Suvadin, Home

Cover Image

फेब्रुअरी ४, २०१३
शुभ देश (भाग-८)

‘रेमिटेन्सको पैसाले रिटायर्ड मान्छे जन्माउँछ,’ भवानी थपिरहेका थिए। त्यसमै केहीबेर छलफल भयो। 

फेब्रुअरी ४

साधारण बिहानीबाट दिन सुरु भयो। पिआर र जिआरएलको नो जगिङ, ब्लाक टी, फलोड बाई मिल्क टी। खुब मीठो ब्रेकफास्ट खुवाउँछु भनेर पिआरले एक राउन्ड पूरै घुमाए। आखिर उनले भनेको पसल त हामी बसेको होटेलभन्दा दुई घर पर पो रहेछ। सोध्दासोध्दा बल्लबल्ल भेटिएको पसल आखिर बन्द। हामीले बसेकै होटेलमा खुब मीठो फारमर्स ब्रेकफास्ट खायौं। 

ब्याग प्याक, चेक आउट, ढोका बन्द। हामी लाग्यौं धरान। खिलाले हिजोदेखि नै आएर धरानमा विभिन्न सेक्टरहरूका जिआरएलको भाषामा भन्नु पर्दा  'इन्टेलीजेन्सियाहरू' बोलाएको छ। 

‘सुशील दाजु, माओवादीलाई भन्दिनुस्, उनीहरूको पार्टी पनि कांग्रेसजस्तै होला।’


बाटोमा त्यति कुरा भएन। जिआरएल बिरामी तर पिआर फेसबुक र सुरेशलाई आइफोन अपडेट हुँदा ब्ल्याकआउट भएको पिर। मेरो के कुरा म त एउटा साक्षी। म्यागेजिन पढेको एउटा पाठकले पाठकपत्रमा सुशील कोइरालालाई पत्र लेखेका रहेछन्, ‘सुशील दाजु, माओवादीलाई भन्दिनुस्, उनीहरूको पार्टी पनि कांग्रेसजस्तै होला।’ यस्तै आशयको थियो त्यो। जिआरएललाई सेयर गरेँ। उनलाई पनि मन परेछ त्यो एप्रोच। तर पत्रमा तलतिर बढी डिटेल दिइएको थियो बुझाउने प्रयासमा। जसले गर्दा मुख्य लाइनले फोकस पाएको थिएन।

‘हामी नेपाली राइटर्सको समस्या यही छ। हामी चाहिनेभन्दा बढी लेख्छौँ अरूले बुझ्दैनन् भनेर’


‘हामी नेपाली राइटर्सको समस्या यही छ। हामी चाहिनेभन्दा बढी लेख्छौँ अरूले बुझ्दैनन् भनेर,’ जिआरएलले भने। ठीक कुरा सुरेशजी र मैले एकैपटक सही थप्यौँ। 

धरान आइपुग्यौं। पिआरको एउटा पिआर डाक्टरले जिआरएललाई १५ मिनेटमा उपचार गराएछ। जिआरएल खासै बिरामी रहेनछन् तर डाक्टरले धेरै हिँड्ने काम नगर्नुहोला भनेकाले हामीले भोजपुर जाने योजना रद्द गर्याैं। अब धरानपछि चितवन जाने निर्णय गर्याैं।  हाम्रो पूर्वको यात्रा धरानमै इतिश्री हुने भो। मेरो पहाड हिँड्ने रहर अब पश्चिमतिर मात्र पूरा हुने भो। 
‘मैले गर्दा बोर भो हई ?,’ जिआरएले गिल्टी फिल गरेर भने। सायद मेरो दुर्गम नेपालसँग भिज्ने रहर उनले सबैभन्दा बढी बुझेका थिए। 

‘सर, तपाइँ हाम्रो टिम लिडर। तपाइँ स्वस्थ भए त हाम्रो यात्रा पूर्ण हुन्छ.। हामी तपाइँबिना एक मिटर पनि हिँड्नेवाला छैनौँ,’ मैले भनेँ। उनको मुहारबाट त्यो बिरामी हुँदाको थकान र किन बिरामी भइएछ भन्ने अनुभूति हटेको थिएन तर पनि उनी मुस्कुराए । 

‘नेपालमा कति धेरै हिरोहरू छन्, खोई तिनको पहिचान ?’


हाम्रो अन्तरक्रिया कार्यक्रम सुरु भयो। उही काठमाडौं-मोफसलको तिक्तता यहाँ पनि भेटियो। ‘नेपालमा कति धेरै हिरोहरू छन्, खोई तिनको पहिचान?,’ एकले भने। ‘हाम्रो दिनचर्यामा हामीले फिटनेसलाई कतिको महत्व दिएका छौँ र मिडियाले यो पक्षलाई कसरी योगदान गरेको छ?,’ अर्को प्रश्न उठ्यो। 

‘नेपालीलाई नैतिक शिक्षा कत्तिको आवश्यकता छ?,’ एक जना सहभागीले सोधे। हो, धेरै महत्व छ। मैले आफूले पढाउने एमबीएका विद्यार्थी सम्झेँ, लोकलबसमा जाँदाका यात्रुहरू सम्झेँ, असनमा हिँड्दाको भीड सम्झेँ अनि आफूले काम गरेका आफिसहरू सम्झेँ। मेरो साथी सौविध मनोजले टाउनसिप मोडेलको पारामिटर्स बनाउँदा मैले 'स्टाडर्ड्स अफ बिहेबियर' पनि थप्न लगाएको थिएँ। एउटा नम्र भद्र नैतिक समाजको खाँचो धेरैपटक धेरै परीवेशमा खड्किन्छ।

‘काठमाडौँ बसेर उपत्यका हेर्ने र उपत्यका बाहिर बसेर गाउँलाई हेर्ने दृष्टि करिब–करिब उस्तै छ नेपालमा,’ केशव घिमिरेले आफ्ना विचार राखे, ‘रेमिट्यान्सबाट आएको पैसा, रक्सी, लागुपदार्थ आदिमा दुरुपयोग भएको धरानवरपर एसियाकै राम्रो बेसार पाइने, धरानमा ठूला समाजसेवीहरू भएको तर कहिल्यै मिडियाले नदेखेको आदि तथ्य र विचार पनि संकलित भए।’

उनले भने, ‘के तपाइँहरू १६ दुना आठ हुने व्यापार गर्न तयार हुनुहुन्छ ? ८ दुना १६ हुने व्यापार होइन यो ?’


भवानी बराल बोल्न थाले, ‘म एउटा त्रिकाल पत्रकार, पञ्चायत, बहुदल र गणतन्त्र लेखेर बसेको पत्रकार, गोविन्द वर्तमान एक प्रखर स्वाभिमानी साहित्यकार बिरामी हुँदासमेत एउटा राष्ट्रिय दैनिकले ६ महिनासम्म लेख छापिएबापतको पैसा नदिएको तीतो पोखेको। त्यसपछि त्यो पत्रिकामा मैले पनि लेख्न छोडिदिएँ,’ उनले भने, ‘के तपाइँहरू १६ दुना आठ हुने व्यापार गर्न तयार हुनुहुन्छ? ८ दुना १६ हुने व्यापार होइन यो?’ उनले सोधे, हामीले सुनिरह्यौँ र नोट गरिरह्यौँ पनि।

नेपालमा पत्रिकाहरू किन आएका? थाहै नपाई पनि आए तर तपाइँहरूको मुद्दा के?  उनको यो ‘मुद्दा के?' मा मैले व्यवस्थापनको ठूलो पाठ पाइरहेको थिएँ। राजेन्द्र सरले ‘मिठाई के?’ भनी सोधिरहन्छन् इन्डिजिनियोसिटीका लागि। ठीक त्यसैगरी मुद्दा के भन्दा उनले भिजन स्टेटमेन्टबोहक थप उत्तरहरू सायद खोजिरहेका थिए। सबैले राजनीतिक समाचार बढी भो भन्दा उनी भनिरहेका थिए, ‘राजनीतिक पार्टीका समाचार मात्रै आए, राजनीतिको समाचार आएको खोई?’ हुन त जति गह्रुँगो प्रश्न छ त्यति नै गह्रुँगो उत्तर त म दिन सक्दिनँ, तर उनका सुझावहरू ज्यादै सान्दर्भिक थिए।

‘हुन पनि हो, मैले पनि पार्टी र नेताबाहेकका वा तिनका फाल्तु यो भने, त्यो भने बाहेकका राजनीतिक समाचार आएको कमै देखेपढेको छु,’ कसरी मिडियालाई नवीनतम् बनाउन सकिन्छ भन्नेमा लामो पृष्ठभूमि दिइसकेपछि चिकित्साशास्त्रका एक विद्यार्थीले भने। 

हामी नेपाली किन पृष्ठभूमि बढी र मुख्य कुरामा कम बोल्छौँ ?


उनको लामो पृष्ठभूमिले मलाई सम्झायो। हामी नेपाली किन पृष्ठभूमि बढी र मुख्य कुरामा कम बोल्छौँ? यो हाम्रो संस्कारको विनयशीलताको उपाय हो वा प्रभावहीनताको कारण?
अन्य विभिन्न क्षेत्रका सहभागीहरूको पनि सुझाव संकलन गरियो। औपचारिक कार्यक्रम सकियो र हामी गफ गर्न र चिया खान थाल्यौँ। आफू बिजनेस सर्कल भएर होला मिडिया आलोचकबीच बस्दा अलिकति पहिचानको अभावजस्तो महसुस हुँदोरहेछ। कमैले चिन्ने अनि कुनै फरक खाले अनुभव। तर मैले धेरै सिकिरहेको थिएँ र यो दुई सर्कलका मर्जरका बिन्दु नोट गरिरहेको थिएँ। सही बिज स्ट्राटेजीबिना पनि त मिडिया जीवित हुँदो रहेनछ नि। 

‘रेमिटेन्सको पैसाले रिटायर्ड मान्छे जन्माउँछ,’ भवानी थपिरहेका थिए। त्यसमै केहीबेर छलफल भयो। 

हामी चितवनतिर लाग्यौँ। फर्कंंदा प्रभात दाइले सुरेशलाई भने, ‘धरानको गेट खिच त। जाँदा पनि छुटायौँ। सुरेशजीले फेरि छुटाए।’ धरानमा प्रवेश द्वार छ त? कतैबाट पनि पक्का उत्तर आएन।

इटहरी पुग्नुअघि तरहरामा स्वादिलो सेकुवा, मटनसुप, चुस्ता, भटमास–चिउरा खायौं। पूर्वलाई बाइबाई गर्दै हामी पश्चिमियौँ। 

इटहरीमा गोर्खा डिपार्टमेन्ट स्टोर देख्दा मलाई गर्व लाग्छ। एउटा नेपालीले धेरै वर्षअघि इटहरीमा खोलेको यो स्टोरमा भेराइटी र सर्भिसमा कुनै पनि अरू स्टोरलाई टक्कर दिने सामर्थ्य छ। यो भेकमै यो पसलको राम्रो पहिचान छ। 

सिधा बाटो, दुवै किनारमा रुख, तराईको पनि आफ्नै सौन्दर्य छ। साँझको रमझम, घरघरमा बत्ती बल्ने क्रम जारी छ र हामी पूर्व छोड्दैछौँ, म चाँडै असोसिएट भइहाल्ने मान्छे मलाई नोस्टाल्जिक फिल हुँदैछ। 

हामीले महाभारत सिरियलको कुरा झिक्यौँ। साँच्चै हो, त्यो सिरियल अहिले हेर्दा पनि उस्तै लाग्छ। सोले र महाभारत अबको सय वर्षसम्म पनि डेट एक्स्पायर हुँदैनन् होला। त्यो हो कलाकारिता महाभारतको। महाभारतको ‘मैं समय हुँ’ भन्ने स्क्रिप्ट मलाई साह्रै प्रभावकारी लाग्छ। डा. राही मासुम रजा एक मुसलमानले पो लेखेका रहेछन् त्यो। यति मीठो सहिष्णुताको उदाहरणले ती धर्मका नाममा लड्नेहरुलाई किन प्रभावित गर्दैन? सायद तिनमा विवेक नामको कुरा मिसिङ हुँदो हो। 

गाडीमा मजाले सुतियो। पथलैया पुगेपछि भात खाएँ मैले। अरूले चिया, चाउचाउ आदि खाए। राति १२ः३० मा बल्ल हामी चितवनको रोयल सेन्चुरी पुग्यौँ। 

यो पनि हेर्नुहोस्

शुभ देश (भाग-१)

शुभ देश (भाग-२)

शुभ देश (भाग-३)

शुभ देश (भाग-४ )

शुभ देश (भाग-५)

शुभ देश (भाग-६)

शुभ देश (भाग-७ )

 


 

More form the Internet

loading...