पनि उक्लिए। चर्को माहोल बन्यो। ताली पिट्नेको गडगडाहट थियो।

गाना सकिएर ओर्लंदै गर्दा जुरुक्कै उठेर सिडियो साबले भने, ‘ओहो, मेजर साब त निक्कै राम्रो नाच्नुहुँदो रहेछ।’ उनले भनेका थिए, ‘गीत हेरिबक्सयो न हजुर। यस्तो मीठो स्वरलाई सम्मान गर्नु परेन?’ सोझै पोडियमतिर हानिए उनी। एकैछिन पछि उद्घोषकले घोषणा गरे, ‘भर्खर प्रस्तुत भएको मीठो गीतका लागि गायिकालाई मेजर साबबाट इनामस्वरूप एक हजार रुपैयाँ प्रदान गरिबक्सेको छ।’

त्यस दिनदेखि विमलाको ब्यारेक छिर्ने क्रम बढ्यो। घन्टौंसम्म उनी विमलासँग भुल्न थाले। साँच्चै नजिकको सम्बन्ध बनेको थियो। मेजर अंकल सम्बोधन गरे पनि नाता अर्कै स्थापित हुँदै गएको थियो। आखिरमा आफूभन्दा आधा उमेरकी विमलासँगको सम्बन्ध उनले ओछ्यानसम्म पुर्याए।

केही समयपछि विमलाको ब्यारेक आउने क्रम घटेको थियो। सशस्त्र द्वन्द्वको तीव्रता पनि बढेको थियो। ब्यारेकको व्यस्तता पनि बढेको थियो। डाँडातिर बम पड्केको आवाज सुनिन थालेको थियो। कहिलेकाहीँ ब्यारेकबाट पनि डाँडातर्फ फर्काएर गोली प्रहार हुन्थ्यो। आफ्नै कम्पाउण्डभित्र नौदेखि एघारको बीचमा बम पनि पड्काइन्थ्यो कहिलेकाहीँ।

सम्भावित युद्धको डरले हो कि अरु केही कारणले विमला टक्कै ब्यारेक आउन छोडिन्। मेजर सा’बलाई छटपटी भयो। एक दिन त लप्टन साबलाई बोलाएर भने, ‘के भएछ विमलालाई? आउनै छोडी त।’

हत्तपत्त लप्टन साब बोले, ‘म पत्ता लगाएर आउँ साब?’ उनले स्वीकृति दिए।

लप्टन साब विमलाको घरमा पुग्दा ऊ पढेर बसेकी थिई। लप्टन साबको सोधनीमा उसले जवाफ दिई, ‘जाँच आएको छ दादा। म पछि आउँला नि। भन्दिनु है मेजर अंकललाई।’

फर्कन खोज्दै गर्दा भर्याङमा विमलाकी बहिनी कल्पना भेटिई। लप्टन सा’बले सोधे, ‘के भयो दिदीलाई?’ सानो स्वरमा कल्पनाले भनी, ‘खासमा नि दादा, हाम्रोमा अगाडिको ठूलो कोठामा दूरसञ्चारमा काम गर्ने अंकल बस्न थाल्नुभएको छ। धेरै बोल्नुहुन्न उहाँ। भलादमी मान्छे। तर, हामीलाई गाली गर्नुहुन्छ। पढेन भने गाली। टिभीमा सिरियल धेरै हेरे गाली। नआएको कुरा सोध भन्नुहुन्छ। बा–आमालाई पनि के भनिदिनुभयो कुन्नी आजभोलि त गाली पो गर्न थाल्नुभा’छ। घरमा बाहिरबाट आउने मानिस पनि घटेका छन्। त्यो अंकलले एक दिन हामी सबैलाई राखेर सम्झाउनु पनि भयो। उहाँको कुरा हामीलाई पनि ठिकै लाग्यो। पढ्ने लेख्ने बेलामा बरालिएर भोलि कसले हेर्छ? होइन त दादा?’

लप्टन सा’बसँग यसको जवाफ थिएन। सम्झाएर फेरि विमलालाई मेजर साबकोमा पुर्याउने उपाय पनि थिएन। फर्क्यो ऊ त्यहाँबाट।

सबै कुरा मेजर साबलाई सुनायो। नराम्रोसँग कड्किएका थिए उनी। ‘त्यो बजियालाई संसार सुधार्ने जिम्मा कसले दियो? सालालाई बुटले बजार्नुपर्ने। को रहेछ त्यो पत्ता लगाउनुस् तँ।’

केही छिनमै पत्तो लाग्यो। ब्यारेक नजिकैको बाटोबाट हिँड्दोरहेछ त्यो।

त्यसको भोलिपल्ट बाटो देखिने गरी दिनको साढे चार बजेतिर छतमा बेतको कुर्सीमा बसेका थिए उनी। आगाडि सानो टि टेबल। टि टेबलमा हरियो क्लिप बोर्डमा केही मेसेज थिए। कालो सञ्चार सेट ठडिएको थियो। अगाडि उभिएको थियो सञ्चारको जमसा’ब। अर्को कुर्सीमा लप्टन सा’ब।

गोरो वर्णको पातलो केटा कालो जिन्स पाइन्ट र कालै टिसर्टमा बाटोमा हिँडिरहेको थियो। बीचमा सिउँदो पारेर माथिपट्टि फर्काएको कपाल। खरानी रङको हाइटेक जुत्ता। लप्टन साबले भने, ‘त्यही हो साब।’

हेर्दाहेर्दै ब्यारेकको गेटभन्दा केहीअघिको धारामा अन्जुलीले पानी थापेर खायो उसले। उनले हत्तपत्त सेन्ट्रीको केटालाई भने, ‘ए! को हेर त त्यहाँ। कताबाट धापिएर आएको माओवादीजस्तो छ। जा बुझ्।’

सेन्ट्री दौडियो। रूखो स्वरमा सोध्यो उसले, ‘को हो तपाईं? कहाँबाट आ’को?’

खल्तीबाट कार्ड निकालेर देखाउँदै त्यसले भनेछ, ‘म दूरसञ्चारको कर्मचारी। अफिस छुटेर आ’को । कोठा जान लागेको।’

सेन्ट्री फर्कियो। सुनायो उसको कुरा। मेजर साब कड्किएका थिए, ‘तँ पाजीले समातेर ल्याउन सकिनस्। सोधेर मात्र आइज भनेको हो मैले?’

समातेर लेरा भनेर भनेका त थिएनन्। केटाले जवाफ फर्काउने कुरा पनि भएन। सलाम ठोकेर सेन्ट्रीमै फर्कियो।

यता साहेबनीलाई कसले विमलाको कुरा सुनाइदिएछ। टाढाको कुरा पनि थिएन। फुत्तै गाडी चढेर बिनाखबर ब्यारेक आइपुगिन्।

‘किन आ’को तिमी?,’ उनले सोधेका थिए।

निकै शालिन थिइन् साहेबनी। भनिन्, ‘मेरो प्राण भएको ठाउँमा पनि किन आएको भन्ने प्रश्न हुन्छ र हजुर?’ उनीसँग जवाफ थिएन।

विमला आउने क्रम बन्द भइसकेको थियो। समस्याको कुरा पनि थिएन। झन् एक्लिएको उनलाई श्रीमती आउँदा राहत नै महसुस भयो। सोचे, ‘साला फौजीको जिन्दगी। सँधै स्वास्नीको साथमा बस्न पाइने भए नानाथरीका नकचरीहरूको संगत गर्नुपर्थयो र? मान्छे हो शारीरिक आवश्यकता पूरा गर्न भुलिन्छ त। भियतनामको लडाइँमा सैनिकलाई भुलाउन बैंकक पठाइन्थ्यो रे! हाम्रोमा समाज नसुहाउँदो भएर मात्रै। नत्र के नै फरक पर्थ्यो र!’

केही दिन साहेबनी बसिन्। कुनै अनुचित गन्ध पाइनन्। हल्ला गर्नेले त्यसै हल्ला गरेछन्जस्तो लाग्यो उनलाई।

पन्ध्र दिनपछि अनायास साहेबनीलाई ज्वरो आयो। टाउको पनि बेस्सरी दुख्छ भन्थिन्। काठमाडांै नपठाई नहुने भयो। एक्लै पठाउन मन मानेन। आफू पनि बिदा लिएर जाने निधो गरे। धेरै भइसकेको थियो बिदा नगएको। यति नजिक भए पनि काठमाडांै नगएको चार महिना भएको थियो। छोराछोरीको अनुहार हेर्न साह्रै मन लागेको थियो। बिदा लेखेर पठाए, फोन पनि गरे। आखिर बिदा स्वीकृत भयो।

बिहीबारको दिन थियो। ब्रेकफास्ट खाएर हिँड्ने तयारी थियो। साहेबनीको ज्वरो केही कमजस्तो भएको थियो। टाउको त उस्तै दुख्दैछ भन्थिन्। साढे ७ तिर उनीहरू गोरखाबाट हिँडे। ज्वरोको कारणले होला साहेबनीलाई वाकवाकी भइरहेको थियो। घरीघरी वान्ता भइरह्यो। प्लास्टिकको थैलोमा वान्ता गर्दै फाल्दै गरिरहेकी थिइन्। गाडी एकतमासले गुडिरहेको थियो। खैरेनीसम्म जान भनेर अर्को गाडीमा केटाहरू बसेका थिए। पिकअप भ्यानमा चार जना हतियारसहितको टोली थियो। पछिपछि उनीहरु चढेको गाडी। अगाडि सिटमा गार्ड बसेको।

लक्ष्मीबजारबाट केही तल जङ्गलमा साहेबनीले गाडी रोक्न भनिन्, ‘साह्रै गाह्रो भो मलाई। एक पटक गाडी रोक्न पाए हुन्थ्यो।’

‘कहाँ जङ्गलमा रोक्ने? अलिक पर रोकौंला,’ उनले भने।

त्यत्तिकैमा अनायास ड्याम्म आवाज आएर केही पड्कियो। आत्तिएर उनले भने, ‘ओहो ! बम पड्केजस्तो छ।’

ऊ पनि लुक्यो झ्यालभन्दा मुनि। साहेबनी पनि लुकिन्। गोलीका आवाजहरू सुनिन थाले। सन्त्रासको वातावरण छायो। केटाहरूले पनि फायर खोलिसकेका थिए। दुईतर्फी गोली चल्यो। सञ्चार सेटबाट गुल्म अनि गणमा खबर गरे उनले। केहीबेरमा गोली आउने क्रम बन्द भयो।

केही राहतको स्वास फेर्दै उनी सिधा भए। साहेबनी पनि सिधा भइन्। खोई कताबाट एउटा गोली फुत्तै आयो। सिसा झर्याम्म फुट्यो। साहेबनीको दाहिने कुममा हल्का छोएर छातिमै दब्यो गोली। छट्पटाउन थालिन् उनी। फायरिङ बन्द भएको थियो। आत्तिँदै ड्राइभरले गाडी घुमायो। लक्ष्मीबजारतर्फ मोड्यो र कुदायो।

केहीबेरमा साहेबनी चलमलाउन छोडेकी थिइन्। केही सोच्न सकिरहेका थिएनन् मेजर सा’ब। नाकको मुनि हात राखेर हेरे। अहँ केही थिएन। उनको हातभरि साहेबनीका रगतका थोपा थिए। हतास मनले नाडी छामे। अहँ केही थिएन।

बीस मिनेटमा नै हेलिकप्टर पुगेको थियो। जङ्गलमा केही बम फाल्दै बजारको केही खुल्ला ठाउँमा रोकियो हेलिकप्टर। सबै मिलेर साहेबनीलाई हेलीमा हाले। डाक्टरले हेरे। अँध्यारो अनुहार बनाए। केही बोलेनन्। बगेको रगत पुछेर केही ब्यान्डिज बाँधेजस्तो गरे। लाशलाई ब्यान्डिज बाँध्नुको केही अर्थ थिएन। आखिरमा छाउनी हस्पिटल डेथ सर्टिफिकेट बनाउन लगेजस्तो भयो।

उनको आँखाबाट तप्प दुई थोपा आँसु झर्यो। लोलिताको भित्री पृष्ठमा रहेको फोटोमा मुस्काइरहेकी विमलाको अनुहारमै झर्यो। हातले विस्तारै पुछे।

टेबलमा कुन बेला गोकुलले चिया बिस्कुट छोडेर गइसकेको रहेछ। चिया सेलाएर माथिपट्टि तर जमेको थियो। किताब बन्द घरेर सिधा उभिए उनी। केही बलियो मन गरेर टाउको आधा ढल्काउँदै माथितिर हेरे। बाथरुम छिरेर वास बेसिनमा मुख धोए। ऐनामा आफ्नो अनुहार हेरे। घोप्टिएको जुँगा सेतो भइसकेको थियो। अनुहारमा राम्रै चाउरी परिसकेको थियो। आफ्नै अनुहारमा थकान देखे उनले। फेरि लामो श्वास फेरे।

बाथरूमबाट बाहिर आउँदै गर्दा लाग्यो उनलाई, ‘दुनियाँ के–के गरियो। कस्ता–कस्ता दुःख र पीडा पनि सहियो। यही परिवार भनेर त हो नि। अहिले यिनीहरू त्यसै भयोजस्तो गर्छन्। यिनीहरूका छोराछोरी स्कुल पुर्याइदिने, ल्याइदिने मान्छेजस्तो गर्छन्।’ थचक्क सोफामा बसे उनी। घडी हेरे। नाति लिन जान अझै दुई घन्टा बाँकी रहेछ। 


 

More form the Internet

loading...