Suvadin, Home

Cover Image

फेब्रुअरी ६, २०१३
शुभ देश (भाग-१० )

चुनाव गर्ने हैन, एउटा बुद्धिमान् हात्तीलाई फूलमाला दिएर नेता चुनाउन बाँकी छ। हामी चुन्नुमा पछाडि छौँ कि यो पूर्वाग्रहरहित जनावरभन्दा?

फेब्रुअरी ६

फ्रेस भएर फटाफट भैरहवातिर लाग्यौं। ब्रेकफास्ट पवनकहाँ हुने भो। सुरेशजीलाई अब 'होस्टप्रेसरले' समात्न थाल्यो। हाम्रो अति अपेक्षाले सुरेशजीलाई ठूलो दबाब दिएको थियो। बुटवल भैरहवा सड्कका दायाँबायाँ राम्रा डिजाइनका घरहरू र एउटा अर्कै समृद्धि अनुभव गर्न पाउँदा मलाई ज्यादै खुसी लाग्यो। गाडीमा एक्कासि इन्स्ट्रुमेन्टल म्युजिक बज्यो। अहा! त्यो म्युजिकले बाहिर हल्लिरहेका रुखका पात र गाडीमा ठोक्किएका पानीका थोपालाई नृत्य गराइदिएजस्तो देखियो। माहौल बडो रमाइलो बनिरहेको थियो। 

‘सरहरू नमस्कार’ भन्दै शेरबहादुर छिरे गाडीमा। शेरबहादुर एक जर्नालिस्ट। स्वभाव, ज्ञान र एप्रोच सबैमा नम्बर एक। हामी पवन मिष्ठान्नमा रोकियौँ। काउन्टरमा बसेकालाई लोकल भाषामा माया तथा गाली गरे जस्तो गरी सुरेशजीले अर्डर गरे। तरकारीबाहेक साँच्चै सबै खुब मीठो थियो। हामीले धेरै रमाइलो गरी थपीथपी खायौँ। धन्यवाद र प्रशंसाले थोपरिएपछि पवनका घनिष्ट मित्र सुरेशजीले बल्ल सास फेरे। उनलाई बिहेभोज सकिएको दुलहा–दुलहीका बाउजस्तै महसुस भएको हुँदो हो। 

सुरेशजीकी स्विटी ज्ञानु भाउजूकहाँ हाम्रो अन्तरक्रिया सुरु भयो। भाउजूको घर तथा अफिस कम्बो बिल्डिङमा। एनजिओको राम्रो ट्रेनिङ सेटअप रहेछ। ब्यानर र सर्वे फर्म ठीक पारेपछि व्यापार कला तथा विभिन्न सेक्टरका लब्धप्रतिष्ठित व्यक्तिहरूबीच जिआरएलले कार्यक्रम थालनी गरे। 

‘भैरहवालाई चीन भारत ट्रेडको ट्रान्जिट बनाउनुपर्छ,’ एक सहभागीले भने। त्यसमा तपाइँहरूको मिडियाले सक्रिय भूमिका खेल्नुपर्छ। 

लुम्बिनीमा पर्यटक आउने तर भारतबाट एकै दिनमा आएर जाने हुनाले उनीहरूको संख्या बढी देखिए पनि आम्दानी चाहिँ भारतमा किनेको मिनरल वाटरको रित्तो बोतल र साट्न नमिल्ने दानस्वरूप प्राप्त विभिन्न मुलुकका नोटहरू हुने गरेको एक सहभागीले बताए। ‘कति पर्यटकलाई त उनीहरू भारतबाट नेपाल प्रवेश गरेको समेत थाहा हुँदैन,’ उनले थपे।
 

लुम्बिनीमा पर्यटक आउने तर भारतबाट एकै दिनमा आएर जाने हुनाले उनीहरूको संख्या बढी देखिए पनि आम्दानी चाहिँ भारतमा किनेको मिनरल वाटरको रित्तो बोतल र साँट्न नमिल्ने दानस्वरूप प्राप्त विभिन्न मुलुकका नोटहरू हुने गरेको एक सहभागीले बताए। ‘कति पर्यटकलाई त उनीहरू भारतबाट नेपाल प्रवेश गरेको समेत थाहा हुँदैन,’ उनले थपे।

‘मार्क्स, लेनिन, माओ सबै विदेशी दर्शनमा मुलुक चलिरहेको छ तपाइँको मिडियाले एउटा नेपाली वादलाई जन्माउन सहयोग गर्न सक्छ?,’ अर्का एक सहभागी भन्दै थिए। 

‘हाइट लाइट र इनर्जीको देश भनेर नेपाललाई एसियामा चिनिन्छ तर यहाँ हाइटकै कुरा बढी भएको छ,’ एक सहभागीले भने। सगरमाथालाई मात्र होइन, लाइटरूपी बुद्ध र नदीनालालाई समेत बढी महत्व दिनुपर्नेमा जोड दिए। उनले हाइट लाइट र इनर्जी भनिरहँदा म राइट, ब्ल्याक नाइट र फाइटको देश भनेर पनि हामीलाई चिनेका त नहोलान् भनी डराइरहेको थिएँ। 

प्रख्यात इतिहासविद  डा. रमेश ढुंगेलले भनेको सम्झन्छु, ‘बुद्धलाई के थाहा? कुन भारत हो, कुन नेपाल। उनी आफ्नो खोजमा हिँडिरहेका थिए, उनलाई स्थलको सान्दर्भिकता थिएन।’ 


हो, हामीले बुद्ध नेपालमा जन्मेको कुरालाई प्रवर्द्धन गर्नुपर्छ। भारतले कहिलेकाहीँ गल्तीले ‘बुद्धको जन्म भारतमा भएको’ समाचार लेखेको स्वाभाविक रूपमा हामीलाई चित्त बुझ्दैन तर बुद्ध कहाँ जन्मे, कहाँ हुर्के, बुद्धत्व कहाँ प्राप्त गरे, बुद्धको मामाघर कहाँ थियो भन्नेमा बहस गर्नुभन्दा पनि बुद्धका आदर्शलाई कसले बढी अंगीकार गरेको छ, कहाँ बुद्धका फलोअरहरू बढी छन्, कसले बुद्धको जस्तो सोच शान्ति, अहिंसा लागू गरेको छ र कहाँ अरू बुद्धहरू अन द मेकिङ छन् भन्नेमा प्रतिस्पर्धा गर्नु बुद्धिमानी र विवेकशीलता हो। प्रख्यात इतिहासविद् डा. रमेश ढुंगेलले भनेको सम्झन्छु, ‘बुद्धलाई के थाहा? कुन भारत हो, कुन नेपाल। उनी आफ्नो खोजमा हिँडिरहेका थिए, उनलाई स्थलको सान्दर्भिकता थिएन।’ 

र पनि बुद्ध भारतको निजी स्वामित्व भएझैं जसरी बाँकी विश्वलाई प्रचार गरीरहेको छ, त्यसलाई भारतपरस्त नेताहरु केवल भारतको स्तुति र चाटुकारीतामा मात्र लागेपछि मुलकुरा ओझेलमा परेको हो। अहिले नागरीकहरुको स्वस्फूर्त थालनी उठेको छ, ‘बुद्ध बर्न इन नेपाल’ भनेर। जे होस् बुद्धको जन्म त्यतिबेला भएको थियो, जसबेला नेपाल भारतको नाम निशाना थिएन। बेग्लै सभ्यता, बेग्लै युग थियो त्यो युद्धलाई आधार बनाएर सीमाधिकार बढाउने प्रपञ्च पुरानो शैली थियो र अहिले ब्रिटिसले छाडेपछि भारत हिन्दुस्तान भयो भने नेपालको चल्तीको इतिहास झण्डै तीन सय वर्षको छ। कपिलवस्तुको कुरा पनि तिन हजार वर्ष पहिलेको होला सबैको एउटै राय छैन तर त्यो पुरानो कुरा हो। यसरी चर्चा चलिरहँदा मलाई ओशोले भनेको कुरा सम्झना आउँछ, ‘मान्छेहरु तर्कको तिर्सनामा यसरी लागेका छन् कि, चल्ला पहिले कि अण्डा पहिलेजस्तो, यो कुन पहिला भन्ने कुराले भन्दा पनि अहिलेको आवश्यक के हो त्यसमा पो फोकस्ड हुनुपर्यो।

हामी अक्सर परिणामको ख्याल गर्दैनौं र तत्कालीक तर्कनामा फजुलको चिन्तन गर्छौं। बरु बुद्धिमानी त्यो हो जो तर्कलाई छोडेर समयअनुकूल आवश्यकताको बग्गीमा चढ्छ त्यो नै गन्तव्यमा पुग्छ।’

हुन पनि सारा विश्वमा बुद्धको वैज्ञानिक एप्रोचले हाइहाइ पाइरहेको बेला हामी जन्मस्थानको विवादमा अल्झिरहेका छौं। बुद्ध जन्मेको स्थान लुम्बीनी नै हो त्यो धेरै पहिले करिब २६ सय वर्ष पहिलेको कुरा थियो त्यो क्षेत्र हाल नेपालमा पर्छ। आवश्यकता भनेको त बुद्धको शिक्षा हो, त्यसलाई मनन गरेर व्यक्तिमा क्रान्ती हुन्छ भने हामी त्यता पो लाग्नु पर्छजस्तो मलार्इ लाग्छ। हामीले सोच्ने भनेकै वर्तमान न हो जहाँ हामी बाँचिरहेका छौं। छाडेको विगतलाई किन बोलाउनु? आउने आगतको कुनै स्पष्ट रुप छैन भने त्यता लाग्नु पनि असल होइन। जे होस् छलफलको विषय गम्भीर नै थियो।

कुलमणि ज्ञवाली पत्रकारिता छोडेर बैंकिङमा लागेका रहेछन्। मलाई क्रस फङसनल इन्ट्रेस्ट र सफलता देख्दा ज्यादै खुसी लाग्छ। विवेकशील नेपाली नामको एक नयाँ राजनीतिक पार्टीमा हामीले हरेक नेपालीसँग कम्तीमा पनि दुइटा सीप हुनुपर्छ भनेका थियौँ। साँच्चै दुइटा सीप भएमा एउटा चालकले गाडी नपाएको खण्डमा पनि मेसिन चलाएर खान सक्छ भने मेसिन चलाउनेले खेती गरेर। तर, कुलमणि लेखिरहेका पनि छन्। प्रोडक्टिभिटी यो पनि हो। 

मेरी पत्नी म भन्दा प्रख्यात छिन् भनी खुसी मान्दा मेरो लोग्नेमान्छेपनले कुनै अहम् राख्दैन।


‘ज्यादै प्रोडक्टिभ भयो’, कार्यक्रम सकिएपछि सुरेशजीले मलाई ज्यादै निर्दोषीपनका साथ मेरो अनुमति लिन खोजेजस्तै गरी भने, ‘भाउजूलाई बताउँ है।’ सायद सुगरिकाकै कुरा होला भन्ठानेर मैले हुन्छ भनिदिएँ। उनी ज्ञानी ज्ञानु भाउजूलाई सुगरिका र मेरो वैवाहिक सम्बन्धबारे बताए। सुरेशजीले मलाई सोध्नु उनको महानता हो तर मलाई मेरी अर्धांगिनीसँग जोडिँदा लाज होइन हर्ष नै लाग्छ। मेरी पत्नी म भन्दा प्रख्यात छिन् भनी खुसी मान्दा मेरो लोग्नेमान्छेपनले कुनै अहम् राख्दैन। यो विश्वमा म भन्दा कैयन् विधामा कति मानिस होलान्, त्यसमध्ये एक मेरी आफ्नै मान्छे भइदिनु त भाग्यको कुरा हो। 

दाङतिरको यात्रा आरम्भ भयो। भैरहवाबाट तौलिहवा हुँदै गोरुसिङे निस्केर जाने योजना भयो। तौलिहवामा एक फुच्चेलाई गोरुसिङे जाने बाटोको बारेमा सोधियो तर उसले गलत बाटो बताएको सुरेशजीले पत्ता लगाउन सकेनन्। सुरेशजीको घर नै यता भएकोले  उनले पवनमा पाएको सय अंक बाटो थाहा नपाउना ले सबै एकैपटकमा गुमाए। हामी झन्डै २२ किलोमिटर उल्टो बाटो हिँडेछौँ। हामी नेपालीको जतिसुकै राम्रो जिपिएस भए पनि कुनै–कुनै जिपिएस त भाइरस इन्फेक्टेड छ र एकपटक देशभर एन्टीभाइरस रन गर्न आवश्यक भइसकेको देखियो। 

बल्लबल्ल राजमार्गमा आइपुग्यौं। गाडीले पनि गति लियो। जति इन्टेलेक्चुअल भए पनि सेक्सकै गन्थन प्यारो हुँदो रहेछ। टुरमा सेक्सका धेरै कुरा गरियो र प्रायःको सहभागिता पनि राम्रै रह्यो। त्यसको संकेत बत्तिएर आउने बाहानहरुले दिन्थे, राजमार्ग छेउमा सेतुका रुपमा राखिने सवारीसाधन एडका कुराहरुले त्यसै भन्थे, दायाँ बायाँ राखिएका अजंगका कण्डमका विज्ञापनहरुले पनि केही बोल्थे जसलाई चालहकहरुको कर्कस हर्नले भंग बनाउँथे ।

चुनाव गर्ने हैन, एउटा बुद्धिमान् हात्तीलाई फूलमाला दिएर नेता चुनाउन बाँकी छ। हामी चुन्नुमा पछाडि छौँ कि यो पूर्वाग्रहरहित जनावरभन्दा ?

हामीले इन्टरनेटको लोकल पार्टिसिपेसनको ठाउँ-ठाउँमा विकास भएको इन्टरप्रेन्योसिपको पनि कुरा गर्यौँ। आजभोलि गाउँ-गाउँमा महावीर पुनहरू छन्। कुनै एक ठाउँमा महिला मिलेर बस किनेको प्रसंग पनि उठ्यो। देश प्रगतिशील हुँदैछ। स्थानीयमा प्रगति जाग्दैछ। अब हाँक्ने मानिसको मात्र खाँचो छ। चुनाव गर्ने हैन, एउटा बुद्धिमान् हात्तीलाई फूलमाला दिएर नेता चुनाउन बाँकी छ। हामी चुन्नुमा पछाडि छौँ कि यो पूर्वाग्रहरहित जनावरभन्दा?

गाडीले तीव्र गति लियो। दायाँबायाँ जंगल अनि सीधा बाटो, सुनसान वातावरण, टायरले निकालेको एक अर्कै आवाज, झ्यालबाट छिरेको ताजा हावाको मुस्लो आदि परिवेशले फेरि मलाई मेरो मित्र सौविध मनोजले बोलेको क्षणको सम्झना गरायो। मनोज कुनै काम सकेर मुगलिङबाट काठमाडौँ आउँदै रहेछन्। साँझको समय चन्द्रमा टहटह लागिरहेको अनि त्रिशूलीमा चन्द्रमाको प्रभाव हेरिरहेका रहेछन् उनी। अप्ठ्यारो सिटमा एउटै स्थितिमा बसिरहँदा उनको जीउ निदाएछ र अचल भएछ अनि त्यो गतिमा उनको लागि एकपटक संसार रोकिएछ र उनी फगत साक्षी बनेछन्। उनको कुनै आत्मा केहीले उनको शरीर ती दृश्यहरू र त्यो सिंगो परिवेशलाई हेरिराखेछ, हेरिराखेछ। 

मैले पनि यात्राको यो भागमा यस्तै साक्षी बन्न नसके पनि उनी कस्ता साक्षी बने होलान् भन्ने अनुभवसम्म चाहिसकेँ, बुझ्नसम्म चाहिसकेँ। साक्षी हुनुमा कति पवित्रता छ, आनन्द छ र तटस्थता छ। साक्षी बन्नुमा कुनै लोभ छैन, कुनै पाप छैन र कुनै स्वार्थ छैन। आफू आफ्नै साक्षी बन्नु आफ्नो आत्मासँग नजिक हुनु हो। मैले आफ्ना कति अन्तरक्रियाहरूलाई साक्षी बनेर हेर्छु र त्यो सन्दर्भमा कति महत्वपूर्ण लागेर साक्षी बन्दा कति गौण लाग्छ। साक्षी बन्न सकेको दिनबाट मानिसमा त्यागको आरम्भ हुन्छ अनि छोड्नुमा जस्तो आनन्द पाउनुमा कहाँ छ? छोड्नका लागि पाउनैपर्छ भन्ने पनि छैन। नपाइकन छोड्नेहरू ती हुन्, जो धर्मका लागि, समाज सेवाका लागि अवकास जिन्दगी लाइफ कुर्दैनन्, जो दानको लागि ठगी गरी पशुपतिनाथलाई १० प्रतिशत घूस ख्वाउँदैनन् र जो आफ्नोभन्दा आफ्नो सम्पत्तिकोमा मुठीका मुठी औषधि खाँदै जीवन क्यालेन्डरका दिनहरू क्रस गर्दै काउन्टडाउनमा बिताउँदैनन्।

ब्रेक लाग्यो लघुशंकाको। यो पनि महत्वपूर्ण कुरै हो। गाडी पेट्रोल र दूरीबीच व्यस्त छ र हाम्रो संरचना पनि लघुशंका र गतिबीच चलिरहेको छ। यो पनि फेरि खुला दिसापिसाबमुक्त क्षेत्र होला। खैर छोडौं अब म एउटा राष्ट्रिय सुझाव दिनेवाला छु। खुला दिसापिसाबमुक्त क्षेत्र लेखिएको बोर्ड राख्नुअघि त्यो बोर्डको पाँच फिट वरपर शौचालय बनाइदिएकै हुनुपर्ने हो। 

हाम्रो प्यारो हाइलक्सले फेरि गति लियो। मैले मनोजको घटनासँगसँगै विदेशबाट आएका ती वैज्ञानिक पनि सम्झेँ। डा. प्रमोद ढकाल सर। क्यानाडाको हुँदोखाँदो करिअर छोडेर नेपाल विकास गर्न एनआरएनएहरूको ओपन युनिभर्सिटीको सपना प्रतिनिधित्व गरेर आएका उनको तन्मयलाई पनि मान्नैपर्छ। मन्त्रालयको दरबन्दीको र नेताको नियुक्तिको कुरा गर्ने प्रणालीले जति निरुत्साहित पारे पनि उनले आफ्नो धार छोडेका छैनन्। आफ्नै समूहले सुरु गरेको पहलमा आफू सहायक हैसियतमा बस्नुपर्दा पनि उनलाई त्यति दुःख छैन। युनिभर्सिटी बन्नुपर्छ उनी भनिरहन्छन्। युनिभर्सिटी बनिसकेपछिको अवस्थाका लागि उनले एउटा पहल जोगाएर राखेका छन् रे। वाह प्रमोदज्यु, यो मैले गरेको आइडिया भन्नेहरूको भीडमा तिमीजस्ता दानीहरू पनि छन्, जसले आफ्नो चिजलाई संस्थाको रूपमा बनाउँछु भनी साँचेर राखेको छ। कामको जस लिन नखोज्नु व्यावसायिक अभ्यास हो। उनी पनि एक सन्न्यासी हुन्। उनलाई खास अहिले सम्झनुमा उनको भर्टिकल विकासको पक्ष छ। प्रमोद सर नेपाललाई छुट्टै विकासको मोडेल दिनुपर्छ भन्छन्। ‘ढुंगैढुंगाले भरिएको देशमा इँटा किन पोल्ने?,’ उनी सोच्छन्, ‘मैले यो सोचलाई अझै आकार दिन सकेको छैन तर हाइट नै हाइटको देशले धेरै हाइटी सोच्नुपर्छ। नेपालका हरेक डाँडाको टुप्पोबाट पाँच किलोमिटर दायाँबायाँसम्म जंगल नै राखेर त्यसलाई ग्लोबली आकर्षक ट्रे्ल बनाउन सकिन्छ कि?’ म उनको भर्टिकल विकासको सोचबाट ज्यादै प्रेरित छु। सोच उनको, आकार दिनुपर्छ हामीले। कुनै नेताले यो देशमा यसरी सोचिदेओस्!

भर्खरै सोना, अवन्तिका र आर्याको सम्झनामा लुटपुटिएर आएका हामीलाई त्यो नानीको ज्यादै माया लाग्यो। गर्न पनि के सक्थ्यौँ र ?


अघि निद्राले समाइरहेका सबै ब्युँझिए। चुरोट गनाउने कोठामा दुई दिन पर्दा वाक्क भएका जिआरएलले हिजो राति तैबिसेक राम्रो सपना देखेका रहेछन्, तर भुलेछन्। उनीसँग हिँड्दा सपनाका कुरा पनि भइरहन्छन्। बाटोमा बाख्रा र पाठाहरू देखिए। हरेक प्राणीमा आमा र बच्चाको सम्बन्ध कति प्यारो छ। पाठाहरू अलिपरसम्म उफ्रिनेबित्तिकै बाख्री चिन्तित भएर कराउँदै तह लगाउन पुगिहाल्छे। बच्चा र बाउको सम्बन्ध पनि त प्यारो हुन्छ नि। मलाई मेरो बुबाको पनि आमाजतिकै माया लाग्छ। बिचरा बूढाले हाड–नंग्रा खियाएर हुर्काएका छन्। ओहो यो गाडीमा पनि त बाउहरू छन्। यिनैलाई सोधौँ कि भन्ने मलाई लाग्यो। मैले तिनै बाउहरूलाई प्रश्न गरेँ, ‘तपाइँहरूलाई आफ्नो बच्चा पहिलोपटक हातमा लिँदा कस्तो अनुभव भयो?’ 

‘मोटी, गोरी, स्वस्थ मेरी छोरी आर्यालाई डाक्टरले सलाइन चढाएको सुई निकाल्दा ऊ रोई। म त सहनै नसकेर झ्यालतिर गएँ र भक्कानिएँ,’ सुरेशले भने। अहिले सम्झँदा पनि रुन मन लाग्छ। अनि पहिलोपटक छोरी बोक्दा पूरै प्रकृति आफ्नो अँगालोमा आएर बसेजस्तो जस्तो भयो रे उनलाई। छोरी बोकिसकेपछि उनले आफ्नो श्रीमतीको मुखमा पुलुक्क हेरेछन्। प्रसव पीडाको थकानबीच पनि गौरवान्वित देखिएकी भाउजूका आँखाले सुरेशजीलाई ‘हेर मैले तिम्रो वंश बढाइदिएकी छु’ भनेजस्तो लाग्यो रे। सुरेशजी त एक महिना बिदा लिएर घर बसिदिएछन्। आ, पैसा काटे पनि काटोस् भन्ठाने रे उनले। 

‘यस्तो अनुभव जसको बयानै छैन,’ जिआरएलले भने। मलाई नै हेरेर मुस्कुराएजस्तो लाग्यो। पुरानो चिनजानजस्तो। त्यसपछि हामी सधैँ मुस्कुराइरह्यौँ। म छोरी सोनासँग अलि बढी नजिक छु। उसलाई सम्झँदा प्रकाशको सम्झना हुन्छ। 

'साह्रै सानी पुतली जस्ती', प्रभात दाइ, 'कति माया लाग्ने भने मैले बोक्दा त्यसलाई नदुखोस् भनी कति धेरै सजग हुने। अवन्तिकालाई पहिलोपटक बोक्दा त्यो मेरो हातमा हराई। त्यसलाई देख्दा मलाई लाग्यो, अब मेरो जीवन सुरु भयो।'

‘ज्यादै रोचक विषय। अब हामी यसको बारेमा लेख्ने,’ जिआरएलले भने, ‘हुन्छ सर, पहिलो बच्चा पहिलो दर्शन शीर्षकमा।’ मैले थपेँ, ‘हेरौँ, जिआरएलले सम्झेलान् कि नसम्झेलान्?’ 

लन्च ब्रेकका लागि हामी चन्द्रौटामा रोकियौँ। सानी फुच्ची चुलोमा थिइन्। 'नानी स्कुल जान पर्दैन?,' मेरो मुखबाट फुस्किहाल्यो। ‘गएर आको,’ उनले भनिन्। हामीले मासुचिउरा खाने विचार गर्यौँ। ‘नानी, यो मासु अर्कै गरी पकाउन मिल्छ?,’ जिआरएलले सोधे। सुरुमा उनले मिल्छ भनेकी थिइन्। भित्र गएर आएपछि मिल्दैन भनिन्। तैपनि हामीेले खायौँ। पसलमा भीडभाड थियो। नानी साह्रै व्यस्त थिइन्। 

भित्र एउटा जुँगामुठे चाहिँ काउन्टरमा खुट्टा हल्लाएर बसेको थियो। हेर्दा लाग्थ्यो संसारकै सबभन्दा अल्छी। बरु हामी ग्राहक भइकन पनि फुच्चीलाई सघाइरहेका थियौं तर त्यो व्यक्ति डेग चलेको थिएन। हामी पैसा तिरेर जान थालेका थियौं। एउटी फिल्मकी गुन्डिनी जस्ती मोटी महिलाले त्यतिको मेहनती ती फुच्ची नानीलाई ‘राम्ररी काम गर्, नत्र ढाड भाँचिदिउँला’ भनेर थर्काई एउटा आतंककारीले तर्साएजस्तो गरी। रामायणकी मन्थरा पनि त्यति रिसउठ्दी थिइन् होली। त्यो आइमाई त्यतिको डाँकुनी लाग्यो मलाई।

हामी सबैको मन कुँडियो। जिआरएल र सुरेशजीका आँखामा पानी देखिए। भर्खरै सोना, अवन्तिका र आर्याको सम्झनामा लुटपुटिएर आएका हामीलाई त्यो नानीको ज्यादै माया लाग्यो। गर्न पनि के सक्थ्यौँ र? लुकाएर त्यो जुँगेमुठेले थाहा नपाउने गरी उनका हातमा केही पैसा हालिदियौँ। 

बिचरा त्यो नानीलाई अघि सोध्दा उनले आत्तिएझैं भएर पढ्छु भनेकी थिइन्। सायद स्कुल जादिनँ कि भन्ने हामीलाई शंका लाग्यो र चिन्ता पनि भयो। 

नराम्रो मनस्थितिमा हामी अगाडि बढ्यौँ। साह्रै खल्लो अनुभूति भो। 

बाटोमा दुइटा ट्रक बाटो नै छेकेर कुरा गरिरहेको रोचक दृश्य देखियो। हामी तिनलाई बाधा नगरी कुरेरै बसिरह्यौं। उनीहरूले पनि मतलबै नगरी गफ गरिरहे। हामी गफ गर्नमा त च्याम्पियन छौँ त्यहाँ कुराचाहिँ के भइरहेको होला, मनमा काैतुहलता अक्कासियो। 

अघि चन्द्रौटा बजारमा पनि एउटा रमाइलो दृश्य देखिएको थियो। एउटा गीतको ठूलो आवाज आएर पछाडि हेरेको त एउटा जिप बिग्रिएको रहेछ अनि ठूलो म्युजिकमा चारजनाले त्यो जिपलाई धकेलिरहेका रहेछन्। तर, यसो हेर्दा लाग्थ्यो त्यो जिप म्युजिकले धकेलेको थियो। सुनसानै जस्तो सडक, चुप लागेको जिप र ठूलो स्वरमा घन्किरहेको गीत। जिआरएलले उनको महाअस्त्र आइफोनबाट फोटो खिचिहाले।

पत्रकारिता होस् वा व्यावसायिकता होस्, सही बोल्ने आँट सबभन्दा ठूलो महत्वपूर्ण र आवश्यक गुण हो। 

गाडीको स्पिडोमिटरले ८० क्रस गर्यो। हावा तँछाडमछाड गरेर भित्र छिरिरहेछ। अनि परपरसम्म जंगल। मानिस हेर्दाहेर्दा वाक्क भएका हामी जंगल मात्र देख्न पाउनेबित्तिकै आनन्द मान्थ्यौं। तर ,खाजा रोटीलाई त उही फेरि मान्छे चाहिने। तैपनि यताउता घर देख्दा यी घरले अब बाँकी सब जंगल खाइदिन्छ कि भन्ने डरचाहिँ धेरै हुने हामी जस्ता जंगलप्रेमीलाई। 

तर, रोडसाइडमा थुपुक्क बसेका साना–साना घरहरू कति राम्रा। मान्छेलाई सानो परिवारमा पनि ठूलो घर किन चाहिने? भाडा लगाउन? मलाई त सानो घर साह्रै मनपर्छ। सानो घर, सुखी घर, न्यानो घर, ऋणबिनाको घर, प्रकृतिलाई कम चुसेको घर, धर्तीलाई कम बोझ दिने घर। उही केदार शर्माले भनेजस्तो कम खर्चको घर। साधारण जीवनको नमुना। 

जिआरएलले एउटा पत्रिकाको प्रकाशकको कथा सुनाए। नयाँ एप्वाइन्टमेन्ट, नयाँ जोश र व्यावसायिक शक्ति। जिआरएलले प्रकाशकलाई भनेका रहेछन्, हामीले तीन सय वर्षसम्मको सोचेर काम गर्नुपर्छ र इतिहासको एउटा हिस्सा बन्नुपर्छ एउटा संस्थापकको रूपमा जिआरएलले उत्साहित भई भन्दै थिए। तुरुन्तै सेलाए र भने, ‘मोराको ३० दिनको पनि भिजन रहेनछ। मेरो तीन सय वर्षबाट दुइटा शून्य तुरुन्तै हटाउनुपर्यो'। यस्तै छ यहाँको वास्तविकता। यहाँ सोचविचार, भिजन, जिम्मेवारीबोध भएकालाई जागिर खानु दैनिक आत्महत्या गर्नुसरह छ कैयन् परिप्रेक्ष्यमा। आजभोलि व्यावसायिक बेचबिखनको  जित छ। समर्पण, मूर्ख विचारको प्रशंसा, नौ घन्टा देहको मानसिक र भौतिक बेचबिखन अनि 'यस बोसिज्म'। मेरो एउटा अपूर्ण लेखको थालनीमा मैले लेखेको छु -
 

एउटा साहूले कुनै मनस्थितिमा आफ्नो सिइओलाई भनेछ, ‘ओहो क्या जाडो भयो। यो बिल्डिङ जलाइदिऊँ अनि आगो तापौँ। बिल्डिङको तातो बढी न्यानो र रोयल हुन्छ।’ उसको यस बोस् सिइओले तुरुन्तै भनेछ, ‘वाह क्या आइडिया सर, बरु खरानीचाहिँ महँगोमा बिक्री गर्नुपर्छ।’

साहु खुसी हुन्छ

आफ्नो सिईओको खरानीमा पैसा कमाउने बुद्धिप्रति उसलाई आफ्नो आफ्नो गहकिलो मान्छेमा गन्ती गरी  तक्मा दिन्छ?

यस्ता सिइओ, म्यानेजर र साहूहरू यहाँ खोज्ने हो भने होलसेलमै पाइन्छन्। पत्रकारिता होस् वा व्यावसायिकता होस्, सही बोल्ने आँट सबभन्दा ठूलो महत्वपूर्ण र आवश्यक गुण हो। 

‘सेनामा कतिको बोल्ने आँट हुन्छ ?,’ मैले काैतुहलता पोखेँ। ‘भन्न त नेपाली सेना सलामी, मलामी र गुलामी भन्छन्, वास्तविकताचाहिँ राम्ररी बुझ्नैपर्छ,’ एक जनाले थप्यो। 

कुरैकुरामा बाजीको कुरा आयो। जिआरएलले गीत गाए, ‘बाजी नराखौँ, बाजी नराखौँ, उता दुस्मनले बाजी राख्या छ। हामीचाहिँ बाजी नराखौँ।’ उनले यो गीत रेकर्ड गर्ने रे। ‘हिपहप सम्पादक’, हामीले जिस्कायौं। 

जिआरएलले फेरि सोधे, ‘हराउँदै गएको नाता? 'मीत लगाउने'- सुरेश। 'ठीक उत्तर'- जिआरएल। 'अनि काका नभएको देश?' - सुरेश। 'चाइना' -  जिआरएल। 'ठीक तर किन?' सुरेश। 'एउटा मात्र बच्चा पाउन दिने भएर'- जिआरएल। सबैजना मरीमरी हाँस्यौँ। हामी हाँसिरहन्छौँ। हामीलाई रिस, इर्श्या र लोभ छैन। हामी हाँसिरहन्छौं। सानासाना कुरामा हामी सुखी छौं। 

सुरेशजीले ठूलो तर अर्कै प्रकारको हाइ काढ्नुभयो। 'म त जंगलको बीचमा टार्जन आयो कि भन्ठान्या,' सुरेशजीलाई पिआरको घोचपेच। 

गाडी आफ्नै गतिमा हुइँकिरहेछ। म अँध्यारोमै पनि साथीभाइका वाणी टिपिरहेछु। तर, अँध्यारोमा लेख्नु र आँखा बन्द गरेर हिँड्नु उस्तै अनुभूति हुँदो रहेछ। मैले दुई तीनपटक प्रयास गरेर पत्ता लगाएँ। 

बाहिर चन्द्रमा बाटो नै छेक्ने गरी उभिइरहेछ। यो बाटो त्यही चन्द्रमामै गएर ठोक्किने हो कि जस्तो। नील आर्मस्ट्रङ यही बाटो भएर चन्द्रमा पुगेका हुन् कि?

बाहिर चन्द्रमा बाटो नै छेक्ने गरी उभिइरहेछ। यो बाटो त्यही चन्द्रमामै गएर ठोक्किने हो कि जस्तो। नील आर्मस्ट्रङ यही बाटो भएर चन्द्रमा पुगेका हुन् कि?

साँच्चै नील आर्मस्ट्रङ किन सार्वजनिक जीवनमा त्यति आएनन्? बिनाकारण प्रचार खोज्नेहरूको भीडमा उनी किन लुकेर बसे होलान्? हुन पनि चन्द्रमामा पुगेर पृथ्वीलाई एउटा चुपचाप डल्लो देखेर ‘सी आफ ट्रान्क्युआलिटी अनि ओसन अफ स्टोर्म’ भोगेका उनी पब्लिसिटी नाम आदि भन्दा धेरैमाथि पुगेका हुँदो हुन्। त्यसो भए हाम्रा देशका महान्हरूलई पनि चन्द्रमाको एक यात्रा गराइदिन पाए पत्रिकाको प्रथम पृष्ठमा आउन जेसुकै पनि गर्ने भोक मर्थ्यो कि? 

तर, फेरि नील चन्द्रमामा पुगेका हैनन् भन्नेहरू पनि रहेछन्। खै, सेक्रेट सोसाएटीजहरुले  विश्व चलाउँछन्  भन्ने कथा सुनेपछि मैले कुनै पनि कुरालाई पत्याउने–नपत्याउने यार्डस्टिक बनाउन सकेको छैन। 

रोडमा खोलैखोलाले स्वागत गर्ने उपत्यका दाङ पुग्न लाग्यौं। हामीले जिआरएलको छैठौं इन्द्रियको अभ्यास गराउन सोध्यौँ, ‘लौ सर, भन्नुस् त कति बज्यो?’ एकछिन अड्किएर जिआरएलले भने, ‘सात बजेको हुनुपर्छ।’ हामीले पनि घडी हेर्यौँ ७.१० बजेको रहेछ।

'भोको भन्छ डाँडावारि खाऊ, अघाको भन्छ डाँडापारी खाऊ' पिसाब यही फेर्ने कि रिसोर्टमा पुगेर फेर्ने भन्ने पिआर र जिआरएलको डिस्कसनमा जिआरएलले थपे। आखिरै रोकेरै लघुशंका मुक्त भइयो। दुई दिन राम्ररी सुत्न नपाएकोले होला जिआरएलको स्थिति गडबड छ। 

दाङ छिर्दा घोराही सिमेन्टको झिलिमिलीले स्वागत गर्यो। गेटभन्दा फ्याक्ट्री नै बेस। छिर्ने ठाउँको गेटले मौन स्वागत मात्र गर्छ। फ्याक्ट्री राम्रो जीवन र जीवन्तताको आभास गराउँछ। तर, वातावरणमैत्री फ्याक्ट्री हुनैपर्छ।  

बाटोमा होर्डिङ बोर्ड पढ्दै पिआरले भने, ‘सुवेदी होटेल रे, कस्तो नसुहाएको जस्तो लागेको।’ ‘तपाइँ कुरा गर्नुहुन्छ मेरो घरनिर खनाल टेलर्स छ,’ जिआरएलले थपे। 

मधुवन रिसोर्ट पुगियो। पुरानो हवेली जस्तो रिसोर्टमा अर्कै कस्तो–कस्तो शक्ति थियो। जिआरएल उसै त खराब मुडमा थिए। हाउस ब्वायले माग्दासमेत एउटा कोठामा दुई जना बसे पनि एउटा टावल मात्र भनिदिएछ। जिआरएल बमबम भई तल झरे। जाऊँ अर्कै होटेलमा यहाँ बिल्डिङ मात्र राम्रो, हस्पिटालिटी खत्तम रैछ।’ 

प्रभात दाइले फकाउन खोजेको जिआरएलले जवाफ दिए, ‘आइ लाइक आइ लाइक आइ डन्ट लाइक आइ डन्ट लाइक।’ जिआरएलको यो रौद्र रूप हाम्रो लागि नयाँ थियो र हामी रमाइलै मानिरहेका थियौँ एकअर्काको मुख हेर्दै।

जिआरएलले ठुस्सिएर मुखमा एक दाना पनि हालेनन्। 

माथि रुममा पुगेपछि बल्लबल्ल जिआरएलको रिस केही शान्त भयो। अघि मैले सर दिउँसोको तपाइँको फोटो खोई भन्दा ‘मैले मेटाइदिएँ’ भनेका उनी बल्ल मलाई सिंगापुरको कस्तुरी माइकल ज्याक्सन माथिको उनको आर्टिकल देखाउने मुडमा भए। फिलिपिन्सको सेबु प्रान्तको जेलमा १५०० भन्दा बढीलाई थ्रिलर प्रोग्राममा माइकल ज्याक्सन शैलीमा नचाएको पनि उनले युट्युबबाट देखाए। ‘सिर्जना भनेको यही हो नत्र हामी कुनै जेलको भिडियो किन हेर्थ्याैं र?,’ उनी जोड्दै थिए।

यो पनि हेर्नुहोस्

शुभ देश (भाग-१)

शुभ देश (भाग-२)

शुभ देश (भाग-३)

शुभ देश (भाग-४ )

शुभ देश (भाग-५)

शुभ देश (भाग-६)

शुभ देश (भाग-७ )

शुभ देश (भाग-८)

शुभ देश (भाग-९ )


 

More form the Internet

loading...