Suvadin, Home

Cover Image

फेब्रुअरी १०, २०१३
शुभ देश (भाग-१४ )

तारानाथ शर्माको घनघस्याको उकालोको कथा कुनै गफ होइन रहेछ। आफ्नो देशको हिउँमा आफ्नी आमाको अंगालोजतिकै न्यानो हुँदो रहेछ। म फुर्कीफुर्की चलिरहेथें एक्कासि आँशु आयो। सगरमाथामा पनि यही हिउँ छ नेपाली हिउँ । आफ्नो भन्ने कुरा कति महत्वपूर्ण हुन्छ। मलाई लाग्दैन देशद्रोह भन्ने शब्द अस्तित्वमा हुनुपर्छ। कसैले पनि देशद्रोह गर्न सक्दै सक्दैन। यो बाटोको अलिकता हिउँको त यति माया छ। 

१० फेबुअरी

बिहान चाँडै उठियो। आज बझाङ जानु छ। ट्रान्जिटमा परेको यो डडेलधुरा हामी फेरि बस्न आउनेछौं र पछि अनुभव गर्नेछौं। हाम्रो उठाइले हाम्रो कोठाको वातावरण कुनै विवाह घरको बिहानीपखजस्तै थियो। लुगाफाटो थन्कोमन्को अनि चिसोले नुहाउन नसकेपछिको सिंगारपटार। 

एकाबिहानै अस्ट्रेलियाबाट प्रमोद भाइको फोन आयो। ‘दाइ, तपाइँले पनि फेसबुक खोल्या? मलाई नै क्या असजिलो लागिरा’छ,’ उसले भन्यो। मेरो कुराकानी सुनिरहेका पिआरले ‘बल्ल सही संगत भयो भनिदेउन न’ भने। 

कोठाबाहिरको त्यो चौथो प्रहरको आकाश कुनै भयंकर पेन्टिङजस्तो देखिएको। अमूर्त कला। निस्सासिँदै म जिआरलाई गुहार्न गएँ।

कोठाबाहिरको त्यो चौथो प्रहरको आकाश कुनै भयंकर पेन्टिङजस्तो देखिएको। अमूर्त कला। निस्सासिँदै म जिआरलाई गुहार्न गएँ। जिआर बाहिर आएका मात्रै के थिए ‘साम्बाला साम्बाला’ भन्दै उफ्रिन थाले। मेरोभन्दा १० गुणा बढी एक्साइटमेन्टमा उनी प्रस्तुत भए। 

डडेलधुरापछि पोखरा आउँदोरहेछ, अर्कै पोखरा। बरुण पनेरु हाम्रा लागि साथी आएका छन्। वरुणले हामीलाई खुब राम्रो गाइड गर्दैछन्। बाटोमा सालको वन देखियो। सतिसालको। जिआरले थपिहाले, ‘सय वर्ष खडा, सय वर्ष पडा, सय वर्ष डुबा, सय वर्ष सडा। यो हो सालको काठ।'

ईश्वरले प्रतिबद्धता नै बोकाएर पठाइदिएका भीष्म पितामहजस्ता यी सालका रुखहरूका पनि हत्याराहरू यहाँ प्रशस्त छन् रे। वरुणका अनुसार यहाँका हतियारधारी तस्करहरू सोलेका गब्बरभन्दा कम छैनन् रे।  सायद अहिलेसम्मकै ठूलो ४३ करोडको हिनामिनाको मुद्दा लाग्दा पनि यी डाँका खुल्ला घुमिरहेका छन् रे। एक जनाले विरोध गरेका जिउँदै जलाइदिए रे।  थुइक्क सरकार। तँ किन यति नपुंशक छस्? निकैबेर चित्त दुखिरह्यो। बिचरा सालहरू।

अनारखोलीबाट निकै राम्रा दृश्यहरू देखिँदो रहेछ। एकैछिनमा हामी बैतडी जिल्ला छिर्यौं। ‘खोड्पे पनि फोहर भएछ,’ नेपालका ६९ जिल्लामा रातै काटेका सुरेशले खोड्पे आएपछि कमेन्ट गरे। परैदेखि कट्टी रोल ख्वाउँछु भन्दै आएका सुरेश अचम्ममा परे। उनले भनेका रोल उद्यमी बसाइँ सरिसकेका रहेछन्। सदूरपश्चिमको खोड्पेको त्यो रोल हाम्रो भाग्यमा रहेनछ। 

तर, ब्रेकफास्टमा कुनै कमी रहेन। १७ वर्ष राजधानी रेलमा काम गरेर देश फर्केका मदनराज वस्तीले मुखमा पानपराग राख्दै खोड्पेमा राजधानीको व्यञ्जन ख्वाए। म बाजी राख्न सक्छु उनले बनाएको जस्तो मीठो आलुपरौठा ख्वाउने हात नेपालमा गनेरै १० वटा पनि नहोला। त्यो लोकल स्वादको एक राते दही, अहा त्यो लोकल कुखुराको अन्डा..। वाह खानेको टक बसेकालाई बस्तीको यो सानो पसल पनि कुनै पाँच तारे होटलभन्दा कम हुँदैन। 

तारानाथ शर्माको घनघस्याको उकालोको कथा कुनै गफ होइन रहेछ। आफ्नो देशको हिउँमा आफ्नी आमाको अँगालोजतिकै न्यानो हुँदो रहेछ। 

खोड्पेमै वरुणले कृषि अधिकृत राजेन्द्रप्रसाद मिश्रलाई भेटाए। मिश्रले यो क्षेत्रमा कृषिमा उल्लेख्य परिवर्तन ल्याएका रहेछन्। दुईबीच राम्रो कुराकानी भयो। पत्रकारहरूले यस्तो प्रतिभालाई सोकेस गरेको सुन्दा साह्रै रमाइलो लाग्छ। नेताका पुच्छर समातेर नदौडने पत्रकारहरूको कलममा ठूलो शक्ति हुन्छ समाज परिवर्तनको। 

अगाडि बढ्दै गर्दा कनै पोस्टरमा देखिनेजस्ता दृश्यहरूले हामीलाई स्वागत गरे। वनस्पति विस्तारै परिवर्तन हुँदैछ र हामीलाई जति जाडो लाग्दैछ डाँडाहरूर्लाइ उति नै गर्मी लाग्दैछ। नांगै छन् डाँडाहरू। सानो बेलामा टिभीमा 'वेलकम टु मार्लबोरो कन्ट्री' भन्दै देखाएका सिनहरूजस्ता। पर सय गह्रा डाँडा देखिए। गन्ने नै हो भने त्यो थुम्कोमा दुई तीन सय गह्राहरू हुँदा हुन् भुइँकटहरका बोक्राजस्ता। 

ढल्यामोडमा हिउँ फेला पर्यो। म दौडिँदै हिउँ छुन गएँ, छोएँ, चलाएँ, खेलेँ, लडिबुडी गरेँ, मुखमा हालें, सबै गरें। तारानाथ शर्माको घनघस्याको उकालोको कथा कुनै गफ होइन रहेछ। आफ्नो देशको हिउँमा आफ्नी आमाको अंगालोजतिकै न्यानो हुँदो रहेछ। 

म फुर्कीफुर्की चलिरहेथें एक्कासि आँशु आयो। सगरमाथामा पनि यही हिउँ छ नेपाली हिउँ। आफ्नो भन्ने कुरा कति महत्वपूर्ण हुन्छ। मलाई लाग्दैन देशद्रोह भन्ने शब्द अस्तित्वमा हुनुपर्छ। कसैले पनि देशद्रोह गर्न सक्दैसक्दैन। यो बाटोको अलिकता हिउँको त यति माया छ। 

‘अब लाग्नुपर्छ नत्र धेरै ढिला हुन्छ,’ वरुणले भने। मन नलाग्दानलाग्दै हामी अगाडियौं। बाटोमा बादरहरूले हिउँ पगाल्दै पानी खाएको देखियो। उनीहरूको आइसक्रिम होला यो। 
बझाङ जाने बाटो नयाँ रहेछ। यहाँ भर्खरै ठूलो बाटो खुलेको रहेछ र बाटोमा कन्स्ट्रक्सन द्रूत गतिमा थियो। हाम्रो गाडीलाई गतिमा देखेर एक हुल महिला यताउता भागे बसिरहेको ठाउँबाट।

‘कस्ता राम्रा कति निर्दोष झुम्रा पुतली जस्ता ?,’ जिआरले टिप्पणी गरे। 

‘यहाँका र काठमाडौँका कुकुरले बाटो काट्ने नै फरक छ। काठमाडौँका कुकुरहरू दायाँबायाँ हेरेर बाटो काट्छन् आजभोलि यहाँका बिचराहरू यतिकै फुत्त दौडिँदा रहेछन्,’ सुरेशले थपे।

जिआरले आजभोलिका शहरका कागको कुरा झिके। ‘कागलाई यत्तिकै बाठो भनिएको होइन। मैले हेरेको युट्युब भिडियोमा एउटा कागले ओखर ल्याएर बाटोमा फालिदिन्छ अनि गाडीको चक्काले टुक्राटुक्रा पारेपछि चुच्चोमा मज्जाले टिपेर खान्छ,’ उनले प्रसंग थपे। ‘तै आज बिरालोले बाटो काटेन र ट्राफिकलाई दिने पैसा बच्यो,’ पिआरले हाँस्दै भने। यहाँका बिरालाहरूले ट्राफिकसँग सेटिङ गर्न भ्याइसकेका छैनन् जस्तो छ। 

‘यहाँ बिरालामात्र छन्, ट्राफिक छैनन्,’ सुरेशले जवाफ दिए । पिआरले जवाफ दिए, ‘हो तिमीजस्ता बिराला।’ 

‘यहाँ बिरालामात्र छन्, ट्राफिक छैनन्,’ सुरेशले जवाफ दिए। पिआरले जवाफ दिए, ‘हो तिमीजस्ता बिराला।’ 

गाडी खल्ड्याङ–बल्ड्याङ सडकमा गुडिरहेछ। साइडका पहाडहरूलाई मतलब छैन। छेउमा बगिरहेकी सेतीलाई एकटकले हेरिरहेका छन्। साँच्चै पहाड र खोला प्रेमीप्रेमिका हुनुपर्छ। यति लामो नजिकको संगतमा साथीमात्रै के बनेका होलान् र?

मैले मनमनै बदमासी गरिरहेथें सेती र त्रिशूली नदीको प्रतिस्पर्धा गराएर। त्रिशूली देखिरहेको भएर होला उनको अलि बढी माया लाग्दो रहेछ । 

जिआरका अनुसार सम कालीगढले जस्तो शब्द–शब्द चयन गरेर लेख्थे भने देवकोटा हुरीजस्तो ठहराव बिना नै लेख्थें रे। 

कविताको कुरा उठ्यो। कवितासँगै सम र देवकोटाका पनि कुरा उठ्यो। जिआरका अनुसार सम कालिगढले जस्तो शब्द–शब्द चयन गरेर लेख्थे भने देवकोटा हुरीजस्तो ठहराव बिना नै लेख्थे रे। 

बझाङ पुगियो। सेती किनारमा रहेको योजना गरेर बनाएजस्तो बजार। हामीलाई स्वागत गर्न पुलवारी नै मानिसहरू आइसकेका। नेपाली कांग्रेसको कार्यक्रममा बजारै व्यस्त थियो। तर, त्यो व्यस्तता हुँदाहुँदै पनि हाम्रो खातिरदारीमा कुनै कमी थिएन। बझाङीहरू कति प्रोएक्टिभ र कति सहयोगी। आफैँ परिचय गर्न आउने, स्वागत गर्ने, आतिथ्य देखाउने। यो यहाँको संस्कार नै होला, अन्तक्र्रियाको कारणले ल्याएको उत्साह अवश्य पनि नहोला। 

लोकल खसीको मासु र भात टन्नै खाइयो। मासुभातको सय रुपैयाँ तर मिनरल वाटरको ५० रुपैयाँ। दुई बोतल पानी खानुभन्दा त एक थाल भात खानु नै जाती। 

एउटा साँघुरो हलमा अन्तक्रिया सुरू भयो। करिब ७० नाघेका एक शिक्षकले बझाङमा मदिराको कुलत मौलाएको र त्यसले युवालाई बिगारेको बताए। उनले बझाङमा देउडाको सहयोग लिएर कृषिसम्बन्धि चेतना फैलाएमा प्रभावकारी हुने पनि बताए। अर्का एक युवकले दुर्गममा काम गर्ने पत्रकारहरूको कार्यालय नुहने भएकाले कार्यसम्पादन तथा अनुशासनमा समेत असर पर्ने बताए।

उनले बरु मितव्ययी बनाउन दुईचार मिडिया हाउसले मिलेर संयुक्त रूपमा भए पनि अफिस खोल्नुपर्ने बताए। एउटा विषयमा बझाङीहरूको संयुक्त आवाज भेटियो। उनीहरूका अनुसार बझाङबाट सय किमि सडक बनाइयो भने सोझै चीन छुन सकिन्छ र मानसरोवर जाने पर्यटकदेखि अन्य व्यापारको हिसाबले बझाङ एउटा ठूलो हब बन्न सक्छ रे। भारतसँग नजिक भएकोले मानसरोवर जाने भारतीयहरूका लागि त यो ज्यादै महत्वपूर्ण पर्यटक गन्तव्य अझ ट्रान्जिट प्वाइन्ट हुन सक्छ।

‘५० पेटमा बतास, ६० हातमा लाठी, ७० हिँड्दा लत्तरी, ८० थुचुक्क बसी, ९० हब्बे न कब्बे, सय म त गए।’

कार्यक्रमपछि हामी फर्कियौँ पुल तरेर। अलि हाइटमा पुगेर बझाङलाई हेर्दा यति राम्रा लाग्यो कि त्यसको कुनै वर्णन छैन। तर, बझाङ फोहोर छ। यसलाई बनिरहेको सडकले उही पिलरवाला चारकोठे घर, क्यारेमबोर्ड संस्कार र घिनलाग्दो विकासले प्रदूषित गर्नुअघि नै यसले आफूलाई सफा र इम्युन बनाउनुपर्छ। 

उही बन्दै गरेको अप्ठ्यारो बाटो फर्कियौँ। तर यो बाटो बन्नु आफैँमा कति ठूलो कुरा छ भने यसलाई अप्ठ्यारो भन्दा पाप लाग्न सक्छ। तैपनि स्टेयरिङ समाउँदा–समाउँदा र गियर चेन्ज गर्दागर्दा सानुको हातमा ठेला उठ्छ। 

एक ठाउँमा झन्डै एक्सिडेन्ट परेको। जिआर के चुप बस्थे र? जीवनको व्याख्यामा केही कुरा गरिहाले, ‘५० पेटमा बतास, ६० हातमा लाठी, ७० हिँड्दा लत्तरी, ८० थुचुक्क बसी, ९० हब्बे न कब्बे, सय म त गएँ।’

जीवन र दर्शनकै कुरामा बाबाहरूको प्रसंग चल्यो। मृत्यु र दैनिक रुटिनभन्दा माथि बाँच्ने ती बाबाहरू आफ्नै तालका हुन्छन्। शिवरात्रिका लागि कैयन् बाबाहरू बनारसदेखि, दक्षिण भारतदेखि हिँड्दै कहीँकतै जे पाइन्छ त्यही चढ्दै, माग्दै, खोज्दै खाँदै पशुपतिसम्म आउँछन् रे। नेपालमा कुन–कुन कुनामा कस्ता–कस्ता बाबाहरू होलान् ? इन्टेलिजेन्सलाई पराजित गराएर अर्कै नयाँ यात्रामा निस्केका यी बाबाहरू महान् छन्। अनि यिनलाई किन होला नेपाल यति मन पर्ने?  मिडियाबाट पर बसेका यी बाबाहरू र मिडियाको के–कस्तो सहकार्य हुनसक्ला? एउटा अर्कै सोच सन्दर्भ र संसारमा मेरो मन र सोच अलमलियो। 

देउलेख बजारमा डाँडाभरि लटरम्मै छरिएका मुरली मकैका फूल जस्ता सोलार बत्तीहरू देख्दा ज्यादै खुसी लाग्यो। हुन त यी बत्तीले कैयन् दलाल र समाजसेवा भनाउँदाहरूको घर बनाइदिएका होलान् तैपनि यो कुनामा यति उज्यालो हुनु र त्यो पनि नविकरणीय चार्जरले, प्रशंसनीय कुरा हो। धन्यवाद वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, दाताहरू र व्यापारीहरू।
रातको ११ बजेतिर डँडेलधुरा पुग्यौँ। ढिलै भए पनि खातिरदारी राम्रै पाइयो। बँदेलको सुकुटीको स्नाक्स, लोकल कुखुरा र भात। ठीकठीकैको रूपमा गुडनाइट गरियो। 

यो पनि हेर्नुहोस्

शुभ देश (भाग-१)

शुभ देश (भाग-२)

शुभ देश (भाग-३)

शुभ देश (भाग-४ )

शुभ देश (भाग-५)

शुभ देश (भाग-६)

शुभ देश (भाग-७ )

शुभ देश (भाग-८)

शुभ देश (भाग-९ )

शुभ देश (भाग-१० )

शुभ देश (भाग-११ )

शुभ देश (भाग-१२)

शुभ देश (भाग-१३)


 

More form the Internet

loading...