प्रा.डा. गाेविन्द केसीकाे समर्थनमा
कविताः नायक अनायक लोकतन्त्र
-सरिता तिवारी
लोकतन्त्रमा
'लोक'तन्त्रको अर्थ के हो?
तपाईंहरू भन्न सक्नुहुन्छ?
यति सीधा प्रश्नको सरल उत्तर
भेट्न नसकेर
ट्वाँ परेको छ कवि
प्रधानमन्त्री निवास,
दूतावास-भेटघाट
पार्टी मुख्यालयका खुसामद
यहाँ कसैलाई झुक्किएर पनि नसोध्नोस्
परिकथाजस्तो
लोकतन्त्रको परिभाषा
पाउनुहुनेछ खस्रो स्वरमा जवाफ-
म किन भनुँ तँलाई उत्तर?
को हो तँ प्रश्न सोध्ने?
के छ तेरो हैसियत??
जब सोधिने छ यसरी तपाईंलाई हैसियत
बुझ्नुस्
कहाँ पुगेको छ यो मुलुकमा
लोकतन्त्रको हैसियत!
खोज्न जानुस्
सिंहदरबारका फाइलभित्र
विकासका योजना र परियोजनाका हस्ताक्षरभित्र
कहिँ देख्नुहुन्न तपाईं लोकको चिन्ता
कहिँ भेट्नुहुन्न लोकको आवाज
खाली देख्नु हुने छ
लोकको नाममा
बाघको छालामा झैं रजाईं गरिरहेका
स्यालहरूको भोज!
'लोकतन्त्र' फलाकेरै घाँटी सुकाउने त्यो संसद्
दाँत ङिच्याउँदै विज्ञप्त त्यो विश्वविद्यालय
अदालत
अस्पताल
र प्रशासनको वल्लो लबिदेखि पल्लो कुनासम्म
कहिँ गर्न सक्नुहुन्न लोकतन्त्रको अनुभूति
सरकार–प्रतिपक्ष जोसुकै भन्नुस्
त्यहाँ बज्छ केवल कर्पोरेटहरूको बाँसुरीधुन
चल्छ केवल माफियातन्त्रको ब्रेकडान्स्!
तर एउटा मान्छे
त्यो पगला, बहुला मान्छे
जो एक्लै पुग्छ सुदूर गाउँमा
कोही कसैले नसकेको ठाउँमा
झोलामा ओखती बोकेर
बर्खे खोलामा एक्लै लौरो टेकेर
यो भुलभुलैयाजस्तो व्यवस्थासँग
एक्लै भिड्न तयार
हो, बहुला नै हो यो मान्छे
जो हिँडेको छ खै कुन्नी कुन जुनूनले
माफियाहरूको जुठ्यानमा लुट्पुटिएर बद्नाम
लोकतन्त्रको परिभाषा खोज्न
जब नायकहरू सक्दैनन् नायकत्व रक्षा गर्न
यही तथाकथित पागल
बन्दोरहेछ आफ्नै जुनूनको बलले
लोकतन्त्रको नायक!
साथीहरू
के हामी तयार छौं
लोकतन्त्रको नायक बन्न?