Suvadin, Home

आत्महत्या

उत्तमको हालत देखेर मेरो मन निकै डराएको थियो। उसको दुइटै हातखुट्टा नचल्ने अवस्थामा थिए, म उदास थिएँ, जीवनका सम्पूर्ण मोडहरु सकिएजस्तै निराश थिए। उत्तमलाई भन्नको लागि सहानुभूतिको भाषा थिएन मसँग। अचिन्तनीय पारामा दिमागका नशाहरु दुखेको अनुभव भइरहेको थियो। होस आएपछिको पहिलो भेट थियो उत्तमसँग। होस आए पनि अाँखा हेरेको थिएन। ‘कृपया तपाईंहरु अब बाहिर गइदिनुस्,’ सेतो कोटमा कालो चस्मा लगाएको डाक्टरले चुच्चो नाक तान्दै बोल्यो। 

अञ्जना केसी थापा


आइसियुमा सुतिरहेको उत्तमको बेडमा आएर पटक-पटक बोलाएँ। ऊ बोलेन।

‘तिमी, चिन्ता नगर उत्तम ठिक हुन्छ। केही समय लाग्ने छ। तर, तिमी पूरा निको हुनेछौ।’

उसले सुन्यो वा सुनेन, तर म बर्बराउँदै बोलिरहे,काँपेको स्वरमा। 

दिनको ३ / ४ पटक बोलाएँ। बोलेन।

मैले तीन दिनदेखि उत्तमको होसको प्रतिक्षा गरेकी थिएँ। बल्ल उत्तमको होस् आएको कुरा डाक्टरले बताएका थिए। अब मलाई केहि आशा पलाए पनि खुसी हुने अवस्था थिएन।
  
उत्तमको हालत देखेर मेरो मन निकै डराएको थियो। उसको दुइटै हातखुट्टा नचल्ने अवस्थामा थिए, म उदास थिएँ, जीवनका सम्पूर्ण मोडहरु सकिएजस्तै निराश थिए। उत्तमलाई भन्नको लागि सहानुभूतिको भाषा थिएन मसँग। अचिन्तनीय पारामा दिमागका नशाहरु दुखेको अनुभव भइरहेको थियो। होस आएपछिको पहिलो भेट थियो उत्तमसँग। होस आए पनि अाँखा हेरेको थिएन।
‘कृपया तपाईंहरु अब बाहिर गइदिनुस्,’ सेतो कोटमा कालो चस्मा लगाएको डाक्टरले चुच्चो नाक तान्दै बोल्यो। 

‘उसलाई कस्तो छ डक्टर?,’ मैले सोधें।

‘बिरामीको अवस्था चिन्ताजनक छ। हामी डाक्टरहरु उसलाई राम्रोसँग ट्रिटमेन गर्दैछौं। बिरामी होसमा आएकोले बाच्ने आशा पलाएको छ। अब भगवानमाथि भरोसा गराैं।’

डक्टरको कुराले मलाई झनक्क रिस उठ्यो। तीन दिनदेखि हस्पिटलमा डाक्टरहरुले उसको ट्रिटमेन गर्दैछन्। फेरि फोकटमा के भगवानको कुरा गर्या हुन्? रिसलाई मनभित्रै दबाएर ढोकाबाट बाहिर निस्किएँ।

नैकाप हामीहरु बस्ने डेरादेखि नजिकको मुख्य रोडमा एउटा टिपरको ठक्करबाट उत्तम बेहोस भएकै अवस्थामा सुप्रिमले बाटोबाट उठाएर उत्तमलाई हस्पिटल पुर्याएको थियो।
सुप्रिम, जसले गर्दा मेरो उत्तम बाँच्यो। मनमनै धन्यवाद भनें सुप्रिमलाई। 

उत्तमको दुर्घटना हुने दिन अँध्यारोको च्यादरले सहरलाई चुर्लम्म छोप्दै थियो। जाडो मौसममा निकै छिटो रात पर्छ। काठमाडाैं छिर्ने गाडीको घुइँचो थानकोटदेखि कलङ्कीसम्म लस्कर थियो। पातलो बस्तीतिरबाट चराहरु बासस्थान फर्कंदै गरेको आवाज सजिलै सुन्न सकिन्थ्यो। ठूला, ट्रकहरुले कान फुटुन्जेल हर्न बजाएका थिए। त्यो बाटो पैदल हिँडेर जाने आउने मेरो बाध्यता थियो। म बिचरीको कुनै साधन थिएन। अाठ हजार स्कुलले दिएको तलबले गाडी भाडा तिरेर मलाई हिँड्न पुग्दैनथ्थो। सँधैं पैदल हिँड्थें। हुन त पैतीस चालिस मिनेटमा म सजिलै स्कुल पुग्ने फर्किने गर्थें।

भर्खर रुमभित्र छिरेकी मात्र थिएँ। 

आउँदा ढोका खुल्लै थियो। सामानहरु लथालिङ्ग थियो। हाम्रो एउटै मात्र कोठामा चार खुट्टा पलङ्ग, ग्यास राख्ने  र्याक। खाली ठाउँ जम्मा एक हात मात्र थियो। उत्तम र मेरो लुगा राख्नको लागि भित्तामा काँटी ठोकेर झुन्डाएका लुगा पनि खाटमा लथालिङ्ग थिए। न त उत्तम थियो नत उत्तमको वैशाखी नै।

मैले उत्तम...उत्तम भन्दै आवाज निकालेर बोलाएँ। बोलेन। घर छिमेकीलाई सोधें खै हामीले त देखेनौं भने। मेरो मन अत्तालियो। जाडोमा पनि डरको कारणले पसिनाले निथ्रुक्क भिजेँ। कहाँ गयो होला रात परिसक्यो। उसको चिन्ताले जलाउन थाल्यो।

ठूलो सास फेर्दै म पलङ्गमा बसें।

अढेस लगाउन सिरानी पल्टाएँ, त्यहाँ एउटा पेपर देखें। पेपरमा रातो पेनले लेखिएको थियो -

मेरी सुमी,

धेरै मायँ।

मन त छैन, तिमीलाई मेरी भन्ने तर माया लाग्छ। मन मसँग नभए पनि कमसेकम आठ/दस घन्टा तन मेरो सामीप्यमा हुन्थ्यो। काम गरेर मलाई पाल्ने बहानामा तिमीले म अपायक हुनुको फाइदा उठायौ। मलाई बन्द कोठामा तिमीबिनाका बाँकी पल बिताउन कति गाह्रो हुन्छ त्यो महसुस तिमीले कहिल्यै गरिनौं। मलाई यो एक्लोपनले जिउने इच्छा मरिसक्यो। सुम, म आज तिमीलाई स्वतन्त्र छोडेर जाँदैछु। अब तिमीलाई मेरो लागि काम गर्नपर्ने छैन। मेरो कचकच सुन्न पर्ने छैन,  समयमा घरमा आउनु पर्ने छैन, मलाई खोज्ने कोसिस नगर है?

- तिम्रो जीवनमा साथ दिन नसकेको अपायज उत्तम 

मेरो शरीर पसिनाले निथ्रुक्क भिज्यो। मुटु हातखुट्टा लुगलुग काँपिरह्यो, मोबाइलमा फोनको घन्टी बज्यो। म झस्याङ्ग भएँ,  डराउँदै फोन उठाएँ।

हेलो... हेलो सुमी!

उत्तम बाटोमा मुर्छित अवस्थामा थियो। कुनै गाडीले ठक्कर दिएछ। टाउकोमा ठूलो चोट लागेको रहेछ। मैले बीएन्डबी  हस्पिटलमा लिएर आएको छु। तिमी तुरुन्तै यहीँ आँउ। डाक्टरहरुले अप्रेसन थिएटरमा लगेर उसको उपचार गर्दैछन्। उसको होस् आएको छैन।

मेरो हात काँप्यो मोबाइल भुइँमा खस्यो। चेत हराएजस्तो भान भयो। उत्तमको पुरुषोत्तले आत्महत्याजस्तो निच काम गर्न पछि परेनछ भनेर थप आक्रोस उत्पन्न भयो। जुरुक्क उठेँ। पर्स हेरेँ। पैसाको नाममा २०० मात्र थियो। यतिबेला गाडी पाउने चान्स थिएन। ट्याक्सी समातेर हस्पिटल आएँ।

सुप्रिम अप्रेसन थिएटरको बाहिर निन्याउरो अनुहार लिएर उत्तमको स्वास्थ्यलाभको कामना गर्दै बसिरहेको थियो।

सुप्रिम के भयो यो सब?

आँखाभरि आँशु लिँदै उसको चिठी देखाएँ। सुप्रिमले पढ्यो। स्वास्नी अगाडि बढेको, काम गरेको देख्न नसक्ने पुरुषवादी मानसिकताका कारण यो सब भा’को हो भन्दै करायो।

रगत धेरै बगिसकेकोले उसको हालत चिन्ताजनक छ। अपरेसनको लागि आवश्यक औषधी ल्याइदिसकेको छु। डाक्टरले रगत चाहिन्छ भनेकोले संजोगले उत्तमसँग मेरो ब्लड ग्रुप मिल्यो। दुई पाउण्ड ब्लड पनि निकालेर भित्र लगिएको छ। आशा गरांै सुमी उत्तमलाई छिट्टै निको हुनेछ। 

सुप्रिमको सान्तवनाले म खुसी थिइनँ। मेरा हात खुट्टा झन् लगलगी काँपिरहेका थिए। हुन त उत्तमसँगका मेरा दिनहरू सुरूदेखि नै सुखद् थिएनन् नै। उसलाई केही भइहाल्यो भने पनि म जिउनुको अस्तित्व थिएन।

बिरामी कुर्ने स्थलमा गएर थचक्क बसेँ। भावविहीन र विचार शून्य अवस्थामा। मेरो मनमा भयानक सन्नटा छायो। मेरो मानसपटलमा ऊ सँग बिताएका तीता मीठा पलहरू तँछाडमछाड गरेर आएँ।
उत्तम र मेरो भेट तीन वर्ष पहिले फेसबुकमा भएको हो। म कलेजबाट भर्खर रुममा आएर फेसबुक डाटा अन गरेकी मात्र थिएँ। एड नगरेको नामबाट म्यासेज आयो।

सुमी चिन्यौ?

म उत्तम।

नाम कतै चिने जस्तो लाग्यो। कतै सुनेजस्तो। आफ्नोपनले भरिएको आवाज, आत्मीयताले ओतप्रोत आवाज!

अस्वादिलो मुस्कानका साथ मैले भनें, ‘चिनिन न त?’

तिमी मलाई चिन्दिनौं। तर, म तिमीलाई आज होइन धेरै पहिलेदेखि चिन्छु। 

उसले मेरोबारे घरको बारे, बाआमा दाजुभाइ सबैबारे भन्दै गयो। अझै थप्दै थियो। ‘जब तिमीले जीवनको रंगिन संसारमा पाइला टेक्यौ। त्यतिबेला नै तिमीसँगको चिनारी मेरो लागि पुरानो भइसकेको थियो।’ 

त्यो मान्छे बिनादिशाको बतासजस्तै बगिरहेको थियो। ऊ दृढ विश्वासका साथ निकै प्रभावशाली बनेर मीठो शब्दहरूलाई मालामा उनेर मेरासामु पस्किरहेको थियो।

म अक्न न बक्क भएर प्रक्रियाविहीन भई स्माइली मात्र पठाइरहें। उसका कुरा बीचैमा काटेर म केही बोल्ने सामर्थ्य जबरजस्ती जुटाएँ।

मैले हतार–हतार उसको प्रोफाइल हेरे कहीँ कतै कुनै फोटो थिएन। थियो त फोटो हराएको मान्छे।

मैले भनेँ, ‘हेर मलाई माफ गर।’

सायद तिमी अरु कोहीसँग कुरा गर्न खोज्दै थियौ। अफसोच! नाम संजोगले मिल्यो।

म आफूलाई कठोरताको कठहारमा उभ्याउने असफल प्रयास गर्दै बोलें। आम नेपाली नारीहरु जो संकुचित र लज्जाशील प्रकृतिका हुन्छन्। म पनि त्यो बाट अछुत हुन सकिनँ।

म हत्तपत्त बोलेँ, ‘मलाई रात परिसक्यो तिमीसँग बिना मतलबका गफ गर्न थालेँ भने मेरो रात यही फेसबुकमै बित्छ। म अफलाइन भएँ। एक सासमा कुरा सकेँ।

‘म भोलि यही टाइम प्रतिक्षा गर्नेछु,’ उसले भन्यो।

कता कता मेरो मनमा सिरेटो चल्न थाल्यो। जीवन जतिसुकै कत्रिम र बिडम्बनायुक्त लागे पनि नारी हृदयमा एक आत्मा आभियान वा गर्वभाव विद्यमान नै रहन्छ।

सायद म मा पनि त्यो अनुभूत भयो। अपरिचित मान्छे! परिचित शब्दहरु!

मन तातो भयो एउटा गर्बिलोपनको बोध भयो। म आफंैभित्र उद्धेलित भएँ।

त्यो मान्छे को हो? जसले मेरो बारेमा चासो राख्दछ वा मेरो बारेमा सबै जान्दछ। मैले उसकै बारेमा कल्पना गर्दै खाना पकाएँ। मलाई खपिनसक्नु भयो। ऊ को हो भन्ने कौहुतलताले। अनि पछि त आफैंले बोलाएँ, अनि राम्रोसँग कुरा गरेँ। फोटो पठाउन आग्रह गरेँ, उसले फोटो पठायो। अनि पो थाहा भयो हामीसँगै पढेको तर बसाइँ सरेर तराई झरेको उमकान्त शर्मा रहेछ। पछि पो उसको नाम उत्तम राखेको रहेछ।

हाम्रो कुराकानी निरन्तर भइरह्यो। कुराको निरन्तरताले धेरै नजिक बनायो। अब सुरु भयो उसको र मेरो प्रेम कहानी। हामीले तीन महिनामा नै भागेर बिहे गर्यौं।

बिहे गरेको केही समयपछि उसको बाइक एक्सिडेन्ट भएर खुट्टा भाँचियो। हामीसँग भएको पैसा सबै सकियो, उपचारको कर्ममा। उसको काम गर्ने अवस्था थिएन। ऊ घरमा बस्ने र म काम गर्नु पर्ने भयो। ऊसको पुरुष मानसिकतालाई सह्य भएन। मैले जब सुरु गरेको एक महिनापछि उसको व्यवहार फरक हुँदै गयो। वनको बाघले खाओस् नखाओस् मनको बाघले उसलाई पूरै खायो। अनि विभिन्न लाञ्छनासहित ऊ उत्रियो। 

केही दिनयता मेरा हरेक रात भयंकर र कहालीलाग्दा बनेका थिए।

बाल्यकालदेखि विद्रोही स्वभावकी मैले कसैको सानो अन्यायलाई पनि सहिनँ, त्यसलाई पचाउन सक्ने सामर्थ्य म मा कहिल्यै भएन। कोही पीडित भएर आँशु बगाएको म कहिल्यै हेर्न सकिनँ। गाउँ, समाज, स्कुल, पार्टी, पौवा, कचरी कतै पनी कसैलाई दबाएको वा शोषण गरेको हेर्न चाहेनन् मेरा आँखाले।

त्यसको विरुद्ध सँधैं आवाज उठाएकी मैले। पछिल्लो चरणमा आफ्नो जिन्दगीमा नै शारीरिक वा मानसिक दुबै रुपमा क्षतविक्षत भइसकेकी थिएँ।

म उसलाई वैचारिक रुपमा सम्झाउन सकिनँ। सम्हाल्न सकिनँ। उसका अगाडि मेरा सैद्धान्तिक कुराहरू ओझेलमा पर्थे। मेरा कुनै कुरा सुन्न तयार हुँदैनथ्यो।

ऊ पटक–पटक सानातिना कुरामा निहुँ खोज्ने, झगडा गर्ने गर्थ्यो।

ऊ निकै रमाउँथ्यो मलाई तड्पाउन पाउँदा। विभिन्न गालीगलौज गर्न पछि पर्दैनथ्यो। मलाई रुवाउनु जलाउनु तड्पाउनु, उसको दिनचार्या बन्दै गइरहेको थियो। मेरो आँशुमा ऊ असिम सुखको अनुभूति गर्थ्यो।

तर, म चुपचाप बसिरहेँथे, केही बोल्दैनथेँ।

उसको अवस्था देखेर ऊ प्रति मलाई रिस कहिले उठेन। तर, उसले मेरो त्याग ऊ प्रतिको समर्पणको धज्जी उडाएर मेरो भावनाको अपमान गर्थ्यो।

केही क्षणमा ऊ वास्तविक धरातलमा फर्कन पनि चुक्दैनथ्यो। जसै ऊ आफ्नो आवेगहरु शान्त पाथ्र्यो तब माफ गर सुमी तिमी मेरा लागि खटेकी छौ। यस्तै यस्तै शब्दले बोल्ने गर्थ्यो। तर, त्यो बोलीको कुनै आकार थिएन।

किनकि उसले गरेको कुरुपताको छाप हेरिनसक्नुको र गनिनसक्नुको थियो। तैपनि एकैछिन भए पनि ऊ राम्रो बोल्दा। वा ऊ सँगको सामीत्यताले असिम तृप्ति मिल्थ्यो मलाई।
जब म स्कुल हिँड्थे तब फेरि कराउन सुरु गर्थ्यो। जब क्रुरता र अविश्वासका झट्काहरू फाल्न थाल्थ्यो तब आकाशजस्तो विशाल माया साँघुरिएर किनार हुन थाल्यो। हिमालजस्तै चोखो र

गगनचुम्बी माया पग्लिएर विस्तारै जमिनतिर भासिँदै थियो। मैले त्यो मायाको पतनलाई मुस्किलले जोगाउने प्रयासमा लाग्थें। उसका हरेक शब्दहरुलाई सामान्य रुपमा लिनु मेरो खुबी थियो। उसका हरेक शब्दहरू असहज लागे पनि आफूलाई सम्हाल्थेँ। किनकि म उसलाई अत्यन्तै माया गर्थें। 
उसका गल्तीहरु प्रेमको अगाडि ओझेलमा पार्न खोज्दै म चुपचाप स्कुल जान्थेँ।

कुनै बेला रिसको बज्र पर्दा छोडेर जाउँ लाग्थ्यो, मेरो नारी हृदयले मान्दैनथ्यो। समाजका आँखाले मेरो पीडा कहाँ बुझ्थ्यो र लंगडो बुढो छोडेर गई भन्थे होलान्। आईमाई मान्छेको मात्र गल्ती देख्ने हाम्रो समाजले महिला जतिसुकै निर्दोष भए पनि आखिर दोषी देख्ने गरेको छ। उत्तमलाई केही भइहाल्यो भने पनि स्वास्नीका कारण मर्यो भन्नेछ हाम्रो समाजले।

उत्तम शर्माको मान्छे को हुनुहुन्छ? नर्सले ठूलो आवाजमा सोधिन् म बसेको ठाउँमा आएर।

म झसङ्ग भएँ। कल्पनाबाट बाहिर आएँ।

‘हजुर म सिस्टर।’

तपार्इंलाई डाक्टरले बोलाउनु भएको छ।

म हतारहतार आइसियुमा गएँ, उत्तमको टाउकोदेखि खुट्टासम्म कपडाले छोपिएको थियो। डक्टर के भयो उत्तमलाई कस्तो छ?

सुमी जी,

तपाईंको श्रीमानको मृत्यु भइसक्यो।

तपार्इंको बिरामीलाई हामीले बचाउन सकेनौं...। सरी।
 


 

More form the Internet

loading...