Suvadin, Home

Cover Image

फेब्रुअरी १९-२२, २०१३
शुभ देश (भाग-१८, अन्तिम भाग )

म चितवनमा हुँदा बिहान १० बजे सुगरिकाले गर्भवतीका लक्षणबारेकोे खबर दिएकी थिइन्। ममा सृजनाको रंग पोतीएको थियो, युगल जीवनमा कोपिला पलाएको थियो र हर्ष हृदयकाे खेत कान्लामा तामाको गाग्रीभरी छचल्किएर बसेका थिए। म ढुक्क छु मेरो बच्चा नेपालमा जन्मदैछ। मेरा बच्चाले यो देश घुम्नेछ। यो यात्रा मेरा लागि एउटा नयाँ पुस्ताको आरम्भ पनि बन्यो। नयाँ यात्राहरु सुरू हुनेछन्, मेरो बाउको यात्रा र मेरो बच्चाको यो पृथ्वीको यात्रा। सुगरिकाको गर्भमा भएको मेरो त्यो बच्चालाई म पेटमै नेपालको वर्णन सुनाउने छु। उसले पेटमै महसुस गर्नेछ अमेलिया आउनुअघिको त्यो शाम्बाला, सुदूरपश्चिमको हिउँ, इलामको चियाबारी र हामीले पाईला पुर्याएका कैयन ठाँउहरुको महत्व। उसले पेटमै चिन्नेछ यात्राका काकुहरुलाई, केदार शर्मालाई, भवानीजी, मोहम्मद कुरैसी, बझांगे शिक्षक, पाल्पाली निर्मल श्रेष्ठ र पोखराका कृषक बुवा अनि हामीले भेटेका नभेटेका कैयन हिरोहरुलाई।
पोखरा भेला।

फेब्रुअरी १९
बिहान उठेको होटेलको झ्यालबाट त माछापुच्छ्रे नै ब्रेकफास्टमा पाइयो। कति नजिक भने जुम गरेर राखिदिए जस्तो। भाग्यवश मौसम पनि राम्रै थियो। 
आज नेपाल बन्द, त्यसैले त्यति गतिशील पोखरा पनि आज सुस्त थियो। घस्रिघस्रि चलेजस्तो। 
जीआरएलले तुलना गर्न थाले, ‘न्युयोर्कको एकपटकको बन्द र यो बन्दलाई उनका अनुसार न्युयोर्कको त्यो बन्दमा नियम थियो, क्रिएटिभिटी थियो अनि रमाइलोपन पनि थियो। तसर्थ असर पनि थियो। तर, यो नेपाल बन्द यसमा के छ ? कति मानिसले कुनकुन नेपालबन्द सम्झेका छन् ?  कुन नेपाल बन्दले परिवर्तन ल्याएको छ ?

बियर, तास, रक्सी अनि फेसबुकमा एन्टी बन्द क्याम्पेन गर्नेहरूलाई काम। दुई-चार हजार बेरोजगारलाई एक दिनको स्पोन्सरसिप!  अरू के ? 
हिँड्दै माइलीको भान्सामा खाना खान गइयो। पोखरा वाइफाई सिटी भइसक्यो माइलीको भान्सामा पनि वाइफाई रहेछ। यहाँ जताततै फ्रि वाइफाई छ। राम्रो। 
साइकल लिएर कतै जाने कि नजानेमा टिम दोधारियो। तालको छेउमा पीपलबोटमुनि एकजना भाइ गितार बजाइरहेका थिए। सुरेश क्यामरा लिएर उतै लागे। यो हवाईको कुनै फ्रेम जस्तो लागेको हुनुपर्छ सुरेशलाई। 

अघि बन्दको कुरोमा जीआरले ‘मेगालोमेनिक’ भन्ने अंग्रेजी शब्द निकालेका थिए। त्यो भनेको प्याथोलजिकल इगोइस्टिक रहेछ। गद्दाफी जस्तो। मैले चिनेका मेगालोमेनिकहरूको लिस्ट बनाइरहेको थिएँ। त्यो लामो–लामो हुँदै थियो। 
रमाइलो गरी साँझ बित्यो। बेलुका फेरि ब्राउनी र कफी भ्याइयो। भोलिको तयारी गर्दागर्दै निद्राले छोएछ। 

फेब्रुअरी २०
आज अन्तरक्रियाको दिन। हाम्रो होटेल बिहानैदेखि बिहे घरजस्तो छ । चिया ओसार्नेहरूको चाँजोपाँजो मिलाइदिनेहरूको भीड छ । सबभन्दा स्वेच्छाले व्यस्त भएका छन् पीआर। फ्लेक्स, ड्रिंक्स, सपिङ, फोन, एअरपोर्ट, रिसिभ गर्न जाने होटेल कोअर्डिनेसन आदि। 

कसैले देश बचाउनुपर्ने, कसैले देश बनाउनुपर्ने सुझाव दिए


रामेश्वर सर र राजेन्द्र सर आउनुभो। साथमा दिलभूषण पाठक पनि आए। थकालीको मीठो भातपछि बाराही होटेलमा कार्यक्रम सुरु भयो। आज एमसी म थिएँ । धेरैपछिको एमसीमा म नर्भस। नराम्रो चाहिं भएन। सुरेशजी, प्रभात दाइ र दिलभूषण प्यानलमा थिए। म प्यानलमा नभएकोले तस्बिर पनि खिचिरहेको थिएँ। बोलाइएका सबै आए। कसैले देश बचाउनुपर्ने, कसैले देश बनाउनुपर्ने सुझाव दिए। कोही भने ‘आवेगमा आएरमात्र मिडिया गर्न खोजेको हो भने रोक्नुस्, भिजनसहित आएको हो भने हाम्रो साथ छ’ भन्दै थिए। अचम्मलाग्दो कुरा, पोखराले समेत काठमाडाैंले हामीलाई मोफसल सोच्छ भन्ने भावना लिदोँरहेछ, बिचरा काठमाण्डौ...! ‘काठमाडौँमा यही कविता बाच्दा पत्रिकाहरूमा आयो तर, उपत्यका बाहिर चितवन गएर बाच्दा कुनै छापाले वास्ता गरेन’ कवि तीर्थ श्रेष्ठले भने। उनले पत्रकारहरूका बारेमा पनि टिप्पणी गरे। जस्तो कि फेवातालको गहिराई थाहा नहुने पत्रकारहरू पोखरामा छन्। जानकारी बोकेर विचार सोध्नुपर्ने ठाउँमा मेरो अन्तर्वार्ता लिन आउनेलाई कमसेकम मैले केके लेखेको छु भन्ने त थाहा पाएर आउनुपर्ने हो। तयारी बिनाको काम।

हाम्रो औपचारिक अन्तर्क्रियाको यो अन्तिम एपिसोड थियो। पश्चिमाञ्चलका क्षेत्रीय प्रशासकका भनाइहरू पनि उल्लेख्य थिए। उनी विशेषगरी टक सो, न्युजहरुलाई सोधिरहेका थिए। 'त्यस्तो एग्रेसन किन ? त्यस्तो एटिट्युड किन ? कार्यक्रम नर्मली चलाउनु नै राम्रो। स्टाइल पो अलग हुनुपर्याे, स्वर ठूलोठूलो पारेर अनुहार बांगो पारेर कार्यक्रममा ज्यान आउने त होइन नि।' उनी टिभीका प्रस्तोताहरूको ननभर्वल कम्युनिकेशन सुध्रिनु पर्नेमा जोड दिँदै थिए ।

रमाइलो र प्रभावशाली अन्तरक्रिया भयो। हाम्रा दुबै बोसहरू रामेश्वर सर र राजेन्द्र सर खुसी थिए। हामी पनि खुसी थियौँ। बेलुका हिँड्दै होटेल आइयो र केही बेर होटेलकै करिडोरमा मिटिङ भयो। सम्भावनाका कुरा भए। उनीहरू कोठामा पुगेपछि हामी चार र दिलभूषणको आफ्टर पार्टी चल्यो राति दुई बजेसम्म । दिलभूषण पनि मानिस रमाइलै रहेछन् । 

फेब्रुअरी २१
आज काम सकिएको रिल्याक्सको दिन। तर, ढिलोसम्म सुत्न पाइएन्। सरहरू काठमाडौँ जाने हुनाले छिटोछिटो उठेर मोनालिसाको भात ख्वाएर पठाइयो। अनि हाम्रो यात्रा सुरु भो लुम्लेको। 
‘मुटु छुने लुम्लेको हावाले
पुन हिलैमा...
फूलजस्ती सोल्टीनी बस्यौ दिलैमा’

तिलक बम मल्लको गीत सम्झें ।
हिजो बचेको ह्वाइट वाइन तीन लिटर। जीआर हातमा वाइन ग्लास, अनि मैले हिमालयन वाटरको सानो बोतलमा गरेको गाडी वाइन ग्लास इनोभेसन, गीत, स्पिड, हाँसो कुराकानी चिप्स, चिज...। अब अरू के चाहियो। आज मज्जाले 'लेजी डे' मनाइयो। पीआर र सुरेशजीको लेजी डे त झन् लेजी भयो चारै बजेदेखि होटेलमा गएर सुते उनीहरू।

राजेन्द्र बहादुरले देखेका मिडियामा किसान बुबा एक एक्टिभ कृषकको नमुना बन्न सक्छन्।


जीआरएल र मचाहिँ पोखराका नागरिक किसान बुबाकहाँ गयौँ। 
जोमसोमको आलुदेखि सिमीसम्मको बीज अनुसन्धान तथा विकास गरेका कृषिमै जीवन बिताएका बुढा तर अझै हामीभन्दा धेरै फूर्तिला किसान बुबा र उनको सकारात्मकता देख्दा अचम्मै लाग्ने। पुराना मानिसमा हामीभन्दा बढी दृढता र सकारात्मकता छ कि क्या हो? जो देख्यो एउटा खम्बा छन्। बुबाले हामीलाई सानो तर बुटिक भेजिटेबल गार्डेन घुमाए। यो एउटा सानो एग्रिकल्चर म्युजियम हो। उनीकहाँ धेरै फलफूल र तरकारीका बोट छन्। 

मैले सुटुक्क केही केराउका कोसा चोरेर खाएँ। जीआरले बुबालाई अनुरोध गरेर राम्ररी नै खुवाए। फ्रेस कोसाको आउटर पनि कोसा जस्तै मीठो। बुबाको ग्रीनहाउसमा काँचो चेरी गोलभेंडा पनि खाइयो। अहा स्ट्रबेरीजत्तिकै मीठो। 
केहीबेर बुवाको कुरा सुनियो। घ्यूमा भुटेको अति नै मीठो मकै र मोही खाइयो। ज्यादै रमाइलो भयो। यो भ्रमणको मीठा खानामध्ये बुबाको घरको मकै र मही पनि पर्छ। मलाई त सुटुक्कै गोजीमा मकै हालेर लैजाऊँ कि जस्तो भएको थियो। (अरे चोर था क्या पिछले जनम मे ?) जLआरलाई धन्यवाद बुबासँग चिनाइदिएकोमा।
राजेन्द्र बहादुरले देखेका मिडियामा किसान बुबा एक एक्टिभ कृषकको नमुना बन्न सक्छन्। उनी एक नायक हुन्। दिनभरिको रमाइलोले हामी मज्जाले थाकेका थियौँ। त्यस रात मज्जाले सुत्यौं। 

फेब्रुअरी २२

आडम्बर छोड्ने हो भने कुनै पनि मानिस कुनै पनि उमेरमा जवान भएर बाँच्न सक्छ । 


आज सुरेशजीको अनुहार अर्कै छ। उनी भाउजू र छोरीलाई भेटेजत्तिकै रमाइरहेका छन् अहिले पनि। म पनि खुसी छु। मैले ब्रेक लिए पनि यो यात्रालाई पुरा गर्न पाएँ। हामी सबै खुसी छौँ। यो यात्रामा हामीले एउटा बन्डिङ स्थापित गर्याैं। अब हाम्रो अवशान पछि पनि यो बन्डिङ रहिरहनेछ। महेन्द्र पुलनजिकैको थकालीमा भात खाएर गाडी करिब एक महिनापछि काठमाडौँ दौडियो। बाटोभरि यात्राका कुरा भए, जोकहरू भए, सानो बेलामा बुबामुमासँगै मनकामना गएर फर्केजत्तिकै गरी हामी आयौँ। केही खान छुटेन चना चटपटे, ढुंग्री, पापड, काँक्रो, केरा, उखु, ठेकीको दही...।
मानिस बुढो हुँदैन्। रमाइलो गर्ने तरिका बुढो हुँदैन्। आडम्बर छोड्ने हो भने कुनै पनि मानिस कुनै पनि उमेरमा जवान भएर बाँच्न सक्छ। 

उकालैउकालो सकिएपछि एउटा झिलिमिली सहर आइपुग्यो। अहा कति राम्रो सहर। जतिसुकै गाली गरे पनि नभै-नहुने सहर। करोडौँको भाग्य बनाएको सहर। कैयन् घटनावलीको साक्षी सहर। हामी धेरैबीच साझा सहर। हाम्रो सपनालाई मलजल गर्ने सहर। मैले कतैबाट सुनेजस्तै लाग्यो– म आमा हुँ तिम्री, म कान्तिपुरी हुँ। म आदिकविको अलकापुरी हुँ। 

 

यात्राको मोड

केही महिनापछि जन्मने त्यो खाँटी नेपाली, मेरो बच्चालाई म यहि पुस्तकले स्वागत गर्नेछु। अनी यो पुस्तक समर्पण गर्छु, अब जन्मने हरेक नेपाली सन्तानलाई, भोलिको नेपाललाई ।


यसपटकको मनमौजी दौतरीहरुसहितको मस्तीको नेपाल यात्रा सकियो। तर, यो यात्राले अरु धेरै यात्राको ढोका खोलिदिएको छ। अब सम्भावनाको यात्रा अघि बढ्नेछ। अब समृद्धिको यात्रा अघि बढाउनु छ। नेपाल ज्यादै राम्रो छ। अझ धेरै जिल्ला घुम्नु छ, अझ धेरै रमाईला मानिस भेट्न छ, अझ धेरै सोच बटुल्नु छ, सम्भावनारको खेती जारी छ। 

कसले भन्छ नेपाल सानो छ? नेपाल न सानो छ न ठूलो छ । नेपाल एउटा ठिक्कको मीठो देश हो। अपरिपक्क र गैरजिम्मेवार राजनीति बाहेक नेपाल एउटा पूर्ण र समृद्ध देश हो। छिनमा पानी, छिनमा हिउँ अनि छिनमै गर्मीको देश हो। सत्कार, सेवा र मायाको देश। हरेक नेपाली एक जीपिएस भएको देश। म जो कसैलाई पनि च्यालेञ्ज गर्छु, नेपाल घुमेर आउ.. हजारभन्दा कम तस्बिर खिचिने छैनन्। यो सुनैसुन हिरैहिरा र फूलैफूलको देश। मात्र खोज्न बाँकी छ, सोध्न बाँकी छ र सजाउन बाँकी छ। 

को धर्मसंकटमा बाँचिरहेको छ र कसलाई भ्रम छ जीवनको बारेमा? को बनिरहेको छ त्यो महाभारतको युद्धको लाचार अर्जुन? कसलाई चाहिएको छ दीक्षा? नेपाल घुम्नुपर्छ प्रकृतिले उपचार गर्नेछिन्, कम्युनिटी र कल्चरले काउन्सिलिंग गर्नेछ र सोच र सिम्बोलिजमले दिशा देखाईदिने छ।

 एउटा साधारण यात्रा पनि पुस्तक बन्नसक्छ। नेपालमा मानिसले कति राम्रा कुरा गर्दा रहेछन्। हरेकपटक कोही केही बोल्थे अनि म कलम उचाल्थें, हरेकपटक कही केही घट्थ्यो म कलम उचाल्थें र हरेकपटक केही दृश्य देख्थें अनि मेरो कलम खुल्थ्यो । नेपालमा हरेक निर्जीव, जीवित तत्वहरुमा सजीवता छ। 
यो यात्रा चाहँदा नचाहँदै एउटा बिग-बोस सिरिज बन्यो। चार जवान एउटा गाडीमा महिनादिन दौडिरहेछन्। यो बिगबोसको नियम अर्कै थियो, एलिमिनेट गरेर हराउने नभै सहकार्य गरेर एक अर्कालाई जिताउनु पर्ने। हामी सफल भयौं। हामी चारैजनाले जित्यौ एकअर्कालाई जिताएर। यो विजयले हामीलाई जीवनभरको बडिंग दियो। यो सम्बन्धले हामीलाई सधै बल दिइरहने छ। यो बडिंगले हजारौ बडिंगहरु क्याल्कुलेट गर्नेछ। यो एउटा नयाँ बडिंग कल्चरको सुरुआत पनि हो।

यो यात्रामा मलाई केही विशेष संकेत भएको थियो। म चितवनमा हुँदा बिहान १० बजे सुगरिकाले गर्भवतीका लक्षणाबारेकोे खबर दिएकी थिइन्। ममा सृजनाको रंग पोतिएको थियो, युगल जीवनमा कोपिला पलाएको थियो र हर्ष  हृदयको खेत कान्लामा तामाको गाग्रीभरी छचल्किएर बसेका थिए। म ढुक्क छु मेरो बच्चा नेपालमा जन्मदैछ। मेरा बच्चाले यो देश घुम्नेछ। यो यात्रा मेरा लागि एउटा नयाँ पुस्ताको आरम्भ पनि बन्यो। नयाँ यात्राहरु सुरु हुनेछन्, मेरो बाउको यात्रा र मेरो बच्चाको यो पृथ्वीको यात्रा। सुगरिकाको गर्भमा भएको मेरो त्यो बच्चालाई म पेटमै नेपालको वर्णन सुनाउने छु। उसले पेटमै महसुस गर्नेछ अमेलिया आउनुअघिको त्यो शाम्बाला, सुदूरपश्चिमको हिउँ, इलामको चियाबारी र हामीले पाईला पुर्याएका कैयन ठाँउहरुको महत्व। उसले पेटमै चिन्नेछ यात्राका काकुहरुलाई, केदार शर्मालाई, भवानीजी, मोहम्मद कुरैसी, बझांगे शिक्षक, पाल्पाली निर्मल श्रेष्ठ र पोखराका कृषक बुवा अनि हामीले भेटेका नभेटेका कैयन हिरोहरुलाई।
केही महिनापछि जन्मने त्यो खाँटी नेपाली, मेरो बच्चालाई म यहि पुस्तकले स्वागत गर्नेछु। अनि यो पुस्तक समर्पण गर्छु, अब जन्मने हरेक नेपाली सन्तानहरुलाई, भोलिको नेपाललाई ।

 


 

More form the Internet

loading...