Suvadin, Home
Nepal life 2.266M

कविताः बृद्धाश्रमको बाटो

‘मेरो आमा’ भनेर म आमाको काखमा बस्न जाँदा, तिमी रुँदै आएर ‘मेरो पनि आमा हो’ भनेर अङ्गालो हाल्थ्यौं। आहा! क्या सुन्दर शैशवकाल थियो। तर आज, तिनै आमा हाम्रालागि बोझ बनिन्। अंगालोभरिका छोरा हुँदा–हुँदै पनि, हाम्रा आमाबाबु सहाराविहीन हुन पुगे।
पल्लवी न्यौपाने।

पल्लवी न्यौपाने


ए दाजु, सुन न।
चिन्यौं? म तिम्रो भाई 
त्यही भाई जसलाई सानोमा
कसैले नराम्रोभन्दा तिमी लड्न जान्थ्यौं।
त्यही भार्इ जस्ले कुनै गल्ती गर्दा
बाबुको गाली खान तिमी अगाडि बढ्थ्यौं।
तर, हिजो अंशबण्डाको बेला 
तिनै हात ममाथि उठ्न हिच्किचाएनन्। 
 
‘मेरो आमा’ भनेर म आमाको काखमा बस्न जाँदा
तिमी रुँदै आएर ‘मेरो पनि आमा हो’ भनेर अङ्गालो हाल्थ्यौं। 
आहा! क्या सुन्दर शैशवकाल थियो।
तर आज, तिनै आमा हाम्रालागि बोझ बनिन्।
अंगालोभरिका छोरा हुँदा–हुँदै पनि 
हाम्रा आमाबाबु सहाराविहीन हुन पुगे।

अरू त अरू
मर्ने बेला छोराहरूको हातबाट
पानी खान नपाउने भए।
तिनै छोराहरू जसलाई जन्माउनको लागि
आमाले दुईवटी छोरी तुहाउनुभएको थियो रे।

बाबाले दुवै काँधमा राखेर
हामीलाई सारा गाउँ डुलाउँदा,
चन्द्रमा नै छोएको भान हुन्थ्यो।
देखेर दङ्ग थिए ती पसिनाले भिजेको
बाबाको प्रशन्न मुहार।
आज, तिनै बाबालाई विसन्चो हुँदा 
त्यही घर छेउको अस्पताल लैजाने फुर्सद भएन,
रत्ती पनि करुणा जागेन हामीलाई।

आमा घाँस जाँदा होस् या बाबा मेला जाँदा,
एकपल पनि टाढा रहँदा
आँखामा मुहान फुट्थ्यो।
बाआमाको बाटो कुर्दाकुर्दै समूद्र सुकेर
गालाभरि दाग बस्थ्यो।
आज बृद्धाश्रम बसेर झिनो आशामा 
छोराहरुको बाटो कुरिरहेका छन् 
भाग्य कोरिएर दाग बसेको
चाउरी गालाहरु लिएर।

आफू भोक्भोकै बसेर आमाले
एउटै गाँस पालैपालो खुवाएको
हिजो जस्तै लाग्छ।
एउटा सिसाकलम आधा–आधा काटेर 
बाबाले लेख्न सिकाउनु भएको 
आज पनि ताजा नै छ।
बाबाको रगत–पसिनाको बदलामा 
पाएको हाम्रो शिक्षा आज बेकामको भइदिएछ।

थाहा छ दाजु,
बाबाले हामी जन्मँदा सारा गाउँलाई 
भोज खुवाउनु भएको थियो रे!
अनि भन्नुभएको थियो रे,
यी हाम्रा बुढेसकालका सहारा
ईश्वरका वरदान।

के नै मागेका थिए र
के नै चहाना हुन्थ्यो र 
ती बुढाआमा बाबुको,
सिवाय दुई छाक खाना र दुई छोराको साथ।
त्यति पनि दिन सकेनौं हामीले 
के नै अपुग थियो र हामीसँग
सिवाय एक मन।
हेर त हामी कति गरिब रहेछौं।
आफ्नै आमाबाबुलाई
बुढेसकालमा सहारा दिन सकेनौं
हेर त हामी कति अशक्त रहेछौं।


 

More form the Internet

loading...