Suvadin, Home

फेब्रुअरी ११, २०१३
शुभ देश (भाग-१५)

मानिसमा धर्म अझै पनि बाँकी छ। फलटुडेका एक पसले जोडी यसका प्रमाण हुन्। पूर्व रामेछापबाट ठेकेदारको अनुरोधमा यहाँ आएर भात होटेल खोलेका ती जोडीले जिआरको फिडब्याकको निम्तोमा त्यहाँको पानीको अभाव र प्रशासनको लाचारीको कुरा गरे नै, तर यति मीठो खाना ख्वाए, कुनै वर्णनै छैन। सुरुमा दही–चिउरा खान दृढ जिआर मसँग भात खान तम्सिए। सुरेशले भनिहाले, ‘पार्टी चेन्ज, दही–चिउरे सम्पादक।’ धर्मको कुरो कता आयो भने जिआरले कम भात खाएको भएर उनीहरूले जिआरले खाएको पैसा लिएनन् । तीन ठाउँमा दही–चिउरा, दुई ठाउँमा खाना, एक कप दही अनि टोटल पैसा कति? जम्मा २६० रुपैयाँ । 

११ फेब्रुअरी

दूध र रोटीको ब्रेकफास्टपछि हामी सुर्खेततिर लाग्ने तरखर गर्न थाल्यौँ। किन हो सुरेशले भन्न थाले लिम्पियाधुरा गएपछि राष्ट्रियता र देशको माया थाहा हुन्छ भनेर। जिआरले फेरि तामांगे फूलफुत्ते गीत गाए। पिआरले फोन उठाउँदा हेलो भन्ने अनेक तरिकाहरूको एक्टिङ गर्न थाले। बाटोमा केही केटाकेटी गुराँस बेचिरहेका थिए। यो ठीक हो कि बेठीक? कुनै देशमा केटाकेटीलाई उद्यमशीलता प्रवर्द्धन गर्न पत्रिका बेच्ने काममा प्रोत्साहित गरिन्छ रे, कुनै देशमा त यो खेल्ने खाने उमेर हो, काममा लगाउनु राम्रो होइन भनिन्छ रे। १० वर्षमुनिका ती बालबालिकाले गुराँस बेचेको काम होइन, व्यापार नै हो। 

यो जोन उडजस्तो नेपालमा बियरलाई चिसो बनाउन केटाकेटीले खोलाको चिसो पानीमा राखेको देखेर ‘फ्रम माइक्रोसफ्ट टु बाहुनडाँडा’ लेख्नेहरूका लागि एउटा नयाँ कथा हुनसक्छ, प्रेरणा हुन सक्छ। यो बाटोमा सयौं जोन उुडहरू हिँडून् र यहाँ आइबिएम, एप्पल, लेनोभो टु डँडेलधुराका हजारौँ पुस्तकहरू लेखियून्। 

डोटीको छतिवनमा पक्कै एउटा मेसी हुर्किरहेको छ।


मलाई मधुकर समशेर जबरा ब्यक्तिगत रुपमा साह्रै मन पर्छन्। उनका सपनाहरूमा एउटा असल शिक्षार्थीका लागि योजनाहरू छन्। उनले नेपालमा सार्क कन्फ्लिक्ट रिसोलुसन सेन्टर खोल्ने सपना योजना राखेका थिए। यस्तो केन्द्र नेपालजस्तो देशमा हुनुमा गौतम बुद्धले पनि सहमति जनाउँदा हुन्। एउटा नेपाली जोन उडले मधुकरका कथा सुनिदिए पनि नेपालमा केही हुन्थ्यो कि? नेपाललाई शिक्षाको देश भनिदिए सायद मन्दिरको देश वा हिमालको देश भन्नेलाई पनि केही गुनासो नहुँदो हो।  पूर्वमेडिकल एजुकेसन, मध्य म्यानेजमेन्ट एजुकेसन, पश्चिम टेक्निकल एजुकेसन। ‘ऊ, मादल।’ पिआरले मेरो सपना भत्काइदिए। एउटा फुच्चेले फुटबललाई डोरीले बाँधेर घाँटीमा झुन्ड्याएर मादल बजाइरहेको थियो। के थाहा त्यो भोलिको मेसी पनि हुन सक्छ। सुदूरपश्चिमले मलाई सपना हेर्न बाध्य बनाएको छ। अब नेपालीले सपना देख्न थाल्नुपर्छ। सपनाको ठूलो अभाव छ यहाँ। डोटीको छतिवनमा पक्कै एउटा मेसी हुर्किरहेको छ।

हामी बुडर बजारमा रोकियौं। बजार हुँदैमा फोहोर हुनु पर्दैन, भीड हुनु पर्दैन। बजार हुँदैमा व्यापारीमात्र बनेर बस्नु पर्दैन। बुडर त्यस्तो बजार हो। एक बूढीआमासँग घ्याम्पाका धानमा हालेर पकाएको अर्गानिक केरा किनेर खायौँ। त्योभित्र गेडा भएको केरा काठमाडौँमा दिइने एक थाल भातभन्दा कम थिएन। जिआर र मैले मजाले खायौं। एक गोटाको १० तीनको २० वाह, सेल्स स्किम पनि छ । व्यापार सिक्न एमबिए नै पढ्नुपर्छ भन्ने छैन। 

मानिसमा धर्म अझै पनि बाँकी छ। फलटुडेका एक पसले जोडी यसका प्रमाण हुन्।

मानिसमा धर्म अझै पनि बाँकी छ। फलटुडेका एक पसले जोडी यसका प्रमाण हुन्। पूर्व रामेछापबाट ठेकेदारको अनुरोधमा यहाँ आएर भात होटेल खोलेका ती जोडीले जिआरको फिडब्याकको निम्तोमा त्यहाँको पानीको अभाव र प्रशासनको लाचारीको कुरा गरे नै, तर यति मीठो खाना ख्वाए, कुनै वर्णनै छैन। सुरुमा दही–चिउरा खान दृढ जिआर मसँग भात खान तम्सिए। सुरेशले भनिहाले, ‘पार्टी चेन्ज, दही–चिउरे सम्पादक।’ धर्मको कुरो कता आयो भने जिआरले कम भात खाएको भएर उनीहरूले जिआरले खाएको पैसा लिएनन्। तीन ठाउँमा दही–चिउरा, दुई ठाउँमा खाना, एक कप दही अनि टोटल पैसा कति? जम्मा २६० रुपैयाँ। 

हामीलाई त गिल्टी नै फिल भयो। त्यो हस्पिटालिटीको त कुरै छोडौँ, यतिको जेन्युइन रेट देख्दा हामी अवाक भयौँ। हामीले आग्रह गर्दा पनि ती बूढाबूढीले पाप लाग्छ भनेर जिआरको पैसा  मानेनन्। आज सोनाम ल्होसार यी बूढाबूढीको जय होस्। स्वस्थ रहून्, सुखी रहून् र यिनको धर्म अरूले पनि सिकून्। विशेषगरी गनाउने मुख र ढिलो ठसठस सर्भिस दिएर १० प्रतिशत सेवा शुल्क लिनेहरूले। गाडी हुइँकियो चाँडो गरी सुर्खेत पुग्नु छ। 

सुरेशजीले भासुको भीरको फेरि कुरा गरे। ‘भैंसी लड्यो है माया भीरबाट हेर, ९६० है नारान गैगयो खेर, भन्ने गीत कसको हो?,’ भासुको भीरको भार सापट लिएर गीतिप्रश्न सोधे जिआरले। ‘डेजी बराइली,’ सुरेश। ‘सही जवाफ’ जिआरएल। ‘उनको पति चन्दन लोम्जेल,’ सुरेशले थपे। संगीत र कलाका प्रसंगमा सुरेशको नाम ठाउँ, समय, साल आदि थप भइहाल्छ। रोचक त के छ भने उतिबेला भैँसी ९६० रुपैयाँमा पाइँदो रहेछ। यसो भन्ने पिआर नै हुनुपर्छ। 

पर एउटा मन्दिर देखियो। ‘सुरेशले भने, ‘ऊ, त्यो मन्दिरमा मनोक्रान्तिको चिन्ह हनुपर्छ।’ गाडी पास भयो र हामीले साँच्चै चिन्ह देख्यौं। सुरेशजीको स्मरण शक्तिको म ठूलो प्रशंसक हुँ। उनको स्मरण शक्ति मात्र होइन, आइज अफ डिटेललाई पनि मान्नुपर्छ।

जिआरले हिप्नोटिज्म पनि सिकेका रहेछन्। उनको प्राक्टिकल जाँचमा आउन नपाएका बिरामी गुरुलाई उनले उनकै आग्रहमा हिप्नोटाइज गरेर थप आर्शिवाद पाएका रहेछन्। ‘मलाई पनि सिकाइदिनुस् न सर,’ मैले भनेँ। मैले भनेँ, ‘म रेगुलर ट्रेनर भएकोले मलाई ट्रेनिङमा म्याजिक र हिप्नोटिज्मको सही प्रयोग गर्ने रहर छ।’ 

राम्रो काम गर्नेलाई साहूहरूले सहयोग गरे संगठन परिवर्तन गर्न एक वर्ष पर्याप्त छ।

म को हुँ? आज मैले आफ्नो मनको कुरा यी तिनलाई पोखेँ। बिएचएम गर्दागर्दै अन्नपूर्ण त्यतिबेलाको ताज होटेलमा जब् अफर पाउँदा म २४ वर्षभित्र मेनेजरको पोजिसनमा पुग्ने लक्ष्य राख्थेँ। २३ वर्षमै पुगेँ त्यसपछि ३० वर्षमा सिइओ बन्ने प्लान गरेँ। २८ वर्षमै बनेँ। अब के बन्नेले मलाई सताइरहेको थियो। म कर्पोरेट लाइफदेखि वाक्क भइसकेको थिएँ र उद्यमशीलताका केही भेन्चरहरूमा असफल। अन्नपूर्णमा पाँच हजार कमाउँदा पनि मेरो पकेटमा ५०० नै हुन्थ्यो अहिले केही लाख कमाउँदा पनि ५०० नै हुन्छ। फेरि यो अनप्रोफेसनल कार्य, संस्कृति र सही गलत छुट्ट्याउन असक्षम हाकिमसँग काम गर्दा आफूमा खिया लागेको अनुभव हुन्छ।

 

१० वर्षमा करिब १० वटा ठूलै नाम चलेका कम्पनीहरूमा काम गरियो, तर अझै एउटा खोज जारी छ। सबै राम्रा थिए, सबैबाट मैले केही सिकेँ नै, तर मेरो दौड अर्कै छ। मलाई थाहा छैन यो कस्तो दौड हो। अगाडि मौकाहरू पनि छन्, तर अहिलेको कन्फ्युजन हो, कुन मौका सही छ भनेर। मैले एउटा एक वर्षे सिइओ बन्ने आर्टिकल लेखेको छु, जसमा एउटा खतरा सिईओको कल्पना छ, जसले पिआरको बलमा होइन, व्यवसायको वेश्यावृत्तिको बलमा होइन प्रतिस्पर्धाको बलमा काम गर्छ। उसले संगठनभित्र छिर्छ, तुरुन्तै नराम्रोलाई हटाउँछ, राम्रालाई अघि बढाउँछ र पहिलो दिनदेखि सय प्रतिशत काममा लाग्छ। उसले आफ्नो कुर्सी जोगाउन अनेक तिकडम राजनीति नगरोस् भनेर एक वर्षभन्दा बढी बस्नै नपाइने करार हुन्छ। 

राम्रो काम गर्नेलाई साहूहरूले सहयोग गरे संगठन परिवर्तन गर्न एक वर्ष पर्याप्त छ। अनि एक वर्षपछि ऊ फेरि अर्को अर्गनाइजेसनमा जान्छ। सायद म त्यही एक वर्षे सिइओ हुन चाहन्छु तर त्यो कतिको व्यावहारिक होला त? 

मैले धेरै वमन गरेँ सोच र भावनाको। तीन जना चुप लागेर सुनिरहेँ। जिआरले भने, ‘मैले भनेको पत्याउनुस्, तपाइँ ज्यादै ठूलो मानिस बन्नु हुनेछ। तपाईंमा त्यो ओज, त्यो एक्स फ्याक्टर छ। यो तपाईंको सफलताले अर्को तहमा छिर्ने समय हो। म त्यतिकै भन्दिनँ, तपाईं आफूले सोचेभन्दा बढी सफल बन्नुहुन्छ।’ जिआरको कुराले मलाई शीतल भयो। 

सुरेशजीले पनि भने, ‘तपाइँजस्तो मानिस अहिलेको व्यावसायिक संसारलाई चाहिएको छ। तपाईं अझ बढी भिजिबल हुनुपर्छ। तपाईंमा व्यावसायिक ट्रान्सफर्मेसन गर्ने शक्ति र शैली दुवै छ। सुरुमै नराम्रा तत्वहरूलाई तुरुन्तै हटाउँछु भन्नु नै एउटा रिस्क टेकिङ सिइओको प्रशंसनीय आँट हो।’ पिआरले पनि भने, ‘तिमीलाई रुचाउने–नरुचाउने दुबैले तिम्रो प्रशंसा गरिछोड्छन्, त्यो नै तिम्रो विजय हो। अप्ठ्यारो बेलामा तिम्रो नाम आउनु नै तिम्रो कौशलको प्रमाण हो। तिमी सही छौ, यसरी नै अघि बढ्नुपर्छ।’ 

साथीहरूको हौसलाले मलाई ठूलो शक्ति दियो। ४५ वर्षमा कोरपोरेट जीवन रिटायर हुने मेरो प्लान छ। त्यसपछि राजनीति - देश बनाउने योजना छ। अब मसँग कम समय छ। मैले गतिमा काम गर्नुछ। साथीहरूले भनेझैँ मैले कम्प्रोमाइज गर्नु हुन्न। धीरुभाइ अम्बानीले चेन्ज द अर्बिटमा भनेका छन्, समयमा चेन्ज द अर्बिट गर्नु पनि वाइज हो।

रोशन थापाले मलाई भनेको याद आयो, ‘तिमी बतास मानिस। तिमीलाई बतास अर्गनाइजेसन नै ठीक थियो। कन्सलटेन्सीमा, कर्पोरेट एड्भाइजर। अब दुई तीनवटा राम्रा ठाउँमा जागिर खाऊ अनि सल्लाघारीको ठूलो चौरमा गाई चराऊ।’

एकछिन वातावरण नै अर्को भयो। हामी लघुशंकामा ओर्लेर चिसो हावासँग ठोक्किएपछि फेरि उही यात्राको रन्कोले हामीलाई छोयो। जिआर आफ्नी बहिनीको नाम छोडौँ, जेठी, माइली, साहिँली भन्दै क्याल्कुलेट गर्दैछन्। '६ जना छन् अनुहार पनि त मिलाउनुपर्यो नि,’ किन बढी समय लागेको भनेर सोध्दा उनी भन्छन्। 

सुरेश र उनको मारुती जेन गाडीलाई सुरेशले उत्तिकै माया गर्दा हुन्। कहिलेकाहीँ आज किन ढिलाइ भयो भनिसोध्दा गाडीको हर्नको आवाज अलि धोद्रो आयो बनाउन गएको भन्छन्, कहिले पछाडितिर अलि नमिलेजस्तो भयो भन्छन् तर पीडित हामी मात्र होइन रहेछौँ। हरेक लामो यात्रा जानुअघि गाडी लिएर कारखाना पुगिहाल्दा रहेछन्। एकपटक हैरान भएर सर्भिस सेन्टरको मानिसले मुखै खोलेर भनेछ, ‘सर, तपाइँलाई पो थाहा छ लामो यात्रा भनेर, गाडीलाई थाहा छैन नि। मज्जाले लगे भैगो नि।’ तैपनि सुरेश त्यहाँ जान छोडेका छैनन्। 

तीन जनाको आइफोन र मेरो एन्ड्रोइड सामसुङको झगडा त आफ्नै ठाउँमा छ तर एक्स्ट्रा चार्ज ब्याकअपका लागि ल्याइएको मिली जिआरले बेलाबेलामा आइफोनसँग मिलाउँछन्।

‘सरलाई सेक्सको झझल्को आयो कि मिलीलाई आइफोनसँग जोडिहाल्नुहुन्छ ?,’ पिआरले जिस्काए। 

अत्तरिया चोक के आइपुगेका थियौँ, थाहा भयो बाटो बन्द छ भनेर। यो टुरमा यो अहिलेसम्म मिसिङ थियो तर अब पूरा भयो। पश्चिमका दुई बस व्यवसायी संघबीचको साधारण झगडाले बन्द भएको यो बाटो कतिबेला खुल्ला? कसैलाई पनि अड्कल थिएन। हामीले बाइपास समातेर धनगढी खुटिया हुँदै अगाडि बढ्ने सोच्यौं र बढ्यौँ पनि। 

बाटोमा गाईहरूको भीड देखियो। आफूले पनि आनन्द बतास सरसँग मिलेर पोखरामा बनाएको सय गाई पाल्ने योजना सम्झेँ। एउटा रमाइलो फर्मको कल्पना आयो, नाम ‘इकोसिस्टम’।

सकेसम्म बाहिरको केही ल्याउनु नपर्ने गरी बनाउने। 

‘गाईलाई जहिले पनि हेर्दा उसले केही सोचिराखेजस्तो लाग्छ,’ सुरेशजीले भने।

‘मानव हैन दानव अधिकार।’


एउटा मोटोघाटो सेतो ल्यान्डक्रुजरले हामीलाई ओभरटेक गर्यो। त्यसमा मानवअधिकार लेखिएको थियो। कसैले भन्यो, ‘मानव हैन दानव अधिकार।’ हामी हाँस्यौँ। 

अब रमाइलो के भयो भने लामो घुमाउरो बाटोपछि हामी दुई संघले गरेको बन्दमध्ये दोस्रोको मुखैमा आइपुग्यौँ। ‘हामीलाई केहीले रोक्न सक्दैन,’ सुरेशले भने। करिब आधा घन्टा कुरेपछि बाटो खुल्यो।

कर्णाली पुलमा फेरि रोकियौं। एउटा पसलमा पाँचहाते लामो माछा झुन्ड्याएको थियो। हामी त्यहीँ रोकियौँ। हामी आफैले पोलेर माछा साँध्यौ। टिमुर अलि बढी भए पनि पिआर र जिआरले मीठो मानेर खाए। बाटोमा आउँदा पुराना हिन्दी र नेपाली गीतहरूको साथ लिएर आयौँ। ज्यादै रमाइलो भयो।

'आमाहरू आफूलाई माया गरेकोभन्दा पनि दाजुभाइहरू मिलेर बसेकोमा खुशी हुन्छन्’

हामीले आ-आफ्नी आमाको पनि कुरा गर्यौँ। पिआरकी आमा उनी सानो हुँदा नै स्वर्गीय भएकी रहिछन्, तर उनी आफ्नी दोस्री आमासँग पनि ज्यादै नजिक रहेछन्। जिआर पनि आफ्नी आमाका ज्यादै सोधपुछ गर्दा रहेछन्। ‘कुनै दिन पनि मेरी बूढीले तपाइँको चित्त दुखाइ भने भन्नुहोला, हामी आमाछोरा डेरामा गएर बसौँला' भन्छन रे। सुरेशजी त आमाका 'लाडला' भइहाले। उनले हामी भैरहवा हुँदा 'आमालाई अंगालोमात्र भए पनि हालेर आउँछु' भनेको कहिल्यै बिर्सन्न। म पनि मेरी आमासँग ज्यादै नजिक छु। मेलामा जाँदाको खाजा मकै पनि बचाएर पोल्टामा हालेर छोरालाई ल्याइदिने आमाको लागि जे पनि गर्न म तयार छु। 

जिआरले मिलियन डलर कुरा गरे, ‘आमाहरू आफूलाई माया गरेकोभन्दा पनि दाजुभाइहरू मिलेर बसेकोमा खुसी हुन्छन्।’ सन्तानसँग लिनेभन्दा पनि दिनमा लीन् रहन्छन् र पो त आमा। आमाको असिम ममतामा हरेक परीवार गुडिरहेकोछ, हामी पनि गुडीरहेकाछौ ममतामयी पारीलो घाममा बाँचुञ्जेलीलाई।   

ढिलो भएकोले हामी भोलीमात्र सुर्खेत जाने भएका थियौँ। आज नेपालगन्जकै बसाइ छ। 


 

More form the Internet

loading...