Suvadin, Home

फेब्रुअरी ७, २०१३
शुभ देश (भाग-११ )

पत्रपत्र परेर परपरसम्म देखिने स्ट्रेचसम्म डाँडाहरू फिँजिएका, थुपुक्क–थुपुक्क बस्दै राप्ती र सूर्यको प्रेम उत्सर्गमा रातो सूर्यले राप्तीका हरेक छाललाई हिरा छरिदिएजस्तो। हरिया डाँडाहरू देखेपछि नदेखिएझैं आँखा छोपेजस्तो अभिनय गरिरहेको, साँझको धमिलोको सहायतामा। चराहरू सूर्यलाई जिस्काउँदै घर फर्किरहेका। सन्ध्याको घामका किरणमा देखीने उडेको धुलोले मेरो अतितलाई सम्झाउँछ, निकै मनमोहक लाग्छ यो क्षण।

फेब्रुअरी ७

हिजो अन्त्यमा गुडनाइट लिएर सुतेका जिआरएलको नाइट खासै गुड भएनछ। रातभरि उनी कराइरहेको भनी सुरेशले थपेपछि उनले आफूलाई ऐंठन भएको तथ्य खोले। उनी त्यसमै पनि सकारात्मक थिए। ठीकै छ, ममा केही देखेछन् र तर्साउन आएछन्। दुई-तीन आत्मा मसँग कुरा गर्न आए र मैले ‘हेर मैले केही बिगारेको छैन। तिमीहरू यसरी भौंतारिनु हुन्न भनी सम्झाएँ र तिनीहरू गए।’

दन्तकथाझैं जिआरएलले व्याख्या गरे। हाम्रो लागि यो पत्यारिलो थिएन तर जिआरएल झूटो बोल्ने मानिस होइनन्। त्यसैले हामीले उनलाई ससम्मान 'मुक्ति बाबाको' रूपमा दाङमा स्थापना गर्यौँ। ब्याक ग्राउन्डमा प्रभात दाइले युट्युबमा खोजेको रेडियो नेपालको पुरानो आइडी बजिरहेको थियो। बिचरा जिआरएल ती आत्मामाथि सहानुभूति पोख्दैथिए, ‘दुःख परेको हो, भौंतारिएका हुन्।’

‘उसो भए फोन गरेर भुक्न लगाउनुस् न त’

‘मलाई मेरो डगी ज्यादै मिस भइराछ,’ प्रभात दाइले सन्दर्भ बदले। ‘उसो भए फोन गरेर भुक्न लगाउनुस् न त,’ जिआरएलले सिरियस नोटमा भने अनि एक्कासि हाँसे। हामी सबै हाँस्यौँ। फेरि एउटा सुखी बिहानी सुरु भो। 

‘कारामासूत्र,’ पिआरले सुरु गरे। ’के हो त्यो?,’ मैले सोधेँ। ‘ठाउँ नपाएर वा इच्छाले कारमा पनि धेरै काम हुने हुनाले कारमा सूत्र बनाएका छन् रे,’ जय रिमाल बा। 

अब एसोर्टेड सोचाइहरूको कोलाज सुरु भयो। 

सुरेशजी बुबासँग रिक्सा चढेका रहेछन्। रिक्साले गलत टर्न लिँदा बुबाले रिक्सावालालाई गाली गरेछन्। सुरेशजी धुरुधुरु रुन थालेछन् अनि बुबाले किन रोएको भनी सोध्दा अनि तपाइँले उसलाई किन गाली गरेको भनेछन्। ‘बाल्यवस्था यस्तै हुन्छ। अचेल रिक्साले गलत टर्न लिँदा तपाइँ गाली गर्नुहुन्छ कि हुँदैन, सुरेशजी,’ मैले सोधें। सुरेशजी हाँसे।

जिआरएलको नयाँ हाइपोथेसिस सुरु भो। मान्छेको पढाइ, नवीन सोचाइको योग्यता मावलीतिर जान्छ रे। म मोबाइल चलाइरहेको थिएँ। नरेन्द्र मोदीले ट्वीट लेखे, ‘हाम्रा युवाहरूले भारतको छविलाई विश्वमाझ परिवर्तन गरेका छन्। उनीहरूलाई नयाँ युगका मतदातामात्र ठान्नु गलत हुने छ। भारतका युवाहरू नयाँ युगका ऊर्जा (न्यू एज पावर) हुन्।’ भारत जाँदा पुलिसले घूस माग्दा पैसा, पैसा नभए कलम, कलम नभए सुर्ती, सुर्ती नभए ढाडमा कन्याइदे भन्छ भन्ने कथामा अल्मलिनु कति गलत छ अब। भारत परिवर्तन भइसक्यो। हाम्रा क्यारेमबोर्डमा दिन बिताउने वा दिनको २० कप चिया खाएर गफ चुट्ने युवालाई कुन नेताले के भनी ट्वीट गर्ने? अनि मोदीजस्तो भिजन राख्ने नेता यहाँ कति छन्? खोजी जारी छ, नेताको र क्यारेमबोर्ड, लुँडो, बाघचालको जेनेरेसनबाट उम्केका उद्यमशील युवाहरूको। पक्कै पनि कम छन् गाउँमा, सहरमा लुकिबसेका। हाम्रो नयाँ मिडियाले तिनलाई सोकेस  गर्न सक्नुपर्छ। 

राम्रो बगैंचामा घाममा बसेर ब्रेकफास्ट गरियो। जिआरएल दाँत माझ्न कोठातिर लागे। ‘दन्त स्नान ?,’ सुरेशले सोधे । बदलामा जिआरएलको एक मुस्कान भेटे। 

हामी कफी पिउँदै थियाैं गु्र्रर गर्दै दुई साइडमा दूधको सिलिन्डर बोकेको मोटरसाइकल आयो। दूध खन्यायो र गयो। कृषि र अटोमोबाइलको प्रयोग देख्दा रमाइलो लाग्यो। हुन त दूध कारखानामा भर नपरेका गाईवस्तुपालकहरूले राजधानीमा पनि यसरी नै घरघरमा दूध वितरण गरेको देखिन्छ। यसले प्रोडक्टिभिटी निकै बढाएको हुनुपर्दछ। 

हामी कसैले कहिलेकाहीँ मनोजलाई आफैंले गर्न सकिने सुझाव दियौँ भने 'हो ठीक हो, अब तिमी गर' भन्थ्यो। 

अब दाङको पत्रकार महासंघ भवनमा फेरि अन्तरक्रिया सुरु भो। किशोरचन्द्र गौतमले पत्रिकामा देखिइरहने भाषाका त्रुटिबारे मन खोलेर बोले। राम्रा दैनिकहरू त भाषाका सन्दर्भको रूपमा खडा हुनुपर्ने ठाउँमा भाषा अनुशासन नै बिगारेको र प्रथम पृष्ठमै पनि दिनमा आठ-दस वटासम्म त्रुटि देखिइरहेको उनको गुनासो रह्यो। एक महिला सहभागीले यो हुनुपर्छ, त्यो हुनुपर्छ भन्ने भाषण गरिन्। उनी आफैं एक एफएम चलाएर बसेकी रहिछन्। मलाई फेरि सौविध मनोजको याद आयो। हामी कसैले कहिलेकाहीँ मनोजलाई आफैंले गर्न सकिने सुझाव दियौं भने 'हो ठीक हो, अब तिमी गर' भन्थ्यो। सुझावका टाइम पास श्रोताहरूले पनि मनोजको त्यो बानी सिके र सुझाव दिनेले रिअलाइज गरेर ३० प्रतिशत मात्र पनि लागू गरिदिए हामी कहाँ पुग्थ्यौँ होला? 

हुन त यो एउटा एनेक्डोट हुन सक्छ। तर, मैले एउटा नोटिस गरेको कुरा के हो भने काठमाडौंको भन्दा मोफसलका धेरैको इम्प्रेस गर्ने क्षमता र कला बढी छ। 

अन्तरक्रियाकै क्रममा पुलिसका एक जना अफिसरले भने, ‘हुन त निगेटिभ पाटाहरू छन् तर ती आफ्ना ठाउँमा छन्..', तर मैले मनन गरेँ, हामी किन निगेटिभ पाटालाई सहज मुक्ति दिन्छौँ? अप्टिमिज्मको नाममा नकारात्मक पक्षहरूलाई बाइपास गरेर पोजिटिभलाई मात्र आइसोलेसनमा निरन्तरता दिनु कतिको प्रगतिशील दृष्टिकोण हो?’

मिडिया आफैं प्राविधिक सहायक जेटिए पनि बन्न सक्छ

दाङमा राम्रो सहभागिता भयो। एक किसानले मिडिया आफैं प्राविधिक सहायक जेटिए पनि बन्न सक्छ भनेर दिएको सुझाउ साह्रै राम्रो लाग्यो। अन्तक्रियापछिको चियागफमा दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको हविगत सुनियो। यो कमजोर व्यवस्थापन र दृष्टिकोणको अभाव नौलो नभई थप कथा थियो। 

हामी स्वर्गद्वारी जान कस्सियौं। बाटोमा यो होइन, यो भन्दा अगाडिको बाटो ठीक भन्ने खबर सुनेपछि दाङतिरै फर्किएर मटन, मम र सुप खाइयो। अघि बाटो खराब भन्ने हल्लामा फर्किने कि नफर्किने भन्ने बहस चल्न थाल्यो। जिआरएल र सुरेशजी नजानेमा र म र प्रभात दाइ प्रयास गर्नेमा विभाजित भएका थियौं। उनीहरूले तर्क दिए हामी भावनामा थियौं। तर्क र भावनाको द्वन्द्वमा प्रायः जित तर्ककै हुन्छ किनकि तर्कमा नोक्सानी कम हुन्छ। भावुकतामा तर्क हुँदैन तर ड्राइभ धेरै हुन्छ अनि सम्भावित उपलब्धि पनि मनग्ये। एकछिनका लागि उनीहरूसँग रिस उठेको थियो। लागेको थियो, उनीहरू अवरोधकारी व्यक्ति हुन्, तर बाटो साँच्चै बिग्रेको हो वा होइन पत्ता लगाउन सकिएन। त्यसैले दुबै पार्टीले शंकाको सुविधा पायौं।

मलाई विकट नेपाल हेर्ने रहर डाँडाकाँडा नांगो खुट्टा दौडने रहर, चौतारीमा अडिएर आफू हिँडेको लामो बाटो हेर्ने रहर, परिस्थितिले साथ नदिएको। मनमा अलिअलि नरमाइलो र अलिअलि रिस पनि स्वाभाविक, अस्वाभाविक त्यतिबेला निर्णय गर्न मनै थिएन। सायद जिआरएलले त्यो अनुभूति गरे होलान्। हामी एकछिन पूरै यात्रालाई लिएर बहसमा छिर्यौँ। 

कुनै हिन्दी फिल्मको क्लाइमेक्सजस्तो एकैछिन विनयी तर सशक्त छलफल भयो। आखिर दोष त परिस्थितिकै थियो। राजेन्द्रबहादुर सिंहले पनि हामीलाई नेपाल अनुभव गर्न पठाएका थिए। जीवित नेपालमा त परिस्थितिहरू हाबी हुन्छन्। परिस्थितिको खेल हुन्छ र सायद उनले यस्तै परिस्थितिलाई यो टिमले कसरी ह्यान्डल गर्छ भनी पनि हेर्न खोजेका होलान् तर हाम्रो टिम कहाँ कमजोर थियो र? कुरा मिल्यो झन् नजिक भइयो। एकैछिनमा गीत, जोक र हाँसो सुरु भो। सानुले गाडीको एक्सेलेटर दाब्यो र टोली हिँड्यो नेपालगन्ज अमेलियाको बाटो। 

नेपाललाई पूर्व मेचीदेखि पश्चिम महाकाली भनेको कमन थियो तर उत्तर मुस्ताङदेखि दक्षिण मर्चबार पनि भन्दा रहेछन्।

नेपाललाई पूर्व मेचीदेखि पश्चिम महाकाली भनेको कमन थियो तर उत्तर मुस्ताङदेखि दक्षिण मर्चबार पनि भन्दा रहेछन। वाह मेची महाकाली मुस्ताङ मर्चबारको मेरो घर। सूचनाका लागि जिआरएललाई धन्यवाद। नारायणपुरमा बाटोभन्दा पेटी ठूलो भएको ठाउँ पनि देखियो, तर हामी त्यसको कारण खोज्नतिर चाहिँ लागेनौँ। बरु जिआरएलको उपननभेज जोकले चाहिँ धेरै हँसायो। 

एक नेपाली टोली जर्मनीको एउटा ससेज कारखानाको भ्रममा गएछ। कारखानाको मानिसले ‘ल हेर्नुस्, यहाँ गोरु छिराइन्छ र यसरी ससेज निकालिन्छ’ भनी पूरै प्रक्रिया देखाएछ। टोलीकै एक महाबुझक्कीले प्रश्न गरेछ, ‘गोरु छिराएर ससेज निकाल्ने प्रविधि त देखियो तर के तपाइँकहाँ ससेज छिराएर गोरु निकाल्ने प्रविधि छैन?’ दिक्क भएको त्यो कारखानाको मानिसले केहीबेर सोचेर जबाफ दिएछ, ‘हममम त्यो प्रविधि हामीसँग चाहिँ छैन, तर तिम्रो बाउसँग चाहिँ पक्कै रहेछ।’


सुरेशजीले अमेरिकी पूर्वराष्ट्रपति रेगनले भनेको जोक थपे, रसियाका मानिस कति सुसंस्कृत र समयको महत्व राख्ने हुन्छन् भनेर।

एक जना रसियन बजारमा कार किन्न गएछन् । त्यतिबेला रसियामा भन्नेबित्तिकै सामान नपाउने अवस्था थियो। कार बुक गर्दै पसलेले भनेछ, ‘तपाइँ १० वर्षपछि आफ्नो कार लिन आउनुहोला।’ पसलेले १० वर्षपछिको एउटा मिति पनि दिएछ। मिति हेरिसकेपछि ग्राहकले निकै सहजताका साथ प्रश्न गरेछ, ‘बिहान आऊँ कि बेलुका?’ पसलेले भनेछ, ‘के फरक पर्छ र? १० वर्ष कुरिसकेपछि चाहे बिहान आउनु चाहे बेलुका।’ अनि ग्राहकले भनेछ, ‘त्यो दिन बिहान म कहाँ प्लम्बर पनि आउँदैछ।’ 

रमाइलो गर्दै हामी दाङ उपत्यकालाई वर्ड्स आइभ्यू देखिने ठाउँमा पुग्यौँ। धेरै क्लिकहरू भए। साँच्चै यो उपत्यका कति सम्भावनायुक्त छ। मलाई एकपटक फेरि प्रकृतिलाई धन्यवाद र म र म जस्तालाई गाली दिन मन लाग्यो, माल पाएको चाल नपाएको भन्या यही हो भनेर।

उचाइबाट दाङको सौन्दर्य रसास्वादन गरेपछि एकछिन हामी चूप भयौँ। मैले प्रश्न ओछ्याएँ, ‘तपाइँहरूले साँच्चै डाँका देख्नुभएको छ?’

सुरेशजीले आफ्नी आमाबाट सुनेको मर्चबारका शुक्ला डाँकाका बारेमा वर्णन गर्न थाले। शुक्ला ब्राह्मण जुँगेमुठे थिए रे। शनिबार कालो र अरू दिन रातो तिलक लगाउने। घोडा चढ्ने। देख्दै रियल डाँका जस्ता रे। भारतमा लुटेर नेपालका गाउँका गरिबलाई सहयोग गर्ने। पुलिसले खोज्दा गाउँलेले लुकाइदिन्थे रे शुक्ला डाँकालाई। 

जिआरएलले झिँझाली डाँकाहरूका बारेमा बताए। धनुषाको झिँझा भन्ने ठाउँको। सरकारले उनीहरूलाई सर्लाहीमा पुनर्बास नै गराएको रहेछ। जिआरएलले तिनलाई भेटी स्टोरी नै गरेका रहेछन्। 

‘ती डाँकाहरू के डाँका, अहिलेका नेताहरू पो महाडाँका,’ सुरेशले थपे। हामी हाँस्यौँ सहमति जनाउँदै। 

त्यहाँ अत्यचार थियो


‘रोक्नुस् रोक्नुस्,’ एक ठाउँमा गाडी रोकाएँ। त्यहाँ अत्यचार थियो। मेरो मनले मानेन। अमेलिया पुग्नु साँढे ६ किलोमिटर वरै साँझको ५ः१५ बजेतिरको त्यो अत्याचार वर्णनयोग्य थियो। 

पत्रपत्र परेर परपरसम्म देखिने स्ट्रेचसम्म डाँडाहरू फिँजिएका, थुपुक्क–थुपुक्क बस्दै राप्ती र सूर्यको प्रेम उत्सर्गमा रातो सूर्यले राप्तीका हरेक छाललाई हिरा छरिदिएजस्तो। हरिया डाँडाहरू देखेपछि नदेखिएझैँ आँखा छोपेजस्तो अभिनय गरिरहेको, साँझको धमिलोको सहायतामा। चराहरू सूर्यलाई जिस्काउँदै घर फर्किरहेका। सन्ध्याको घामका किरणमा देखीने उडेको धुलोले मेरो अतितलाई सम्झाउँछ, निकै मनमोहक लाग्छ यो क्षण।

साँझपख बच्चाहरू खेलेको भन्दा कम थिएन त्यो। अनि हामीलाई देख्नेवित्तिकै सब चुपचाप। कस्तो अत्यचार? 

‘साम्बाला..., ’ मेरो मुखबाट फुस्किहाल्यो। धेरैअघि साम्बाला नामको पुस्तकमा मैले प्रकृतिको यस्तै वर्णन भेटेको थिएँ। मलाई डेजावु भएजस्तै भयो। लाग्यो, यो ठाउँमा म धेरै पहिलेदेखि नै छु। प्रकृतिसँग महोत्सव मनाऔं भन्दै हामी निकैबेर त्यो दृश्यको साक्षी बन्यौँ। अनि त्यहाँ क्लिकहरूमा सुरेशजीको क्यामराको ब्याट्री सकियो। 

मैले आजसम्म प्रकृतिले हामीलाई खुसी बनाएको देखेको थिएँ तर आज प्रकृति आफैं खुसी भएको पनि देखेँ ।

मैले आजसम्म प्रकृतिले हामीलाई खुसी बनाएको देखेको थिएँ तर आज प्रकृति आफैँ खुसी भएको पनि देखेँ। प्रकृति आज मौलिकतामा थिइन्, खेलिरहेकी सृष्टिको खेल। 

यो मेरो ड्रिमल्यान्ड हो। अब मैले स्वर्गद्वारी जान नपाएको खल्लोपन बिर्साइदिएँ। किनकि स्वर्गको द्ववार मैले यहीँ देखेँ। यही हो स्वर्ग अनि यही हो मैले आजसम्म खोजेको ड्रिमल्यान्ड। मलाई आफ्नो  ५० प्रतिशत कम वजन महसुस भयो। एउटा अर्कै खुसी, कम्प्लिटनेसमा म मा मात्र होइन, पिआर सुरेश जिआर सानु सबैमा थियो। प्रकृतिको प्रभाव युनिभर्सल हुन्छ।

बाटोमा धेरैबेर कुरा भएन। छोड्न मन नलाग्दानलाग्दै छोड्नुपर्यो त्यो ठाउँ। यो करिब–करिब डेस्टिनीपछिको डेस्टिनेसनको यात्रा थियो। यात्रा जारी नै रहन्छ। उनै प्रकृतिले बनाइदिएको नियम। सबै प्रफुल्ल छन्।

बाटोमा एक बथान बाख्राले बाटो छेक्यो। किनारबाट केही गाई पनि फर्किरहेका थिए धूलो उडाउँदै गोधुलीमा। 

प्रमुख राजमार्ग आइपुग्यौं। फेरि उही जंगलको स्ट्रेच। सूर्यको लुकामारीसँग गाडीले गति लिइरहेको छ। रोडले हामीलाई नेपालगन्ज लैजाँदैछ।

 

यो पनि हेर्नुहोस्

शुभ देश (भाग-१)

शुभ देश (भाग-२)

शुभ देश (भाग-३)

शुभ देश (भाग-४ )

शुभ देश (भाग-५)

शुभ देश (भाग-६)

शुभ देश (भाग-७ )

शुभ देश (भाग-८)

शुभ देश (भाग-९ )

शुभ देश (भाग-१० )


 

More form the Internet

loading...