Suvadin, Home

कविता
हजारौं प्रेमीहरुको आत्मासँगको महासंवादमा

मलाई भनिदेऊ, को थिए, प्रथम महान्‌ प्रेमीजोडी? जसले तिम्रो अभियानको शुरुवातका लागि प्रथम पटक यो संसारलाई चुनौतीका साथ ठिङ्ग उभिएर खोप्यो आफ्नो नाम
बुढा सुब्बा मन्दिर परिसर।

मुनाराज शेर्मा


जब म तिम्रो इतिहासको बीच छातीमा उभिएँ ओ बुढासुब्बा!

बाँसका आँख्ला आँख्लाबाट शब्दहरू बाहिर आएर उभिए

मट्‌याङ्ग्रा जस्तो गोलो खिरिलो प्रश्न थियो उनीहरुसँग

गुलेली जस्तो हाडे जब्बर जिज्ञाशा थियो उनीहरूसँग

तिमी चुपचाप निस्लोट निद्रामा थियाैं

आँगनमा रिङ्‌ने घण्टीको रालो जस्तो उनीहरूको पुकारले

मेरो मस्तिस्क भत्काएर गयो

शब्दहरू सग्लासग्लै कस्तरी मान्छेमा रूपान्तरित भए

करोडौं धागोहरु एकाएक बाहिर निक्लेर गाँठोसँगै उभिए 

उनीहरु सब बन्धनमा थिए

उनीहरू सब ऐठनमा थिए

उनीहरू सब विलापमा थिए

तिम्रो सँघारमा गर्दन छिनालिएका हाँस परेवा कुखुरा राँगा बोकाको तड्पिरहेको शरीरमा आए

बगिरहेको रगतको आहालबाट आवाजहरू पुकार्दै 

रक्तकोषहरु पट्पटी फुटाएर चित्कारहरू हिलिहाङ पर्वत उचाल्दै आए

हजारौं अतृप्त आत्माहरू जो प्रेमको असफलतामा विचलित थिए

शीर छेदन गरी पाउँमा उभिएका थिए

प्रेमको शीर शरीरबाट छुटि्टएर फट्फटाइरहेको थियो

तिम्रो बगैँचाको टुप्पो छिनाएको बाँस जस्तै

असमानतामा उभिनै नसकेको दुर्गम

हेलामा बाँच्नै नसकेको किनार र सीमानाहरु

शताब्दी शताब्दी चेतना छिनाएर निकास रोकिएका थिए

बाँसका आँख्ला जस्तै विभेदको आँख्लाले कैद थियो प्रेम

छिप्पट आँख्लाबाट टुसा टुसाएझैं चेपुवा परेर पनि टुसाइरहेको थियो प्रेम

प्रत्येक बाँसका आँख्लाको सिँढी जस्तै तह-तह थियो प्रेम

प्रेम साश्वत निर्विकल्प बेजात बेरंग र वर्गहीन हुनुपर्ने 

प्रेम तिम्रो छातीमा उभिएको हरियो सल्लाको बोट जस्तो

निख्खुर जीवित र प्रेमिल हुनुपर्ने 

तिम्रो घनघोर शितल छाँया जस्तो हार्दिक हुनुपर्ने

र न उभिन्छ प्रेम, प्रेमको जगमा, आकासिन्छ प्रेमको आकाशतिर

प्रेमको टुसा चिमोटिएपछि झाँगिनु फैलिनु कसरी?

प्रेम त तिम्रो घना बाँस झ्याँङको प्वाल-प्वालबाट देखिने

निलो आकाशजस्तो विशाल हुनुपर्ने

वा त्यहीबाट छ्याँङ्ग आँखामा टाँसिने 

समानन्तर अनन्त क्षीतिज जस्तो हुनुपर्ने।

 

बुढासुब्बा!

आयौं र धन्न टुप्पाविहीन रोपेछौं बाँस

टुप्पा त हाम्रो नाक रहेछ जो अहम्को उचार्इ नाप्छ

टुप्पा त हाम्रो टुप्पी रहेछ जो श्रेणीको विभाजन गर्छ

टुप्पा त हाम्राे श्रेष्ठता रहेछ जो विभेद गोडमेल गर्छ

टुप्पा त हामीलाई सधैं थिचिरहने भार रहेछ

टुप्पा त हाम्रो नङ रहेछ छाँटिरहनु पर्ने

यो त कहाँ बढ्ने हुर्किने पलाउँने मात्र रहेछ र

 

जो आज हामी हजारौं-हजारको बलिदानीपछि

यो ज्ञान लेखिरहेका छौं

म देखिरहेछु, हजारौं-हजार आत्माहरु

जो यो सुन्दर प्रेमको दुनियाँ निर्माणमा

 

यहाँ कति सर्किनीहरू बाहुनहरुसँग आएछन्‌ 

बाँसमा खोपेछन् नाम र काटेछन् टुप्पा समान हुनलाई

यहाँ कति दर्जिनीहरू लिम्बूसँग आएछन्

र, बाँधेछन् डोरा कसिलोसँग नछुटी बाँच्नलाई 

कति मधेशी, थरुनी, यादव, मुसहर आएछन्

पहाडे क्षेत्री मगर गुरुङ सन्यासी आदि आदिसँग

र, काटेछन् निरंकुश सांस्कृतिक शीर 

छिनिरहेको दैनिक पशुहरूको शीर जस्तै

तिमी त जीवन थिएछौं बुढा लिम्बू!

कारण प्रेम त जीवनमा बाँच्नलाई हो नी

आवेश क्रोध यी सब युद्धलाई मात्र हुन्‌ 

 

होइन र?

तिमी त शताब्दीयौं पहिले आफ्नो टुप्पो छिनालेर 

समानता प्रेम भनिरहेका रहेछौं 

जो आज हामी हजारौं-हजारको बलिदानीपछि 

यो ज्ञान लेखिरहेका छौं

म देखिरहेछु, हजारौं-हजार आत्माहरु

जो यो सुन्दर प्रेमको दुनियाँ निर्माणमा

यहाँबाट हिडेपछि 

देश निकाला भए

अपमानित भए

आत्महत्या गरे

तड्पिएर बाँचे

तथापि, उनीहरूले खोपेको नाम अमर छ

उनीहरूले बाँधेको प्रेमको रंगीन धागो अझ कसिलो छ

ओ प्रेमको रखबारी!

ओ प्रेमको पुजारी, बुढो लिम्बू! बुढो किराँती!

मलाई भनिदेऊ

को थिए, प्रथम महान्‌ प्रेमीजोडी?

जसले तिम्रो अभियानको शुरुवातका लागि

प्रथम पटक यो संसारलाई चुनौतीका साथ

ठिङ्ग उभिएर खोप्यो आफ्नो नाम

तिम्रो टुप्पाविहीन गुलेलीको फेदमा

र, चुम्दै एक अर्कालाई शंखघोष गर्‍यो समानताको

तिम्रो आँगनबाट?

हो, त्यही प्रेमी हुँ म!

म प्रेमिल रगतले निर्मित!

म मानवताको हृदयले सुसज्जित!

म सद्‌भावको चेतनाले उथलपुथल!

आउ सबै आत्माहरू!

यो बाटो मात्र प्रेमको बाटो हो 

यहाँ हृदय विवेक र मस्तिष्कले मात्र हिड्नु छ

खबरदार!

खबरदार! हृदय शुन्यहरू!

तपाईको इजाजतपत्र र राहदानी जफत गरिएको छ।


 

More form the Internet

loading...