Suvadin, Home

Cover Image

फेब्रुअरी ५, २०१३
शुभ देश (भाग-९ )

जिन्दगीमा थाहा पाउनुपर्ने कुराहरू कति छन्। 'छोराछोरीलाई आफू १६ वर्ष पुगुन्जेल बाउ हिरो, १६ पुगेपछि बाउ ठिस, अनि फेरि ३० पुगेपछि हिरो। क्या अचम्म?' जिआरएलले कुरा सुरु गरे। त्यसैमा केहीबेर बहस भयो। सुरेशजीलाई त्यो कुराले अलि अमिलो लागेजस्तो छ उनी सोचाइमा परे। उनी सोच्दै हुन् मेरी छोरीले त्यसो नगर्लिन्। 

फेब्रुअरी ५

आमालाई धेरै प्रकारले सम्झिइन्छ है? जस्तै– खाना। 

बिहानको ब्ल्याक टी को पहिलो सिपमै सुरेशजीले मिलियन डलर स्टेटमेन्ट बोले। 

कोठाभित्र जिआरएलको प्रवेश भयो।

सुरेश : तपाइँलाई सञ्चो भयो? 

जिआरएल : छैन।

सुरेश : तपाइँ झन् गल्नु भा’छ। 

जिआरएल : हो गल्या छु।   

जिआरएलका कन्ट्राडिक्सन येट सिरियस उत्तरहरू सुनेर हामी हाँस्यौं। जिआरएललाई अझै राम्रो सन्चो भएको छैन। ‘सर, तपाइँ बेटर बट नट गुड हुनु भा’छ,’ मैले भनेँ। हो, त्यही उनले फेरि सोझो उत्तर दिए मानौँ उनी हो होइन सोच्ने मुडमा छैनन्।

म नुहाउन थालेँ। नुहाउँदा–नुहाउँदै देशका लागि केही गर्ने सोच भयो। तर के? यो यात्राको अन्त्यसम्ममा केही पत्ता लागिहाल्छ कि? 

मन त भेटघाटको तास खाने थियो। तर, ब्रेकफास्टमा तास कहाँ मिल्थ्यो र? हामीले भेटघाटको साइडकै मिठाई पसलमा जेरीपुरी र तरकारी खायौँ। जेरीपुरीको हरेक बाइटमा सुरेशजीको आँखाले भनिरहेको हुन्छ, ‘पख केटा हो, भैरहवा आउन त देओ, पवनको मिठाई र घिउमा बनाएको पुरीले कति मजा दिनेछ।’ 

नास्तापछि सुरेशजीको बिग्रेको आइफोन बनायौँ। अनि प्रभात दाइको दुई बिघा जग्गा हेर्ने क्रममा गुडिरह्यौँ। एउटै बाटो तेस्रोपटक घुमेपछि बल्ल प्रभात दाइले उनको जग्गा जाने बाटो पत्ता लगाए। दुई बिघा भनेको ठूलै हुँदो रहेछ । फार्मिङ गर्ने नाममा प्रभात दाइ अरू जग्गा जोड्ने प्रयासमा छन्। इलाममा केदार शर्माले ‘कम जग्गामा प्रोडक्टिभ काम गर्नुस्’ भनेको दिव्योपदेश मेरो दिमागमा घुमिरह्यो। 

चितवन जिल्लाको उत्पत्तिका कथा पनि रोचक रहेछन्। कोही भन्छन्, चितवनमा धेरै चितुवा पाइने भएकाले यसको नाम चितुवावन हुँदै चितवन भएको हो। कोही भन्छन्, चितवनमा पहिले चित्री पाइन्थे र त्यसैले चित्रीवन हुँदै यो चितवन भयो। चित्र वंशका राजाहरुले राज्य गरेकाले चित्र वन हुँदै यो चितवन भएको पनि कसै कसैको मत छ। तोरी फुल्ने सिजनमा चितवनका खेतहरु पहेंलपुर हुन्छन्। यही तोरीका फुलमा माहुरी झुम्छन् र त्यसले माहुरी पालन मौलाएको छ। 

म माहुरी हुँ राधा....गीत सम्झिएँ। 

अर्को रोचक तथ्य, मुलुककै ७० प्रतितश कुखुरा चितवनमै उत्पादन हुन्छ। कहिलेकाहीँ बर्डफ्लुको मार र त्यसको हौवाले भने यहाँका कुखुरा पालकलाई पीरमा पार्ने गरेको छ। 

चितवन राष्ट्रिय निकुञ्जको महिमा त भइहाल्यो। 

नारायणी नदी यो सुन्दर उपत्याकाको मुल धमनी हो। 

गाडी पाते ढिँडोमा रोकियो। नारायणीका छालतिर लोभिँँदै परिकारहरू खायौँ। जिआरएललाई लोकल कुखुराको विभिन्न भुटन खुबै मनपर्यो। आपसमा ठट्टा गरियो, फोटो खिचियो र धरानदेखिको चितवनसम्मको यात्राको थकाइ मेटाइयो। हावा चलिरहेको थियो र रुखहरू बेपत्ता हल्ला गरिरहेका थिए। 

अब बुटवलतर्फको यात्रा सुरु भयो। जिआरएलबाट थाहा पाएँ, हम जाएगा भन्ने पात्र रियल रहेछन्। हामी हम जाएगाका जोकहरू सुनेर हुर्केका हौं। हम जाएगा एक कार्टुन हो जस्तो लागेको थियो। जिन्दगीमा थाहा पाउनुपर्ने कुराहरू कति छन्। छोराछोरीलाई आफू १६ वर्ष पुगुन्जेल बाउ हिरो, १६ पुगेपछि बाउ ठिस, अनि फेरि ३० पुगेपछि हिरो। क्या अचम्म? जिआरएलले कुरा सुरु गरे। त्यसैमा केहीबेर बहस भयो। सुरेशजीलाई त्यो कुराले अलि अमिलो लागेजस्तो छ उनी सोचाइमा परे। उनी सोच्दै हुन् मेरी छोरीले त्यसो नगर्लिन्। 

उनको स्तम्भमा लेखिएको रहेछ, ‘मलाई यातना दिएर वा गंगालाललाई कोर्रा लगाएर राणाहरूले लगाएको यो आगो निभ्दैन। यो आगो राणालाई जलाएर खरानी पारेपछि मात्र निभ्छ –टंकप्रसाद आचार्य।’


टंकप्रसाद चौकमा संयोगवश रोकियौं। उनको स्तम्भमा लेखिएको रहेछ, ‘मलाई यातना दिएर वा गंगालाललाई कोर्रा लगाएर राणाहरूले लगाएको यो आगो निभ्दैन। यो आगो राणालाई जलाएर खरानी पारेपछि मात्र निभ्छ –टंकप्रसाद आचार्य।’

मेरो जीउ सिरिङ भय। अनि फेरि अभाव महसुस भयो टंकप्रसाद र गंगालालहरूको। यो स्तम्भ अचल भएर टंकप्रसादलाई लिई बसेको छ। यस्ता स्तम्भ र सालिकहरूमा अचल भएर बसेका अनेकौं सहिदहरू, देशभक्तहरूलाई कति छटपटी हुँदो हो यो देशको बेहालको साक्षी हुँदा। म र म जस्तालाई आज फेरि नयाँ टंकप्रसाद वा गंगालाल बन्न केले रोकेको छ, डरले वा जाँगरले? 

गाडी आफ्नै रफ्तारमा गुडिरहेको छ। ‘यो टुरको महत्वपूर्ण उपलब्धि भनेको सनतजीलाई पाउनु पनि हो’, विभिन्न क्षणलाई डायरीमा नोट गरिरहेको मलाई जिआरएलले भने। रमाइलो कुराकानीमा भुलिँदै हामी बुटवल पुग्यौँ। 

‘बटौलीको बजारमा सुका धार्नी मासु

तिम्री छोरी मैले लगें टिका लाइदेउ सासु’

यस्ता गीत अचेल बुटवलमा कमै सुनिन्छन्, ‘मुन्नी बदनाम’कै जगजगी छ। पश्चिमको प्रमुख व्यापारीक केन्द्र बुटवलको विचमा छ, तिनाउ नदी। माथि सिद्धबाबा मन्दिर छेउमै तिनाउ हाइड्रो पावर पनि छ। यसको दक्षीणमा भैरहवा, पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु र उत्तरमा पाल्पा भएकाले यो चारै दिशाको ट्रान्जिट पनि हो। 

बटौली र खस्यौली। तिनाउपारिको बटौली, वारिको खस्यौली। कुनैबेला तिनाउ पारी पुरानो बजार गुलजार थियो। त्यो बटौली बजारमा वरिपरिका जिल्लाका बिकट गाउँबाट मानिसहरु एक सातासम्म हिँडेर मट्टीतेल, लत्ता कपडा र नुन लिन आउँथे। त्यसका लागि उनीहरु खुदो, घिउ र फलफुल बोकेर ल्याउँथे। नदीमा पक्की पुल बने यता बटौली बजार सुक्यो, त्यसको ठाउँमा वारिको खस्यौली चम्कियो। अहिले यही खस्यौली बुटवलको मुख्य बजार भएको छ। उजिरसिंह थापाजस्ता अंग्रेजसँग लडने योद्धा र मणि मुकुन्द सेनजस्ता राजाका इतिहासका गाथा आफ्नो छातीमा बोकेको बुटवलको प्राचीन नाम बुद्धवल्ली हो। भगवान बुद्धले विचरण गरेको यस क्षेत्र वरपर उनको जन्मस्थल लुम्बिनी र उनको मावलीलगायतका ऐतिहासिक स्थल छन्। कुहिरे भीर, वसन्तपुर डाँडाको उस्तै साैन्दर्य। वसन्तपुर डाँडातिर रोपवे लैजाने चर्चा पनि सुनेको थिएँ। साँच्चै बुटवल वरिपरिका डाँडाको टुप्पोबाट मौसम सफा भएको बेलामा हेर्दा भारतको गोरखपुर सहरसम्म देखिन्छ भन्ने सुनेको छु। यस्ता डाँडाहरुमा पर्यटन प्रवर्द्धन गर्न सके भारतीय पर्यटकलाई शान्त र शितल विश्रामका लागि डाक्न सकिने तर्कना मनमा खेले। 

अचेल बुटवल विस्तार भइरहेको रहेछ। कुनै दिन भैरहवा र बुटवल मर्ज भएर एउटै महानगर बन्लाजस्तो लाग्यो। 

बुटवलको सानो तर हस्पिटेबल बिगबोस होटेल। अनि त्यसको फ्राइ दाल मेरै पनि मोस्ट वान्टेडमा पर्यो। रुम इन्टेरेस्टिङ थियो। बाथरुम अट्याच मात्र होइन कि सुपर अट्याच नै थियो।

बाथरुमको सानो आवाज पनि एम्प्लिफाइ भएर बाहिर आउने। म बाथरुम जाँदा प्रभात दाइ रुम बाहिर जानुहुन्थ्यो र प्रभात दाइ बाथरुम जाँदा म रुम बाहिर निस्कन्थेँ। रमाइलो टिमवर्क।


 

More form the Internet

loading...