Suvadin, Home

के दिन्छौ मलाई भ्यालेन्टाइन गिफ्ट?

प्लीज, मेरा लागि भ्यालेन्टाइन गिफ्टको रुपमा त्यो चिज देऊ जस्ले गर्दा मेरो परिवार स्वर्गजस्तै सुन्दर बनोस्। तिम्रो भ्यालेन्टाइन गिफ्टले म आफूलाई एउटा नारी भएकोमा गर्व गर्न सकुँ। के सक्छौ दिन? मलाई बालापन झुल्कने खेलौना चाहिँदैन, मलाई मुखै रसाउने मिठाई चाहिँदैन, नक्कल पार्ने गरगहना र साडी चाहिँदैन। बस एउटा आशा गरेको छु, मलाई मेरा सासु–ससुरा देऊ। गाउँमा दस नंग्रा खियाएर तिमीलाई हुर्काएकी आमा अनि तिम्रा लागि आफ्नो पसिना बेचेका तिम्रा बा ल्याएर देऊ। म पनि सासु–ससुरा पालेकी असल बुहारी बन्न चाहन्छु। सक्छौ दिन?

अञ्जना केसी


सहर चकमन्न छ, जताततै भ्यालेन्टाइन गिफ्ट सेल चलेका छन्। ठूला–ठूला मलहरूमा त झन् डिस्काउण्ट अफर नै चलेको छ। म त्यही बाटो भएर कुद्छु, जुन बाटोमा भ्यालेन्टाइन गिफ्ट सजाएर राखिएका छन्। र, हजाराैं ग्राहक ती गिफ्ट किन्न तँछाडमछाड गर्दैछन्।

अलि अगाडि बढे पनि उस्तै मेला छ भ्यालेन्टाइन डे को। अझ मनै लोभ्याउने गरी फेसबुकका भित्ता रंगिएका छन्। कहिले कुन डे, अनि कहिले कुन डे। भ्यालेन्टाइन डेको एक साता हरेक दिनले मन लोभ्याउँछ। तर ... तर म रमाउन सक्दिनँ। किनभने मेरो आफ्नै परिवेश छ। म अरुको संस्कारमा खुलेर रमाउन सक्दिनँ। हो, मन जित्छन् यी पर्वले तर मनाउनैपर्छ भन्ने मान्दिनँ।

आफ्ना लागि आफन्तले सम्झने दिन कुर्न, प्रेम प्रस्ताव गर्न हाम्रा आफ्नै संस्कार हुँदाहुँदै पनि हामी भ्यालेन्टाइन डेकै प्रतिक्षामा बसेजस्तै सेलिब्रेट गर्न तम्सिन्छांै। र, आज म पनि उस्तै गरी यो भ्यालेन्टाइनप्रति उदार बन्छु र माग्छु केही मेरा आवश्यकता। जसलाई नै मान्नेछु मेरो लागि भ्यालेन्टाइन गिफ्ट।

भेलिन्टाइन। मेरो भेलिन्टाइन तिमी, मेरो प्रेमी तिमी, मेरो जीवनसाथी तिमी, मेरो श्रीमान तिमी, मेरो बाबा–आमा दुबै तिमी। मेरो अमूल्य चिज तिमी, अझै भनु भने मेरो सिंगो संसार तिमी। प्रेम दिवस! शब्द कति सुन्दर छ। प्रेम गर्नेहरूको दिवस, सम्पूर्ण माया गर्नेहरू एक–अर्कालाई गिफ्ट दिने दिवस।! रमाइलो र रोमान्टिक दिन।

यो दिवस कसले कहिलेबाट मनाउँदै आयो म त्यतातिर जान चाहन्नँ।  विदेशीको चाड वा नेपालीको त्यसमा तर्क गरेर मलाई कसैको तारिफ लुट्नु पनि छैन। इतिहास बुझ्नेहरूलाई  वा जान्न चाहनेहरूलाई सबै छर्लङ्ग होला। तर, म थाहा नपाएरै खुसी हुन्छु यो दिनमा। तिमीलाई सम्झेर, तिमीले मलाई दिने ममता सम्झेर, तिमीले मलाई दिने अमूल्य उपहार सम्झेर, अझै भनु भने तिमीजस्तो माया गर्ने महान छोरा जन्माउने ती आमा सम्झेर।
 
यसपालिको प्रेम दिवसमा पनि तिमीले मलाई नयाँ स्कुटर उपहारको रुपमा दियौ। मैले ६-७ वर्ष चढेर थोत्रो भएको भएको साधन फेर्न पाएँ। अब मलाई केही समय थोत्रो साधनले दिइरहने दुःख झेल्नुपर्ने छैन। तिमी मलाई लाखांैको उपहार देऊ वा प्रेम दिवसमा सय रुपैयाँ पर्ने गुलाबको फूल, त्यसले म खुसी वा दुःखी हुने छैन। तिमी मेरो मनको शीर्ष स्थानमा यति गहिरोसँग बसेको छौ, प्रेरणा, आदर्श र हिम्मत बनेर। तिमीले कुनै पनि गÞलत काम गर्यौ भने पनि मेरो मन मान्न तयार हुने छैन।

गलत म त्यो बेला ठान्नेछु, एक दिन लाखौंको उपहार दिएर बाँकी ३६४ दिन तनाव दिनेछौ। गलत म त्यो बेला ठान्नेछु, आफ्नी पत्नीलाई माया गर्दा आफ्नी आमा बिर्सने छौ। आफ्नो सन्तानलाई माया गर्दा आफ्नो बाउ र दीजुभाइ भुल्नेछौ। छातीमा हात राखेर सोच त, तिमी आफ्नो बाबा–आमालाई धेरै माया गर्छौ कि आफ्नो सन्तानलाई?

हो, सतानलाई। हामीलाई त्यही माया दिएर हुर्काए। हाम्रा जन्मदाताहरू! यो ध्रुव–सत्य कुरालाई आत्मसात गरेनांै भने गलत ठान्नेछु।

मेरो भेलिन्टाइन, तिमी मलाई संसारका खुसीहरू मेरो पोल्टाभरि खन्याउन चाहन्छौ नि है? तिमीलाई थाहा छ? म खुसी कति बेला हुन्छु? अब मलाई लाखौं पर्ने उपहार अमूल्य निर्जीव वस्तु होइन, सजीवता देऊ मेरो खुसी देऊ, मलाई मेरो परिवार देऊ, बाबा दाजुभाइको छहारी देऊ, मलाई बुहारी होइन, छोरी भनेर माया गर्ने, दुःख–पीडा पर्दा बिसाउने चौतारी, सासु आमा देऊ, मेरी सासुलाई आमाजस्तै माया गरेर दुःख पर्दा रुन सक्ने काख देऊ। खÞुसी हुँदा हाँस्न सक्ने वातवरण देऊ, आमा रुँदा हँसाउन सक्ने शक्ति देऊ। आमा खुसी हुँदा सँगै मुस्कुराउ, पीडा हुँदा मल्हम लगाउन सकुँ। जीवनको अन्तिम घडीमा काँध थापेर स्वर्ग जाने बाटो खुलाउन सकँु। यही वातवरणको सिर्जना गरिदेऊ। यो नै जीवन्त उपहार हुनेछ।

मेरो भ्यालेन्टाइन, अब मलाई निर्जीव वस्तुमा रमाउन पटक्कै मन छैन। मेरो जीवन तिमीसँग मात्र पनि रमाउनै सक्दैन, नत तिम्रो उपहारसँग रमाउन सक्छ। मैले मेरो जन्मिएको घर अनि मेरो परिवार छोडिसकें, अब मेरो आफ्नो भनेको तिम्रो परिवार हो। जहाँ म रमाउन सक्छु खुसी हुन सक्छु, एकबारको जिन्दगी हो, मलाई एक्लै जीउन पटक्कै मन छैन। तिमी भए मलाई कोही चाहिँदैन भनेर भन्ने हिम्मत मसँग छैन। त्यसैले, तिम्रो परिवारलाई उपहार स्वरुप देऊ, मैले मेरो आफ्नो बनाउनेछु।

तिमी जहाँ भए पनि तिम्रो परिवारलाई तिम्रो जन्मदातालाई कसम तिम्रो अभाव कहिले महसुस गर्न दिने छैन। ताकि मैले मेरो परिवारलाई गरेको प्रेमले हाम्रो सन्तानले बिजी भएँ भन्ने बहाना गर्दै कुनै बृद्ध आश्रमको ढोका ढकढकाउन नपरोस्।

सधैं खुसी र सुख जुटोस् भन्दिन म। किनकि हरेक मानिस दुःखमा नपरी धरै छैन। फरक यति हो कसैलाई कम, होला कसैलाई बढी। खयर हरेक परिस्थितिको सामना गर्न सक्ने सामर्थ्य प्रदान होस्। न कहिले बिचलित हुन नपरोस्, आफ्न्त गुमाएर तड्पिन नपरोस्, कहिले कमजोर र एक्लो महसुस गर्न नपरोस्। हुन त स्वाभावैले पनि हामी नारी जाति अलि भावुक हुन्छांै। तर, मलाई भावुक बन्नु छैन। भावना र मनलाई मेरो आफ्नै वशमा पार्न सकुँ। यो शक्ति तिमी नै प्रदान गर मेरा लागि।

म संसारका हरेक खुसी त्यहाँ देख्छु, जहाँ परिवारका सबैका अनुहारमा खुसीको चमक देखिन्छ। म मरेपछि स्वर्गको आशा राख्दिनँ। मलाई यो जीवन नै प्यारो लाग्छ। म यही जीवनलाई स्वर्गभन्दा अमूल्य र महत्वपूर्ण बनाउन चाहन्छु। त्यसैले प्लीज, मेरा लागि भ्यालेन्टाइन गिफ्टको रुपमा त्यो चिज देऊ जस्ले गर्दा मेरो परिवार स्वर्गजस्तै सुन्दर बनोस्। तिम्रो भ्यालेन्टाइन गिफ्टले म आफूलाई एउटा नारी भएकोमा गर्व गर्न सकुँ। के सक्छौ दिन?

मलाई बालापन झुल्कने खेलौना चाहिँदैन, मलाई मुखै रसाउने मिठाई चाहिँदैन, नक्कल पार्ने गरगहना र साडी चाहिँदैन। बस एउटा आशा गरेको छु, मलाई मेरा सासु–ससुरा देऊ।

गाउँमा दस नंग्रा खियाएर तिमीलाई हुर्काएकी आमा अनि तिम्रा लागि आफ्नो पसिना बेचेका तिम्रा बा ल्याएर देऊ। म पनि सासु–ससुरा पालेकी असल बुहारी बन्न चाहन्छु। सक्छौ दिन?

म उहाँहरूबाट टाढिएर सुखी छु तर खुसी छैन। म दुःख गर्न सक्छु तर दुःखमा पनि खुसी हुन सकुँ। जन्मदिने बा–आमालाई दःुखमा राखेर बुहारी खुसी पार्ने तिम्रो रहर कहिले नपलाओस्। सक्छौ भने भ्यालेन्टाइन डेको गिफ्टस्वरुप आजै मलाई मेरा सासु–ससुरा देऊ, जसको सेवाले म आफूलाई संस्कारी नारी भनेर चिनाउन पाऊँ। हो प्रिय! मलाई मेरा सासु–ससुरा देऊ, यो भ्यालेन्टाइन गिफ्ट स्वरुप।  

 


 

More form the Internet

loading...