Suvadin, Home

आऊ मलाई पनि फाँसी देऊ

उसँग प्रश्न छ– केवल एउटामात्रै प्रश्न संसार किन सीधा हिँडिरहेको छैन? शब्दलाई मृत्युदण्ड सुनाइएको यो क्षण म पनि उस्तै प्रश्न दोहोर्‍याइरहेको छु निर्धक्क प्रश्न सोध्न पाइने युगका निम्ति तर, शासकहरु प्रश्न मनै पराउँदैनन्। शासकहरु स्वीकारुन् वा नस्वीकारुन् फूल त फूल्छन् नै घाम त झुल्किन्छ नै बागीहरुले विद्रोह त गर्छन् नै समय लाग्छ, त्यो बेग्लै कुरा हो तर, चुप लाग्नु मान्छेको स्वभाव होइन झिल्काहरु त भर्भराउँछन् नै।
प्रतिकात्मक तस्विर।

किरण दाहाल


जब देख्यो उसले–
शासकका पर्खालभन्दा पनि
अग्लाअग्ला मान्छेहरु
अनि, लेख्न थालेको हो
–गुराँसजस्तो मुस्कानको भाका
–झुल्के घामजस्तो न्यानो आशा
–जीवनजस्तै जिउँदो विद्रोहको गीत।

उसँग प्रश्न छ–
केवल एउटामात्रै प्रश्न
संसार किन सीधा हिँडिरहेको छैन?

शब्दलाई मृत्युदण्ड सुनाइएको यो क्षण
म पनि उस्तै प्रश्न दोहोर्‍याइरहेको छु
निर्धक्क प्रश्न सोध्न पाइने युगका निम्ति
तर, शासकहरु प्रश्न मनै पराउँदैनन्।

शासकहरु
स्वीकारुन् वा नस्वीकारुन्
फूल त फूल्छन् नै
घाम त झुल्किन्छ नै
बागीहरुले विद्रोह त गर्छन् नै
समय लाग्छ, त्यो बेग्लै कुरा हो
तर, चुप लाग्नु मान्छेको स्वभाव होइन
झिल्काहरु त भर्भराउँछन् नै।

ओ शासकहरु,
मान्छेले बाँच्नै नपाउने
प्रश्न सोध्नै नपाउने
बोल्नै नपाउने
कथित धर्मको
म पनि विरोधी हुँ
म पनि कविता लेख्न सक्छु
आऊ मलाई पनि फाँसी देऊ।


 

More form the Internet

loading...