तिलान्जली
रक्सीको चुस्कीसँगै मात्तिएको मेरो जीवन। यही मात्तिएको जीवनले प्राप्त गरेको सफलता। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पछिल्तिर पार्दै म काठमाडौंको खाल्डोमा उत्रिन्छु। एकाएक धमिलिएको काठमाडाैं उजाड नै रहे पनि रंगिन भेट्टाउँछु।
तृष्णाका लहरहरु चक्रपथको बाटोमा गुडिरहेको देख्छु। नितान्त ज्ञानले भरिपूर्ण। केही आनन्दित महसुस हुन्छ। लेखले पूर्णता पाएको जीवन, साहित्य जगतमा कोरिएको मेरो नाम। जुन पन्नामा मेरो मुहार अङ्कन छैन नाम, जसमा मेरो कालो रङ दल्मलिएको छैन। जसमा कालो पोतो विलेप गरिएको छैन। उपन्यासका खुल्ला पत्रमा मेरा बिग्रिएका बंगारा अङ्कन हुन्थ्यो या झ्याम्मिएको दारीले पूर्णता प्राप्त गर्थ्यो या लट्टिएको कपालले स्थान पाउँथ्यो त म कहिल्यै स्थापित हुने थिइनँ।
चुरोटको धुवाँको मुस्लोसँगै हराएको सन्त्रासले आज मलाई यस स्थरमा ल्याइपुर्याएको छ। म कति पनि हड्बड्डाएको छैन, आफ्नो सफलतादेखि, आफ्नो प्राप्तिदेखि आफ्नो अतीतदेखि, आफ्नो प्रेमदेखि। उपन्यासको चयमा आज म पुरिएको छु। एउटा पचपन्न वर्षे बुढो, म कुनै जगन्नाथ होइन तर पनि आमद्वारा पछ्याइएको छु। जुन छालाले मलाई आफैंदेखि घृणित तुल्याएको थियो, त्यो छालामा थप चमक छैन, अझै बढी खुम्चिएको छ तर आज कसैले औंल्याउने ठाउँ भने बाँकी रहेको छैन। मेरो पार्थिव शरीर हेरेर कसैले अड्कल लगाउन सक्दैन, कुन ठाउँबाट उठेको मान्छे, कुन ठाउँ सम्म चुलिएको मान्छे।
आँखा राम्ररी देख्दिनँ, पचपन्न वर्षे बूढो, आँखामा गोलो चश्मा नाकको डाँडीसम्म छोइएको झ्याम्म फुलेको दाह्री, लट्टिएको कपाल अनि एकापट्टी फुस्किएको दाँत र अर्कापट्टी बिग्रिएको बंगारा। ङिच्च हाँस्दा जोकोही पनि सन्त्रासले व्याकुल हुन सक्छ। बाह्येन्द्रियको आधारमा धेरैपटक रित्तिएको छु। धेरैपटक यी सडकहरुले गिज्याएका छन्। यिनै सडक जुन सडकलाई आज म धेरै उचाइबाट नियाल्छु अनि गिज्याउने प्रयत्न गर्छु। मेरा अनगिन्ती भोगाइको प्राण लुकेको अतीत जुन भोगाइमा कलश लुकेकी छ अनि अतीत लुकेको यो सडक।
मेरो छाला खुकुलो भएको छ। म खुम्चिएको छु। जतिजति खुम्चिँदै जान्छु उतिउति मेरा उपन्यासका पन्नाहरु फिजिँदै जान्छन्, मेरो नाम तन्किँदै जान्छ। म हिँड्न चाहन्छु, धेरै भयो यो उचाइको हेराइ, म नजिकिएर जिस्काउन चाहन्छु यो सडकलाई। यहाँका रेखाहरुलाई, भित्ताहरुलाई अनि सडक अंकित मेरो अतितलाई। तार्के जुरेलीझैं चुलिएको मेरो उचाइलाई एकपटक म जमिनमा राखेर डोर्याउन चाहन्छु। एकपटक चत्वरमा शितल ताप्न चाहन्छु, आफ्ना चहरिँदा अतीतहरुमा मलम लगाउन चाहन्छु। परिवर्तन गर्न चाहन्छु त्यो थोप्लो वृष्टिसँगै वर्षिएका घटनाहरुलाई, मेरो प्रेमलाई, मनोद्वेगले निम्त्याएको त्रासलाई, कामुक सुन्दरतालाई। वशको कुरा हुन्थ्यो त खत्तम गरिदिन्थेँ उसको बाहिरी आवरणलाई चिर्सिने गरी, रगताम्य पारिदिन्थेँ उसको मुहारलाई। एउटा एउटा केश उखालेर धुजाधुजा परिदिन्थेँ। ज्वारझैँ भएको थिएँ म चन्द्रमाले आफ्नो मुहारमा हाँसो प्रदर्शन गर्दा जसरी समुन्द्री छाल ऊ प्रति मोहित र उन्मत्त हुन्थ्यो, कलशको ज्वलित मुहारमा दौडिएको हाँसोले मलाई लठ्याउँथ्यो, छक्याउँथ्यो, गिज्याउँथ्यो, मदमत्त बनाउँथ्यो।
म ऊ पट्टि अनायसै कामुक भएको थिएँ। उसलाई ममा कुनै दिलचस्पी थिएन, न त बिग्रिएको दाँतमा, न त पोतो भरिएको छालामा, न त लट्टिएको कपालमा। सडकमा भौँतारिएको लट्टे बौलाहाझैँ भौँतारिएको थिएँ उसको पछि। यिनै सडक जहाँ आज मैले पाइलासम्म राख्नु परेको छैन। पानीले भरिएको जलपात्रमा आफ्नो आकृति औलिएझैँ, यी सडकका कुना–कुनाले मेरो अतीतको आकृति औंल्याउँछ।
म विवश हुन्छु। कारका सिसाहरुले मलाई घच्घच्याउँछन्, म बिउँझन्छु। ढोकाले बाहिर निक्लन इशारा गर्छ, म स्थिर रहन खोज्छु। पराकाष्ठातकले भ्याएसम्म म अडिन्छु, म हत्तु हुन्छु। मेरो शक्तिको केही लाग्दैन, म अनियन्त्रित हुन्छु अनि गाडीलाई रोक लगाएर म उत्रिन्छु, पुरानो तर बिरानो भएको सडकमा, त्रुटिल सडकमा। एउटा महिला आकृति परैबाट नियाल्छु। मभन्दा केही हद वृद्धा छाला खुम्चिएर आँखा पुरिएका, ओठ लेप्रिएका, कपाल सेताम्मै फुलेका। ऊ नजिकिन्न, म पट्टि हेर्दिन। म हेरिरहन्छु। ऊ धेरै अगाडि बढिसकी। आफ्नो मुडुलो टाउको बटारेर म उसलाई हेरिरहन्छु, हेर्दाहेर्दै ऊ ओझेल पर्छे। हो, त्यो बृद्धा कलश हुन्। म ठम्याउँछु। तृष्णाले मन भारी बनाउँदै सडकबाट आफ्नो पाइला अगाडि बढाउँछु। चोक चोकले तिनै स्मृति गराउँछन्। म विक्षिप्त हुन्छु। उसको चक्रधुमलाई याद गर्छु।
म सहन सक्दिनँ। म उसलाई त्राहीत्राही पार्न चाहन्छु। उसका खुम्चिएका गालालाई रगडेर रगताम्य पार्न चाहन्छु, सेताम्मे फुलेका कपाललाई बेस्सरी समातेर भन्न चाहन्छु, ‘कलश तिमी रित्तिइसक्यौ, तिम्रो यौवन र सुन्दरता उजाडिइसके, यी हेर त म उस्तै छु, मेरो विगतभन्दा वर्तमान बढी हरिया छन्।’ यसो भनिँरहदा ऊ मबाट फुत्किन खोज्छे, म उसलाई अझै बेस्सरी अठ्याउँछु र भन्दै जान्छु, ‘कलश, जुन जमातमा तिमीले मलाई लछारिदिएर चपर्चण्डी स्वभाव दर्शाएकी थियौ। आज त्यही जमात मेरो पछि परेको छ। मेरो हाईहाई गर्नमा व्यस्त छन्। हेर त कलश, कति भिन्नता छाएको छ यो पुरानो सडकमा पनि। तिम्रो सुन्दरताले चिरनिन्द्रा प्राप्त गरेको छ, तिमी ओइलिएकी छौ कलश, म उदाउँदै छु। तिमीसँग घमण्ड गर्न अब केही बाँकी रहेन कलश। तिमीभित्र मात्र खोक्रो श्वास अड्किएर बसेको छ। बूढो त म पनि भएको छु, आज ज्वलित मुहार नभएकोमा मलाई कुनै ग्लानी छैन।’
मेरो निस्सार सोचाइ, म थकित छु। कारको सिसाभित्र आफैंलाई ओझेल पार्छु। म निदाउन चाहन्छु, तर सक्दिनँ। त्यही शरीरको आकारले छायाँ बनी तर्साइरहन्छ। एउटा खुकुलो माटोबाट ढुंगा बनेको मान्छे हुँ म। कसरी जलवाष्यमा परिणत भएँ र आज फेरि सित बनेर उनैमाथि छरिन खोज्दैछु। कसरी बिर्सौं फाजिल घटनाले पूर्ण अतीत हो, अतीतले मलाई तर्साइरह्यो।
सुन्दरताको अतृप्त आभासले मलाई पछ्याईरह्यो। मृगतृष्णाझैँ म भागिरहेँ, दौडिरहेँ, छट्पट्टिरहेँ। कालो रातमा सीताराहरु एकअर्कालाई हेरिरहेझैँ म हेर्नमात्र चाहन्छु तिमीलाई। तिम्रो कोमल शरीरलाई, तिम्रो विज्ञप्त अनुहारलाई। तर, तिमी ओझेल परिसकेकी छौ। समयसँगै मलाई छाडेर धेरै पर पुगिसकेऊ, यो नाङ्गो मायालाई, अगाध प्रेमलाई, निःस्वार्थ सोचाइलाई। तिमी मसँग छैनांै कलश, म छट्पटिएको छु, निरर्थक प्रेमीझैँ भएको छु। ऊ सुन्दिन, दुःख लाग्छ। झुन्डिएका यार्लिङले उसको कान ड्यामडुम्म पारिदिएको छ। म पछिल्तिर छु, ऊ मेरो दुई हात अघिल्तिर। उसको पछ्यौरीमा झुन्डिएर भन्न मन थियो, ‘नजाउ कलश, यो शरीर तिमीबिना अधुरो छ, म तृप्त हुन चाहन्छु तिम्रो प्रेममा, तिम्रो अगाध सुन्दरताले म पूर्ण हुन चाहन्छु्र मेरा आँखा तिम्रो सुन्दरतामा लीन छन्। म आफैँमा दबाउन चाहन्छु तिमीलाई, म बिहे गर्न चाहन्छु तिमीसँग।’
ऊ सुन्दिनँ। पछाडि फर्किन खोजेजस्तो गर्छे तर फर्किन्न। ऊ बढ्छे, म विवश छु उसलाई पछ्याउन, छाँयालेझैँ। ऊ ओझेल पर्छे। म त्यो ओझेलसँगै हराउँछु, छायाँ हराएझैँ। प्यारी कलश, म तिमीलाई भुल्न सक्दिनँ। एकाएक ऊ पछाडि फर्किन्छे। म रित्तिन्छु। खोक्रो आशाले ऊ पट्टि आँखा मोड्छु। म तर्सिन्छु, म भित्रको ज्वाला उम्लिन्छ। मेरो आँखाको सपनाले खोक्रो पूर्णता प्राप्त गर्छ। आफ्नो प्रेमलाइ छताछुल्ल पार्न सक्दिनँ, जमिनमा दबाउने प्रयत्न गर्छु। बुटले उक्त जमिनलाई रगड्छु्र अनि बोलाउँछु, ‘कलश।’
उसको आँखामा आँखा जुधाउने सामर्थ्य रहेन अब ममा। म लाचार छु। आँखामा आँखा जुधाउनु अगावै मेरा आँखा केही हद पार गरेर उसको शिरमा पुगिसकेको थियो। एक चिम्टी सिन्दुरले रंगिएको शिर। म विल्कुलै तयार छैन त्यसलाई सिन्दुर मान्न। त्यो त मेरो प्रेम को हत्या हुँदा उछिट्टिएको रगतको छिट्टा हो। रंगिएको बाक्लो केशलाई सुम्सुम्याउँदै, त्यो रातो रङ पुछ्दै भन्न मन थियो, ‘यो क गर्यौ कलशर म तिम्रो लायकको थिइनँ, एकतर्फी भए पनि प्रेम त अगाध नै थियो नि। मलाई तिम्रो सिउँदोमाथि दिलचस्पी छैन। तिम्रो ओठमाथि कुनै दिलचस्पी छैन, म भोको छैन तिम्रो स्पर्शले। म तिम्रो प्रेममा मग्न हुन चाहन्थें, सर्वाङ्ग तिम्रो हुन चाहन्थें। तिम्रो सुन्दरताले लालायित भएकाहरूमध्ये एक म पनि हुँ तर म मा कुनै इर्श्या छैन। वैंश त हजार युवतीमा फुल्छन् मलाई त्यसको तिर्खा छैन, मलाई तिम्रो साथको अपेक्षा थियो। तिम्रो जीवनलाई मेरो प्रेमले विलेप गर्न सकेन। खोक्रो सिन्दुरले आज म रित्तिएको छु। म भित्रका सम्पूर्ण इच्छा रित्तिएका छन्। म भित्र तिमीप्रतिको प्रेम सदाका लागि दबिएको छ।’
कसले जानेको थियो र त्यो पागलप्रेमी र आजको सुधिरमा आउने भिन्नतालाई। धेरै समयसम्म रूपले दोष पायो, मनमा द्वन्द्व चलिरह्यो। प्रेमलाई तिलान्जली दिएर जीवनको खुड्किलो अघि बढाउनु थियो। रूपले ग्लानी पैदा गर्थ्योस् आज दिमागले उच्च स्थानमा ल्याएर पछारिदियो। आज उसको रंग ढलेको छ, मेरो अवस्थाले उचाइ चुमेको छ। बाइस वर्षको तरुण अवस्थाले जुन गल्ती देखाएको थियो, पचपन्न वर्षले उक्त गल्तीमा सुधार ल्याउने मौका दियो। बुद्धिलाई टाउको नामको खबटाले बेरेको न रहेछ। घाम पानी ले उक्त खबटालै पताल्याउँदै लान्छ अनि दिमागलाई तिख्खर बनाउँदै।
म खुसी छु, उपन्यासको वाटिकामा मेरो नाम अमर हुने ढंगमा लेखिएको छ।