Suvadin, Home

कथा
परफेक्ट ब्वाइफ्रेन्ड

मेरो परफ्रेक्ट ब्वाइफ्रेन्ड अमेरिकाको यात्रामा निस्कियो। सपनाको शहर खोज्न हिँडेको अनिमेशलाई मैले टर्मिनलमा पुगिञ्जेल हेरिरहेँ। खोई किन हो, उसले एक पटक फर्केर हेरेन। तर, मैले उसलाई आँखाभरि हेरिरहेँ। र, उ साँझको घाम जस्तै विस्तारै ओझेल पर्यो। सायद मुटु दिएर पनि उसलार्इ मैले...
प्रतिकात्मक तस्वीर।

सेबिता अधिकारी


लाग्छ हेराइमा तिम्रो के–के नपुगे जस्तो,

मुटु दिएर तिमीलाई केही दिइनँ मैले जस्तो,

पाल्पाको सदरमुकाम तानसेनबाट छुटेको बा४ख ४६७२ नम्बरको बसमा बजिरहेको भक्तराज आचार्यको यो गीत टक्क रोकियो। ध्यानपूर्वक सुनिरहेकी रहिँछु क्यारे। गीत रोकिने बित्तिकै म झसङ्ग भएँ। र, यताउती हेरें।

छेउमा मभन्दा २–४ वर्ष सिनियर लाग्ने अपरिचित युवक मोबाइलमा व्यस्त थियो। गहुँगोरो, एसीमा धेरै समय बिताउने खालको लाग्ने ती युवकतिर दुई पटक हेरे।

‘तर, उसले वास्तै गरेन, बालै दिएन। पख! पट्याँएरै छाड्छु।’ मेरो मनले यसै भन्यो।  गाडी हर्न बजाउँदै आफ्नो गतिमा हुइँकिन थाल्यो। अनि खलासीले ‘बुटवल, काठमाडौं सिट खाली’ भन्दै कराउन थाल्यो। 

भत्किँएको साघुँरो बाटोमा गाडीअघि बढ्न थाल्यो। मेरो ध्यान त्यही मेरो छेउँमा ‘मिस्टर प्रफेक्ट’तिर थियो। मैले नहेरेको बेला उसले मतिर नजर लगाएको थियो भने मलाई थाहा भएन। तर, मैले आँखा जुधाउन गरेको तेस्रो प्रयास पनि विफल भयो। ऊ लगातार आफ्नै मोबाइलमा केन्द्रित भइरहेको थियो। 

पाल्पाबाट एक घण्टाको यात्रा तय गरेपछि ४ दिनदेखि थाकेकी म झकाउन थालेंछुँ। मेरो शिर बसको गतिसँगै कहिले उत्तर कहिले दक्षिण गर्न थालेछ। निन्द्राको सुरमा मैले उसको ध्यान भंग गरेछु। त्यसपछि मात्रै उ मतिर फर्कियो।

र, भन्यो, ‘आरन्ट यु फिलिङ कम्फरटेबल?’ 

मैले ‘सरी, म ठिक छु’ भने।

त्यसभन्दा अघि उसले मतिर नोटिस नै गरेको रहेनछ। उसले भरेमात्रै भन्यो। 

कुरा गर्ने बहाना त मलाई पनि चाहिएको नै थियो। ‘तिमी आएर बसेको मैले थाहै पाइँएन।’ उसले कुरा शुरु गर्यो।

‘बाइ द वे, तिम्रो घर कता?’ उसले बोल्ने बहाना  खोज्यो। 

‘नेपालगञ्ज’ मैले एक शब्दमा उत्तर दिएँ। 

‘तपाईको घर चाहिँ कता?’ मैले सोधेँ।

‘पाल्पा’ उसले भन्यो। 

सिभिल इञ्जिनियरिङ गरेको र काठमाडौं एउटा कन्स्ट्रक्सनसम्बन्धी प्रोजेक्टमा काम गर्ने। ऊ पाल्पाको ग्रामीण सडक अनुगमन गरेर फर्किएको रहेछ।

म चाहिँ एउटा आइएनजिओको ६ महिने करारमा काम गर्न थालेको दोस्रो महिना कफी खेतीको अध्ययनका लागि दुई दिन पाल्पा र दुई दिन गुल्मी बसेर फर्किएकी थिएँ। उसको बारेमा बुझ्ने खुलदुलीले मलाई सताइरहेको थियो।

‘पैसा त म आफै कमाउछु, ब्वाइफ्रेन्ड चाहिँ यस्तै हुनुपर्छ’ भनेर पिरोलिँदै थिएँ। मलाई लाग्यो मिडिया कम्युनिकेशन एन्ड इञ्जिनियरिङ गरेका मेरा साथीहरुको तलब २०–२५ हजार रुपैयाँ हुन्छ भन्ने सुनेकी थिएँ। 

उसको पनि पच्चीस जति त होला भन्ने लाग्यो। मेरो पैतीस। जोड्दा पैसाको खाँचो नहुने मिठो कल्पना बुन्दै यात्रामा तल्लिन भैरहेँ। आइएनजिओको जागिर पैसा रामैसँग आउँथ्यो।

अफिसमा ‘मिस्टर प्रफेक्ट’हरु निकै नै भएपनि मलाई आफ्नै स्मार्टनेसले उनीहरुसँग नजिकको सम्बन्ध बनाएको थिएन। फेरि आफ्नै अफिसका केटाहरुलाई ब्वाई फ्रेन्ड बनाउने कुरा पनि आएन ।

योभन्दा अगाडिको अफिसमा काम गर्दा मेरो जीवनमा कसैको आगमन नभएको होइन। तर, साले स्वाँठ नै निस्कियो। एक हप्ताको अवधिमै उसले बाक्क लगायो। र, ब्रेकअप दिए।

यतिसम्मकी खाना पकाएर बेडमै राखिदिँदा पनि यस्तो र उस्तो भन्न थाले पछि दुई–चार झापु दिएर फर्किएँ। चार महिना भयो, उसलाई भेटेकी छैन। हुन त उ पनि ह्याण्सम् नै थियो। तर, महिलालाई सम्मान गर्नुपर्छ भन्ने नबुझेकालाई हाम्रो मायाको के भ्यालु!

सिद्धबाबा आइपुगेपछि उसले मेरो नाम सोध्यो। र, आफ्नो भिजिटिङ कार्ड दियो। मैले पनि आफ्नो भिजिटिङ कार्ड दिएँ, ‘म स्नेहा हो’ भने।  

उसले प्रेमपूर्वक भिजिटिङ कार्ड झोलामा राख्यो। मलाई लाग्यो, आइएनजिओमा काम गर्ने भनेपछि इम्प्रेस त त्यसैपनि बनिहाल्छ। तर, उसले भूकम्प पछि आइएनजिओहरुले आफ्नो गाँउमा धर्मका नाँउमा गरेको व्यापार र राहतका नाउँमा गरेको मनपरिबाट आफू आजित भएको भाव व्यक्त गर्यो।

तर, मेरो चाहिँ खाद्य उत्पादनसँगको प्रोग्राम भएकाले मैले आफ्नो संस्थाको बचाउँ गरें। गाडीको गति हामीबीचको कुराकानी जस्तै बेलाबेला तेज हुन्थ्यो, बेलाबेला मन्द हुन्थ्यो। 

लगभग दुई घण्टा यात्रा गरिसकेपछि सडक बिग्रिएको ठाँउमा गाडी रोकियो। गाँउले र प्रहरी बाटो मर्मतमा जुटेका थिए। अरु सबै उत्रिए, उ निदाइहेकाले डिस्ट्रर्ब गर्न मन लागेन। र, म पनि चुपचाप बसिरहें। 

मान्छेको मन न हो, कुरा खेल्नु त स्वाभाविक नै हो। मनका भावहरु कहिले नदी जस्तै उर्लिन्छन्। फेरि टिनेज भर्खरै पार गरेका मजस्ता युवाको मनमा त्यतो अनेकथरि भाव आउनु स्वाभाविक नै पनि होला। 

मलाई किन–किन यही केटा मेरो लागि पर्फेक्ट छ भन्ने लागेको थियो। मनमा कुरा खेलाइरहँदा म पनि भुसुक्क निदाएछु। गाडी धकेलेर स्टार्ट गर्न खोज्दा म झसङ्गै ब्युँझिएँ। ब्युँझिँदा मेरो शिर उसको काँधमा थियो। र, मेरो हातले जोडसँग उसको हातलाई पक्डिएको थियो। 

ऊ पनि ब्युँझियो। र, मैले सर्तक हुँदै कपाल मिलाएँ, सल मिलाए। छेउको अर्को सिटमा बसेको यात्रीले पनि हामीलाई हेरिरहेका रहेछन्। म लाजले पानीपानी भएँ। उसको अनुहार पनि हेर्ने सकिनँ। बेला–बेला ‘यही हो उमेर मायाप्रीति लगाउने, परिवारले नमागे भाग्ने–भगाउने’ भन्दै छेउमा बस्ने बुढापाकाले हामीलाई जिस्काउँथे। 

उ पनि लाजले भुतुक्कै हुन्थ्यो। लगभग आधा घण्टापछि बाटो खुल्यो। र ‘तानसेन घमाइँलो’ भन्ने गीत घन्काउँदै गाडी अगाडि बढ्यो। उसको लजालु मुहारले कताकता मेरो मनमा बास गरिसकेको रहेछ।

मेरा आँखा उसका नजरमा ठोक्किसकेका रहेछन्। मेरो मनले उसको मनलाई के भन्यो कुन्नी, उसको हेराइले मनमा कुत्कुती लाग्न थालिसकेको थियो। यात्रा जति–जति अघि बढ्दै थियो, हाम्रो छुट्टिने बेलापनि त्यति–त्यति नै नजिकिँदै गएको थियो।

बुटवल बसपार्क आइपुगेपछि उसले ह्याण्डसेक गरेर बिदा माग्यो। मैले भारी मनले हात हल्लाएर बिदा गरे। मैले यात्राभरि धेरै कुरा गरेपनि गर्लफ्रेण्ड छ की छैन भनी सोध्ने आँट गर्न सकिनँ। उसले पनि ‘म अर्को हप्ता काठमाडौं आउँछु अनि भेटौं’ मात्र भन्यो। 

मेरो मनमा उसका लागि अथाह मायाका भावहरु पैदा हुन थाले। म उसको एकोहोरो मायामा डुब्दै गए। एक हप्ता मलाई एक वर्ष लाग्न थाल्यो। दिनैपिच्छे उसँग कुराकानी हुने भएपनि मलाई भेटको व्यग्र प्रतीक्षा थियो। भेटेर अंगालो मारेर निधारमा किस गरी संसारले सुन्ने गरेर ‘आई लभ यु अनिमेश’ भन्ने मन थियो।

म प्रतीक्षामा बसिरहें। काठमाडौंमा हुँदा पनि म ‘म बिजी छु’ भनेर भेट्नै पाइनँ। भेट दिएन। जति–जति उ टाढाँ हुन खोज्थ्यो, मलाई त्यति–त्यति नै नजिक आए जस्तो लाग्थ्यो।

म यति नजिक भैसकेको थिए कि अनिमेशका लागि सारा जीवन उसैलाई समर्पण गरिदिउँ जस्तो लाग्थ्यो। तर, उसको मनमा के थियो मलाई केही थाहा थिएन।

एक साँझ उसले दरबारमार्गमा बोलायो। म हतार–हतार दरबारमार्गस्थित ग्रीन क्याफेमा पुगे। मेरो हातमा उसको लागि सानो गिफ्ट थियो। उसको हातमा ‘रेड रोज’ थियो। मलाई संसार जितेझैं लाग्यो।

फेरि, निरन्तर सम्पर्क भएपनि उसँग दरबारमार्गको क्याफेमा २ घण्टा बिताएर छुटेको १५ दिन भइसक्यो। उसका स्पर्सबाहेक मेरा स्मृतिमा अरु केही थिएन।

उसलाई फोन गर्दा कहिले जिल्ला प्रशासन कार्यालय, कहिले परराष्ट्र मन्त्रालय र कहिले अमेरिकी दूताबासमा छु भनेर तर्किएझैं गर्थ्यों। उसको बोली पहिले जस्तो सफ्ट पनि थिएन। 
हाम्रो भेटको लगभग अडाई महिनापछि उसले फोन गर्यो। ‘तिमीसँग केही समयका लागि छुट्दै छु’ भन्यो। 

मेरो मन भारी भएर आयो। उसले ‘म एयरपोर्टमा छु’ भन्यो। अफिसबाट ‘सञ्चो भएन’ भनेर म सिधैं एयसपोर्टतिर लागे। इन्टरनेशनल टर्मिनलको छेउँमा दुई वटा झोलामा टाउँको अड्याएर बसिरहेको थियो अनिमेश। 

मैले ‘हेल्लो डार्लिङ’ भनेर अंगालो मारे। नजिकैको मासतिर देखाउँदै ‘मेरो बाबा र मम्मी भनेर परिचय गरायो। अनि भन्यो ‘आज म अमेरिका जाँदै छु, तिमी आफ्नो ख्याल गर्नु है।’ 

अन्तराष्ट्रिय टर्मिनलमा अनाउन्समेन्टमा हुन थाल्यो। अनिमेश र छेउमा बसेकी अर्की युवती उठे। लगेज मिलाउँदै अनिमेशले भन्यो ‘ए उसलाई त मैले चिनाउँनै बिर्सेछु, उ चाहिँ मेरो वाइफ अनामिका।’

अनाउन्समेन्ट सकिएपछि अनिमेश ‘फेरि भेटौंला भन्दै बिदा भयो। आमाबुबालाई ढोग्यो। र, मेरो छेउमा आएर ‘बाई स्नेहा’ भन्यो। उसँगको भेटको सम्झना गर्दै अंगालो मारेर बिदा हुन मन थियो। तर, उसकी श्रीमतीका अगाडि आँट जुटाउन सकिनँ।

मेरो परफ्रेक्ट ब्वाइफ्रेन्ड अमेरिकाको यात्रामा निस्कियो। सपनाको शहर खोज्न हिँडेको अनिमेशलाई मैले टर्मिनलमा पुगिञ्जेल हेरिरहेँ। खोई किन हो, उसले एक पटक फर्केर हेरेन। तर, मैले उसलाई आँखाभरि हेरिरहेँ। र, उ साँझको घाम जस्तै विस्तारै ओझेल पर्यो। सायद मुटु दिएर पनि उसलार्इ मैले...


 

More form the Internet

loading...