Suvadin, Home

कविता
गने अर्थात् गणबहादुर

बिधुवी आमाको नाथ्री प्वाल सजाइदिने  माछा काँडे एक बुलाकी -सपना  एकै साथदेखि रहेछ रिक्साको पिठ्युँमा निदार्इ रहेको एक मनुवा  गने अर्थात् गणबहादुर।
काठमाडाैंमा मजदुरी गर्ने एक बालक।

डा. अनन्तप्रसाद अधिकारी


चौडा सडक किनारा,
असरल्ल साधनहरू,
पूरानो रिक्सा, 
रिक्साको पिठ्युँमा निदाइरहेको एक मनुवा,
गने अर्थात् गणबहादुर।

जञ्जिरभन्दा तेब्बर खिइएका छन्,
अनगिन्ती चाहनाहरू
चक्काभन्दा अधिक घोटिएका छन्
उसकै पैतालामुनिका उसका इच्छाहरू
भ्वाङ परेका अनेकन रहरहरूसँगै 
खात-खात सपनाहरू देखिरहेछ 
रिक्साको पिठ्युँमा निदाइरहेको एक मनुवा 
गने अर्थात् गणबहादुर।

फाटेको भोटो छोराको 
फेरिदिने रहर -सपना 
च्यात्तिएको घाँघर छोरीको 
साटिदिने रहर -सपना
डल्लीको गलामा रातो पोते,
रातो पोतेमाथि पहेँलो तिलहरी -सपना
चार बीस हिउँद खेपेकी
बिधुवी आमाको नाथ्री प्वाल सजाइदिने 
माछा काँडे एक बुलाकी -सपना 
एकै साथदेखि रहेछ
रिक्साको पिठ्युँमा निदार्इ रहेको एक मनुवा 
गने अर्थात् गणबहादुर।

आफ्नै दुई नामहरूको अर्थको खोजीमा 

घोत्लिँदा-घोत्लिँदै कामविहीन घण्टाहरू

बटारिएको भोको पेट र,

मगजभरि आशाका चाङहरू बोकेर पल्टिहेछ 

रिक्साको पिठ्युँमा निदाइरहेको  एक मनुवा 

गने अर्थात्  गणबहादुर।

अढार्इ बिसे आफ्नै उमेरभन्दा 
तीन गुना चाउरीहरू भिरेर अनुहारभरि
दु:खका पहाड आफैँमा बोकी-बोकी
अभावका दाह्राले चपाइएको शरीर 
व्यथित बिसाउँदै,
रिक्साको पिठ्युँमा निदार्इ रहेको एक मनुवा
गने अर्थात् गणबहादुर।

आफ्नै दुई नामहरूको अर्थको खोजीमा 
घोत्लिँदा-घोत्लिँदै कामविहीन घण्टाहरू
बटारिएको भोको पेट र,
मगजभरि आशाका चाङहरू बोकेर पल्टिहेछ 
रिक्साको पिठ्युँमा निदाइरहेको  एक मनुवा 
गने अर्थात्  गणबहादुर।

बेमतलव–भर्सेला परून् 
उसको चल्तीको नाममा 
देश बिष्फाेट भएका हिजोका क्षणहरू
अर्थात्,
देश 'गन' वा बन्दुक मय भएका क्षणहरू
बेपर्वाह -जस जसले हाँकोस्
उसकै नाममा देश कुदार्इ रहेका आजका क्षणहरू
अर्थात्,
देश गणतन्त्र दौडाहामा चलिरहेका क्षणहरू। 
न बँचेको विद्रोह चाहना छ; न शेष वर्ग मोह छ 
छ त केवल समय र व्यवस्थाले नछोएको,
मात्र असीमित व्यथाले च्यापेको 
एउटा लयहीन जीवन
रिक्साको पिठ्युँमा निदार्इ रहेको एक मनुवा 
गने अर्थात् गणबहादुर।


 

More form the Internet

loading...