Suvadin, Home

शुभ शनिबार
कथाः जहाँ धर्मभन्दा कर्म माथि हुन्छ !

तर, उल्टै गाली पो खाएँ। म बरण्डामा बसेर निकै बेर रोएँ। यो सब दृश्य अहम्मदको दाजु सलिमले बाटोमा साइकल रोकेर हेरिरहेको थियो। बुबाले गाली गर्दै खेदाउनु'भो उसलाई। भोलिपल्ट चौतारामा बसेर सागरले चङ्गा उडाको हेरिरहेको बेला सलिम दाजु आउनुभयो। र,  काँधमा हात राख्दै भन्नुभभो, 'तलार्इ अहम्मदले खुब याद गर्दैछ।
प्रतिकात्मक तस्वीर।

अनिल बिष्ट


नेपालगञ्ज शहर। साँघुराे सडक छिचाेल्दै पुगिने चाेक। जसकाे नाममा हाे सुन्दरचाेक। जहाँ खुशीका अनेक रंगहरु थिए। अहिले त त्यहाँ ठूलाठूला कंक्रिटका भवनहरु छन्।

तर, त्यसबेला त्यहाँ रुखपातले घेरिएका साना-साना झुपडीहरु थिए। त्यहीमध्ये एक झुपडीमा मेरो जन्म भएको थियो। र, मेरो जीवन कथाको शुरुवात पनि त्यही भएको थियो।

खै, कहाँबाट शुरु गरौं यो कथा। यसलाई कथा मात्रभन्दा अन्याय होला। यो त मेरो जिन्दगीको एक सुन्दर स्मृति हो। म नेपालगञ्जको कुनै एउटा कुनामा रहेको सुकुम्बासी वस्तीमा जन्मिएको केटो।

दिनभरि बुवाले मजदुरी गरेर ल्याएको पैसाले मुस्किलले हाम्रो पाँच जनाको परिवारको गुजारा चलेको थियो। मलाई प्रष्ट सम्झना छ कि, बुवाले राति एउटा स्कूलको रेखदेख गरेवापत मैले स्कूल पढ्ने मौका पाएको थिए, जुन मेरा दाजुदिदीहरुले पाएनन्।

म करिब १२ वर्षको थिएँहोला। त्यो बेला गाउँमा दशैंको चहलपहल शुरु हुँदै थियो। मेरो एउटा निकै मिल्ने होचो कदको हँसिलो अनुहार गरेको साथी थियो, अहम्मद।

म अहम्मदसँग खुब मिल्थें। हामी घन्टौंसम्म खोलामा पौडी खेल्थ्यौं। ढुङ्गाका कापमा लुकेका स-साना माछा छाताको सुइँरो, डटपेनको खोल र रबरले बनाएको हतियारले मार्थ्यौं।

बनियाँजीको बारीको उखु र भोगटे चोरेर खोलाको डिलमा बसेर खान्थ्यौं। र, कहिलेकाही उसको बुवा अब्दुल चाचाको पसलबाट ल्याएको लालमोहन र जेरी मिलेर खान्थ्यौं।

अहम्मद थियो, र त त्यो संसार थियो। अहम्मद थियो र त त्यो हसिन बाल्यकाल थियो। घटस्थापानाको दिन चौतारीमा लंगुर बुर्जा खेलाउँदै थिए। मैले बुवाको खल्तीबाट चोरेको दश रुपैयाँ अहम्मदसँग गएर लंगुर बुर्जामा चढाएँ।

बेलुका घरमा थाहा भएछ, खै कसरी हो कुन्नी  मेरो रामधुलार्इ भयो। 'त्यो फातिमाको बच्चाको संगतले हाम्रो हरी बिग्रिसक्यो' आमाको यो गाली सुनेर पल्लो घरबाट फातिमा चाची बाझ्न निस्कनुभयो।

यसरी अहम्मद र हाम्रो परिवारबीच मनमुटावको पर्खाल खडा भयो। र, अब मेरो अहम्मदसँग भेट्नै बन्द भयो। सबैको घरमा दशैंको खसी ल्याएको देख्दा बुबालाई मैले नि खसी ल्याउन जिद्दी गरें।

तर, उल्टै गाली पो खाएँ। म बरण्डामा बसेर निकै बेर रोएँ। यो सब दृश्य अहम्मदको दाजु सलिमले बाटोमा साइकल रोकेर हेरिरहेको थियो। बुबाले गाली गर्दै खेदाउनु'भो उसलाई।

भोलिपल्ट चौतारामा बसेर सागरले चङ्गा उडाको हेरिरहेको बेला सलिम दाजु आउनुभयो। र,  काँधमा हात राख्दै भन्नुभभो, 'तलार्इ अहम्मदले खुब याद गर्दैछ। ए, अनि तलार्इ साँच्चै खसी चाहिएकै हो भने रत्नेको ग्याङ्ले चिट्ठा खेलाउँदै छ, एउटा चिट्ठा काट् अनि खसी परेन भने पनि टीकाकै दिन तलार्इ पचास रुपैयाँ दिउँला।'

निकै समय अलमलमा परेपनि भोलिपल्ट बिहानै खुत्रुके फुटाएर रत्ने दार्इसँग एउटा चिट्ठा लिए। चिट्ठा फूलपातिको दिन खोलिने भयो।

बिहानैदेखि मौसम सफा र न्यानो थियो। सूर्यको प्रकाशले क्षीतिजमा पहेँलो रंग छरेको देख्दा लाग्थ्यो कि, साँच्चै त्यो आकाशलार्इ पनि दशैं लागेछ। चौतारीमा बिहानैदेखि मान्छेहरू हातमा चिट्ठा लिएर बसिरहेका थिए। रत्ने दाजु र उसका साथीहरुले सबै पुरस्कार ल्याएपछि चिट्ठा खोलियो।

जब १२२ नम्बरको मेरो चिट्ठामा २० किलोको खसी पर्यो, तब मेरा हातगोडा लगलग काप्न थाले। म दगुर्दै गएर बाबालार्इ बोलाएर ल्याएँ। घरमा खसी काट्ने कोही नभएकाले बाबाले रत्ने दाइलार्इ नै आइदिन भन्नुभयो।

जब सेतो खसीलार्इ डोरीले बाँधेर घरतिर लादै हुनुहुन्थ्यो बाबा म पछि-पछि खुशीले गजक्क पर्दै हातमा बाँसको सिर्कना बोकेर पछ्याउँदै थिएँ। अष्टमीको दिन खसी काटियो। घरमा खुब रमाइलो माहोल थियो।

मैले आमालाई भने, 'आमा अहम्मदलाई नि बोलाम् न ल आज। उसले त सधैं मिठो-मिठो कुरा खुवाउँछ, इदमा।'

'अब फेरि ती अलच्छिनाका सन्तानको कुरा गरिस् भने तेरो थुतुनो भत्कार्इ दिन्छु,' आमा निकै जंगिनुभयो। यो सुनेर रत्ने दार्इ अचम्म मान्दै भन्नुभयो, 'काकी के भन्नु भा'को हजुरले त्यस्तो?

उनीहरु जस्तो असल छिमेकी पाउन त धेरै गाह्रो छ। हिजो अहम्मदको दाजु सलिमले मलार्इ दुई हजार रुपैयाँ दिएर कुरा नमिलाएको भए हजुरले खसी कहाँ पाउनुहुन्थ्यो होला र। हरिले एकदम खसी घरमा काट्न रहर गर्दैछ भनेर मलाई जसरी भए नि चिट्ठा पार्दिनु भनेको थियो।'

यति कुरा सुन्ने बित्तिकै आमा त तिनछक्क पर्नुभयो। आमा केही नबोली सरासर जानुभयो। म रत्ने दाजु र ठूलो दादाले खसी भुत्याएको र टुक्राएको चाख मानेर हेर्दै बसें। बेलुका घरमा रमाइलो वातावरण थियो।

दिदी र आमा खानपिनको सुरसार गर्दै हुनुहुन्थ्यो भने दाजु र बुवा खाना खान बस्ने ठाउँ मिलाउँदै हुनुहुन्थ्यो। धेरै दिनपछि कोही पाहुना आउन लागे जस्तै लाग्दैंथ्यो मलार्इ। करिब आठ बजेतिर जब अहम्मद आयो तब म छक्क परे, अझै आश्चर्यमा त तव परे जब अब्दुल चाचासहित पुरै परिवार नै पो आउनुभयो।

दिउँसो आमाले नै बोलाउनु भएको रहेछ दशैंको भोज खान। अहम्मदको र मेरो बाबा एकातिर हाँसिमजाक गर्दै हुनुहुन्थ्यो भने फातिमा चाची र हाम्री आमा एकअर्कासँग माफ माग्दै भावुक कुरा गर्दै हुनुन्थ्यो।

सलिम दाजु, अहम्मद र म भने पिरामा बसेर आमैहरुको गफ सुन्दै मुसुमुसु हाँस्दै खसीको पोलेको कान र आन्द्राभुडी चबाउँदै थिम्। त्यो रातको खानाको स्वाद नै बेग्लै थियो। किनभने त्यहाँ माया, समझदारी, सहिष्णुता र मेलमिलाप थियो। अहम्मदको दाजु सलिमले गरेको त्यो समझदार व्यवहारले दुई परिवारको अटुट मित्रता गाँसियो।

त्यस दिनदेखि आजसम्म पनि हामी एकअर्काको चाड मिलेर धुमधामसँग मनाउँछौं। अहम्मद डाक्टरी पढ्न बंगलादेशमा छ। आजकल सलिम दाजु विराटनगरमा मालपोत कार्यालयको हाकिम हुनुहुन्छ। उहाँले मेरा हरेक कथा पढ्नुहुन्छ रे। सायद यो कथाले उहाँलार्इ हाम्रो विगतका सम्झना ताजा पो गर्ने हि कि!


 

More form the Internet

loading...