Suvadin, Home

Cover Image

फेब्रुअरी २, २०१३
शुभ देश (भाग-६)

कन्यामको दृश्यले हामीलाई रोकिन बाध्यै गरायो। ‘फेरि फोटा, फोटाहरू क्लिक क्लिक...,’ सुरेशजी भावविभोर भएर सडकमै पोज दिन थाले अनि पछाडिबाट आएको जिप बेस्सरी हर्न बजाएर रिसाएर गयो। प्रभात दाइले कमेन्ट दिए, ‘सुरेश, झन्डै पूर्ण कदको सालिक भएको।’ हामीे क्यामरामा सुरेशको फोटो हेर्यौं अनि बेस्सरी हाँस्यौं। फोटो साँच्चै सालिकजस्तो आएको। 
श्रीमतीसँग केदार शर्मा।

२ फेब्रुअरी।  ‘बुझ्यौ सनत,’ सुतिरहेको मलाई उठाएरै पिआरले भने, ‘देशमा लगातार बिजी एउटै चिज छ। त्यो हो सर्किट।’ म सहनै नसक्ने गरी हाँसें। एकाबिहान कसैलाई मोबाइल ट्राई गर्दागर्दा उनी दिक्क हुने गरी थाकेछन्। आज न पिआर जगिङमा गए जिआरएल नै। शनिबारको बहाना सजिलो भयो। 

‘बुझ्यौ सनत,’ सुतिरहेको मलाई उठाएरै पिआरले भने, ‘देशमा लगातार बिजी एउटै चिज छ। त्यो हो सर्किट।’ 


उही ब्ल्याक र मिल्क टि र योजनाहरूमा बिहान बित्यो। प्रभात दाइले अाफूलाई सञ्चारमा इन्सपायर गर्ने भारतदत्त कोइरालालाई एक वास्तविक पत्रकार भनी प्रशंसा गरे। नेपालमा पहिलो पटक इमेल प्रयोग गर्ने कोइरालाले महेशचन्द्र रेग्मी, महावीर पुन र डा. सन्दुक रुइतले पाएको म्यागसेसे अवार्डद्वारा सम्मानित भइसकेका छन्। कोइरालाले साँच्चै नयाँ प्रतिभाको पहिचान गरी उनीहरूलाई सोकेसिङ गर्थे रे। बिरलै भेटिने यस्ता व्यक्तिलाई मेरो पनि सलाम। 

हो, नयाँ प्रतिभा खोज्ने क्रम अहिले जीर्ण अवस्थामा छ र नयाँ प्रतिभालाई पनि सायद कमै थाहा छ आफ्नो प्रतिभाबारे। किनकि, उनीहरू बाबुआमाको न्यानो सुरक्षा घेरामा बस्ने गर्छन्। भात र सुत्ने पिरबिना अनि कुनै महत्वाकांक्षा नलिइकनै उनीहरू रहन्छन्। साँच्चै भन्ने हो भने छोराछोरीलाई १८ वर्ष पुग्नेवित्तिकै आत्मनिर्भर हुन दबाब दिनुपर्छ। त्यसपछिको संघर्षमा प्रतिभा पनि माझिन थाल्छन्। भारतदत्तजस्ता केही मदानी भइदिए भने देशमा सयौं नयाँ ताराहरूको उदय हुन्छ। 

मोडेल स्मिता थापा आवरणमा सायद भित्र पनि भएको, जर्साब राजेन्द्र थापाले लेखेको ‘खेलौना’ उपन्यास पढिरहेका सुरेशजीलाई मैले सोधेँ, 

‘कस्तो छ ?,’

‘यी यस्तो छ,’ 

उनले मलाई एक हरफ पढाए। 

‘खै, राम्रो होला तर मलाई चित्त बुझेन। मेरो टाइपको होइन रहेछ।’

सुरेशले थपे, ‘हुन पनि हो पोहोर साल खुसी फाट्दादेखि बेहसपछि होसमा आउँदा क्या दामी भोसम्म लेख्ने यी थापाज्यूको पोयटिक ब्यान्डविथलाई मान्नैपर्छ।’ तर, ब्यान्डविथकै कुरा गर्दा जिआरएलको पनि मान्नैपर्छ। मलाई एडिटर शब्द सुन्नेबित्तिकै झर्को लाग्थ्यो तर जिआरएल साह्रै भिन्न छन्। विद्वत्तामा उनको प्रतिस्पर्धा गाह्रो छ र जोकमा पनि उनी पछि छैनन्। उनी साह्रै रमाइला मानिस हुन् स्टारवर्ल्डको कमेडी सिरियलजस्तो। 

अब कुरा गणेश प्रवृत्तितर्फ मोडियो। नेपालमा ‘काम गर्ने कालु मकै खाने भालु’ उदाहरण छ्यापछ्याप्ती छन्।


अब कुरा गणेश प्रवृत्तितर्फ मोडियो। नेपालमा ‘काम गर्ने कालु मकै खाने भालु’ उदाहरण छ्यापछ्याप्ती छन्। आफू र अर्को साथीले गरेको मेहनतलाई अर्कैले आफ्नो नाम भजाइदिएको कथा सुनाएपछि जिआरएलले गणेश प्रवृत्तिको कुरा कोट्याए। महादेव पार्वतीको आदेशअनुसार कसले पहिला त्रिलोक घुमिसक्ने भन्ने प्रतिस्पर्धामा कर्म गर्ने कुमार नभई वरिपरि घुम्ने गणेशलाई पुरस्कार प्राप्त भएको मलाई राम्रो लागेन। त्यस्तो खेल खेलाउनै नपर्ने थियो। खेलाइसकेपछि गणेशको कामबिनाको कुरामा फस्न नहुने हो। साँच्चै हाम्रो कर्पोरेट क्षेत्रमा गणेश प्रवृत्ति खुबै रुचाइन्छ।

नेपालमा हिन्दु, मुसलमान आपसमा कति मिलेर बसेका छन् भन्ने अर्को प्रसंग चल्यो। जिआरएलले नेपालगन्जमा मुस्लिम र हिन्दुसमेत मदर्सामा सँगै पढ्छन् भन्ने जानकारी गराए। त्यहाँ अरेबिक पनि पढाइ हुन्छ रे। चटक्क ढाकाटोपी लगाएका मुसलमान नेपालीको फोटो जिआरएलले ‘नागरिक’ मा छापेका थिए रे। उनले इद मिलनमा बागेश्वरी मन्दिरका पुजारीलाई उपहार पठाइन्छ भनिरहँदा मेरो मन आफ्नो देशको धार्मिक सहिष्णुतादेखि धक्क फुल्यो। यो विश्वलाई दिन मिल्ने उदाहरण हो। हामी नेपाली ज्यादै विवेकशील थियौं र छौं।

हामी यात्रामा आउनु पनि एउटा गतिलो संयोग हो भन्ने कुरा गर्दा गुणराजले भने, ‘केही पनि संयोग होइन, सब योजना हो। ‘द ग्रान्ड डिजाइन’ पुस्तकमा हेर्नुहोस् भगवानले राम्रो काम गराउन अनेक तिकडम गरेका हुन्छन्।’

जुम्लाबाट पहिलो इमेल पठाइदिएपछि पैसा माग्दा जुम्लीले ‘मेरो चिठी त कम्प्युटरमै छ, कसरी त्यहाँ पुग्यो भनेर पैसा तिर्नु’ भन्दै बखेडा गरेको कथा जिआरएलले सुनाए।


कुरा फेरि आइटीमा पुग्यो। जुम्लाबाट पहिलो इमेल पठाइदिएपछि पैसा माग्दा जुम्लीले ‘मेरो चिठी त कम्प्युटरमै छ, कसरी त्यहाँ पुग्यो भनेर पैसा तिर्नु’ भन्दै बखेडा गरेको कथा जिआरएलले सुनाए। धन्यवाद महावीर पुनहरू, ग्रामीण नेपाललाई आइटीमा तिमीहरूले पछि पर्न दिएनौं!

अब चारआलीको साथीभाइ रेस्टुरेन्टमा हामी खाजा खान बस्यौं। त्यस पसलबाट मैले यसो हेर्दा बाहिरको भूदृश्य अर्कै भू-भागको जस्तो लाग्यो। थाइल्यान्डजस्तो कस्तो-कस्तो। हामी चोखा, लोकल कुखुरा र भुटन खाँदै थियौ। हामीले कुरिरहेका एक व्यक्ति सर्ट, पाइन्ट, ज्याकेट र जर्मन टोपीमा आइपुगे। 

हुँदाखाँदाको जागिर र संगत छोडेर आफ्नो गाउँ इलाममा खेती गर्न आइपुगेका एक धुरन्धर पत्रकार उनी साँच्चै सन्तुष्ट र एकाएक उचाइमा उक्लिएका देखिन्थे। मिजासिला र विनम्र उनी सिक्न र सिकाउन नडराउने रहेछन्। उनमा सिक्नेजति लोभ छ, सिकाउने पनि उत्तिकै। मभन्दा राम्रो भइदिए हुन्थ्यो भनेजस्तो सोचाइ राख्ने केदार शर्माजस्ता ७५ जना मानिस मात्र एकैपटक जिल्ला फर्किने हो भने पनि देशमा एउटा नयाँ तरंग अवश्य सुरू हुन्थ्यो होला । 

जामको विकल्प कुराउनी बनाउने आँट कति नेपालीमा छ ?


हालसालै काठमाडौंको वर्षौंको बसाइ टुंग्याएर गाउँमा केही गर्न फर्केका उनीसँगको संगत मेरा लागि जीवनको सबैभन्दा महत्वपूर्ण क्षण बन्न पुग्यो। 

जामको विकल्प कुराउनी बनाउने आँट कति नेपालीमा छ? यो जस्तो सही र बुद्धिमत्तापूर्ण विचार के हुनसक्छ? नेपाली कन्जुमर बिहेबियरको यो जस्तो राम्रो विश्लेषण सायदै कम होला। केदार शर्मालाई मेरो सलाम! उनको भिजनलाई सार्थक बनाउन मेरो भाग्यको केही भाग दिनुपरे पनि म तयार छु। केदारजस्ता मानिसहरू अबका नयाँ प्रेरणा हुन्। ट्याब्लेट, आइप्याड र पाखापखेराको मिलनलाई उनले बढावा दिएका छन् सायद भोलिको नेपालले यसलाई सफलताको कथामा लिनेछ।  

ती चस्माधारी पत्रकारलाई सुरुआती शिष्टाचारपछि पिआरले सोधे, ‘अनि दाइ, काठमाडौंको त्यत्रो सफलता, वातावरण छोडेर आउनुभयो, न्यास्रो लाग्दैन?’ 

‘अँ धेरै कुराको न्यास्रो लाग्छ विशेषगरी बफ म:म र नेपाल बन्द,’ उनले भने। 

पत्रकारिता फगत व्यवसाय मात्र पनि होइन, एउटा ठूलो जिम्मेवारी पनि हो। पैसाले नपुग्दैमा इमान बेच्ने होइन बरु छोड्ने। यो पेसाको धर्म त्यही हो र अर्को पनि उपाय छ पत्रकार बनिरहेर बाँच्ने। खर्च घटाउने।


अरू कुराकानीपछि हामीले पत्रिका र टिभी सञ्चालन गर्न उनीसँग सुझाव माग्यौं। उनले भने, ‘अरूले जस्तो गरिबका कुरा गर्ने अनि मध्यमवर्गलाई बेच्ने कामचाहिँ नगर्नु होला।’

उनी भन्दैगए, ‘यत्रा शिक्षकहरूको बनिबनाउ सञ्जाल छ। त्यसलाई ‘विनविन’ (सबैले जित्ने) को हिसाबले प्रयोग गर्नुहोस्।’ पत्रकारहरूमा इमानदारी हुनुपर्छ भन्ने सन्दर्भमा उनले भने, ‘मैले मेरो जागिर त्यतिबेला छोडेँ जब मैले नैतिक अडान छोड्नुपर्ने भयो। त्यसले मलाई दुःखी बनायो। हो, ज्यादै दुःख भयो तर भौतिक र आध्यात्मिक दुबै हिसाबले मर्नुपरेन। आम्दानी मात्र बढी खोज्ने होइन। पत्रकारिता फगत व्यवसाय मात्र पनि होइन, एउटा ठूलो जिम्मेवारी पनि हो। पैसाले नपुग्दैमा इमान बेच्ने होइन बरु छोड्ने। यो पेशाको धर्म त्यही हो र अर्को पनि उपाय छ पत्रकार बनिरहेर बाँच्ने। खर्च घटाउने। जीवनमा धेरै फजुल खर्चहरू हुन्छन्। अवश्यकताको लागिभन्दा पनि देखासिकीका खर्चहरूलाई घटाउनुपर्छ।’

उनले त्यसो भनिरहँदा मैले एउटा राजनीतिक पार्टीको संरचना निर्माणका बेला मेरा साथी सौविध मनोज खड्काले भनेको सम्झेँ। उनले पनि राजनीतिमा लाग्नेहरूमा तलब बढी खानेभन्दा पनि जीवनलाई सस्तो बनाउनेमा ध्यान जानुपर्ने सुझाव मलाई दिएका थिए। राजनीतिमा पार्टीलाई पनि एउटा संगठनजस्तै गरी चलाउनुपर्छ भनी सुरु भएको त्यो संरचना डिजाइनमा मैले उनको त्यस तर्कलाई समावेश गरेको थिएँ। मलाई त्यो संरचना साँच्चै आफ्नो नमुनायोग्य लाग्छ। लोभलालच र सम्झौताको अगाडि घुँडा नटेक्ने हो भने हामीले जीवनलाई सस्तो बनाउने तरिका सिक्नु जरुरी छ। २१ औँ शताब्दीमा यति मात्र गरे पनि केही हदसम्मको साधु बनिन्छ। 

जीवनलाई सस्तो बनाउने क्रममा उनले  ‘दस ठाउँमा घर बनाएर धक्कु लाउनुभन्दा बरु डेरामा बस्नु पनि एउटा आँट हो’ भनेको मलाई साह्रै सटिक लाग्यो। 
 


जीवनलाई सस्तो बनाउने क्रममा उनले ‘दस ठाउँमा घर बनाएर धक्कु लाउनुभन्दा बरु डेरामा बस्नु पनि एउटा आँट हो’ भनेको मलाई साह्रै सटिक लाग्यो। उनले ‘डेरामा बस्ने आँट’ शीर्षकमा लेखसमेत लेख्दैछन् रे।

हुन पनि हो, डेरामा बस्छु भन्ने कुरा गर्वसँग भन्न र डेराका नियममा बस्न आँट चाहिन्छ। यो जो पायो त्यसको वशको कुरा पनि होइन। 

सुझावकै क्रममा उनले भाषाको शुद्धता र मौलिकता जोगाइराख्न पनि अनुरोध गरे। बर्माबाट थाइल्यान्ड गएका नेपालीले ‘पशुपति नगरे बागमती नदी दक्षिणपूर्वे थाइल्यान्ड देशे ब्यांकक नगरी सुकुम्भित ग्रामे नेपाली मन्दिरे...’ भनी संकल्प गरेको प्रसंग उज्यालो एफएममा गोकुल बर्तौलाले बजाएको उल्लेख गर्दै उनले दिएको उदाहरण हामीले टोलाएर सुनिरह्यौं। सुरेशजी यसलाई एकोहोरो रेकर्ड गरिरहेका थिए। 

‘यी बन्चरो’ पत्रिकामा बेरिराखेको बन्चरो झोलाबाट निकालेर देखाउँदै उनले भने, ‘आफू त कृषक... यस्तै समान हुन्छन्।’ केहीबेरमै उनको झोलाबाट एउटा अत्याधुनिक ट्याब्लेट निस्कियो।

उनले मीठो पाराले भने, ‘जन्मदिनमा छोराछोरीले उपहार दिएका।’ मैले उनका बुँदा मोबाइलमा अंग्रेजी भाषामा टिपिरहँदा उनले मल्टिलिङ भन्ने एप्लिकेसन डाउनलोड गर्न सुझाव दिए। उनले त्यसबाट किबोर्ड सजिलै रोमनमा लैजान मिल्ने जानकारी दिए। मैले तुरुन्तै यसलाई डाउनलोड गरेँ। रुचिकर एप रहेछ। सुगरिकालाई एसएमएस गरेँ, मैले तिमीलाई धेरै मिस गरिरा’छु भनेर। कति शब्द टाइप गर्दा अनुमानित अक्षर (प्रेडिक्टिभ टेक्स्ट) आउने रहेछ। नेपाली शब्दकै पनि अनुमानित अक्षर आउँदा मलाई खुसी लाग्यो। ‘थ्यांक यु चस्मे पत्रकार,’ सुगरिकाको जवाफ पनि तुरुन्तै आयो, ‘ओ सुपरम्यान, हाउ यु डिड द्याट? मिस यु टु।’

हामी इलामतर्फ लाग्यौं। बाटोमा राष्ट्रियताको कुरा भयो। ‘जुन देशमा गोश्वारा हुलाकले डिभी भर्न सिकाउँछ, जुन देशमा र्यामिटेन्सको लागि श्रम मन्त्रालयमा छुट्टै शाखा छ, त्यहाँ के राष्ट्रियताको कुरा गर्नु?’, केदारजीले भने।

अनि कुरा मोडिएर पूर्वराजातिर पनि गयो। पिआरले मेरो लागि एउटा नयाँ कुरा सुनाए। डा. हल्दारले राजा महेन्द्रलाई मृत्युपूर्व अन्तिम समयमा भेट्दा उनको औंलामा रहेको औंठीको हीरा गायब भएको थियो रे। अर्थात् त्यो आत्महत्या पनि हुनसक्ने अनुमान उनको थियो। इतिहासमा धेरै रहस्य र कथाहरू छन्। 

बाटोमा घर्र ट्रकहरू तलतिर ओर्लिए। केदारजीले भने, ‘ऊ हेर्नुहोस्, ती ट्रकहरू भरिएका छन्। इलाममा प्रायजसो जानेभन्दा आउने ट्रकले बढीजसो भेल्युका समान ल्याउँछन्। यो सरप्लस इकोनोमी हो। इलाम प्रगतिशील छ भन्ने प्रमाण यो पनि हो।


बाटोमा घर्र ट्रकहरू तलतिर ओर्लिए। केदारजीले भने, ‘ऊ हेर्नुहोस्, ती ट्रकहरू भरिएका छन्। इलाममा प्रायजसो जानेभन्दा आउने ट्रकले बढीजसो भेल्युका समान ल्याउँछन्। यो सरप्लस इकोनोमी हो। इलाम प्रगतिशील छ भन्ने प्रमाण यो पनि हो। मैले तुरुन्त बाटोभरि फेला पर्ने काठमाडौंबाट हुइँकिएर आएका खाली ट्रकहरू सम्झेँ। काठमाडौंका ट्रकहरूले हाई भ्यालु समान लिएर कहिले फर्कन पाउलान्? 

‘चियामा एन्टी ओक्सिडेन्ट हुने हुनाले म चिया र कस्मेटिक्सको नि आर एन्ड डीमा छु,’ केदारले भने, ‘वाह कति राम्रो। चाहे त्यो दिमागमै किन नहोस् यस्ता आर एन्ड डी नेपालमा लाखौं ठाउँमा हुनुपर्छ। विश्वले लिएको स्पिड क्याचअप गर्न अब हामीले आइडियाको युद्ध जित्नुपर्छ र हामी त्यसका लागि सबल छौं। मात्र सुरुआतको खाँचो छ।’ 

 

ऊ हेर्नुस् त्यो मेची..., नेपालमा मात्रै ३२–३५ किमि बग्छ। यता हातले पर देखाउँदै र यता ट्याब्लेटमा गाइड गर्दै केदारजीले बुझाउँदा मैले म चौधरी ग्रुपमा काम गर्दा सिक्किमको रङगपुमा टिस्टा छोएको सम्झेँ। साँच्चै सानैदेखि टिस्टाको नामसँग एसोसिएट भएकोले होला मलाई टिस्टा छुँदा आफ्नी हजुरआमाले छोएजस्तो न्यानो अनुभव भएको थियो। त्यो चिसोपानीको तातो करेन्ट मेरो जीउभरि चल्न थाल्यो र एकैपटक मलाई ठूलो स्वरमा भन्न मन लाग्यो, ‘...जय आमा नेपाल !’ 

कन्यामको दृश्यले हामीलाई रोकिन बाध्यै गरायो। ‘फेरि फोटा, फोटाहरू क्लिक क्लिक...’, सुरेशजी भावविभोर भएर सडकमै पोज दिन थाले अनि पछाडिबाट आएको जिप बेस्सरी हर्न बजाएर रिसाएर गयो। प्रभात दाइले कमेन्ट दिए, ‘सुरेश, झन्डै पूर्ण कदको सालिक भएको।’ हामी क्यामरामा सुरेशको फोटो हेर्यौं अनि बेस्सरी हाँस्यौं। फोटो साँच्चै सालिक जस्तो आएको। 
प्रभात दाइलाई घरको दुइटै ल्यान्ड लाइनबाट फोन आउन थाल्यो र त्यो आमछोरीको झगडाको सिम्प्टम हो। अब प्रभात दाइ १० मिनेटजति व्यस्त हुन्छन् पाँच मिनेट छोरी अनि पाँच मिनेट आफ्नी बूढीलाई सम्झाउन। प्रभात दाइ हामीसँग जति नरम छन्, उति नै पोलाइट आफ्नी पत्नी र छोरीसँग, ‘लगे रहो प्रभात दाइ ...।’

‘नआत्तिनुस्, यो बन फडानी होइन कमर्सियल लगिङ हो।’


केदारजी राम्रा गाइड हुन् र राम्रा होस्ट पनि। बाटोमा यत्रतत्र छरिएका काठहरू देखिनासाथ उनलाई हामीले नराम्रो दृष्टिकोण बनाउलाजस्तो लागेछ र भनिहाले त्यो देखेर, ‘नआत्तिनुस्, यो वन फडानी होइन कमर्सियल लगिङ हो।’ मलाई उनको यो एप्रोच साह्रै प्रशंसनीय लाग्यो। उनलाई आफ्नो ठाउँको इज्जतको कति माया छ। उनी कति सजग छन् आफ्नो ठाउँमा आएका पर्यटकको इम्प्रेसन मेनेजमेन्टमा। र, सत्य पत्रकारिता वा गलत दृष्टिकोण बस्न नदिनु पनि हो।

प्रभात दाइलाई पनि फार्मिङको सौख छ रे। उनले आफूले पनि चितवनको दुई बिघा जग्गामा चार–पाँच बिघा थपेर फार्मिङ गर्ने बताए। उनलाई केदारजीले अमर गुरुङ, दीपक अर्याल, साजन सुवेदी आदिले आफ्नो टिमले पाल्पामा तीन सय रोपनी जग्गा किनेर सुरु गरेको दृष्टान्त दिए। केदारजीका अनुसार त्यो इनिसिएटिभ फार्म मेकर्सका लागि एउटा आदर्श हो रे। साथै केदारजीले पिआरलाई जग्गा थपिरहनुपर्ने आवश्यकता नभएको पनि सुझाव दिए। कम जग्गा लिनुस् र बढी उत्पादकत्व काम हेर्नुस् यो रुखको जरा छिमेकीको आँगनमा छ तर फ मलाई नै दिन्छ, त्यसैगरी झाँगिने हो झाँगिनलाई धेरै चाँहिदैन। रुट सानो भएर केही फरक पर्दैन। उनको यो कुराले मलाई पनि बुवाको चाबहिलको चार आना जग्गामा केही गर्न मन लाग्यो। 

केदारजीले पाल्पाको कसैको फार्मको चर्चा गर्दा म सोचिरहेँ, उनको आफ्नै फार्म छ, तैपनि उदाहरणचाहिँ राम्रैको दिन्छन्। यो पनि एउटा आँट हो, एप्रिसिएट गर्ने आँट।

हामी कतिमा यो अरूलाई एप्रिसिएट गर्ने आँट होला र? भए पनि कति मात्रामा होला?

केदारजी प्रयासप्रयासमा हामीलाई इलाम बेचिरहेका थिए। वाह, कस्तो राम्रो सोसल अन्टरप्रेन्योरसिप...!


गाडी चलिरहेछ। बाटोमा अगमसिंह गिरीको ‘कोदाको रसमा बेथालु मनको झिँझो डुबाइकन’ भन्ने कवितादेखि लिएर इलामका प्रख्यात पाँच अलैंची, अम्रिसो, अकबरे खोर्सानी, ओलन र अदुवासम्मका कुरा भए। केदारजी प्रयासप्रयासमा हामीलाई इलाम बेचिरहेका थिए। वाह, कस्तो राम्रो सोसल अन्टरप्रेन्योरसिप...!

अनि उनी नेपालीको प्रशंसा गर्न पनि चुकेनन्, ‘वाह, हामी नेपाली! १० मिनेटमा कसैसँग आन्द्राभुँडी धोएर कुरा गर्न सक्ने हामी नेपाली!’ बाटो सोधौं,  व्यक्ति व्यक्तिले चासो दिएर बताउँछन् मानौं उनीहरू एक चल्ताफिर्ता जिपिएसस हुन्। कस्तो मिलनसारिता र इकोमोडेसन छ हामीमा। मेरा साथी मनोजले पनि हामी बन्दीपुर जाँदा मलाई यही भनेका थिए नेपालीहरू अर्गानिक जिपिएस हुन् भनेर। 

केदारजीले मलेसियामा देखेर आएपछि आफ्नो चिया गार्डेनमा पनि चियाको बोटमाथि बस्ने ठाउँ भएको रुम बनाउने योजना गरेका रहेछन्। नाम कति राम्रो सोचेका ‘बगानवास’। 
फेरि एउटा ट्रक भर्रर अम्रिसो बोकेर ओर्लियो। जिआरएलले भने, ‘ऊ, देश बढार्न हिँड्यो कुचो।’ उनको यो भनाइमा निकै गहिराइ थियो। मैले मनमनै दोहोर्याएँ, ‘...ऊ, दुःख बढार्न हिँडेको कुचो।’

कुरै कुरामा प्रभात दाइले राम्रो कुरा झिके, ‘सबैले आफ्नो भाग्य काठमाडौंमै बनाउँछन् अनि नराम्रो भन्न पनि पछि पर्दैनन्।’ हो, प्रभात दाइको यो कुरा साँचो हो। सबैलाई आफू जन्मेको ठाउँ मन परिहाल्छ, तैपनि आफूले कर्म पाएको ठाउँको रिन तिर्न पनि बिर्सनु हुन्न। फेवातालको अगाडि पुग्नेबित्तिकै जीउ फरफराउने आफू जन्मेको ठाँउको कसैको कथामा प्रभात दाइले भने, ‘आफू त काठमाडौंमै जन्मिएको। त्यहीँ नै छु। मेरो जीउ त धामी जस्तो फर्फराउनुपर्ने।’ अब हामी नहाँसिरहन सक्थ्यौं र? 

‘म स्पिड घटाउन आएको यो बुढेसकालमा ट्रक बसमा अरूसँग कुुराकानी गर्दै हिँड्न मन लाग्छ।’ 


मोटरसाइकल किन नलिएको भनी गाउँलेले प्रश्न गर्दा केदारजी भन्दा रहेछन्, ‘म स्पिड घटाउन आएको यो बुढेसकालमा ट्रक बसमा अरूसँग कुुराकानी गर्दै हिँड्न मन लाग्छ ।’ 
वाह, म त यो कुरा लाइक गर्छु,’ प्रभात। ‘म पनि...’ सुरेश। ‘मी टु..., म, म पनि लाइक गरम्न ल’, गुणराज।

सुरेशजीतिर हेर्दै आँखीझ्याल, हिमाल, नेपाल का स्तम्भकार केदारजीले बाहिरको खिचिहालौंजस्तो सिनलाई आदर गर्दै भने, ‘डकुमेन्ट्री मेकिङको त ग्रामरै चेन्ज भएछ है?’ सुरेशले उक्त जिज्ञासालाई सप्रसंग व्याख्या गरी आफ्ना डकुमेन्ट्री मेकिङका पीडाहरू पोखे। 

अब केदारजीको पत्रकारिताको सुरुआतको कुरा आयो। २०४४ मा उनले पत्रकारितामा ब्रेक पाउँदा एउटा आर्टिकल लेख्नुपरेको रहेछ। २००७ सालको आन्दोलनमा सक्रिय तर नाम नचलेका चार जनाका बारेमा देशान्तरमा छापिने। उनले धुइँधुइँती खोजीकन सुशीला चालिसे, ध्रुव दवाडी, हरिकृष्ण साहु र अर्का एक जनाको कथा कम्पाइल गरेछन्। उनको त्यो आर्टिकल राम्रो पनि भएछ र स्याबासी पनि पाएछन्। उनी त्यसै छिर्दै गएछन् पत्रकारिताको सेक्टरमा। 

आफ्नो स्ट्रगलकै बारेमा भन्दा उनलाई तिहारअघि पैसा नभएर छटपटाइरहँदा कुनै दयाराम विष्टले बुझेर ‘लौ, यो ५०० लेऊ। आर्टिकलमा काटौंला’ भनिदिएका रहेछन् र तै उनको दिदीबहिनीको अगाडि हात खाली भएनछ। 

केदारजीले एकै छिन रोकिएर भने, ‘अहिले २०६९ होइन? २०४४ भनेपछि दिव्य २५ वर्ष।' 'दिव्य २५ वर्ष' भनेकोमा मलाई साह्रै चित्त बुझेको थियो। 

२५ वर्षको अनुभवका केही पाना उनले हाम्रा लागि खोलिदिए। एकपटक एउटा पत्रिकामा उनलाई जसरी पनि ग्ल्यामर स्टोरी ल्याउनु भनिएछ। उनले पनि मुक्ता सिंहको अन्तर्वार्ता र फोटो धुलाउन नपाएकोले एउटा स्केच लगिदिएछन्। उनको त्यो आर्टिकल पपुलर नै भएछ। ‘तर मुक्ता सिंह को थिइन्?,’ मैले सोधें। ‘को हुनु नि, म आफैंले बनाएको स्केच मात्र...’, उनले भने।

ग्ल्यामरमा कथा पाउन पनि गाह्रो। त्यसमा पनि आफ्नो फिल्ड पनि नभएकोले उनले त्यत्तिकै मुक्ता जन्माइदिएका रहेछन्  बिचरा उनलाई त्यो अन्तर्वार्ताको नोट लेख्न कति गाह्रो भयो होला? मुक्ता साँच्चै भइदिएकी भए कति सुन्दर हुन्थिन् होली? अनि ग्ल्यामर स्टोरीका सिकारीहरूलाई उनले छेड हाने, ‘गाडी पुरानो भएपछि घ्यार्रघ्यार्र गर्छ। सेक्सको बारेमा कुरा गरिरहनेको केही इरर हुन्छ। त्यस्ताहरू कन्फुस हुन्छन् कन्डम फुटेर जन्मेकाहरू।’

कुनै कन्टेस्टमा केदारजीले भरत (उही प्रभात दाइको रियल जर्नलिस्ट) दाइको बेतको कुर्सी भएको सेट्रन गाडी सम्झिए, ‘बेतको कुर्सी?’ गाडीमा बेतको कुर्सी मेरा लागि नौलो थियो। 

हामी करफोकबाट देब्रे मोडियौं। अलिक ओर्लिएपछि २०१० मा महेन्द्र युवराज हुँदा उद्घाटन गरेको करफोक विद्यामन्दिर देखियो। केदारजीकै भाषामा भन्दा अहिले यो स्कुल पुरानो जमिनदार बनिसकेको छ। उतिबेलै २०३५ तिरै बोटानिकल ल्याब, माइक्रोसकोप र कारपेन्ट्री वर्कसपसमेत भएको भनिएको यो स्कुलको यस्तो हविगत देख्दा मेरो मन पनि कुँडियो। केयुका पूर्वभिसी सुरेशराज शर्माले पनि यहाँ एग्रिकल्चर युनिभर्सिटी राख्न पाए हुन्थ्यो भनी सोचेका रहेछन्। 'तर, पशुपति जाँदासमेत सबभन्दा पहिला देउताभन्दा पनि साँढेको फल देखिने हाम्रो देशमा सोझो सोचेर मात्र के हुन्थ्यो र?' केदारजीले थपे, ‘हेरौं, म पनि केही त गर्दैछु।’ 

‘विष नहाल्न एक्स्ट्रा पैसा किन ?’, उनले मलाई सोधें ।


हामी केदारजीको फार्ममा हिँड्यौं। उनले अर्गानिक खेती पद्धति पनि विकास गर्दै रहेछन्। ‘विष नहाल्न एक्स्ट्रा पैसा किन?,’ उनले मलाई सोधे।

उनको चियाबारी देख्दा मैले बगानवासको कल्पना गरिरहेँ।

हामी उनको वरपीपल फर्म पुग्यौँ। भुस काट्ने आधुनिक मेसिन, गाईहरूको टहरा, काबिलाहरूको जस्तो कटेज, माटो अनि गोबरको बास्नाले मलाई मेरो २५ वर्षअघिको घर सम्झायो। मानौं, मेरौ तौल एक्कासि पचास किलो घट्यो र म रमाएर यताउति गर्न थालें। 

‘गाईको स्याहार कत्तिको गर्नुपर्छ?’, सयवटा गाई पाल्ने मेरो सपनालाई आधार बनाएर केदारजीलाई सोधें। उनले अर्कै तरिकाले उत्तर दिए, ‘गोबरलाई किन पुजेको? नपुजे त कामै छैन। काम कसरी गर्ने? कुखुराले अन्डा पार्छ, केही स्याहार गर्नुपर्दैन, तर गाईलाई त दुहुनुपर्छ, दुःखै हुन्छ।’ 

‘तर, दूधको धेरै उपयोग छ। पश्चिमेलीले चीजलाई कति पपुलर बनाउन सके, तर हाम्रो खुवा (कुराउनी) जहाँको तहीँ छ। कुराउनीलाई जामको साटो प्रयोग गर्नुपर्छ। कुराउनी मन नपराउने को होलान् र?,’ उनी भनिरहे हामी सुनिरह्यौं।

एकैछिनमा भाउजूले तात्तातो कुराउनी र चिउरा खाजा दिनुभयो। हामीले एकै सासमा खायौं। यत्रो वर्ष भयो कुराउनी खाएको तर मिसावट नभएको कुराउनी त तीतोतीतो पो लाग्यो। तैपनि मेरो पापी जिब्रो लोभिएको लोभियै। जिआरएलले लाजै नमानी थप्न मागे, ‘मलाई पनि, मलाई पनि, मलाई पनि... प्रभात दाइ, सुरेशजी र म पनि जाइलाग्यौं थाल अगाडि बढाएर... ...’, सुरेशजीले फोटो खिचे ।

‘वाइफाई छैन?,’ प्रभात दाइले सोधे। ‘वाइफाई छ तर त्यसमा पासवर्ड छैन,’ केदारजी हामीलाई खुब बसिस् सहरमा भनिरहेका थिए सायद। सोलारबाट चल्ने वाइफाई र उनको ट्याब्लेटले उनलाई बाँकी विश्वबाट कहाँ टाढा राख्थ्यो र?

‘वाइफाई छ तर त्यसमा पासवर्ड छैन’


तुरुन्तै कुराउनी खाँदै गरेका हाम्रा फोटाहरू र ब्याकग्राउन्डका ग्रिनरी अपलोड भइहाले। अनि १० मिनेटमै ७० प्लस लाइकहरू ओइरिए। 

टन्नै लाइक आएकोमा हामी खुसी भयौं, तर यो लाइक कल्चरले आजभोलि हामीलाई कति धेरै कन्ट्रोल गरिराछ भन्ने चिन्ता पनि मेरो मानसपटलमा बढीरहेको थियो। ट्रिट अझै सकिएको थिएन, मिल्क केक, मिल्क क्यान्डी, जिन्जर क्यान्डी... आदि हामी थपीथपी खाइरहेका थियौं। यो फार्म, यो संगत र यो साँझको वातावरण अर्धस्वर्ग जस्तै लागिरहेको थियो। 

फर्कन लाग्दा केदारजीले आफ्नो फार्म र यो क्षेत्रमा हुनसक्ने अमूल्य जडीबुटीका नमूना देखाइरहे। 

सरस्वतीको नयाँ रुपमा गुगल आएकोले अब गुगलेश्वरी माता भन्नुपर्छ भन्दै उनले मलाई चियाको बियाँको तेल सुमो रेस्लर्सले कपालमा लगाउँछन् भन्नेसम्मको जानकारी दिन भ्याए। गुगलको नेपाली युनिकोड टिमका एक सदस्यसमेत रहेका उनी यो यात्राको स्पेसियल फिचर बने। हामी कर्फोकबाट बिदा भयौं। केदारजी आफ्नो फर्ममा फर्किए।

जिआरएल लघुसंका  निवारणमा लागे, ‘पिआर, तपाइँ त लेख्ने मान्छे, जहाँ पनि भित्ता देख्नेबित्तिकै लेख्न थालिहाल्नुहुन्छ, मात्र कलम र मसी फरक छ...।’

हामी रमाइलो गर्दै अघि बढ्यौं। धेरै बाटो हिँडिसकेपछि पनि आइनपुगेपछि हामीले परको झिलिमिली बजार देखाएर त्यो त इलाम होला नि भन्ने अड्कल गर्यौं। ‘हैन, त्यो पर भारत पो हो कि?’, सुरेशजीले शंका गरे। त्यतिभन्दा नभन्दै झलमल्ल बत्ती बलेको डाँडामा एक्कासि अन्धकार भयो। ‘ए... लोडसेडिङ, हो यो हो...’, प्रभात दाइले सरकास्टिक भएर भने।

अघिको रमाइलो दृश्य देख्दा सुरेशजीलाई आफू डेनमार्कको मेन स्क्वायरमा चिसोमा रोमियो जुलिएट भ्वाइलिन बजिरहेको बीचमा भएको याद आएछ।


अब हामी निश्चिन्त भएर अगाडि बढ्यौँ। अघिको रमाइलो दृश्य देख्दा सुरेशजीलाई आफू डेनमार्कको मेन स्क्वायरमा चिसोमा रोमियो जुलिएट भ्वाइलिन बजिरहेको बीचमा भएको याद आएछ। उनलाई त्यो ब्याकग्राउन्डमा त्यो भ्वाइलिनको धुनले खुबै छोएको रहेछ। दिनको तीन बजिसकेको थियो। प्रभात दाइलाई भोक लागेको रहेछ। उनी भन्न थाले, ‘जब मानिसको दिमाग खाली हुन्छ त्यसमा खानेकुरा नै खानेकुरा आउँछ...। एम्प्टी माइन्ड फुड वर्कसप।’

बल्लबल्ल होटेल पुगियो। घरेलु वातावरणमा खानपिन गरियो। जिआरएलले बिरामी हुने लक्षण देखाए। मेरा आँखा पनि राता भएका थिए। औषधि हालें। औषधिमा फर आइज एन्ड इअर्स भनी लेखेको रहेछ। ‘यी आँखाले रातो हुन त पाएनन् दाइ?,’ मैले सोधें।

उनले एउटा साथीको अनुभव सुनाए, ती साथीको टाउको खुबै दुखेछ। प्रभात दाइले आफ्नो औषधिको प्याकेटबाट झिकेर दिएछन्। साथीलाई तुरुन्तै निको भएछ। भोलिपल्ट पो प्रभात दाइले थाहा पाएछन्, अघिल्लो दिन दिएको औषधि त भिटामिन बी कम्प्लेक्स पो रहेछ।
उनको कथा सुनेपछि म झन् डराएँ। सुत्ने बेला भएको थियो। इलाममा बाहिर खुब जाडो थियो। यस्तो चिसोमा भोलि पिआर र जिआरएल मर्निङ वाक जालान् कि नजालान् भन्ने कौतुहल पनि थियो। यी सबैका बीच म पनि सुतें। 

यो पनि हेर्नुहोस्

शुभ देश (भाग-१)

शुभ देश (भाग-२)

शुभ देश (भाग-३)

शुभ देश (भाग-४ )

शुभ देश (भाग-५)


 

More form the Internet

loading...