Suvadin, Home

फेब्रुअरी ८, २०१३
शुभ देश (भाग-१२)

खोई, त्यो जगलीपनसँग त्यो पुलको आर्किटेक्चरको संवाद। सब धमिलिएछ। उतिबेला कर्णाली जंगल र त्यो पुल इक्विलिब्रियम बनाएर बसेथे। वाइल्डरनेस, जीवन र कलाकारिताको संयोग आज यहाँ त्यो छैन। यहाँ विकास भएको छ। अब यो पुलले यात्रुहरूलाई तारिदिन्छ अनि खाजा खान दिन्छ। पहिले एउटा अनुभव खान पाइन्थ्यो अहिले फगत खाजा। 

फेब्रुअरी ८

सिद्धार्थ होटलको कम्फरटेबल ओछ्यानमा अनि न्यानो हस्पिटालिटीमा राम्रो निद्रा आयो। जिआरले पनि चुरोट नगनाउने कोठा भेटेछन्। फेरि आफू नेपालगन्जमा पश्चिमेली नागरिकका सम्पादक हुँदा उनले लामो समय यही होटेलमा बिताएका रहेछन्।

बिहानका चियाबीच नेपालगन्जमा रहेका जुँगे महादेवको चर्चा भयो। महादेवका अनेक रूप। महादेव पनि ग्लोबल भएका हुनाले उनले आफूलाई विभिन्न कन्टेक्स्टअनुसार लोकलाइज गरेका छन्। सुरेशजीले हिजोको काण्डको कुरा उप्काए। हिजो राति हामी नेपालगन्ज आइपुग्नुअघि दुई जना केटाहरु बाइकमा आएर कार चलाइरहेका एक व्यक्तिलाई एक्कासि कुरा नगरी भकाभक कुट्दै थिए। हामीले रोकिएर पुलिसलाई खबर त गरेथ्यौँ तर यो संस्कृति हामीले कहिलेदेखि सिक्यौँ भन्ने बहस हामीबीच चलिरह्यो। सुरेशजीलाई अझै नरमाइलो लागिरहेछ, मलाई पनि। 

हामी ब्रेकफास्टका लागि हिँड्यौँ । नेपालगन्ज हाम्रो ट्रान्जिट मात्रै थियो । यति पुरानो सहर भइकन पनि यहाँ जनकपुरमा जस्तो घिनलाग्दा नालाहरूको कमी थिएन। 

‘नेपालगन्जमा पनि घरैपिच्छे सिमसार रहेछ त्यो पनि अनवान्टेड,’ सुरेशले कनेक्ट गरे। ‘हो, लामखुट्टेको विशेषता भएको निजी सिमसार...,’ पिआरले थपे। 

हामी गुलरिया हुँदै धनगढी पुग्ने प्लानमा थियौँ। बबई खोला तरेर बर्दिया छिर्नेबित्तिकै एउटा पशुहाट भेटियो। करिब सयभन्दा बढी गोरु भएको त्यो हटिया अचम्मलाग्दो थियो छुट्टै सेटिङको। पराल आदि यताउता बेच्न राखिएका, छेउमा कतै रोटी र अचार पाकिरहेको, गोरु साहू र ग्राहकको मोलतोल, गोबरका गोबरको थुप्रो..।

सुरेशजी क्यामरा लिएर लागिहाले। उनको लागि यो करिब–करिब एउटा मिनी डकुमेन्ट्रीको खुराक थियो। आफू बिजनेस क्षेत्रको मानिस। सोधिहाले दाइ यो जोडीको कति भनेर। ‘२२ हजार रुपैयाँ,’ गोरु साहूले भन्यो। 

‘गफ गर्न प्रमाणपत्र चाहिन्न।’


गुलरिया बजारमा एकछिन रोकियौं। अन्तरक्रिया नगरे पनि केही प्रश्नावलीमा फिडब्याक लिने हेतुले हामी छरिएर लाग्यौँ। म छिरेको कस्मेटिक पसलमा तीन युवा करिब २२–२५ वर्षका मज्जाले पान चपाएर बसिरहेका थिए। ‘भाइ, यो फाराम भरिदिनुस्न’, मैले अनुरोध गरेँ। उनीहरू एउटाले अर्को, अर्कोले अर्कोलाई हेरेर टारिदिए, अल्छीहरू। 

ताराताल हुँदै भुरीगाउँ जाँदा निजामती कर्मचारीहरूको टुहुरो जुलुस देखियो। ९–१० जनाको जुलुस। प्रजातन्त्र यही हो सायद उनीहरूलाई आज काम गर्न मन लागेन कि? वा अरू कुनै जेन्युइन कज थियो, थाहा भएन। 

एक हुल स्कुले विद्यार्थीहरू हाम्रो नजिकैबाट अघि बढे। ‘स्विटरबाट बाहिर टाई राखेर भए पनि लाउनैपर्ने। क्या आडम्बर?,’ सुरेशजी टाइ लाउन नसिकाएका तर अनिवार्य गराएका मास्टर र व्यवस्थापनप्रति खनिए। 
कुन हो एउटा गफाडीको प्रसंगमा जिआरले भने, ‘गफ गर्न प्रमाणपत्र चाहिन्न।’

राजेन्द्रबहादुर सिंहले कृषकहरूलाई मौसमको सूचनासँग हाम्रो मिडियाले लिंक गराएर राष्ट्रिय उत्पादकत्व बढाउन सकिन्छ भनेको झलझली याद आयो। 


नाक खुम्चाउँदै, गाला च्याउर्याउँदै आइफोनको अपडेटमा अपडेट भइरहने जिआरको स्वभावसँग हामी अभ्यस्त भइसकेका थियौैँ। फेरि उस्तै नाक खुम्चाएर उनले भने, ‘लौ जनवरी २०१३ विगत ३५ वर्षमध्ये सबभन्दा न्यानो रहेछ। हफिङटन पोस्टमा लेखेको।’ पिआर, सुरेश र मैले एकअर्कालाई हेराहेर गर्यौँ। 

‘अनि यो सूचनाले चाहिँ के गर्नु सर?,’ पिआरले अबोध हुँदै सोधे। 

‘विदेशमा आफूसँग जब र मौसमको बारेमा जानकारी छैन भन्नु साह्रै लाजमर्दो कुरा हो,’ सुरेशले भने। ‘विशेषगरी युरोपमा,’ उनले थपे। 

हुन पनि मौसमको जानकारीबमोजिम छाता र ज्याकेट लिएर हिँड्ने देश र मौसमको जानकारी आउनासाथ च्यानल चेन्ज गर्ने हाम्रो देशलाई कसरी एकै ठाउँमा राख्ने? आजभोलि त थाहा छैन तर, केही वर्षपहिले मौसम विभागले जे भन्यो त्यसको ठ्याक्कै उल्टो हुन्थ्यो। 

मौसमको सूचनाको सही मार्केटिङ हुन बाँकी छ। राजेन्द्रबहादुर सिंहले कृषकहरूलाई मौसमको सूचनासँग हाम्रो मिडियाले लिंक गराएर राष्ट्रिय उत्पादकत्व बढाउन सकिन्छ भनेको झलझली याद आयो। 

एउटा कुकुर दौडँदै हाम्रो गाडी लखेट्न थाल्यो। अर्कोले पनि जोइन गर्यो। आखिर यी कुकुरलाई केको रिस हो दौडँदै गरेको गाडीसँग? कुनै एउटा कुकुरलाई गाडीले किचेको अर्को कुकुरले देखेको छ भने यस्तो व्यवहार देखाउन सक्छ भन्ने कुरा आयो भने त्यो पनि अर्को दौडिन सक्ने कुकुर हो म त्यसलाई जित्छु भन्ने इखले ड्राइभ गरेको हुनसक्ने अर्को अनुमान पनि आयो। जिआरएल के चुप बस्थे- ‘विदेशमा त कुकुर मात्रको पनि लाइब्रेरी हुन्छ। त्यहीँ गएर रिसर्च गर्नु नि।’ 'डगोलोजी', सुरेशले जिस्काए। 

झ्याउलाग्दो बाटोपछि बल्ल मुख्य राजमार्ग आयो। गुलरियाबाट त्यो बाटोसम्म आइपुग्दा मान्नैपर्ने कुराचाहिँ के भने त्यहाँका प्रायः सबै नयाँ घरहरूमा इँटा, रोडा, सिमेन्ट नै प्रयोग भए पनि नेपाली अद्वितीय आर्किटेक्चरको अभ्यास भएको मैले देखेँ। नत्र प्रायः चारकोठे पिलरवाला चोसा निस्किएका, प्लास्टर नगरिएका तर दोस्रो तलामा पनि घिनलाग्दा पिलर ठडिएका अनि त्यसमाथि भूतका दारा जस्ता फलाम निस्किएका घरहरू देखिन्छन् हामीकहाँ। साँच्चै यति राम्रो नेपाली आर्किटेक्चर भएको देशमा यो यति नराम्रो मोडेल कहाँबाट भित्रियो? बनाउन पैसा कम लाग्ने भए पनि एउटा कुरो। यो कुरामा बरु बन्दीपुरेहरूलाई सलाम। बन्दीपुरमा आधुनिक घरहरू पनि आधुनिक र मेटेरियल तर पुरानो खाँटी नेपाली आर्किटेक्चरमा बन्दैछन्। त्यसलाई बढावा दिन स्थानीय पर्यटन बोर्डले फ्रि डिजाइन कन्सल्टेन्सी मात्र प्रदान गर्दैन, बन्दीपुरे घरको प्रोटोटाइपिङ पनि गरिरहेको छ। बन्दीपुरे र बन्दीपुरेलाई सहयोग गर्ने इन्जिनियर्स कलाकारहरूलाई विशेष धन्यवाद। 

कतै शिक्षकहरूले विद्यार्थीहरूलाई ‘रुख काट्ने मन नेतालाई भन’ भनी पढाइरहेका त छैनन् ? 


जंगल देख्यो कि मानिसले सकाइहाल्लान् भनेर डराइरहने मन आर्मी संरक्षित बर्दिया राष्ट्रिय निकुन्जबाट गुज्रिँदा साह्रै आनन्दित भयो। मानौँ रुखहरूको शान्तिनगरमा आइपुगिएको जस्तो। आर्मीलाई त कम्तिमा विश्वास गर्नैपर्यो। कमसेकम मेरो पुस्ताको मानिस प्रायःले पढ्दा हरियो बन नेपालको धन भनेर एक पृष्ठ व्याख्या कुनै न कुनै मौकामा गरेकै होलान्। आजभोलि कता गयो त्यो उखान? कतै शिक्षकहरूले विद्यार्थीहरूलाई ‘रुख काट्ने मन नेतालाई भन’ भनी पढाइरहेका त छैनन्? 

मलाई रुखको ज्यादै माया लाग्छ। एउटा ढालेको वृक्ष देख्दा लासभन्दा कम लाग्दैन। कुनै विशेष शक्तिमा पुगेको दिन वृक्षहत्या जनहत्या भन्ने उखान ल्याउँथे। अनि वन तस्करहरू सबैलाई देशद्रोही घोषणा गरी पठाइदिन्थे त्यही तस्करी उक्साउनेहरूको देशमा। 

आज प्रभात दाइ खासै हसमुख छैनन्। त्यति ज्ञानी छोरी पनि सायद स्कुल गइनन् कि त्यस्तै केही भयो। जति धेरै माया उति नै धेरै चित्त दुखाइ। हुन पनि उनी पनि त मान्छे नै हुन्। सधैँ उस्तै रहन गाह्रै हुन्छ नि। जीवनका यथार्थले कहिलेकाहीँ त उनलाई पनि हाँक दिँदा हुन्। 

पहिले एउटा अनुभव खान पाइन्थ्यो अहिले फगत खाजा।

हामी कर्णाली पुग्यौँ। म १९९८ मा फर्किएँ । १९९८ मा एसएलसी सकेर म र समीर अर्याल (त्यतिबेला रेनबो कलरल्याबका साहुका छोरा, भतिजा) सँगै पश्चिम खुब घुम्यौं। १९९० तिर हामी हनुमन्तेमा पौडी खेल्थ्यौँ। आज त्यो हनुमन्तेलाई कसैले खोला हो भन्यो भने पत्याउन सकिन्न। १९९८ को कर्णालीको पुल देख्दा म आफ्नो कलिलो दिमागमा जुन प्रभाव थियो आज त्यो झ्याम्मझुम्म भयो। यसलाई पनि विकासको भाइरलले छोएछ। खोइ, त्यो जगलीपनसँग त्यो पुलको आर्किटेक्चरको संवाद। सब धमिलिएछ। उतिबेला कर्णाली जंगल र त्यो पुल इक्विलिब्रियम बनाएर बसेथे। वाइल्डरनेस, जीवन र कलाकारिताको संयोग आज यहाँ त्यो छैन। यहाँ विकास भएको छ। अब यो पुलले यात्रुहरूलाई तारिदिन्छ अनि खाजा खान दिन्छ। पहिले एउटा अनुभव खान पाइन्थ्यो अहिले फगत खाजा। बिकासिएको छ बजारको होहल्ला। वाक्क देखिएको त्यो पुलले न मलाई चिन्यो, न मसँग कुनै संवाद गर्यो। 

गाउँमा भेटिएकी एउटा राम्री चेलीलाई भट्टीमा वेट्रेस बनेको देखेको जस्तो भयो मलाई। 

मलाई लाग्दैमा के हुन्छ र? म विकास विरोधी पनि त होइन तर विकासले व्यवस्तता ल्याओस् भन्ने छ।  

सानो बेलामा बागमती नुहाएको म अहिले हरेक सफा खोलामा ढलमय बागमतीको झझल्को देख्छु। अनि कुनै टेलिफिल्ममा आफ्नै आत्माले आफूसँग कुरा गरेजस्तो मसँग ती खोलाहरूले प्रश्न गर्छन्, ‘खै, तैँले के गर्न सकिस्?’ म उत्तर र एक्सन दुवै खोजिरहेको छु, आफूले सकेको सानोतिनो गरिरहेको छु। कर्णालीमा पनि मैले उही पुरानो बागमती देखेँ। अब कति वर्ष लाग्ला यो पानी कालो हुन्? प्रश्न यही मात्र बाँकी छ। 

हल्का खाजा खाइयो। गाडीमा अगाडि बस्न आराम, पछाडि ३ जना बस्नु पर्ने भएर गार्हो। अझ त्यस्माथि पछाडि को बिचमा बस्न त झन् सास्ती। रिमाल बा अगाडि बसिहाल्छन् सुरेशजी पछाडिको दाहिनेतिर झम्टिहाल्छन् अनि बीचमा नकोच्चिन जिआरएल र मेरो बहुतै डिप्लोम्याटिक दाउपेच चल्छ। जो पहिला उक्ल्यो त्यो बीचमा खाँदिइहाल्छ। त्यसैले हामी मानमर्यादा देखाए जस्तो 'सर पहिला हजुर' भन्दै छेउमा बस्ने तिकडम गर्छौं। छेउको झ्यालको सिट बीचभन्दा फरक त छैन। यसैउसै पछाडि तीनजना अट्नु त छँदैछ, जिआर र मेरो लागि यो सिरिजको प्रतिस्पर्धा बनिसकेको छ। हामी जित्नका लागि अलमोस्ट जे गर्न पनि तयार रहेको  अवस्था छ। यो देब्रे सिटको गेम पनि यो यात्राको रमाइलो बनिसकेको छ। जित्नु त परिहाल्यो जिआरले थाहा नपाइहाल्लान् भनेर म चढ्न अलमल गरिरहेंँ। जिआरले पनि मलाई खोजेजस्तो गरी अड्किइरहे। मैले नजिक गएर सर छिरौँ भनेँ। ‘सर, छिरौँ न,’ उनी भन्छन्। ‘मैले मुला खाएको छु डकार आउला कि झ्यालतिर बस्न,’ मैले राम्रै पासा फ्याकेँ। ‘ए, त्यही त, मैले झन् मुला र प्याज खाएको छु,’ उनले उत्तर दिए। हामी मरीमरी हाँस्यौँ। सिइओ र सम्पादकको यो कुराकानी अरूले सुने के भन्लान्? तर, जीवन जिउन जाने सानोभन्दा सानो घटनामा पनि मुरीका मुरी खुसी छ। यो झ्याल महात्म्यले हामीलाई घरीघरी हसाउँछ। हामी घरीघरी बालहठ गर्छौं। क्या आनन्द आउने रहेछ जीवन यस्तै हाँसो र खुसीमा बितेकोमा। हामीभित्र एउटा बच्चा, युवा, परिपक्व र वयस्क पाटाहरू यसैगरी ऋतुहरूझैँ पालैपालो घुमिरहन्छन्। 

यहाँका ट्राफिकहरूको चाहिँ काम छ जस्तो छ। त्यति चेकिङ छैन।


‘जंगलैजंगलको स्ट्रेचमा गाडी गुडिरहेको छ। काठमाडौँ चेकिङ नै चेकिङको सहर यहाँ चेकिङ मिस भा’छैन सर?,’ जिआरलाई सोधेँ। ‘किन मिस नगर्नु नि। यहाँका ट्राफिकहरूको चाहिँ काम छ जस्तो छ। त्यति चेकिङ छैन,’ जिआरले भने। उनले फेरि एउटा घटना पनि सुनाए, ‘उनी घर जाँदै रहेछन्। एक ट्राफिकले मुखनिर नाक ल्याएर सोधेछन्, ‘मापसे हल्का दिनुभा’छ ?’ जिआरले भने, ‘छैन, तर घर गएर दह्रो तरिकाले दिने विचार छ।’

बाटोमा घरभित्र आठै बजे बत्ती निभाएर झ्याप्पझुप्प सुतिसकेका जिआरलाई चित्त बुझेनछ। ‘न पढ्नु छ न थप काम। सुत्ने, बच्चा जन्माउने,’ उनी दिक्दार भएर गनगनाए। 

महेन्द्रनगर पुग्दासम्म रात झमक्कै भइसकेको थियो। धनगढी पुग्नुपर्ने भएकोले चाँदनी, दोधारा र टनकपुर मिस गरिने भइयो। मनमनै बोर लागिरहेको थियो। केही पसलहरूमा फाराम भर्न छोडी हामी एउटा मिठाईपसलमा चिया र दूधवरी खान लाग्यौँ। सुरेशजीले मिठाई ठीक छ भनिदिनेबित्तिकै हाम्रो सन्तुष्टि दुई सय प्रतिशत उचालिन्छ। 

हाम्रो गाडीको ब्लुबुक रिन्यु गर्न भुलिएको रहेछ। दुईपटक रोड इन्ट्रीमा समातियौँ। संयोग, दुवैपटक बिरालोले बाटो काटेको थियो। जिआरको कमेन्ट गइहाल्यो, ‘यहाँ ट्राफिक प्रहरी र बिराला मिलेका रहेछन्।’ 

धनगढी पुगेर डिभोटी होटेलमा बस्यौं। धनगढीमा समेत यति सुविधाजनक होटेल देख्दा ज्यादै खुसी लाग्यो। होटेलमै मीठो टांग्री र सिख कबाब खायौं। 

'गुडनाइट' प्रभात दाइ र म जिआर र सुरेशजीसँग छुट्टियौँ।


 

More form the Internet

loading...