Suvadin, Home

एउटा इट्टा थपिदिनुहोस् मालिक!

अझ एउटा इट्टा थपिदिनुहोस् मालिक, भरे छोराको लागि एउटा कलम किन्नु छ, अनि श्रीमती को सिउदो मेरै नामले, रङ्याउन एकचिम्टी सिन्दुर किन्नु छ 

सुरेश कार्की


अझ एउटा इट्टा
थपिदिनुहोस् मालिक,
भरे छोराको लागि एउटा कलम किन्नु छ
अनि श्रीमती को सिउदो मेरै नामले
रङ्याउन एकचिम्टी सिन्दुर किन्नु छ 

आज त श्रमिक दिवस रे भरे 
एक छाक मीठो खुवाउनु छ 
अझै एउटा इट्टा थपिदिनुहोस 
मालिक 

पोहोर आजकै दिन
साथिहरुको लह लहैमा लागेर
बेलुकी घरमा चुलो बलेन
श्रीमती र मैले त आज व्रत हो भनेर टार्यौ

तर, ती कलिला अबोध बालक
को भोकले
पेटमा म्याराथुन दौडिरहेका मुसाहरुलाई
रोक्न नसकेर जिउदै मरे म 

हाम्रै हक हितको कुरा गरे थे 
झन्डा फहराएथे गरे थे नाराबाजि 
ठुला समृद्धि का कुरा तर के गर्नु 
रत्नपार्क मा लगाइएका 
नारा अनि जुलुसले चुलामा आगो नबल्दो रैछ
त्यसैले अझै एउटा इट्टा थपिदिनुहोस् 
मालिक

मेरा बाल बच्चाका खातिररोगले अर्ध चेत बनेकी छोरिको
घाँटी भिजाउनु छ औषधीले 
छोप्नु छ आमाको छाती जुन पहरो 
जुन अमृत चुसेर मैले धर्तिमा पाईला राखेको 
थिए

निभाउनु छ बाबालाई छोरा हुनुको कर्तव्य 
पुरागर्नु छ जिम्मेवारी 
हुन त जिन्दगीमा जिम्मेवारी हरु 
यो सिङ्गो ब्रामण्डको तौल बराबरको छन्
तर पनि हर प्रयास गर्नु छ 

हाल्नु छ समाजको अँखामा छारो 
ताकि भोलि समाजका हर कोहिले 
हुत्तिहारा नामर्द केही भन्न नसकुन
मालिक त्यसका निमित्त भए पनि
अझै एउटा इट्टा थपिदिनुहोस् 
दया गरेर अझै एउटा इट्टा थपिदिनुहोस 
मालिक !!


 

More form the Internet

loading...