Suvadin, Home

Cover Image

यात्रा प्रारम्भ
शुभ देश (भाग-१)

प्रस्तुत अभिव्यञ्जनाहरु कसैलाई खुसी वा दुःखी पार्न लेखिएका होइनन्। संयोगवशः एउटा यात्राले केही हप्ताका लागि हामीलाई जोड्यो। तीन सहयात्रीसहितको त्यो यात्रामा मैले देशका बारेमा जे देखें त्यही लेखें, जे कुरा साथीहरूमा भेटे त्यही लेखें, जे भवना म भित्र सलबलाएर आयो त्यही लेखें र यो पुस्तक तयार भयो। व्यावसायिक प्रतिस्पर्धा र लेखकको सम्मान मेरो खोज होइन, यात्राको क्रममा मनमा विकसित भावनाहरूलाई शब्दको आडमा पोख्न मात्र खोजेको छु ।
सुरेश पाैडेल, गुणराज लुइँटेल, सनत न्याैपाने र प्रभात रिमाल।

( यात्रारत नियात्रा )
प्रस्तुत अभिव्यञ्जनाहरु कसैलाई खुसी वा दुःखी पार्न लेखिएका होइनन्। संयोगवशः एउटा यात्राले केही हप्ताका लागि हामीलाई जोड्यो। तीन सहयात्रीसहितको त्यो यात्रामा मैले देशका बारेमा जे देखें त्यही लेखें, जे कुरा साथीहरूमा भेटे त्यही लेखें, जे भवना म भित्र सलबलाएर आयो त्यही लेखें र यो पुस्तक तयार भयो। व्यावसायिक प्रतिस्पर्धा र लेखकको सम्मान मेरो खोज होइन, यात्राको क्रममा मनमा विकसित भावनाहरूलाई शब्दको आडमा पोख्न मात्र खोजेको छु।

यसक्रममा मैले आफ्ना र आफ्नो सेरोफेरोमा रहेका सबैलाई सम्झन पुगेको छु। हामी गर्न सक्छौ र सकारात्मक दिव्यता सबैतिर छ भन्ने मेरो आशय हो। यस पुस्तकमा उल्लेखित सबै पात्रहरूका विवरण आफैंमा इतिहास हो जसको मादकतामा हामी सबै यात्रारत थियौ र अहिले आ-आफ्नै इलममा व्यस्त छौं। सुन्दर मौका प्रदान गर्ने सबै पात्र र दृश्यहरूलाई म पटकपटक सम्झिरहेको छु।

भावनामा ओतप्रोत हुँदा भाषाको ख्यालै भएनछ, नेपाली र अंग्रेजिको ककटेल पो भएछ। पाण्डुलिपी पढेर यो जे छ त्यही नै उत्तम छ, अनावश्यक अनुवादको भुग्रोमा नपरौ भनिदिने साथी निर्मलकुमार थापाको सल्लाहलाई मैले पनि तुरुन्तै माने। भाषाविज्ञहरूले गाली गर्नका लागि फुकुवा भएको छ अब यो पुस्तक। सुरेश पौडेल, र निर्मल थापालाई विशेष धन्यवाद दिन चाहन्छु । 
- सनत न्यौपाने

यात्रा प्रारम्भ

आफ्नै देशमा बसेर आफैंलाई हेर्ने मौका उति घनारुपमा मलाई प्राप्त भएन। कहिले कामको चाप, कहिले नयाँ योजनाको कार्यान्वयनमा लाग्ने मेरो एकांकीपनलाई नजिकका धेरैले रुचाए, धेरैले तारिफ गरे। एक्लो म र मेरा विचार अनि योजनाहरूका कारण म म भएको छु, यसमा कोही खुसी हुनु नहुनु उनीहरूको नितान्त निजी कुरा हो तर मेरो यात्रा जारी छ। यसपटक देश दौडाहाका लागि निस्केको छु, चुनिएका दौंतरीहरूसँग। देश दर्शनको निरन्तरतामा धेरै अनुभवका साङ्ग्लाहरु बटुल्ने मेरो दाउँ छ। अब प्रमाणिक रुपमा आफ्नो देश घुमेर देशबारे बोल्न सक्नेछु भन्ने मलाई लागेको छ।

‘यु सुड फोकस अन बिजनेस आसपेक्ट एज वेल एज एनिथिङ ह्वाट विल एड आवर भिजन ड्युरिङ दिस टुर’ 

(तिमीले व्यावसायिक पक्षका साथै हाम्रो भिजनमा बल पुर्याउने अन्य पक्षमा समेत ध्यान पुर्याउनू) नेपाल यात्रा आरम्भ हुनअघिको बैठकमा मलाई भनिएको थियो। 

प्रभात दाइको जिम्मा भ्रमण संयोजन, गुणराजजीको सम्पादकीय (कथाहरू, ठाउँका विशेषता र स्रोत परिचालन) र सुरेशजीको वर्तमान नेपाली टेलिभिजन प्रसारणमा देशबासीको प्रतिक्रिया तथा सुझाव बुझ्नु र पुगेका ठाँउहरूमा स्टुडियो सञ्चालनको सम्भावना सम्बन्धी थियो। हामी सबैले बेग्लाबेग्लै पक्षको रिपोर्ट पनि बुझाउनु पर्ने थियो। त्यसैले यो यात्रा व्यवसाय निर्देशित हुनेवाला थियो। हामीले हिँडुञ्जेल सायद यो पक्षलाई दिमागमा राखेका थियौं।

राजेन्द्रबहादुर सिंह एक द्रष्टा हुन्। मिडिया उनको रगतमै छ भने पनि हुन्छ। हरेक विषयलाई हेर्ने उनको आफ्नै दृष्टिकोण छ। उनी बाहिरी आवरणमा एकथरी देखापरे पनि भित्र साह्रै कमला र सहृदयी छन्। उनी भन्छन्, ‘जुम्लाको स्याउ, मुस्ताङको आलु र पाँचथरको तरकारी विश्वभर लैजानुपर्छ।’ उनी मिठाईका सौखिन छन्। यिनैले हामीलाई नेपाल बुझेर आउनु भनेर हाम्रो कथा सुरु भयो ।

रामेश्वर थापा हाम्रा अध्यक्ष, हेलिकप्टर पाइलट हुन्। उनी व्यक्तिगत सम्बन्धका धनी, दानवीर कर्णका मीतज्यू भने पनि हुने खालका छन्। धेरै भावुक र विशाल हृदय भएका उनलाई व्यवस्थित गर्ने मान्छे चाहिन्छ। त्यसैले सिंहले ‘हैन दाइ’ भनेपछि उनी चुप लाग्छन्। तर, हेविवेट सिंहसँग उनी कहिलेकाहीँ मीठो बदला लिन्छन्, ‘राजेन्द्र भाइ, एक्सरसाइज गर्ने होइन।’ 

यी दुबै जुटेका छन् नेपालमा एउटा प्रभावशाली मिडिया ल्याउन जसले सामाजिक नेतृत्व र आर्थिक विकासलाई अगाडि बढाओस्। त्यही टोलीका सदस्य, हामी चार (चालक सानुबाहेक) देश दौडाहामा छौं। 

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा . . . 

प्रभात दाइ : पिआर    

२० वर्ष नेपाली विद्युतीय सञ्चारमा बिताएका, मोटा तर ब्याडमिन्टन अनि ‘मर्निङवाक’ को प्रसंग निकालिरहने व्यक्ति। आफ्ना पुक्क परेका गाला देखाउँदै भन्छन्, ‘यिनलाई हेरेर मेरो शरीरको मूल्यांकन नगर।’ 

‘तर पेट नि ?,’ हामी मुखले त बोल्दैनौं तर इसारामै प्रश्न गर्छौं । 

उनी मान्छे पट्याउन ‘टु मिनेट्स म्यागी’लाई पनि उछिन्ने खालका छन्। साथीभाइ? कुरै नगरौं, उनले एक कल गर्नेबित्तिकै रिक्सादेखि हवाईजहाजसम्म, सुवेदी लजदेखि सोल्टी होटेलसम्म अनि पानीपुरीवालादेखि फलानो ढिस्कानो ग्रुपका साहुजीसम्म सबै सेवामा हाजिर हुन्छन्। नाम यिनको प्रभात रिमाल। बलियो पक्ष पिआर अर्थात् पब्लिक रिलेसन। एउटा राम्रो स्वर भएका टुक्रे उस्ताद पनि हुन् उनी। यस भ्रमणका ‘रिमाल बा’। 

सुरेश : 

ह्यान्डसम। गगल्स लाउन रुचाउँछन्। उनकै भाषामा भन्नुपर्दा उनका पिताजीका ‘मास्टरपिस’ हुन् उनी। उनी चट्ट अत्तर छर्केर क्यामरा समातेपछि दृश्य–दृश्यमा सुवास छर्न सिपालु छन्।

१७ वर्ष सरकारी तथा निजी टेलिभिजनमा बिताएका डकुमेन्ट्री विशेषज्ञ उनी भ्वाइस ओभर जगतका पनि राम्रा नाम हुन्। 

उनको आवाज डकुमेन्ट्रीलाई मात्र ठीक छ, उनले गीत गाउँदा लयमात्र मिलाउँछन् बाँकी कुरै नगराैं। अंकुरण ब्यान्डका बेसगिटारिस्ट, लोकसेवामा शाखा अधिकृत तथा पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा सहायक व्यवस्थापकका ‘शर्ट लिस्टेड क्यान्डिडेट’  (म्युजिक र टीभीको धुन थियो अन्तर्वार्ता दिन नै गएनन्)। 

पेडाका लागि चर्चित भैरहवाको पवन मिष्ठान भण्डारका मालिक पवन उनका साथी हुन्। यस अर्थमा उनी हुन् - साथी पवनको मिठाइ पसलका अन्डरकवर एडभाइजर। 

गुणराज : जिआरएल

‘हो, अब त्यो हामी गर्ने,’ बेलाबेलामा भनिरहने गुणराज एक कुशल सम्पादक हुन्। ट्वLटरको व्यापार नै धानेजस्तो गरी ट्वीट गरिरहन्छन्। उनको ‘हार्डडिस्क’ उनीसँग भएको आइफोन हो, जसको उनले ११० प्रतिशत उपयोग गरेका छन्।

उस्तादजीको शायरीदेखि तामाङ गीतसम्म ‘न्यारेट’ गर्ने उनी अंक, सूचना अनि विश्लेषणका इन्साइक्लोपिडिया हुन्। 

उदाहरण : काठमाडौं कहिले नगरपालिका घोषित भयो भन्ने प्रसंग आउँदा उनले भने – २०१० साल। आध्यात्मिक चिन्तनका धनी, आत्माहरूको उद्धार गर्ने (पछि प्रष्टिन्छ यो प्रसँग), रसभरिको झोलमा डुबेजस्तो जीवनलाई आशा÷अपेक्षाको झोलमा डुबाउने, सानोभन्दा सानो घटनालाई कोटपाइन्ट र टोपीसमेत लगाइदिन जान्ने उनी यो यात्राका बाबा (साधुवाला बाबा) हुन्। उनलाई झुक्किएर पनि गीत गाउन नलगाउनुहोस्।

सानु : हाम्रो चालक, साह्रै भलाद्मी, ‘आशिकी’ कट कपाल भएको। ५ फिट ४ इन्च उचाइको श्याम वर्णको मिहेनती। सुरुमा चालकका रूपमा प्रवेश गरेको उनी यो भ्रमणको उप संयोजक पनि हुन्। सानु यो ल्याइदेऊ न प्लीज, सानु पानी कता छ? आदि इत्यादिका लागि हाजिर हुने। हाम्रो रिसर्च सहायक पनि। सानु कार्यक्रमको ब्यानर खोई? फर्महरू ल्याऊ न, बाँड्या हो? उनलाई हामीले यही भनिरह्यौं । 

अब अरू चिन्नुपर्ने थुप्रैमध्ये केहीलाई चिनिहालौं।

ब्यानरः यो टुरको सबभन्दा महत्वपूर्ण सामग्री। साँच्ची ब्यानर खोई? दक्षिणकालीबाट २५ किलोमिटर हेटौडातर्फ पुगिसकेपछि कसैले सोध्यो। 

लौ, अब के गर्ने? हेटौडामै कसैलाई भन्नुपर्ला। अनि त्यसको अन्तर्वस्तु नि? लौ टेक्स्ट गरिदिऊँ। अनि ब्यानरको जन्म भयो। यो ब्यानरले यो भ्रमणलाई केही हदसम्म भए पनि औपचारिक बनाउन ठूलो मद्दत गर्यो। नत्र हामी त? (थाहा पाइहाल्नुहुन्छ नि)। 

गाडी : १९९५ टोयोटा हाइलक्स, कालो रङ, बिलबुक चार महिनादेखि नवीकरण हुन बाँकी। २९ जनवरी २०१३ सम्मको स्थिति हो यो। भर्खर जलबीरेबाट थाकेर आए पनि सर्विसिङपछि नेपाल अनुभव गर्न तयार। साह्रै राम्रो सवारी। पछाडिको क्यारीब्वाय मात्र ट्वाइँट्वाइँ गरिरहने। यस यात्राको हाम्रो रथ। नाम भने गाडी नै हो। 

थप जानकारी : 

युजिन (नाम परिवर्तिन) : सुन्दर युवती तथा महिला ।

लघुशंका, लस :  पिसाब (फेरिसकेपछि मिनरल वाटरले भए पनि हात चोख्याउनैपर्ने)

खाना : 

रिमाल बाको लागि : रोटी, तरकारी र दाल

सुरेशको लागि : दाल फ्राई, रोटी

बाबाको लागि : उनी खाँदैनन् (सबैको भागको अलिअलिबाहेक)

मेरो लागि : दाल, भात र तरकारी मासु (मिलेसम्म), सिसीको अचार 

होटेल : 

दुईटा खाट एउटै रुममा भएको दुईटा कोठा पाइने। चुरोट नगनाउने (बाबाविशेष), बिहान ५:३० मा कालो चिया ल्याउनसक्ने (रिमाल बा विशेष), तातोपानी भएको, थोरै पैसामा राम्रो अतिथि सत्कार गर्न सक्ने र पार्किङको सुविधा हुनैपर्ने । 

सिट :

सानु चालकको सिटमा, रिमाल बा अगाडिको देब्रेतर्फ (अगाडि–पछाडि ढल्काइ–ढुल्काई गर्दै)। बाँकी हामी तीन पछाडि (कोही थपिए पनि अगाडि–पछाडि गरेर उसलाई पनि त्यहीँ राखेर बस्दै) जाने। बाबाको भाषामा रिमोटमा ब्याट्री राखेजस्तो।


 

More form the Internet

loading...