Suvadin, Home

Cover Image

जनवरी २९, २०१३
शुभ देश (भाग-२)

के टिभिमा समाचार भन्ने मानिसले सोही टिभीमा बज्ने विज्ञापनमा काम गरेर मज्जाले एडभोकेसी गर्नु राम्रो हो? के अब चाउचाउको एडले प्रधानमन्त्रीको न्युज खाइदेला? अच्युत उपाध्यायले ‘समाचारमा धेरै एड भए’ भन्ने सन्दर्भमा यसो भने। खोर्इ युवाका आवाज? कति लाश मात्रै? ओरालोको मात्र समाचार? के देशमा राम्रो केही भएकै छैन? आदि प्रश्नहरू गहकिला थिए। हामी त सुझाव बटुल्न त्यहाँ पुगेका थियौं, आश्वासन बाँड्न अवश्य पनि होइन। त्यसैले हामीले खुला हृदयले हरेक विषयलाई स्वागत गर्यौं। मनमनै भोलिका दिनमा यी विषयलाई समेट्नुपर्छ भन्ने बाचाका साथ छुट्टियौँ । 

जनवरी २९, २०१३

‘थ्यांक यु प्रकाश,’ मेरो सामान राखिदिए पछि भाइलाई यसै भन्दै म गाडी चढें। मलाई सानु, प्रभात दाइ र गुणराजजीले स्वागत गरे। त्यसपछि हामी सुरेशजीलाई लिन सानेपा पुग्यौँ। नजिकैको पेट्रोलपम्पमा गाडीले तेल भरेपछि हामीले सामूहिक तस्बिर खिच्यौं –क्लिक क्लिक। 

अब हामी हिँड्यौं । 

जाडोको बिहान दक्षिणकाली पुग्नुअगावै लघुशंका निवारण गर्नुपर्ने भयो, गाडी रोक्यौँ अनि हल्का भयौं। पछि पो देखियो एउटा बोर्ड ‘खुला दिसापिसाबमुक्त क्षेत्र’। बीच जंगलमा यस्तो बोर्ड? हामीलाई ग्लानी भयो। बोर्ड मात्रै लगाएर के गर्ने? सार्वजनिक शौचालयको व्यवस्था पनि त हुनुपर्यो नि भनेर चित्त बुझायौं। 

फर्पिङ पुगेर सेलरोटी, चिया, केराउको तरकारी खायौं।  हाम्रो गाडी पुनः हुइँकियो। 

मलाई सुगरिकाको पिर लाग्न थाल्यो। बिहे गरेको दुई महिना नपुग्दै १५/२० दिनका लागि म हिँडेको थिएँ, बुवा मुवा पनि तीर्थ गइसेको छ, ऊ एक्लै हुने भई र न्यास्रो लाग्यो होला भन्ने मलाई लागिरह्यो। बिहेपछि मानिसको जीवनशैली परिवर्तन हुन्छ, मेरो श्री गणेश याम थियो। 

बिहेअघि सजिलो थियो। बाउआमालाई वास्ता नगरे पनि हुने। पन्ध्रौं दिनसम्म यात्रामा जाँदा पनि अघिल्लो दिनमात्र ड्याडीलाई खबरमात्र गरे पुग्ने। बाउआमाले साँच्चै भित्री माया गर्छन्। अगाध माया अनि स्थान पाइने बाउआमासँग मात्रै हो सायद। बाउआमा घरमा नभएकोले मेरी नवविवाहिता बुढीले औपचारिक बिदाइ गरी। 

घडा-घडामा भेटी। म बाहिर र ऊ भित्र बसेर टिका अनि मामुले (सासूज्यू) ले ‘ल बाबु’ भन्दै स्याउ–सुन्तलाको प्रसाद दिनुभयो। त्यसैलाई गुणराजजी र म टोकिरहेका थियौं। 

उनले सुरु गरे– यी सडकहरू किन सही मर्मत नभएका होलान् ? सडक राम्रा भइदिएको भए काठमाडौंमा धेरै महलहरू कसरी बन्थे र ? (कसैले सडक घुस्याहाहरूलाई इंगित गर्दै भन्यो)। 

‘सही कुरा,’ गुणराजले थपे। उनको एउटा जोक सुरु भयो जुन उनले हालसालै कतै सुनेका हुन् रे।

नेपालका कुनै मन्त्री भारत भ्रमणमा गएछन्, कुनै एक भारतीय मन्त्रीको व्यक्तिगत निमन्त्रणामा। भारतीय मन्त्रीले उनलाई रात्रिभोजका निम्ति घर बोलाएछन्। असाध्यै आकर्षक ती मन्त्रीको घर देखेर नेपाली मन्त्रीले सोधेछन्, ‘यस्तो राम्रो घर कसरी बनाउनुभो?’ भारतीय मन्त्रीले परको दुई लेनको सडक देखाएर भनेछन्, ‘ऊ त्यो सडक देख्नुभो ? त्यो वास्तवमा चार लेनको थियो। त्यो दुई लेन भयो अनि यो घर यस्तो बन्यो।’

नेपाली मन्त्री खुसी भएर स्वदेश फर्केछन्। केही समयपछि उनै भारतीय मन्त्री नेपाल आएछन्। उनलाई पनि नेपाली मन्त्रीका घरमा डिनरमा जाने निमन्त्रणा प्राप्त भयो। उनी पनि नेपाली मन्त्रीको निकै राम्रो घर देखेर छक्क परेछन्। आफूलाई नेपाली मन्त्रीले सोधेकै जस्तो प्रश्न भारतीय समकक्षीले पनि सोधेछन्। 

उनको जवाफ झन् रोचक थियो ।  

नेपाली मन्त्री : ऊ त्यो सडक देख्नु भो ? 

भारतीय मन्त्री : अहँ, देखिनँ । 

नेपाली मन्त्री : हो, त्यसैले गर्दा यो घर यस्तो बनेको। 

यो पुरानो र धेरै नै सुनिसकेको ठट्यौली भए पनि सान्दर्भिक लागेर हामी सबै हाँस्यौं। 

‘एकैछिन पर्खनुहोस्’ भन्ने आवाज आयो। हामी एउटा सानो उपत्यका जस्तो ठाउँमा रोकियौं। यति राम्रो कि कुनै महँगो हलिउड फिल्मको सेटजस्तो। दायाँ-बायाँ पहाड। बीचमा अलि सानो मैदान र एउटा सानो खोलो। मेरा मुखबाट निस्किहाल्यो, ‘नेपाल इज ब्युटिफुल।’ हो, नेपाल साँच्चै सुन्दर छ यहाँ पनि राम्रो त्यहाँ पनि राम्रो। 

सुरेशजी मौका छोपेर लश (लघु शंका) निवारणमा लागिहाले। गुणराजजीले उनको फोटो खिचिदिए। परिस्थितिले मानिसलाई फरक बनाउँछ। युवा, कवि, चुलबुले, औपचारिक, आक्रामक, रिक्त आदि इत्यादि बनाउँछ।

गाडी चल्यो। गुणराजलाई कसैको फोन आयो। उनले भने, ‘लोडसेडिङको कारणले चार्ज गर्न नपाएको बेला खासै महत्व नभएको कल किन उठाइरहनु?’ हुन पनि हो। हरे हाम्रो अवस्था? पाइला–पाइलामा सम्झौता गर्नुपर्ने। पाइलापाइलामा जीविकाको हिसाबले हेर्नुपर्ने।

सुरेशजीले कुरा फेर्दै भने, ‘यो लाइनमा चल्ने टाटा सुमोका सबै चालकले पहिले कालो चस्मा लगाउँथे रे।’

म छक्क परेँ, वाह क्या युनिफर्म। अब युनियन, संघ, संगठनको धनी देशमा सामूहिकता प्रदर्शन गर्ने त्यो नराम्रो उपाय होइन। 

परैबाट सुन्दर भीमफेदी बजार देखियो। ‘यो त्यही बाटो हो, जहाँबाट मोटरगाडीहरु बोकेर राजधानी ल्याइन्थ्यो,’ रिमाल बाले भने। ‘काठमाडौं छिर्न भिसा चाहिने त्यो युग...,’ गुणराजले थपे।

यो मलाई थाहा थिएन। एउटै देश भए पनि राणाकालमा काठमाडौं छिर्न भिसाजस्तै स्वीकृति पत्र चाहिँदो रहेछ भनेर। 

हाम्रो देश पहिला कस्तो थियो होला छिमेकी देशको तुलनामा? म सोचिरहेको थिएँ । रिमाल बाले भने, ‘हेर्नुहोस्, त्यतिबेला सोचेको यो रोपवेको कन्सेप्ट? कस्ता भिजिनरीहरू थिए उतिबेला?

आजभोलि त्यस्तो रिमार्केबल के बनेको छ र? रिमाल बाको अंग्रेजी उच्चारणलाई सुरेशजीले सच्याए, ‘रज्जुमार्ग।’ रोपवेलाई नेपालीमा रज्जुमार्ग पो भनिदो रहेछ। मलाई रमाइलो लाग्यो। 

‘ऊ, ऊ, रज्जु डार्लिङ,’ प्रभात दाइ जिस्किए। 

विस्तारै आध्यात्मिक चिन्तन सुरु भो। नहुनुमै त छ मज्जा। हामी छलफल गर्न थाल्यौं। मैले ओशोले भनेको एउटा कथा सुनाएँ। 

एक कलाकार रहेछन्। साह्रै सुखी, रमाइलो गर्ने। मुरली बजाउने। साँझ पर्नेबित्तिकै मित्रहरूसँग खानपान रमाइलो गर्ने। ती कलाकारलाई देखेर राजामा इर्श्या जागेछ। र, आफ्ना एक मन्त्रीलाई आफ्नो जलन सुनाएछन्। मन्त्रीले ‘तीन दिन दिनुहोस् महाराज’ भनेछन् र ती कलाकारको घरमा ९९ रुपैयाँको पोको राखिदिएछन्। अनि त्यसमा एक रुपैयाँ थपेर त्यसलाई सय बनाउने चक्करमा त्यो कलाकार लागेछ। एक सय पुगेपछि दुई सय, फेरि तीन सय। यो क्रममा त्यो कलाकारले संगीत, साथीभाइ सबैलाई बिर्सिएछ र राजाजस्तै दुःखी बनेछ। 

हो, यो ९९ को ज्वरो डरलाग्दो छ। गुणराजले प्रसंग निकाले, लियो टल्सटोयको ‘हाउ मच ल्यान्ड डज अ म्यान निड’ (एउटा मानिसलाई कति जमिन चाहिन्छ) को, जसमा एक व्यक्तिलाई दिनभर दौडिए घेरा लगाएजति जमिनको क्षेत्र पाउने भनिएको हुन्छ। ऊ दिनभर दौडिन्छ र घेरा पूरा गर्ने बेलामा ऊ थकित भएर मर्छ। जम्मा ६ फिट जमिनमा उसको चिहान बन्छ।  

कथा सुनेपछि प्रभात दाइले आफ्नो सिग्नेचर संवाद बोले, ‘त्यसैले त म भन्छु मरिलानु के छ र जिन्दगानीमा?’ मैले प्रभात दाइलाई चिनेदेखि नै यसै भनिरहेको सुन्छु। सायद ९९ फिबरको सिटामोल हो यो मन्त्र उनका लागि। 

कसैले कुसुमे रुमाल फिल्मको गीत गायो, ‘तिमी नभए जिन्दगानी काँडासरि छ फेरि पनि मेरो केही गुनासो छैन...।’ बाँकी सबैले कोरसमा साथ दिए। 

साथमा सम्पादन। गह्रुँगो कुरा किन छुट्थ्यो र? गुणराजजीले सोधिहाले, ‘यो राष्ट्रियता कस्तो है?’ 

अब हामी राष्ट्रिता भर्सेस विश्व नागरिक (ग्लोबल सिटिजन) को कुरा गर्न थाल्यौं। मलाई लाग्छ, राष्ट्रियता एउटा ट्याबु हो। हामीले राम्रो भन्ठान्या छौं र भनिरहन्छौं। राष्ट्रियता एउटा मानसिक स्वरक्षा (साइकोलोजिकल सेल्फ प्रोटेक्सन) हो। हरेक मुलुकले एकपटक विश्व नागरिकता भनिदिए राष्ट्रियताको अस्तित्व सायद कम हुन्थ्यो। सबैले एकैपल्ट मान्दैनन् र त छ समस्या। म कल्पना गर्न थालें, एउटा विश्व जहाँ कुनै सीमा नहोस्। जसले जहाँ पनि लगानी, हिँड्डुल र बसोबास गर्न पाउँछ। वाह, कस्तो होला त्यो एउटा ग्रह अनि एउटै देश! 

हुन पनि हो एउटा कपूतले घर बर्बाद गरेजस्तै एउटा रास्कलले देश बर्बाद गर्छ। राष्ट्रियता मधुरो बन्न पुग्छ। गुणराजजीले दिएको जर्मनीको उदाहरण जस्तैः एकताका हिटलरको इतिहासका कारण जर्मनहरूले आफूलाई चिनाउ“दा ‘आई एम फ्रम जर्मनी... सरी’ भन्ने गर्थे रे।

हाम्रो देशले भ्रष्टाचारमा रेकर्ड बनाए पनि, आर्थिक अवनतिमा परे पनि धमीजा, लाउडा, चेज एयर, दरबार हत्याकाण्ड, सुडान, १८ पल्ट प्रधानमन्त्रीको चुनावमा पराजित, हरेक कामका लागि समय थप, मेलम्ची, मैना सुनुवार र शिक्षक हत्या, पत्रकार हत्या, अपहरण जे–जस्तो भए पनि हामीले कम्तीमा ‘सरी’ भन्नुपर्या छैन वा भन्न जानेका छैनौं।  

अनि देउरालीमा ओनियन बारबाट फर्केका एक भाइले चलाएको रेस्टुरेन्टमा झुरुमझुरुम परेको माछा फ्राई र चिकेन खाइयो। साह्रै मीठो। बियर छुट्ने कुरै थिएन।

गाडी फेरि हुइँकिएपछि गुणराजजीसँग भनें, ‘मैले एउटा पोलिटिकल पार्टीलाई के सुझाव दिएको छु भने पाँच वर्षसम्म नो मिडिया अनि बल्ल काम हुन्छ। नत्र तेरो नाम कि मेरो नाम, तैंले के भन्ने कि मैले के भन्ने र कसले नयाँ भन्ने भन्दाभन्दै झगडा भइराख्छ। प्रचारको लोभ। 

गुणराजले खासै समर्थन गरेनन्। तर, उनले एमाओवादी नेता वर्षमान पुनलाई धेरै अगाडि भेट्दाको प्रसंग सुनाए। उनले रुकुममा पुनलाई भेट्दा उनी कलिलो, जुँगाको रेखीमात्र आएको, बन्दुक बोकेको नसुहाउने, मायालाग्दा फुच्चे थिए रे। पुनलाई भेटे पनि त्यहाँबाट फर्केर आएपछि माओवादी नेताहरूलाई एउटा गोप्य स्थानमा भेटेको विवरण मात्र कान्तिपुरमा लेखेका रहेछन्। 

पिआरले डिस्टर्ब गरे शिव अधिकारीले लेखेको ‘तरुनी छोरीलाई वैंशसले कुत्कुत्याउँदा टिभिएस स्कुटी चाहिन्छ’ भन्ने प्रसंग झिकेर। हामी सबै हाँस्यौं एकछिन। चुप भयौं। कारण त्यस्तो मीठो र खरो लेखाइ भएका उनी हामीबीच छैनन्। गाडी गुडिरहेछ। 

हामी हेटौडा पुग्यौं। यो हो, मकवानपुर जिल्लाको सदरमुकाम। चितवनको पूर्वी छेउमा चुरे पहाड श्रृंखलासँग जोडिएको मध्य नेपालको प्रमुख वाणिज्य तथा यातायात केन्द्र। महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको संगम। यहीँबाट दामन र बाइरोडको बाटो हुँदै नौबिसे निस्किएर काठमाडौं छिर्न सकिन्छ। बाइरोडको बाटोको कुरा गर्दा जिआरएललाई भुल्न मिल्दैन। उनले कान्तिपुदेखि नै ‘बाइरोडको बाटोमा’ स्तम्भ लेख्दै आएका छन्। त्यसैले हेटौडा पुग्दा उनी हौसिए। 

हेटौडाको प्राचीन नाम हेडम्बा रे। हेडम्बा चाहिँ राक्षस रे। महाभारतसँग जोडीएको कथा अनुसार पाँच पाण्डव बनबासका क्रममा यहाँ आएका रहेछन्। उनीहरूको हेडम्बा राक्षससँग लडाइँ भएछ। भीमसेनले हेडम्बालाई कच्याककुचुक पारेर दश टुक्रा पारेर मारेछन्। हेडम्बा मारेको ठाउँ भएकाले हेडम्बा कालान्तरमा अपभ्रंस भइ हेटौडा भएको रहेछ। हेडम्बाकी बहिनी भुटनदेबीको नामबाट स्थापित भुटनदेवी मन्दिर पनि रहेछ यहाँ। 

गुणराजका कलेजताकाका सहपाठी वीरेन्द्र शाहले हेटौंडामा हाम्रो स्वागत गरे। मैले उनको थर सोध्दा उनले न रोयल (शाही) न ओयल (तेली) भनेर जवाफ दिए। पोजिटिभ इनर्जी भएका र लोकल पत्रिका चलाएका सुरेश श्रेष्ठले सोचेभन्दा पनि राम्रो ब्यानर बनाएर ल्याइदिए। हेटौडाकै अर्पण रेस्टुरेन्टमा सुपसहितको मीठो म:म खाएपछि सीमा होटेलमा हामीले अन्तरक्रिया सुरु गर्यौं। 

रिमाल बाले एक ठाउँमा राजेन्द्रबहादुरको भनाइ सम्झाएर सहभागीलाई हँसाइदिए। 
हाम्रा युवा चेतनशील मात्र होइन, प्रज्ज्वलनशील भइसके। 


मानिसहरूमा रहेको रोष, आक्रोश र गतिला सुझावहरुले केही गर्नुपर्छ भन्ने खालको छाप हामीलाई पर्यो। हामीले ध्यानपूर्वक तिनका भावना, गुनासा र विचार सुन्यौं। त्यस ठाउँमा राम्रो र स्तरीय सुझाव पाएर हामी उत्साहित भयौं। हामीले नसोचेका वा सोचे पनि ग्राह्यतामा नपरेका विषयसमेत छलफलमा आए। हामी खुसी भयौं। हो, नेपालमा अझै मिडियामा एकप्रकारको रिक्तता रहेछ। अझै समाचार र विचारको अपेक्षा गलेको रहेनछ। नयाँ संसार, नयाँ जमाना र टाठा मान्छे। अब मोफसल भन्ने शब्द चाहिँदैन। मिडिया र सूचना प्रविधि (आइटी) लाई धन्यवाद दिनैपर्छ। मानिसलाई अचेल काठमाडाैं भन्दा देश–विदेशको ज्ञान छ। धेरै सचेत छन् हाम्रो देशका उपभोक्ता। मलाई व्यक्तिगत रूपमा पनि धेरै खुसी लाग्यो। 

के टिभीमा समाचार भन्ने मानिसले सोही टिभीमा बज्ने विज्ञापनमा काम गरेर मज्जाले एडभोकेसी गर्नु राम्रो हो? के अब चाउचाउको एडले प्रधानमन्त्रीको न्युज खाइदेला? अच्युत उपाध्यायले ‘समाचारमा धेरै एड भए’ भन्ने सन्दर्भमा यसो भने। खोई युवाका आवाज? कति लास मात्रै? ओरालोको मात्र समाचार? के देशमा राम्रो केही भएकै छैन? आदि प्रश्नहरू गहकिला थिए।

हामी त सुझाव बटुल्न त्यहाँ पुगेका थियौं, आश्वासन बाँड्न अवश्य पनि होइन। त्यसैले हामीले खुला हृदयले हरेक विषयलाई स्वागत गर्याैं। मनमनै भोलिका दिनमा यी विषयलाई समेट्नुपर्छ भन्ने वाचाका साथ छुट्टियौं। 

रिमाल बाले एक ठाउँमा राजेन्द्रबहादुरको भनाइ सम्झाएर सहभागीलाई हँसाइदिए । 

हाम्रा युवा चेतनशील मात्र होइन, प्रज्ज्वलनशील भइसके। 

गुणराजजी र मलाई अर्पणको एउटा भनाइ ज्यादै घत लाग्यो, ‘सबै सडक र अनाथालयहरू खाली हुनुपर्छ।’ 
 

हेटौडा अन्तरक्रियाका एक सहभागी अर्पण पराजुलीले एउटा ज्यादै राम्रो थालनी गरेका रहेछन्। हामी कार्यक्रमपछि त्यतै हान्नियौं र पुग्यौं मामाघर। 

अहा, कति राम्रो नाम! गुणराजजी र म आपसमा मौन वार्ता गरिरहेका थियौं। उनले खप्नै नसकेर बोले पनि। 

कति राम्रो नाम हई? हुन पनि एक व्यक्तिलाई मामाघरमा जस्तो आनन्द कहाँ आउँछ? भान्जाभान्जी झोलीका देउता भन्थे हाम्रा गाउँतिर। हामीले सम्झना गर्याैं ।

मैले एउटा फुच्चेको फोटो खिचेँ। उसले तुरुन्तै मेरो स्मार्टफोन समाएर फोटोहरू क्लिक गर्न थाल्यो। अनि सुगरिकाको पोते, धोती लगाएको फोटो देखेपछि सोध्यो, ‘माइजू हो?’ साँच्चै मेरो छाती गरुंगो भयो। त्यहाँका २०/२५ जना केटाकेटी (जो सडकबाट ल्याइएका थिए) हँसिला थिए। मैले नेपालको भविष्य उनीहरूका आँखामा खोजिरहेको थिएँ। 

नर्वेमा पढाइका लागि आवेदन गर्दा परियोजना प्रस्तावलाई उनले काम गरेरै तयार पार्न थालेका रहेछन्। एउटा व्यावहारिक प्रस्ताव हो यो। यो पहल सफल होस्, सबल बनोस्। अनि उनको पढाइमा यी बालबालिकाको आशिष पनि लागोस्। उनकै कर्म र मेहनतले उदाहरणीय पनि बनोस्। 

गुणराजजी र मलाई अर्पणको एउटा भनाइ ज्यादै घत लाग्यो, ‘सबै सडक र अनाथालयहरू खाली हुनुपर्छ।’ 

गुणराजजीले युरोपको कुनै देशको उदाहरण दिएअनुसार उक्त देश सम्पन्न भएपछि त्यहा“का सबै अनाथालयहरू खाली भएपछि बारमा परिणत गरिएको थियो रे। 

प्रभात दाइले त्यहाँ डोनेसन दिए, जसलाई हामी चारै जनाले आपसमा भाग लगाउने निर्णय गर्याैं। 

शायद त्यो दिन हामीलाई ईश्वरले ‘जाऊ मेरा स्वरूपहरू हेरेर आऊ म अनेकाैं भेषमा जीवित छु’ भनेको हुनुपर्छ। हामीले त्यसपछि सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनको साँचो जीवन निर्माण अभियानमा जाने मौका पायौं। धेरै पाका, सहारा नभएका र केही मानसिक अवस्था गुमाएका वृद्धाहरूलाई हाँसीखुसी देख्दा हाम्रा आँखा रसाए। कोही गफ गरिरहेका, कोही सिप सिकिरहेका र कोही घाम तापेर आराम गरिरहेका थिए। यो ठाउँ कुनै मन्दिरभन्दा कम थिएन। यहाँका हरेक मानिसमा मैले म आफैं, मेरी बूढी, मेरा बाउ, मेरी आमालाई देखिरहेको थिएँ। प्रशंसा गर्नुपर्ने पात्रहरू भनेका यहाँका स्वयंसेवक थिए। स्वयंसेवक कस्ता हुन्छन् भनेर थाहा पाउन यहाँ आए हुन्छ। न र्यालको डर, न आचीको चिन्ता, न करकरको झर्को। आफ्नो आत्मासँग कति नजिक भएर काम गरेका यिनले। 

उद्धार गरिएका एक दृष्टिविहीन वृद्धले माउथअर्गन बजाउँदै एउटा गीत गाए 

‘काठमाडाैं आउँदा दुर्घटना भयो 

मेरा आँखाको ज्योति नै गयो 

हलो जोती खाने म मोरो 

अब यो पेट र परिवार पाल्ने कसरी हो?’ 

यो गीत सुनेपछि मलाई ज्यादै गाह्रो भयो। 

६० काटेका यी वृद्धको यो गीतमा म जस्ता कोट, टाई लगाउने, गाडी चढ्ने, अनि करियर डेभलपको चिन्ता गर्नेको ठाउँ कहाँ हुन्छ? म आफूलाई आफैंभित्र खोजिरहेको थिए।

त्यस आश्रमबाट अब हामी वीरगन्ज हुँइकियाैं। मामाघर र आश्रमका शिक्षा मरेका छैनन्। हामी नमरुञ्जेल जीवित रहिरहनेछन्। म बाटोभरि यही सोचिरहेको थिएँ। कति दर्शक अनि भिजिटर बन्ने आश्रमहरूको? कसरी प्रभाव पार्न सकिन्छ कामले, कर्मले र सेवाले ...।

वीरगन्ज, मुलुकको एउटा प्रमुख आर्थिक केन्द्र। भारतसँग सीमा जोडिएकाले यो तस्करहरुको ट्रान्जिट पनि हो। यहाँ पुग्दा थाहा भो, वीरगन्जलाई आर्थिक राजधानीका रुपमा विकास गर्न यस क्षेत्रका उद्यमी, राजनीतिक तप्का र जनसमुदायको पहलमा ‘ग्रेटर वीरगञ्ज’को अवधारणा पनि ल्याइएको रहेछ। बढ्दो जनघनत्व, अव्यवस्थित शहरीकरण, वरपर गाउँका कच्ची सडकको सास्ती र पश्चिमी गाउँ पोखरीयासम्म जाने सडक अझै कालोपत्रे नहुनु–यस्तो धेरै समस्या सबैका मुखबाट सुनियो। रक्सौलदेखि सिमरा हुँदै बर्दिबास जोडने प्रस्तावित रेलवे योजनामा अधिग्रहणमा परेका जग्गालाई उचित मुआब्जा दिएर निर्माण अघि बढाउनुपर्ने चुनौती। दुर्गम क्षेत्रका ठोरी, निर्मलबस्ती, सुवर्णपुर, जय मंगलापुर र मिर्जापुर गाउँका बासिन्दालाई सदरमुकामसम्म आउन पुल र पक्की सडक छैन। तैपनि ‘ग्रेटर वीरगञ्जले यस क्षेत्रमा आशा भने जगाएको रहेछ। 

वीरगञ्ज पुग्दा मैले केही वर्ष पहिले मेरा एक मित्रले सुनाएको रोचक प्रसंग सम्झिएँ। काठमाडौंबाट वीरगञ्जका लागि छुट्ने हरेक नाइट बसको नाम फिल्मी हुन्थे। जस्तै, ‘साजन चले ससुराल भिडियो कोच’। त्यसैगरी ‘चमेली की शादी भिडियो कोच’। मेरा ती साथी भने ‘प्यार झुकता नही भिडियो कोच’ मा चढेर वीरगन्ज जाँदै रहेछन्। नागढुंगाबाट बस नौबिसेतिर ओरालो लाग्न नपाउँदै अधिकांश मधेसी मुलका यात्रुहरु एउटै स्वरमा कराउन थाले, ‘भिडियो चालु करो, भिडियो चालु करो।’

त्यस रात ‘हम आप के है कौन’ चलचित्र चालु भयो। जब गाना आयो, त्यसपछि बसमा सत्ता र प्रतिपक्षझैं यात्रु बाँडिए। एकथरी भन्थे, ‘गाना हटाओ (फरवार्ड) और पिक्चर चालु करो ।’

अर्काथरी भन्थे, ‘नही गाना अच्छा है, गाना मत हटाओ।’ 

गाना थियो, ‘दिदी तेरा देवर दिवाना, हाय राम कुडियो को डाले दाना।’

गाना हटाउने र नहटाउने पक्षबीच कुन हदसम्म झगडा भयो भने बस चालकले गाडी रोकेर सम्झाउन खोजे। सहमति हुन सकेन। भिडियो बन्द गरिएपछि तेस्रो पक्ष करायो। उसले भन्यो, ‘गाना हटाओ या रखो, लेकिन पिक्चर चालु करो, पिक्चर बन्द मत करो।’

तेस्रो पक्ष पनि झगडामा सामेल भएपछि बसमा चराहरु कराएझैं चारैतिरबाट आवाजहरु आउन थाले। भिडियो चलिरह्यो, गाडी गुडीरह्यो, अनि हल्ला पनि आइरहे नै रहे। बिहान वीरगञ्ज उत्रिएपछि मेरो मित्रलाई लाग्यो, बसको नाम ‘हल्ला बोल भिडियो कोच’ राख्नुपर्ने। 

होटेलमा चेक इन गरियो। त्यो साँझ एसएसपी साब कहाँ डिनरमा जाने निधो भयो। रमेश खरेलपछि यहाँ आएका रहेछन्, एसएसपी सर्वेन्द्र खनाल। हामी प्रभातदाइका अनन्य मित्र तिनै खनालकहाँ डिनरमा गयौं। वीरगन्जमा खटिएको तेस्रो दिनमात्र भएको उनलाई हामी पुग्दा माइत आएजतिको भान मलाई भयो। हामीले उनीसँग मिडिया, देश आदिबारे कुरा गर्यौं। उनीसँग कुरा गर्दै जाँदा उनी साँच्चै ‘दबंग’ हुन् कि जस्तो लाग्यो। रमाइला, व्यावसायिक र हेर्दै पुलिसजस्तो व्यक्तित्व भएका हक्की उनले थुप्रै विषयमा मजाले बात मारे। व्यावसायिक भएर नेपालमा बस्न कति गाह्रो छ? कस्ता दुई टुक्केहरूको कस्तो पहुँच छ? कर्तव्य, वास्तविकता र आदर्शमा मानिस कसरी भड्किन्छ? आदि धेरै विषयमा छलफल भए। उनले एउटा साह्रै राम्रो कुरा गरे। कुनै एक नेताले परिवर्तन परिवर्तन अलापेको सन्दर्भमा उनले भनेका थिए रे, ‘के को परिवर्तन? म त पहिले नै चाहिनेजति परिवर्तन भइसकें अब तपाईंहरूको पालो, आफूलाई गर्नुस् परिवर्तन...।’

दिउँसैदेखि प्रभात दाइको ‘मलाई लाइक गरन ल’ भन्ने फ्रेज खुब चर्चित हुँदै थियो। मैले चाहिँ खनालको यो स्टेटमेन्टलाई गतिलै लाइक गरिदिएँ र कमेन्ट पनि ठोकिदिएँ, ‘वाह, आई सेल्युट योर एटिट्युड।’

अनि हामी संगीतमा डुब्यौं। एसएसपी साहेबले नारायण गोपालको ‘यो सम्झिने मन छ’ बोलको गीत गाए। प्रभात दाइले पनि नारायण गोपालकै ‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ, जे होस्, मैले तिमीलाई मन पराएँ...’ गीत गाए। निकै राम्रो लाग्यो। यस्ता जमघटहरुमा प्रभात दाइ पुराना सदाबहार गीत गाउने गर्छन्, आफैं नोस्टाल्जिक भएर। बच्चु कैलाशदेखि रुबि जोशीसम्मका गीत गाउन चुक्दैनन् उनी। 

तिनै गीत दिमागमा चलायमान गराएर म सुतें। नयाँ-नयाँ विवाह भएकोले सुगरिका यादमा आइरहेकी थिइन्।

क्रमश:

यो पनि हेर्नुहोस्

शुभ देश (भाग-१)


 

More form the Internet

loading...